भोलानाथ सुबेदीपोसाक
त्यही पोसाक सुकेनाशका लागि ढुङ्गामाथि उम्रेका पोथ्रा जस्तो । जिउँदामा लगाएको लुगा मरेपछि कात्रो बन्छ । कात्रोमा जात्रा देखाएर नरनारीहरू आन्दोलन गर्दैछन्, अर्धनग्न भएर ।

आफ्नो आङ बेलायती ऐनामा सरसर्ती हेर्नु होस् वा नियाल्नु होस् । भाग्य वा दुर्भाग्यवश हाँडी हुनुहुन्छ भने सेता पोसाक धडेर हेर्नुस् गजबको पाउनु हुनेछ आफूलाई । पुरानो खाँडी, पाल्पाको ढाका पा प्रवासी पहिरनले जकडिएको तपाईंको शरीर पिलन्धरे वा फर्सी जस्तो जे होस् छुट्टै महत्त्वको देख्नु हुनेछ । च्याम्पटी जस्तो साह्रो मन भएका हुन् वा नौनी जस्तो पिलित्त पग्लने । जो जो जे जे भए पनि पोसाकको झोलुङ्गोमा आफ्नो भुत्ते शरीर झुलाइरहेछन् ।
पोसाक मान्छेको गरिमा, राष्ट्रको सम्पदा, पदको निसाना अनि जागिरेको कमिसन जस्तै मान्छेको औकात र जीवनयापनमा फरक पार्ने वस्तु पनि । घुम्ने मेचमाथि बस्ने र गल्ली डुलेर जीवनका कैयौं अवसर थाङ्नामा सुताउनेहरू पनि पोसाककै दौडाहामा चप्पल पड्काइ रहन्छन् । गरिब, धनी, नोकर, मालिक, हाकिम, कर्मचारी, ब्रह्मचारी जो जो जो छन् सबै पोसाकमै लम्पट छन् । झुप्रोमा उध्रेको टोपी, टालेको कट्टु र च्यात्तिएको कमिजले गरा खनेर दुनियाँको मुखमा माड लगाउनेलाई महलले डकारको सान छोड्छ । आइरन दलेर खुकुरी धार झैं बौद्धिकताले मुख कसेको छ भने थैली जस्तो जिन्दगी बाँच्नुको के मज्जा ? साँघुरो भएर मुजा पारेर वा जे गरेर पनि लाग्छ, पोसाक नेपालको जातभात जस्तो भिन्न छ । जातको द्योतक पनि पोसाक । ठुलो, सानो, रोजगारी, बेरोजगारी, चाउरे सबै पोसाककै भरमा परिचित छन् । समाजको स्तर निर्धारक बनेको छ पोसाक ।
धरो, लपेटो, धजो, टालो, लुगा, पोसाक जे भने पनि आङ ढाक्ने र पार ताप्ने न हो । अहिले समय अनुसार पोसाक झुन्ड्याउन जानिएन भने डन्डा खानुपर्छ । शरीरभर लुगा लगाएर हिँड्दा कुकुरले कतिका पाँसुला चिथोरेको छ, कतिका गर्धन । पुर्खाको खाँडी टाँडीमा सुकाएर सभ्यता नङ्ग्याउने होडमा छौं हामी । छोटा कपडामा सुन्दरता दाँजिन्छ अचेल । सुन्दरताको बद्नाम गराउन लागेको छ मान्छे । आँखीभुइँ झिकेर सुन्दर हुन खोज्नेको बाक्लो भिड । बत्ती निभाएर जन्मोत्सव मनाउने हामीलाई उध्रेका लुगा फेसन बनाएर लगाउँदा के को आइतबार । एक जोर लुगा फेर्न दसैं कुर्नुपर्ने बाक्लो जमातलाई गिज्याउँदै छन् देउसे पोसाकले । सुकुलगुण्डा बन्नेको प्रारम्भिक छनोट ।
पोसाकको लत गाँजा, भाङ र चुरोटभन्दा कमको हुँदैन । पेट दाम्रो पारेर होस् वा मन चाम्रो पारेर पोसाकलाई लुगा र लुगालाई पोसाक बनाएर धड्नेको बाक्लो भिड छ हाम्रो समाजमा । आम्दानीले लवाइ खवाइमा फरक पार्दो छ । जागिरेहरू ढुँडी परेका लुगा घाममा सुकाउँदै अहमताले जुँगा मुसार्छन । यहाँ पोसाकको कारण केदार घिमिरेहरू माग्ने बूढा बन्छन्, सीताराम कट्टेलहरू धुर्मुस बन्छन् । तन्नेरी बूढा र बूढा तन्नेरी बन्छन् । पुरुष र स्त्रीमा पनि समानता ल्याउने काम गरेको छ पोसाकले । मन जतिसुकै मैलो भए पनि सुकिलाहरू धनी र गन्यमान्य ठहरिन्छन् । सभामा उनीहरूकै मुखाकृतिमा दुनियाँको नजर ठोकिन्छ ।
पोसाक परिवर्तनको द्योतक र सम्पत्ति सूचक हो । खान नपाए पेट दाम्रिए पनि राम्रीका अगाडि चाउरे गाला ताछेर दाउरे जीउ हल्लाउँदै काखान्द्रित गर्न पनि फेसनमा झ्यामिन्छन् झ्यापिन्द्रेहरू । शरीरमा एक पाउ कपडा बेरेर सुन्दरताको उछितो काड्नेको बाक्लो भिड लामबद्ध छ । पिलन्धरे लुगा लगाएर मौसमलाई चुनौती दिने काम त युगान्तर चलिनै रहन्छ । के हामीले आफ्नो औकात नापिरहेकै हौँ त ? महँगीमा मितव्ययी बन्न खोजेका हौँ कि ? सिकारू भएर समाजमा बदनाम कमाउने होडमा लागेर आदर्श स्खलन गराइरहेको भान कसलाई भएको छ ? यहाँ सात जोर दिनमा फेर्नेदेखि एक जोर वर्षमा धड्नेसम्मको प्रदर्शनी हेरिरहेका छौँ हामी ।
पोसाकको बाहुल्य रहेको यो समाजमा पोसाककै गुणगानमा पँधेरादेखि बैठकसम्म ससुरालीदेखि मामाघरसम्म चर्चाको पर्चा छर्न व्यस्त हुन्छन् कति । नेताको भाषण, डाक्टरको उपचार, धामीको झारफुक, चोरका आँखा, माग्नेका डाका सबै सबै पोसाकमै प्रश्न सोझ्याउँछन् । बिस्तारामा कुकुर सुताउने र सडकपेटीमा सुत्ने खोपिल्टे र टुटुल्केहरू पोसाककै चरणमा पुर्पुरो टेकाउँछन् । नेपाली ढाका टोपी, दौरासुरुवाल, चोली, चौबन्दी, फरिया सिका लगाएर मादले लुगा धडेर नेपाली भन्दै चटके बनेर विश्व यात्रामा दौडदो छ, यो पुस्ता । शुभ होस् वा अशुभ, जाडो होस् वा गर्मी सबैमा पोसाककै अग्रसरता हुन्छ । पोसाक विज्ञापनको माध्यम साथै सङ्गत गर्ने बाहाना । पेशा, दर्जा, औकात सबैको परिचय । एका बिहानै सडकमा झाडु झट्याउनेदेखि भान्सामा डाडु बजाउनेसम्म पोसाककै पछाडि दौडिरहेछन् । पोसाकको आसमा भट्याउने पुरेतदेखि पोसाकको तागतमा हात हल्लाउँदै सिठ्ठी मार्ने ट्राफिकसम्मले पोसाकमै देश दौडाइरहेछन् ।
पगरी गुत्नेको मुस्कान पोसाकमा चम्कन्छ । पीडाले पोसाकको चमकता हराउँछ । अनुहार हाँसे पोसाक हाँस्छ भने रुन्चे अनुहारमा पोसाकको चमकता हराउँछ । रङ अनुसारको पोसाक धडेर करङ देखाउनेको भिड निकै बाक्लो छ । लुवाइ खुवाइले हाम्रो संस्कृति फले फुलेको छ । पहिरनले पुर्खाको इतिहास बोकेका छन् । पहिरन बाँच्नु भनेको हाम्रो अस्तित्व बाँच्नु हो । दसैं बाँच्नु, तिहार, छठ, ल्होसार, तीज बाँच्नु हो । जात्रा बाँच्नु हाम्रो संस्कृतिको श्वास हो । हामी पोसाकमा कहिल्यै दरिद्र छैनौं । उपयोग गर्न नसक्नु दोष कसको ? जाडोमा जिलजिलेमा जेल्लिनु र गर्मीमा गुम्सिनुको मतलव के ?
ज्यान हट्टाकट्टा हुनेहरू जस्तोसुकै धडिदिन्छन् । त्यही पोसाक सुकेनाशका लागि ढुङ्गामाथि उम्रेका पोथ्रा जस्तो । जिउँदामा लगाएको लुगा मरेपछि कात्रो बन्छ । कात्रोमा जात्रा देखाएर नरनारीहरू आन्दोलन गर्दैछन्, अर्धनग्न भएर । सभ्यताको घाम झुल्काउन र फाँटमा इन्द्रेणी फुलाउन आफ्नो मौलिकतालाई नभुलौँ । पोसाक शरीर ढाक्ने मात्र नभइ हाम्रो पहिचान बचाउने सम्पदा हो । मोबाइलको लत, कपडाको छाडापन र मान्छेको अल्छेपनले मानवरत्न डुङ्डुङ्ती गनाइ रहेछ । आफ्नो सम्मान खोज्न पोसाकको पनि सम्मान गरौँ । जय पहिरन ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest






































