हरि खनालकेही टुक्रे क्षणहरू
“ए तपाईँलाई आराम छ त भाइ ?” “अहिलेसम्म त एकदम ठीक छु ।” उनले सुती सुती भने । “हिजो आज घन्टी बजेको नसुनेर के छ भन्न आएको ।” मैले पनि भ्रमणको उद्देश्य सुनाएँ । “हेर्नुस् न यसको रालो त कसले लग्यो लग्यो ।” उनले रालो नभएको घन्टी देखाए ।

१.
राजनीतिको नाम सुन्दा पनि नाक थुन्ने काकाले हिजो बिहान एउटा पार्टीको सदस्यता लिने घोषणा गर्नुभयो । चकित पर्नु त स्वभाविकै भयो । कारण सोधेँ उहाँले भन्नुभयो “सदस्यता लिएमा मलाई पर ज्ञा परतिष्ठानमा नियुक्ति गर्ने अरे ।”
“हजुरले त्यहाँ काम गर्न सक्नुहुन्छ त ?” मैले पनि प्याच्च सोधिहालेँ । उहाँ मुसकुराउनुभयो र भन्नुभयो त्यहाँ पुगेर खासै केही गर्नुपर्ने रहेनछ । अलि अलि भाषा बिगार्ने काम हो त्यो यसअघि नै शुरु भइसकेको छ अब त्यसमै निरन्तरता दिने न हो ।
२.
एकजना भाइ कवि बिहानै आइपुगे । उनले सासै नफेरी भने “लौ न, यो मेरो कवितालाई कविताजस्तो बनाइदिनुपर्यो ।”
“हैन किन यस्तो हतार भयो ?” मैले सोधेँ । उनी मुसुक्क हाँसे र भने “कान यता ल्याउनुस् त ।”
मैले उनी भएतिर कान पुर्याएँ ।
“मलाई सशक्त काव्य लेखन पुरस्कार दिने कार्यक्रम बनेको छ । त्यहाँ एउटा कविता सुनाउन त अवश्य लगाउँछन् । तयारी गर्नुपरेन त ?”
३.
मेरा एकजना छिमेकी निकै फुर्तिला थिए । उनी बिहान दिउँसो बेलुकी नै घन्टी बजाउँथे । त्यतिबेला मैले कारण सोध्दा उनी भन्थे “म यो इलाकाबाट भूत, प्रेत, मसान सबलाई सखाप पारेर शान्ति कायम गराउन चाहन्छु ।”
केही दिन भयो अचेल त तीन पटक त के कुरा बिहान एकपटक पनि घन्टी बजाउन छोडे । मलाई उनको चिन्ता भयो । कतै बिरामी त परेनन् ? म उनकै घरमा गएँ । उनले बजाउने गरेको घन्टी त पल्टिरहेको थियो ।
“ए तपाईँलाई आराम छ त भाइ ?”
“अहिलेसम्म त एकदम ठीक छु ।” उनले सुती सुती भने ।
“हिजो आज घन्टी बजेको नसुनेर के छ भन्न आएको ।” मैले पनि भ्रमणको उद्देश्य सुनाएँ ।
“हेर्नुस् न यसको रालो त कसले लग्यो लग्यो ।” उनले रालो नभएको घन्टी देखाए ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































