साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजियाज्यूले बजाउनुभो

हामी निर्धा निमुखा जनताको नलिखुट्टा भाँचेर बाँसुरी बजाए । महँगीको तरवारले छाला काढेर खैँजडी बजाए । विकासको तुरही बजाए । स्याबास बजियाहरू, तपाईंहरूको पुरुषार्थ बजाउनकै लागि थियो, खुब बजाउनुभयो ।

Nepal Telecom ad

हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी विशिष्टखाले बजियाहरूको विरुद्धमा छिसिक्क पनि बोल्नु भनेको आफ्नै मुख पोल्नु हो । झन् बाह्र वर्षपछि खोलो पनि फर्किएको बेला पर्यो । आयोगको तातो भुतभुतेमा ज्युँदो माछा परे झैँ फत्र्याफत्र्याक पर्न कसलाई मन लाग्छ र भन्या ? जमानाले यसरी रङ्ग फेरिरहेको बेला ढङ्ग नपुर्याई बोल्नु सिधै स्वर्गको ढोका खोल्नु हो । त्यस कारण उच्च आशनमा विराजमान यी बजियाहरूलाई उच्च आदरार्थी शब्द प्रयोग नगरी कसैलाई सुखै छैन भने म जाबोको के कुरा ?

नेपाली शब्दकोशले बजियालाई अत्यन्त हेय रूपको अर्थ दिएर महाभुल गरेको छ । यो मुलुकमा बजियाहरूको यस्तो बिघ्न बिगबिगी चल्छ भन्ने परिकल्पना मात्र गर्न सकेको भए बिचरा त्याे बेलाका कोशकारहरूले यस किसिमको अक्षम्य भुल किमार्थ गर्ने थिएनन् । बरू शब्दकोशमा बजियाको अर्थ यसरी प्रस्तुत गर्ने थिए— उच्च–उच्च पदमा विराजमान, सम्माननीय, अति विशिष्ट व्यक्ति विशेषलाई उच्च आदरका साथ गरिने सम्बोधन । धेरै कुरा फेरिँदै गएको वर्तमान परिस्थितिमा जाबो शब्दकोशको अनर्थ लाग्ने अर्थलाई फेर्न कुन आइतबार कुरिरहनुपर्छ र । सामुन्ने पर्नासाथ जसलाई जो कसैले धनुष्टङ्कारे शैलीमा जम्लाहात गर्दै नमस्कार बजाउनुपर्ने बजियालाई गाली गर्ने तागत कोसँग छ हँ ? गाईजात्रे पाराले यस्तो अकल्पनातीत परिस्थिति पैदा भएकामा बबुरा कोशकारहरू छक्क पर्नु अस्वाभाविक हुँदै होइन । अब त शब्दकोशहरूबाट बजिया शब्दको अर्थ सुल्ट्याएर नयाँ संस्करण ननिकाली उनीहरूलाई सुखै छैन । यसतर्फ उनीहरूको ध्यान खिचिइसकेको अनुमान सहजै गर्न सकिन्छ ।

‘बजिया’ शब्दबाट ‘बजाउनु’ क्रियापद बनेको हो वा ‘बज्’ धातुबाटै ‘बजाउ’ हुँदै बजिया बनेको हो ? यसको ब्युत्पत्ति केलाउन अब हाम्रा घागडान भाषाशास्त्री एवम् भाषाविद्हरूलाई पनि हम्मेहम्मे पर्ने भयो । किनभने भाषाशास्त्रमै पि.एच्.डी. पड्काउनेहरूको पनि हुर्मत लिन तयार हुनुहुन्छ अब बजियाज्यू । मेरो मुढमतिले चाहिँ के भन्छ भने जसले बहादुरीपूर्वक बजाउन सक्छ त्यो नै बजिया हो । हाम्रो यो मुलुक परापूर्वकालदेखि नै वीर र बहादुरहरूको कर्मभूमी बन्दै आएको छ । इतिहास साक्षी छ बजाउन कसैले बाँकी राखेको छैन । जो बजाउन जान्दैन, जसले बजाउने प्रयत्न गर्दैन अथवा जो बजाउन सक्दैन त्यो बजिया हुँदैहोइन । बीस वर्षदेखि गौँडो ढुकेर होस् वा बाह्र वर्षसम्म दुलो पसेर होस् मौका पर्नासाथ बजाउन सक्नुपर्छ । यस्तै केही माहिर बजियाज्यूहरूले अहिले स्वादसँग बजाइरहनु भएको छ । कसैले रिस वा आहारिस गरेर केही खालो सर्नेवाला पनि छैन ।

जमाना प्रतिष्पर्धाको हो । बजिया बन्न पनि ठूलो प्रतिष्पर्धाको लडाईं लड्नुपर्छ । लडाईं न हो एउटा नढली अर्को  उठ्दै उठ्दैन । एउटा नखँदारिई अर्को माथि पुग्दै पुग्दैन । लडाईं भनेको लडाउनु पनि हो । एउटालाई नलडाई अर्को उँभो उक्लनै सक्दैन । यो सब बजाउने खेल हो । खेल नै भएपछि झेल हुन्छ । झेल गर्न जो सिपालु छ उसैले खेल जित्छ । लिगलिगकोटमा दौड जित्ने राजा भए । कोतमा खुँडा चलाएकै भरमा एउटा वीर जङ्गबहादुर भए । उता त्यत्रो लडाईं जितेर पनि जेल परेका भीमसेन थापा खुकुरीले सेरिएर मरे, बिचरा उनी बजिया हुन सकेनन् । कुयँत्रो लागेको इतिहास यही बकिरहेको छ । इतिहास पनि बजाउनसक्ने बहादुर बजियाहरूकै पक्षमा वकालत गर्छ ।

