नगिता लेप्चा राईजेनेरेटर बेबी
मलाई अबेर भइसकेको थियो । कुराको बिट मार्न भनिटोपलेँ, जे होस् रामसाइँली तिम्रो छोरो पछि भयङ्कर हुन्छ है..। नानुको गाला चिमोटदै भनेँ, हई जेनेरेटर बेबी ।

नरेन चापागाइँ मेरा सोल्टी हुन् । शिक्षण पेशा उनको । तर उनी स्कूल गएका कहिले देखिनँ मैले । नेता मन्त्रीसित उठबस् । त्यसैले उनी तिनै नेता मन्त्री सञ्चालित पार्टीको ठूला नेता । गाउँमा उनको शान र मान एकजना मन्त्रीभन्दा कम्ति छैन । थाना-कचहरी उनको मुठीमा । शिक्षण पेशा उनको खाता कलममा मात्रै । स्कूल आउँदै आउँदैनन् आएपछि महिनौं भरिको एटेण्टेण्डटसमा साइन गरिवरी जान्छन् । हेडमाष्टरलाई त उनले पाँच रुपियाँमा किनेर दसको भाउमा बेच्छन् । स्कूल कमिटी उनकै इशारामा नाच्छ । सोल्टीज्यूले उनीसित पार्टीमा हिँड़्ने गाउँकै जानकीलाई बिहे गरेका छन् ।
सोल्टीज्यू कण्ट्याक्टरीमै व्यस्त । स्कूल नागा बसे पनि सोल्टीज्यूको कुनै बदनाम छैन । सुनेकी छु उनले पर… मनपरी नगरीमा विराट फ्ल्याट लिएका छन् रे । म अहिलेसम्म सोल्टीज्यूको घरमा जान सकेकी छैन । आफ्नै व्यस्ततामै मस्त म । एकदिन नरेन चापागाइँ सोल्टीज्यू हाम्रो घरमा आएका थिए । टिलिक्कै परेको जुत्ता, महङ्गो दामको गगल्स । उनलाई हेर्दै हिजोआज बेजोड़ कमाउँछन् । भुँड़ी लागेर केही छैन । भिजिटिङ कार्ड दिए मलाई उनले । उनी विदा लिएर गएपछि सोल्टीज्यूको कार्ड हेरेँ । लेखिएको रहेछ भिजिटिङ कार्डमा- नरेन चापागाइँ, फस्र्ट क्लास कण्ट्याक्टर ।
छेराछोरी बढ्दैछन् । नेता मन्त्रीलाई गोजीमै हालेर सोल्टीज्यू छँदैछन् । सोल्टीज्यूसित सम्बन्ध राख्नैपर्छ । छोरोको नोकरी, छोरीको नोकरीको व्यवस्था सोल्टीज्यूबाट हुने नै हो । एकदिन उनको घर मनपरी नगरीमा पुगेँ । घरको ढोका बन्द । मेरो खुट्टाको आवाज सुनेर भित्रबाट कुकुर भुक्न थाल्यो । कुकुरको भुकाइ बाहेक पनि घरभित्र कुदाकुद गरेको आवाज मेरो कानमा थुरियो । कलिङ बेल थिचुँ कि नथिचुँ भन्ने दोधारमा परेँ म । कलिङ बेल थिचेँ । कलिङ बेल बजेको सुनेर म आफै तर्सेँ । निकैबेरपछि जानकी निस्किन् । हामी सँगै पढ़ेका । तर सोल्टीसित बिहे गरेपछि जानकी मलाई सोल्टिनी नै सम्बोधन गर्छिन् । मलाई देख्ने बित्तिकै जानकी बोलिन- अप्पुई रामसाइँली सोल्टिनी । आइज न भित्रै एई रामसाइँली ।
मैले भनेँ- तिम्रो घरको कुकुर भुकाइ सँगसँगै भित्र चोर-पुलिस खेलेको जस्तो पो लाग्यो ।
अरे नभन् रामसाइँली । अरे यो छोरोलाई खुवाउनु कम्ति झ्याउला छैन । के भन्नु तलाईं । तेरो पो हुर्किसक्यो । यो नानुलाई ख्वाउनु कम्ति कुदनु पर्दैन । खानु मान्दैन भन् न, घरि सोफामाथि चढ़्छ । कहिले सिँड़ीमाथि उक्लेर छानुमाथि पुग्छ । खानु नमानेर कम्ति रोगी देखिँदैन । ट्विङ्क नानु आण्टीलाई नमस्ते गर बाबु ।
