सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बोकाको दाइँ

गोरू नपाए राँगो गधा खच्चड जे जे नारेर भए पनि दाइँको काम अघि बढाऊ । देश र देशवासीको अमनचैन, समृद्धिको प्रतीक यो मङ्सिर मासलाई त्यत्तिकै नबिताऊ । केही गरेर देखाऊ ।

Nepal Telecom ad

“असम्भव हेममृगस्य जन्म तथापि रामो लुलुभे मृगाय ।“

बिचरा त्रेतायुगका मर्यादापुरूष रामचन्द्रजीले असम्भव स्वणर्मृगला सम्भव शिकार ठानेर पछि लाग्दा जीवनभर पत्नीवियोगमा परेका थिए रे दिव्य बाइ वर्षपछि बल्लतल्ल हात लागेको राज्य चलाउँदा पनि पटरानीबेगर नै विधुर कित्ताको एकल राजा बनेका थिए । कलिजुगका अर्का दयाराम पनि त्यस्तै असम्भव कुरा पत्याउनेमा परेछन् कि कसो हो ? बोकाले दाइँ गर्छ भन्ने हावादारी कुरा पत्याएर शुभचिन्तक र आफन्तजनको विश्वास गुमाउने बबुरामा पर्ने त होइनन् ? आजभोलि यही प्रश्नले खुल्दुली खेल्न थालेको छ भला मान्छेका मनहरूमा ।

चलनचल्तीको भाषामा परिभाषा गर्दा रङ्ग र वस्तुको राम्रो समायोजन पाइँदोरहेछ हरियो सेउलामा । त्यही सेउला सुकेको अवस्थामा पतकर कहलिन्छ र सडेगलेको, कुहिएको भए घरेलु मलमा दरिन्छ । सेउला अक्सर घाँस सोतरमा प्रयोग गरिन्छ र त्यो घाँस खाने वृन्दमा उहिले पशुमात्र हुन्थे तर समयले उल्टो गति लिएर त्यो भाग पनि खोसिएछ कि कसो ? अहिले निकृष्ट स्वभावका उत्कृष्ट प्राणीहरू पनि घाँस भोजन गर्नेमा पर्न थालेछन् भन्दा लाज मान्ने हो कि गौरव गर्ने ? यो देशभक्त मनुवा उसै रनभुल्ल पर्न थालेको छ ।

उहिले हरियो सेउला पशुवर्गको प्रिय भोजन थियो । बोका बाख्रा हुँदै पाडा बाच्छासम्मले ज्यान छोडेर थुतुनो उज्याउँथे र हाँपझाँप गर्दै सेउला उपर जाइलाग्थे । बलबुताले भ्याएसम्म सँगेटेर चपाई धुल्याई उदरस्थ गर्थे । अझ बडहर, कुटमिरो खस्रेतोजस्ता नामुदखाले घाँसका सेउला भेटे त दुहुना गाई भैंसी पघ्रिएर दूधले गबुवा भरिदिन्थे । त्यो ढुङ्ग्रो हो कि गबुवा हो को दूध कराइमा खन्याएर डालेघाँसका सिटाको भुङ्ग्रोमा मतापले तताएर बाक्लो तरसँग खेलबाड गर्नुको स्वाद शायद गाउँघरको परिचय पेवाभित्र पर्दथ्यो । उतिबेर डालेघाँस खाने चौपायामा गाईभैसी पछि बाखाबोका नै प्रमुख थिए । बोकाहरूले वंशवृद्धिको प्रायोजन गरेर पाठापाठीले खोर भरिदिन्थे । कुमार बोकाहरू देवी कुलायनका प्रिय आहार पनि हुन्थे भने कुनै कुनै बोकाहरू सनेसाको चेपाइमा खसी परेर दशैं, छठ, लोसार, साकेवाका भोजभतेरमा अनेकथरी परिकारमा अवतरित हुन्थे । हरियो सेउलाको रूप, रस, गन्ध, स्पर्शले बनेको खसी वर्गको काया नै दायाँबायाँका इष्ट निम्तालु मैतालु खुशी पार्ने विशिष्ट व्यञ्जन बन्ने गर्दथ्यो ।

त, अहिले केही वर्षयता आएर समयले अचम्मैसित चोला फेरेछ । त्यो पौष्टिक अनि रसदार हरियो सेउला बोकाखसीको मात्र प्रियभोजन रहेन । कुटमिरो र बडरले भैंसी गाईमात्र पधार्ने भएन । घाँसको महिमा बित्ता नाघेर कित्ता कित्ता फैलिदै गयो । बनको हरियो सेउला ढुकुटीको हरियो डलरमा रूपान्तरित हुँदै पो आएछ । थाहा नपाई बुद्धिजीवी, नेता, सञ्चारी भनाउँदाहरू त्यही हरियो डलरको सेउला दाबेर झुसिलो डकार्ने भएछन् ।