इतिहासका थोत्रा थाङ्ना कोट्याउनतिर मात्रै किन लाग्ने हँ ? बितेका बाह्र–चौध वर्षमै पनि ककसले केके बजाए केके ? कतिले साठीलाखे पजेरोको पाङ्ग्रा बजाए, कतिले तिब्बतबाट दशैँमा आएका सित्तैका च्याङ्ग्रा बजाए । कति पुरुष सांसदले सुत्केरी खर्च बजाए । सत्ता भनेको सत्य नै हो, कतिले बेकाममा भत्ता बजाए । घूसलाई नियमपूर्वकको कमिसन भन्दै बजाए । कुर्सी र टेबुल बजाए । जनता र राष्ट्रको नाममा मादल ठोक्दै लाउडा बजाए, चेज एयर बजाए । कतिले ठेक्का बजाए कतिले पट्टा बजाए । बजाउनु थियो बजाए । आ–आफ्नो मादल बजाए, डम्फू बजाए, नेपालीको पेटमा सारङ्गी बजेको बज्यै छ, कतिले भने कौशीमा सिंहमर्मर बजाए ।

प्रजातन्त्रको नाम जप्दै तस्करतन्त्रको ढोल बजाए, ढ्याङ्ग्रो बजाए । हामी निर्धा निमुखा जनताको नलिखुट्टा भाँचेर बाँसुरी बजाए । महँगीको तरवारले छाला काढेर खैँजडी बजाए । विकासको तुरही बजाए । स्याबास बजियाहरू, तपाईंहरूको पुरुषार्थ बजाउनकै लागि थियो, खुब बजाउनुभयो । बजाउनेले सालीपट्टिका सातपुस्तालाई पुग्ने गरी बजाए । भिनाजुपट्टिका नौपुस्तालाई पुग्नेगरी बजाए । बेलाबेला विरोधको स्वर नउर्लेको होइन, विरोधको स्वर उराल्नेहरूका थाप्लामा कठबाँसका लाठा बजाए, सिटी फुक्दै सडकमा दमदम गोली बजाए । हतकडीको सिक्री बजाए, जेलका फलामे ढोका बजाए । पौरखीहरूको यस्तो पौरखप्रति सम्मान जाहेर गर्दै हामी भने थपडी बजाइरह्यौँ ।

समयले अर्को तुरही बजायो । चिहानबाट लासहरू जुरूजुरू उठे । चानसमा डानस गर्ने सुवर्ण अवसर यही थियो । मरेर दुलामै पुरिएका मुसाहरू दुलाबाट खुरूखुरू निस्किए । उहिलेदेखि बजाउनमा पारङ्गत बजियाज्यूहरू ताल पारीपारी बजाउन थाल्नुभयो । कति त ओल्लो घरको नरे पल्लो घर सरे हुँदै बजाउनकै निम्ति साखुल्ले पल्टिएका पनि देखिए । बजाउनमा सबैको मतो एउटै । बजाउनमा सबैको चोचोमोचो एउटै । बिचरो अख्तियार हेरेको हेर्यै छ, कतिलाई आयोगको मुर्चल उचालेर बजाउँदा छन् । पहिले लाठा बजाउने कतिपयलाई अहिले लाठैले बजाउँदा छन् । पहिले कलिङ बेल बजाउनेले अहिले छिँडीको पुरानै जेल बजाउँदा छन् ।

बजाइ निकै मापाको छ, कसैलाई पुरानै अ.त.को लौरोले बजाउने योजना बनाउँदैछन् । जमाना नयाँ भएर के भो ओल्ड इज गोल्ड । पुरानै ढाँचा, पुरानै साँचो, पुरानै औजार बढ्ता लाग्ने हुन्छ भन्ने कुरा खली खाइसकेका बजियाज्यूहरूलाई राम्रोसँग थाहा छ । ए हजुर तपाईंहरूलाई सत्र परेको छ, नगदानगद बजाउनुस्, हाताहाती बजाउनुस् । माल मजाको छ, ताल पारीपारी बजाउनुस् ।

यो लखरठ्याक भने बजियाहरूको बजाइ प्रकियाका बारेमा मग्न भएर चिन्तन गरिरहेथ्यो, भान्साकोठाबाट आएको घन्द्रयाङ्ग आवाजले झसङ्ग हुनपुग्यो । भान्सामा रहेको दूध बजिया ढाडे बिरालोले काइदासँग बजाएछ । दूध सिनित्तै बजाइसकेर झ्यालको बाटो हामफाल्ने क्रममा लखरठ्याककाे थाेत्राे रर्याक कोल्टिदा रित्तो भाँडो भुइँमा बज्रिएछ । धत्तेरी, दूध जति बजिया ढाडेले बजायो, अब आधारातमा उठेर सानी छोरीले घोक्रो बजाउँदा के ख्वाउने खै ? बजियाहरूका बारेमा ब्यर्थको चिन्तन गर्ने लखरठ्याकलाई अर्को चिन्ताले  पाेअँचेट्न थाल्यो ।

००० 
कलङ्की, काठमाडौँ
(कामनाको गाईजात्रे अङ्क २०६२ भदौमा प्रकाशित याे निबन्ध वि.सं. २०७० मङ्सिर १७ गते सोमवार पहिलाेपटक फित्काैलीमा प्रविष्ट भएकाे थियाे । )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x