नानुको टी शर्टमा टच मी लेखिएको रहेछ- किस मि । खाटमा खेलाउने अटोमेटिक बन्दुक रहेछ । नानुले नमस्ते गर्नु होइन त्यो बन्दुक खेटेटे…खेटेटे पारी मलाई ताकेर फायर फायर कराउन थाल्यो ।
मैले नम्र स्वरमा भनेँ- ठिकै छ …ठिकै छ नानु । रामसाइँलीलाई सोधेँ- नानुको डाइट कस्तो छ ।
रामसाइँली, बिहान दुई पिस स्याण्डविच, एउटा अमलेट र फ्रुटस् । नौ बजे एक गिलास दूध । दिउँसो दुई बटुका भात, अलिकति भेज, भेज सूप र केही ड्राइ फ्रुटस् । साथमा केही स्यालाड । माछा-मासु खानै मान्दैन । खै के गरुँ..गरुँ भइसक्यो रामसाइँली । एकजना राम्रो चाइल्ड- स्पेशलिष्टलाई देखाउँ कि भन्दैछु ।
यतिञ्जेल नानुलाई के दिँदैथियौं ?
एक्टिभ प्रोटिइनल अनि सेरिफ्याक्स मिलाएर ट्याबलेटजस्तो बनाएर खुवाउँदैछु नि । यो उमेरमा थप इनर्जीको निम्ति भिटामिनको आवश्यकता पर्छ कि पर्दैन भन् त रामसाइँली ।
मैले भनेँ- रामसाइँली नानुलाई तिमीले भाइटो-एक्स फोर्टी-नाइन खुवाउनु सक्छौ । एप्लिटाइजर स्टिमियोलाष्ट । यसमा उनन्चास प्रकारका भिटामिन हुन्छ । थाहा छ तलाइँ, नानुलाई गर्दा हिजोआज कुनै समाचार पत्र नै पढ़्नु पाउँदिनँ । टिभी म्यागाजिन हेरे पनि तैले भनेको नामको कुनै विज्ञापन नै देखेकी छैन ।
नानु फुर्केर केही छैन । घरि पनि घरि बन्दुक उचालेर खेटेटे…खेटेटे गरी मेरै कान, निधार, गालामा घोंचेर फायर फायर भनेको देखेर वाक्कै दिक्कै लागिसक्यो । तर आमा रामसाइँलीले छोरोलाई हपार्न भने सकेकी छैन । बन्दुकको बुलेटले भित्ता छेँड़्न आँटिसक्यो । एउटा प्लेट ताकबाट झरेर झार्लाम् झुर्लुम् भयो । कैँची निकालेर ढोकाको पर्दा काट्न थाल्यो ।
मैले रामसाइँलीलाई सोधे- सोल्टीज्यू कहिले आउनुहुन्छ ?
आज यहाँको सगरमाथा मञ्चमा साम्प्रदायिक सद्भावनाप्रति महासभा हुनेछ । उनी यसका संयोजक हुन् । यस कार्यक्रमले गर्दा उनलाई केही दिनदेखि टेन्सन भइरहेको थियो । कार्यक्रमको अध्यक्ष पार्टीकै मान्छे राखिने भयो तर प्रमुख अतिथिबारे निकै समस्या भइरहेथ्यो । यस्तो कार्यक्रममा साहित्यिक नै हुनुपर्छ । नत्र बजारमा नराम्रो रिएक्सन हुन्छ । सभापति पनि पार्टीकै प्रमुख अतिथि पनि पार्टीकै । तर कुनै साहित्यिक पाउन सकेको थिएन । बल्ल बल्ल एउटा संस्थाको अध्यक्षलाई मनाउनुभो तपाईंको सोल्टीज्यूले ।
मेरो मुखबाट निस्कियो- अरे साहित्यबारे केही नजान्नेलाई साहित्यिक कार्यक्रममा प्रमुख अतिथि ? यो चाहिँ भएन है रामसाइँली ।
होइन तिम्रो सोल्टीज्यूले भन्दैथिए यही कुरा । तर उनलाई प्रमुख अतिथिको आसनमा राखेकोले उनले पचास हजार डोनेसन दिए अरे। म बोलिनँ । मनमनै भनेँ, साहित्यिक कार्यक्रमतिर डोनेसन दिएर प्रमुख अतिथिको आसन हत्याउनेहरूले असली साहित्यकारहरूको धज्जी उड़ाइरहेका छन् ।
कुरै कुरामा सोधे, साँच्ची नानुलाई यसपाली कहाँ एडमिसन गर्ने विचार गरेकी छौ ?
