कृष्ण प्रधानसाथी
हे भगवान ! मेरा शत्रुहरूले मेरो विरोध गर्न अनि बद्ख्वाइँ गर्न नछोड़िदउऩ् । मेरा शत्रुहरू दिन दुइगुण रात चारगुणा बढ़ुन् अनि़ मेरा प्रशंसक साथीहरू जति सबै छेरौटीले मरुऩ् ।

एकसाथ रहने वा सँगै उठबस गर्ने व्यक्तिलाई साथी भनिन्छ । साथीलाई साथी मात्र नभनेर सँगी, सोम, पार्टनर, कम्पनी आदि भनेको पनि सुनिन्छ । कतिले ता आफ्नो साथीलाई अर्थ नजाने पनि कमरेड भन्ने गर्छन् । साथी सबैको हुन्छ । बिना साथी कोही पनि बाँच्न सक्दैनन् । भनिन्छ पनि गाँस छोड़्नु साथ नछोड़्नु । तर सबै साथी हुँदैनन् पक्कै । एउटै श्रेणीमा पढ़्ने चालीस-पचासजना सहपाठीहरू सबै एक दृष्टिकोणले सबै साथी हुन् । तीमध्ये आफ्ना अनेकन् सहपाठीमध्ये एकजना सहपाठीसित मात्र एक-अर्काको वरिष्ठ हुन्छ । चालीसजना सहपाठी जम्मै साथीसित घनिष्टता हुँदैन ।
मैले मेरो जीवनमा असल साथी कहिल्यै पाइऩँ । असल साथीको खोजमा म अहर्निश छटपटिरहेको छु । मेरो कस्तो दूर्भाग्य, अहिलेसम्म मैले असल साथी पाउन सकेको छैन । मेरा सहकर्मीहरूलाई पनि मैले मेरो साथीको सूचीमा राख्न सकेको छैन । मेरा सहकर्मीहरू जति सबै बुद्धिजीवी छन् । बुजुर्ग छन् । पढ़े-लेखेका छन् । गुहु र गोबरमा भिन्नता छुट्याउन जान्दछन् । तर मेरा बुद्धिजीवी, बुजुर्ग, पढ़े-लेखेका, गुहु र गोबरमा भिन्नता छुट्याउन सक्ने साथीहरूलाई मैले साथी भनी स्वीकार गरेको भने पटक्कै छैन । कारण मेरा यी सहकर्मी साथीहरू यति मिलनसार छन् त्यसको हिसाब-किताब मसित छैन । मलाई सक्र्याउँछन्, फुक्र्याउँछन् उनीहरू । हरेक ठाउँमा मेरो भक्कुचूर प्रशंसा गर्छन् । मैले जानेर वा नजानेर गरेका गल्तीहरू ढाक-छोप गरी मलाई प्रशंसाको शिखरमा पुर्याउँछन् र प्रशंसाले म ग्यास बेलुनजस्तै माथि कहाँ को कहाँ पुगेको छु त्यो सत्ते हो । यसमा कुनै भेजाल छैन । मेरा सहकर्मीहरूका स्नेह र मोहले म आफैलाई अचेल आफू छ छारमा खुट्टा छ भारमा भनेजस्तो अनुभव भइरहेछ । यसैले मलाई प्रशंसा गर्ने, सक्र्याउँने, फुर्क्याउँने सबै साथीहरूलाई मैले शत्रु ठान्न थालेको छु । आफ्ना राजा क्यानूटको अवस्था कस्तो भएको थियो त्यो पनि मैले पढ़ेको छु । अङ्ग्रेजहरूको घुक्र्याइँमा मक्ख पर्दा मीरजाफरको गति के भएको थियो सो इतिहास पढ़्नेहरूलाई अवश्यै थाहा भएको होला ।
छतछती भन्नु हो भने, मलाई ता यस्ता साथीको आवश्यकता छ जसले मेरो विरोध गरुन् । मैले गरेका गल्तीहरूलाई औँल्याएर मेरै सामु मेरो आलोचना गरुन् । जनरल आबुगोनको भनाइ यहाँ राखेँ- पोल सार्ने साथीभन्दा विरोध गर्ने साथी असल मित्र हुन् । यही भनाइलाई आह्रिस गर्दै अझै के थप गर्न चाहन्छु भने, मेरा प्रशंसक साथीहरू मेरा शत्रु हुन् अनि मेरा छिन्द्रान्वेषी साथीहरू नै मेरा खाँटी साथीहरू हुन् ।
मलाई कसैको स्याबासीमा नाक घोक्र्याउनु पनि छैन । फोस्रो सक्र्याइँ र फुक्र्याइँमा अनि बिनासित्तिको प्रशंसामा च्याम्पियन हुनु पनि छैन । मलाई मेरा साथीहरूले सक्र्याउँदा फुक्र्याउँदा र प्रशंसा गर्दा मैले गर्नुपर्ने उन्नति र प्रगतिले मलाई सोड़्क्याको जस्तो लाग्छ, अचेल । साथीहरूको झूटो प्रशंसाले म साँच्चै बहकिएको रहेछु भन्ने मलाई अचेल पो छ्याङ्ङै हुन थालेको छ ।