नेताखाले विशिष्ट प्राणीहरू अशिष्ट गतिविधि देखाउने बोकामा अवतरित हुँदै जाँदा पनि मुखियाजी भने कुरै नबुझी मक्ख परेछन् । गोरु नारेर गर्नुपर्ने दाइँ बोकाहरूबाटै गराउँछु भन्ने उनको सपष्ट इरादा रहेछ । त्यसैले उनी त तालिम प्रशिक्षण र कार्याशाला केके जातिका पाण्डलहरू तयार गर्न पो लागेछन् । अनि बारम्बार भेला गरेर बोकाहरूलाई दाइँको आचारसंहिता सिकाउन थालेछन् । हुर्मत इज्जत र अनुशासनको प्रायोजन- परीक्षा गराएर पुरस्कार बक्सिस आदिका पगरी गुताउन थालेछन् । तर उनले शोचेजस्तो मात्र पनि नभैदिनसक्ने रहेछ । हरियो घाँसले पेट फुलेका र आयातीत नुनपिंडोले बुद्धिदिमाग मलमाल पारेका बोकाहरू प्याप्या कराउने र वातवात गर्दै अशोभनीय गतिविधिमात्र
मञ्चन गर्न थालेपछि परेन फसाद ? दाइँसार्इंको कुरा छोडेर निरन्तर हरियो घाँस र सिंगारी पाठीको खोजीमा मात्रै भौतारिने भएछन् बोकाहरू । अनि त्यो नपाउँदासम्म आआफैले त्यो दृश्य प्रस्तुत गर्ने कर्ममा दिनरात ध्याउन्न गर्न थालेछन् । बोकाहरूको भर गर्दै आएका बिचरा दयारामजी आफै पो पर्दै गएछन् अभरमा ।

उता बोकाको सट्टा गोरू पाउन पनि सम्भव रहेनछ । शुद्ध घाँसपानी छोडेर विकासे दाना खाएका गाईहरू दूधमात्र बढी दिने रहेछन् । बाच्छाबहरको चाह गर्ने बानी तल खसेछ । मेसिनले दूध दुहुने क्रियाले गर्दा बाच्छाको वात्सल्य र स्नेहिल स्पर्श हराउँदै गएछ । बिस्तार बिस्तार गोरू प्रजातिको जाति नै खतरमा परिसकेछ । परिणमस्वरूप परम्परादेखि मियाको वरपर लहरै लागेर दाइँ गर्दै आएका बहर बाच्छाहरू पहुँचबाट टाडिदै गएछन् । राम्ररी हुर्किनसम्म नपाउँदै भीरको डिलतिर पुगेका गोरू किसोरलाई ल्याएर दाइँ हाल्ने कल्पना गर्नु वीरबलको खिचडीभन्दा कम लहडको कुरा भएन ।

बोकाहरू प्याप्या र वातवात गर्दै आपसमा सिङ जुधाउन र घरिघरि स्वाद फेर्दै घाँस चपाउन थाले । सधैं ख्यालठट्टा गरेको पाराले हेलचेक्य्राइँ गर्दै अश्लील गतिविधि देखाउने मात्रै भए । बहुगामी र समलिङ्गी प्रकारको देखिने त्यो हर्कत भद्र समाजको लागि लज्जास्पद र अभद्र दृश्य बन्न पुग्यो । शर्मनाक खेल देखेर आँखा छोपी हिँड्नुपर्ने अवस्था आइपुग्यो । यता दाइँको सिजन घर्किंदासम्म खलो खाली नै रह्यो । धानपराल र छुवालीको बिचल्ली भयो । खेतका कुन्यु सग्लै रहे । भित्रको धान गहुँ कुनै हकुवा बने । कुनै मकाएर काम नलाग्ने भए । हल्लाले हल्लिएको चिया पसलको जमघट भएर विचार बरालियो । दाइँ हुने विश्वास लिएर बोका जम्मा पार्न थालेका दयाराम जी तिनीहरूको चालमाल देख्तै आफैँ आजित बने । एउटा ल्याए अर्को फुत्किने, अर्को ल्याए झन् अर्को फुत्किने किया आवर्तित भैरहनथाल्यो ।

लामो कसरतपछि बल्लतल्ल एकै ठाउँमा बोका जम्मा पार्न सफल भएपछि अलिबेर त दयारामजी पनि मख्ख परेछन् । ककट तान्दै सफाचट जुँगामा ताउ दिँदै भनेछन्- ‘यही बेला दाइँ हाल । मौका नछोड । समय नघर्काऊ ।’ उनी बोकाहरूलाई नीतिनियम र अनुशासनको पाठ पढाउँदै दाइँको लागि मियो गाडेर वरपर धमाधम लाइन लगाउन थाले । तर बोका बोकै थिए । गोरूको धीरगम्भीर प्रकृति उनीहरूमा पाउनु श्यालको शिरमा सिङ पलाउनुजस्तै थियो । अनुशासनहीन दुच्छर बोकाहरू लाइन तोडेर तितरबितर हुन थाले । उल्टै एकले अर्कोसँग सिङ बजार्दै जुधेर महाभारतको रणमैदान बिर्साउने भए । दाँतले कान टोकेर सिङले भुँडी घोपेर एकले अर्कामाथिको आक्रमण तीव्र बनाए । हरियो घाँस हाल्ने एनजीओ, आइएनजीओ नाउका बन्जाराहरू बोकाको लीलादेखि हर्षविभोर भएर थपडी मार्न थाले । थपडीको आवाजले बोकाहरूमा हौसला भरिदै गयो । नग्ननाच भन् चम्किदै गयो ।