रामसाइँली गजक्क भएर बोलिन्-. परको महाभारत स्कूल ।
यो नाम मैले कहिल्यै नसुनेकी । छक्क पर्दै भनेँ- महाभारत ?
यहाँ महाभारत स्कूल चैँ कहाँ छ हँ ?
क्या हो, त्यो नामी इङ्लिस स्कूल छ नि । त्यहाँ एडमिसन गर्नलाई प्यारेण्टस् मरिमेट्छन् ।
मैले कुरा बुझेँ र भनेँ, ए…जर्ज महाबर्ट स्कूल भनन लाटी । कस्तो महाभारत भनेकी ?
खै आफू त्यति पढि़एन। जिब्रामा यस्तै आउँछ अनि ।
त्यहाँ त एडमिसन हुनु सारो छ है ।
ए नानुको पापाले सबै मिलाएका छन् । अलिक डोनेसन तिर्नुपर्छ…त्यो पनि नभए मिनिष्टर लेभलबाट सिफारिस आउँछ नि ।
राम्रो । तर रामसाइँली नानूलाई त्यति टाड़ो किन पठाउनु ?
बस आउँछ.।.बस नभए घरमै तीन चारेक गाड़ी छन् । नानुलाई कुनै फरक पर्दैन ।
अनि तिमीलाई चैँ नानुलाई इङ्लिस मिडिय़म पढ़ाउने के को यत्रो इण्ट्रेष्ट ?
हेर दि… एक नम्बर नानु शहरको नामी स्कूल पढ़्दैछ भन्ने देखाउनु । अर्को, नानुलाई इङ्लिस बोल्नुलाई ।
नानु फेरि बन्दुक खेटेटे…खेटेटे पार्दै आमा रामसाइँलीको काखमा लुटुपुट भयो । नानुको गालामा च्वाक्क च्वाक्क म्वाइँ खादै भनिन्, नानु आण्टीलाई सुनाइदेऊ… बाघलाई इङ्गलिसमा के भन्छ ?
मैले थपेँ, होस् होस्… बाबुको खेल्ने मुड छ पछि सुनुमला ।
रामसाइँलीको जबरजस्ती अघि कसले सक्ने र ? नानु भन्देऊ न आण्टीलाई बाघलाई ईङ्गलिसमा के भन्छ ?
दिक्क मान्दै नानु बोल्यो, तपाईको टाउको । यति भनिवरी बन्दुक फेरि खेटेटे….खेटेटे पारी…सोफामा उफ्रिन थाल्यो ।
मलाई अबेर भइसकेको थियो । कुराको बिट मार्न भनिटोपलेँ, जे होस् रामसाइँली तिम्रो छोरो पछि भयङ्कर हुन्छ है..। नानुको गाला चिमोटदै भनेँ, हई जेनेरेटर बेबी ।
प्वाक्कै रामसाइँली बोली, होइन नि यो जेनेरेटर बेबी कि चाहिँ मिनिष्टर हुन्छ कि चाहिँ कुनै फिल्म स्टार नै ।
मनमनै भनेँ, तिम्रो जेनेरेटर बेबीको व्यवहार देखेर मिनिष्टर र फिल्म स्टार त कुनि रोड इन्सपेक्टर चाहिँ पक्कै हुन्छ..हुन्छ ।
०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest







