मेरा शत्रुहरू छैनन् म भन्दिनँ, छन् अवश्यै छन् अनि म मेरा ती शत्रुहरूलाई राम्ररी चिन्दछु । उनीहरू मेरो विरोध गर्छन् । मेरो बद्ख्वाइँ गर्छन् । मेरा ती तमाम् शत्रुहरूलाई म मेरो गुरु ठान्छु । मार्गदर्शक ठान्छु । किनभने, उनीहरूको बद्ख्वाइँले नै मलाई सञ्जीवनीको काम गरेको हुन्छ । उनीहरू जति-जति विरोध त्यसलाई गुरुमन्त्र वा फर्मुला ठानी म बड़ो सतर्क र होसियारपूर्वक आफ्नो काममा डटिरहन्छु । मेरा शत्रुहरू छन् तर मेरो विरोध गर्ने साथीहरू छैनन् । यसैले म औधी चिन्ति छु । निराश छु । मेरा शत्रुहरू बजारभरि छन् र नै मेरो उन्नति र प्रगति सम्भव भएको हो भन्ने मेरो ठनाइँ छ । मेरा उन्नतिमा वाधा पुर्याउऩे मेरा शत्रुहरू होइनन् तर मेरा प्यारा-प्यारा, मलाई स्नेह-माया गर्ने, प्रशंसा गर्ने, सर्काउँने, फुक्र्याउँने साथीहरू हुन् ।
दसौं श्रेणी पढ़्दाको कुरा । सहपाठी कमलका दाजुको बिहे थियो सुकुनामा । कमलका सहपाठीहरूमध्ये उनीसित मिल्ने-मिल्ने साथीहरूलाई निम्तो थियो । त्यसमा म पनि सामेल थिएँ । बेलुकी गतिलो पार्टी चल्यो । चिसो पानीको भरमार थियो हामी सहपाठीहरूलाई । मेरा मिलनसार कमलले चिसो पानी मलाई अफर गर्यो जबरजस्ती । मैले सक्दो विरोध गरेँ । अन्य सहपाठीले खा न खा केही हुँदैन भन्ने, केबी भन्ने अरु सबै खान्छ कृष्णले तर यो चाहिँ ठ्याम्मै खाँदैन । यल्ले खायो भने झगड़ा गर्छु । दिस इज माइ लाष्ट प्रोटेष्ट । साँच्चै केबीको विरोधलाई कसैले खण्डन गर्न सकेनन् न ता नकार्न नै । मैले पनि सकिनँ । मलाई खानु नदिएकामा केबीसित रिसाएर निक्कै दिन बोलिनँ । केबीले मलाई फकाइरह्यो । तर केबीको विरोधको कारणले अहिलेसम्म पनि चिसो पानी वा रातो पानीको एक थोपा मेरो यो हाड़बिनाको जिब्राले स्वाद चाख्न पाएको छैन ।
यसकारण मलाई ता केबीजस्ता विरोध गर्ने साथी चाहिएको छ । म आफूलाई सर्वगुण सम्पन्न छु कदाचित भन्दिनँ । अवश्यै मेरा अवगुणहरू होलान् । यी अवगुणहरू औंल्याइँदिने छिन्द्रान्वेषी साथी चाहिएको छ मलाई ता । मेरा सहकर्मीहरूबाट यो सम्भव छैन । कारण, मेरा सहकर्मीहरू ता सबै नै मेरो प्रशंसा गर्नु, मलाई बिनासित्ति हुटहुट्याउनु, सक्र्याउँनु र फुक्र्याउँनुमै मक्ख छन् । मेरो विरोध गर्ने, बद्ख्वाइँ गर्ने उनीहरूलाई फुर्सदै छैन । मलाई प्रशंसाको सुलीमा चढ़ाएर धोती न टोपी बनाउन भरमग्दूर प्रयास गर्ने मेरा सहकर्मीहरू भइ गए तर मेरो विरोध गर्ने, मेरो बद्ख्वाइँ गर्ने शत्रुहरूले विरोध गर्न वा बद्ख्वाइँ गर्न छाड़ेर मेरा सहकर्मीहरूले झैं मेरो प्रशंसा गर्न थालेको कथङ्कल चाल पाए भने आलु काट्ने छुरीले सेरिएर आत्महत्या गर्नेछु ।
यसकारण भगवानसित एउटै प्रार्थना छ, हे भगवान ! मेरा शत्रुहरूले मेरो विरोध गर्न अनि बद्ख्वाइँ गर्न नछोड़िदउऩ् । मेरा शत्रुहरू दिन दुइगुण रात चारगुणा बढ़ुन् अनि़ मेरा प्रशंसक साथीहरू जति सबै छेरौटीले मरुऩ् ।
मेरा प्रशंसक साथीहरू मुर्दावाद ! मेरा शत्रु साथीहरू जिन्दावाद !!
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