केही बेर नृत्यलीला देखाएर थाकेका बोकाहरू अब सबै मिलेर लाइन लागौ भन्दै थिए । औशीपूणर्े लाग्दोरहेछ क्या हो बोकाहरूलाई पनि ? कहिले बुद्धि फिरे झैँ हुने । कहिले तीनपाने डढुवा झोलसँगै छताछुल्ल पाराले बुद्धि पनि पोखिने । एक पटक त दाइँ होला होलाजस्तो पनि भएछ । बोकाहरूलाई लाइनमा लगाएर हरिसमा हल्लुँडो उन्दै हली बा जुवा नार्न ठीक परेछन् पनि । उतिबेरै अफिमले बौलाहा बनाएछ कि कसो हो ? धतुरे खालका गतिविधि गर्न थालेछन् बोकाहरू । यता दयारामजीको हौसला पनि बेलाबेला लागछोडको व्यथा बनेर बल्झिन थालेछ । वारिपारिका धाँमीझाँकी लगाए । डाइनेबोक्सी मन्छिए । कालीकलङ्की सङ्कटा भाके ्र पूजा गरे । भाले चडाए । तर बेथाले छोडेन । बोकाहरू अरू बिग्रिएछन् । आआफ्नै रङ्गरोगन नाक निधार सिङखुरको कुरो झिकेर उफ्रिन पो थालेछन् । सिङ जुधाएर टाउको ठोकेर बेला बेला पिसाब चुहाउँदै पट्टा खेल्न थालेछन् ।

एक दिन घोरिएर जोखना हेर्दै गरेका बोकापीडित मुखियाजीले कताबाट गुह्य कुरो थाहा पाएछन् । यसो बुझ्दै जाँदा उनलाई लागेछ – यी बोकाहरू देशी विदेशी बञ्जाराहरूको नूनपिँडो चाटेर पात्तिएका त होइनन् ? फिरिङ्गीको डलर यूरो केके जाति विकासे नाउँको हरियो सेउला चपाएर टन्नै ढाडिएका त छैनन् ? शङ्का निवारण गर्न उनले बोकाहरूको शिरदेखि पुच्छरसम्मका अङ्ग प्रत्यङ्गहरूको छुट्टाछुट्टै एक्सरे लिएछन् । धोइपखाली गरेर एक्सरे प्लेट हेर्दा त बोकाहरू देशको काम नकाम पार्दै विनाकाम बोसो भरिएर मोटाएका देखिए । गिदीमा हरियो सेउलाको हडिंदो झोलको मात्रा डाँवाडोल भरिएछ । यो सब देखेका मुखियाजी आफैलाई भन्दा रहेछन्- “यिनीहरूबाट दाइँ गर्छु भनेर जात्रा न देखाऊ । गृहस्थ जीवनका अनेक आरोहण पार गरेर वानप्रस्थमा आएका थियौ । तर यो खलो मलेर इद्रप्रस्थ बनाउँछु भन्ने नसोच । आफ्नै अल्प बुद्धिले धोती न टोपीसँग वनीबास लागेका इतिहासका हरूवाहरूको अवस्था सम्झ ।”

यसो घोरिएर विचार गर्दा सपनाजस्तो लाग्ने यो सोचाइले बिचरा सोझा दयारामलाई झाँगलझुँगल पार्दै अर्को अझै कडा सन्देश दिँदोभएछ- “बलरामको हलो पैचो लिएर हरिसको टुप्पोमा जुवा बाँध अनि सुयोग्य बादे बयल छानेर दुईतिर नारेर आफैले अनौ समाऊ । अनि न्वारानदेखिको बलबुता लगाएर दह्रोसँग हलो चलाऊ । सकेसम्म राम्ररी दाउँने काम गर । धान पराल छुट्याएर बताउने काम गर । गोरू नपाए राँगो गधा खच्चड जे जे नारेर भए पनि दाइँको काम अघि बढाऊ । देश र देशवासीको अमनचैन, समृद्धिको प्रतीक यो मङ्सिर मासलाई त्यत्तिकै नबिताऊ । केही गरेर देखाऊ । हैन भने सन्यास लिएर मठ मन्दिरतिरको बाटो तताऊ । नयाँ आउने युवादस्तालाई ठाउँ खाली बनाऊ ।”

०००
‘विमोचनको विगविगी’ (२०७३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल