सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहेब ध्यानमा होइसिन्छ

शायंकाल पनि अफापसिद्ध भएको त्यो दिनदेखि अरूहरूको घरमा जान दुरीदुहाइ भएँ । समस्या सानै भए पनि अरूको घरमा जाने उचित समय कुन होला ? भन्ने कुराले मलाई निकै चिन्तित बनाउन थालेको छ आजकल ।

Nepal Telecom ad

दुई वर्षदेखि काठमाडौ पुग्ने अवसर पाएको थिइनँ । एक दिन एउटा साथीले फोनमा भन्यो- “तिमीलाई थाहा छ, काठमाडौ कति प्रदूषित भइसक्यो ?” मैले भने- “कुन नौलो कुरा हो र त्यो ? संसारकै प्रदूषितमध्येको अग्रपङ्क्तिमा रहेको शहरको नाम काठमाडौँ हो भन्ने कुरा सबैलाई थाहा छ ।”

उसले भन्यो- “कुरै नबुझी प्वाक्क नबोलन । सुन, प्रदूषणको कारण सिताङ्ग हुँदै गएको काठमाडौमा अलि-अलि बाँकी रहेको अक्सिजन पनि रामदेवका चेला-चपेटाले तानेर सक्न लागिसके । मर्निङवाकमा निस्किने उनीहरूले कहीं खाली ठाउँ देख्नुहुँदैन । काँधमा झुन्ड्याएको गम्छालाई आसनी बनाएर थचक्क त्यही बस्छन् र भुँडी हल्लाउँदै स्वाईं. स्वाईं. अक्सिजन तान्न सुरु गर्छन् ।” फोन गर्ने साथी भरपर्दो भए पनि उसको कुरा पत्याउन नसकेको मैले अर्को साथीलाई फोन घुमाउँदै बिहान के गर्छस् हौ ।” भनेर सोधेको थिएँ ।

“आजकल त चकाचक छ बुझिस् । बिहान त बोल्नेसम्म पनि फुर्सद हुँदैन । तेरो फोन भएर मात्र उठाएको हो, अरूको भए उठाउने पनि थिइनँ होला भन्दै फुइँ लगायो । आठ नबजेसम्म ओच्छ्यानबाट नउठ्ने उसको त्यो फुर्तिलो जबाफले म सन्तुष्ट हुन सकिनँ । दोहोर्‍याएर सोधें- “भन् न त के गर्छस् ?” उसले गज्जबको जबाफ दियो- “अरू के गर्ने र ! रामदेव गर्छु नि !” रामदेव गर्ने भनेको के हो बुझ्न नसकेको म त्यत्तिकै ट्वाँ परें । काठमाडौँका बासिन्दाले योगासनलाई रामदेव गर्ने मन्दारहेछन भन्ने कुराको जानकारी उहाँ पुगेपछि मात्र थाहा भएको हो ।

अरूले रामदेव गरेको देख्दा रहर लागेर मैले पनि सुरु गरँे त्यो धन्दा । आफ्नो इच्छाअनुसारको काम गर्दा कस्तो मज्जा आउँछ, कुरा गरिसाध्य छैन । तात्तातो जेरी खाएजस्तो । कुनबेला उज्यालो होला र चौरमा पुगेर रामदेव सुरु गरौं लाग्न थाल्यो । कामीको आरनको खलाँती चले मस्त भएर स्वाईं स्वाइँ सास तान्ने र फुस्फुस् छोड्ने काम तदारुकताका साथ अगाडि बढ्दै गयो । खाली पेटमा घन्टौंसम्मको आसन-प्राणायामले लोथ भएको ज्यानले हाङ्ग्र्राले पाङ्ग्रा निलेझैं जे भेट्यो त्यही निलौजस्तो गर्न थाल्यो । मध्यरातमा मात्र निदाउने मलाई संसाँझै निद्रा पनि पर्न थाल्यो । यस्तो गज्जबको कुरा बेलैमा किन सुरु गरिनछु भन्ने कुराले भित्र-भित्रै बिस्मात् लाग्यो ।

शाकाहारी खाना खान सुरु गरेको छ महिना पनि नबित्दै दाँत चिलाउन थालेसँगै घाँटी पनि सकसकाउन थाल्यो । मनले उक्सायो, “रामदेव गर्न सुरु गरेकै छस् केको पिरोलो । साँझमा दुईचार पेग लगाउँदा केही फरक पर्दैन । पेग तान्दा अलिअलि खेर जाने शक्तिको भर्पाइ अर्को दिन बिहानको रामदेव क्रियाले ठाउँको ठाउँमा ल्याएर पुर्ताल गरिदिन्छ । मनले देखाएको बाटोलाई ठिक नठान्ने कुरै भएन । अर्को दिन घाम अस्ताउन पनि नपाउँदै मेरा खुट्टा भट्टीतिर तेर्सिदै गए । उखरमाउलो गर्मीले रन्थनिएको बेला भेटेको शीतल झरनासरह बन्यो मेरो लागि ज्ञानी मैयाँको भट्टी त्यो दिन ।

गज्जबको ठाउँ हो रक्सी-भट्टी । त्यस्ता ठाउँमा ठूल्ठूला सन्त, महन्त र ज्ञानीजन पुगेका हुन्छन् । धर्मग्रन्थले रक्सीलाई दुश्मन ठान्दछ । धन्य छन् उनीहरू ! जो दुश्मनसँग पनि घाँटी जोडेर मित्रता गर्न पुगेका हुन्छन् । त्यस्ता ठाउँमा निःशुल्क अक्कल बाँडिन्छ । पहिलो पेग अध्यात्मको भक्तिकालको हुन्छ । दोस्रो र तेस्रो पेग वीर रसको हुन्छ । उप्रान्तका पेग चढ्न थालेसँगै त्यहाँ कसैको कुरा कसैले सुन्नेवाला छैन । सबैले आ-आफ्ना प्रवचन अर्कोलाई सुनाउन मात्र खोजेका हुन्छन् । परिणाम बन्न पुग्छ प्रसङ्गविहीन एउटा कोलाहल । त्यहाँको कोलाहल सुन्दा लाग्छ आत्मकेन्द्रित एकोहोरो बोल्ने पागलहरूको जमघट हो त्यो ।

उनीहरूले के मात्रै जानेका हुँदैनन् ! लठेब्राको बोली फुटाएर भाषण गर्न सिकाउने सीपदेखि बोल्ने सीप भएकाको जिब्रो थुत्नेसम्मका जुक्ति । पेटका चुर्ना मार्नेदेखि बुढाबुढीका भत्किएका दाँत उमार्नेसम्मका उपाय । फुलो परेको आँखा ठीक पार्नेदेखि महिलाको बन्द भएको पाठेघर खोल्ने विधि । बेत बसेकी बुढी आइमाईलाई पोइल जान सक्ने बनाउने उपायदेखि ओच्छ्यान परेको बुढोलाई तन्नेरी बनाउनेसम्मका अचूक औषधि उनीहरूसँगै हुन्छन् । नानी पाउन नसकेका महिलाको लागि त उनीहरूले आफै अचूक साधन हुँ भन्नसमेत बेर लगाउँदैनन् ।

ध्यान, साधना र मुक्तिको त कुरै नगरौं । टुन्न भएपछि समाधिमा पुग्ने उपाय त कति-कति ? गीतादेखि बाइबलसम्म, कुरानदेखि धम्मपदसम्मका ग्रन्थका महाभावको खोलो बगेको हुन्छ । कुन धार्मिक मतबाट ज्ञान र मोक्ष प्राप्ति गर्न खोजेको हो ? त्यसको सुइँको मात्र दिनुपर्छ, ज्ञानको झरना झरझर बग्न थाल्छ । जिउँदैमा स्वर्ग पुर्‍याइदिने आध्यात्मिक ज्ञान होस् कि एयरपोर्ट र मालपोत कार्यालयतिर छिरेर दुई-चार दिनमै मालामाल हुने भौतिक उपाय । त्यहाँ हरेक प्रकारका ज्ञानको अटुट खोला बगेको पाइन्छ । त्यस्तो कुरामा कुनै पनि प्रकारको शङ्का नगरे हुन्छ ।

घरबाट निस्किँदा चाउरी परेको बयरजस्तो देखिने अनुहार भट्टीभित्रको ज्ञानदर्शनको सेसनबाट बाहिर निस्किँदै गर्दा लामो साधनापश्चात् हिमालयबाट भर्खरमात्र बाहिरिएका युवा साधुको अनुहारजस्तो रातोपिरो देखिन्छ । भर्खर पाइला टेकेर हिँड्दै गरेको बच्चा लर्‍याङबर्‍याङ गर्दै पान पसलसम्म पुग्नु ठूलो उपलब्धि ठानिन्छ । अरूले रोक्दा साइकल रोकिँदैन । त्यस्ता सन्त, महन्त हिँड्ने बाटो भएर त्यस्तो बेला कुद्दै गरेका ठूल्ठूला गाडी, घोडा पनि टक्क रोकिन बाध्य हुन्छन् ।

आफूमाथि नै ओइरिने पो हो कि भन्ने त्रासले बाटो छोडेर छेउ लाग्ने मानिसको सङ्ख्या त कति कति ? पाएमा ४६० नम्बर, नपाएमा १२० नम्बरको जाफरानी पत्ती र किमाम हालेको पान चपाएर रक्सीले डुङ्डुङ्ती गनाएको मुखलाई गन्धहीन बनाएको ठान्ने बेकुफी गर्नुको मज्जाको त झन् कुरै नगरौं । घर नपुगुन्जेल जति रमाइलो भयो, भयो । घर होस् कि डेरा । त्यहाँ पुग्न लागेसँगै लर्बराएका पाइला सोझिन थाल्छन् । घरभित्र पस्दासम्म ऊ साँच्चिकै ज्ञानी बनेर निगुर्मुन्टी न भइसकेको हुन्छ ।

छ महिनाको कोटा एकैचोटि पुर्‍याउँला झैँ गरी बेस्सरी ठर्रा धोकेर हल्लिँदै मध्यरातमा घर पुगेँ । अर्को दिन बिहान राति अघाउँजी धोकेको रक्सीको धड्धडेले टाउको दुखेर उठ्न दिइराखेकेको थिएन । तैपनि शुभ काम छोड्नुहुँदैन भन्ने लागेको म लाम्टा सुन्निने गरी भुँडी हल्लाउँदै प्राणायाम गर्नमा तल्लीन भएँ ।

सनक चढेको मानिसलाई समय बितेको पनि थाहा हुँदैन । जबरजस्ती नै भए पनि यो क्रमले अर्को छ महिना निरन्तरता पायो । अहङ्कारमा बढोत्तरी हुँदै गयो, म आफूलाई योगासनको गुरु ठान्न थालेँ । रामदेव गर्ने व्यक्ति हुँ भन्ने जानकारी स्वतःस्फूर्त रूपमा सबैलाई होस् भन्ने उद्देश्यले पछिल्लो तीन महिनादेखि दारीजुँगा पनि खौरेको थिइनँ ।

बुढीमाउले “दारी पनि नकाटी के बसेको होला !” भन्दै ख्याउँ ख्याउँ- गर्न थालेपछि मरोस् त है फाल्दिनुपर्‍यो भन्ने लागेर एक दिन ऐनाअगाडि उभिएर दारी काट्दै थिएँ । माथिबाट दारी खौरिन सुरु गरेर जति तल झार्दै गएँ त्यत्ति नै मेरा नौनाडी गल्दैगए । दारी खौरी सकेर ऐनामा हेर्दा केही महिना अगाडिका आफ्ना पोटिला रातापिरा गाला त पाकेको केराजस्तो पहेँलो पो देखेँ । मेरो सात्तोपुत्लो उड्यो ।

बिहानभरिको आसन-प्राणायाम, घाम अस्ताउन पनि नपाउँदैदेखि खोलिने रक्सीका बोतल । आफूतिर तान्ने स्वभाव भएको योग र ध्यान, बाहिरतिर घचेट्ने स्वभाव भएको रक्सी । मेरो शरीरलाई खेलकुदको मैदान ठानेका पृथ्वीका दुई विपरीत ध्रुव उभिएका ध्यान र रक्सी दुवैले आ-आफ्ना करामत देखाइसकेको कुराको मैले पत्तै पाइनँ । कुन कारणले मेरो हालत यस्तो भयो भन्ने कुरा बुझ्न जरुरी नठानेको मेरो मनले पतनको सहज बाटो अबलम्बन गर्‍यो र मन एकपटक फेरि मोजमस्तीतिर नै उन्मुख भयो ।

रामदेव गर्न छोडेको दिनदेखि हाइसञ्चो होला भन्ने लागेको थियो मलाई । तर समय कसरी बिताउने होला भन्ने कुराले झन् भाउन्न पो हुन थाल्यो । आफू चैनसँग बस्न नसक्ने मानिसले टोल छिमेक र आफ्ना आफन्तलाई पिरोल्नबाहेक के नै गर्छ र ? जोगीको कुकुरजस्तो लखर-लखर गर्दै कहिले वल्लो घरमा पुगेको हुन्छ त कहिले पल्लो घरमा । आफ्नो मनभित्र उरुङ लागेर बसेका कुराहरू अरूसँग उकेल्न नपाएसम्म उलीतुली मेटिंदैन । त्यस्तै हालतमा पुगेको थिएँ म ।

एक बिहानी गफ चुट्ने सोच बनाएर एउटा साथीको घरमा पुगेको बेला सासू-बुहारी बीचको डाडुपन्युको झटारो हानाहानमा परिसकेको हुँदा अर्को ट्वाँके मित्रको घरमा जाँदा भने मैले शायंकाललाई रोजेको थिएँ । रामदेव छोडेर म फेरि बेवारिसे बनेको जानकारी भने उसलाई थिएन ।

घरमा ऊ एक्लो थियो । उसको घरमा म्यानपावरबाट १० घन्टे जागिर खान आएकी एउटी क्याटवाक टाइपकी चनमते तरुनी थिई । “खोइ साहेब ?” भनेर सोध्दा “साहेब त ध्यानमा होइसिन्छ, बिहान आइस्योस्न” भनी । उमेरले हल्ली काटिसकेको अम्मलीले जाँड छोडेर ध्यान सुरु गरेको कुरा सितिमिती पत्याउने खालको त थिएन । तर भन्नेले हो नै भनेपछि पत्याउनै पर्‍यो क्यारे ! मैले पनि पत्याएँ ।

हिजोका दिनमा जे जस्तो भए पनि आज ऊ सप्रिएर ध्यान सुरु गरेको कुरा सुन्दा खुसी हुनु स्वाभाविक थियो । त्यो बीचमा आफू रामदेवबाट उम्किएर ‘पुनर्मुसिको भवः’ को स्थितिमा पुगेको कुरा सम्झिन पुगेँ । उसको गती-मती मेरोजस्तो नहोस् भनेर मनमनै शुभकामना दिएँ । उसलाई बाधा पर्‍याउनु उचित नहुने ठानेको हुँदा त्यो दिन त्यत्तिकै लुखुर-लुखुर घर फर्किएँ ।

ब्रह्ममुहूर्तमा उठ्ने बानी परिसकेको म रामदेवबाट उन्मुक्ति पाएको दिनदेखि बिहानको आठ बजेसम्म नै ओच्छ्यानमै लम्पसार पर्न थालेको थिएँ । ‘अल्छीले जति जैसीले जान्दैन’ भन्ने उखान आफैँमा लागु हुनपुग्यो । बिहान कसैलाई भेट्न जाने अनुकूलता नै जुर्दैनथ्यो ।

त्यसपछिका दिनमा पनि म शायंकालमै २/४ पटक उसको घर पुगें । क्याटवाकले दिने गरेको प्रत्येक पटकको एकैखाले जबाफबाट दुई-चार दिनपछि म सशङ्कित हुन थालेँ । सोचें- “क्याटवाकले पक्का पनि उसको हाकिमलाई म उसकोमा पुगेको कुरा सुनाएको हुनुपर्छ ।” तर साथीले फोनसम्म पनि गरेन किन ? मलाई केही गड्बड छ भन्ने शङ्का लाग्न थालेसँगै त्यो कुराको समाधान गर्नतर्फ अग्रसर भएँ ।

शङ्का भन्ने वस्तु पनि अनौठो हुन्छ । यसको चपेटामा परेको मानिस धोबी-धुलाइको हालतमा नपुगेसम्म चेत खाँदैन । चेत पाएर पनि बानी छुट्ने भए पो । पाइलैपिच्छे यसले लखेटिराखेकै हुन्छ । शङ्का निवारणको लागि एक दिन शायंकालमा भान्सातिर छिरेकी क्याटवाकलाई सोध्दै नसोधी साथीको घरको माथिल्लो तलामा उक्लिएँ । तलामा उक्लेर के गर्दै रैछ भनेर ढोकाबाट चिहाउँदा त, टेबलमा राखेको खसीको पक्कु र दारु दनादन दिइराखेको !

अरूलाई ख्वाउनुपर्ला भन्ने पिरोलोले ध्यानको निहुँ पारेको हो कि ? रामदेवबाट हारथाक भएर मेरै बाटो लागेको हो ? यकिन गर्न सकिनँ । भित्र नपसी बिरालोको चालमा बिस्तारै तलतिर ओर्लिएँ । म ओर्लिंदै गर्दा भर्‍याङ चढ्दै गरेकी क्याटवाकले मलाई देखेपछि खितिति गरेर हाँस्दै बुट्टे सलले आफ्ना चरीचुच्चे ओठ बन्द गर्दै तलामाथि चढी । उसले साथीको कोठामा पसेर भित्रबाट चुकुल लगाई । म भुइँतलाको चुकुल लगाइसकेको ढोका खोलेर हतार-हतार बाहिर निस्किएँ ।

शायंकाल पनि अफापसिद्ध भएको त्यो दिनदेखि अरूहरूको घरमा जान दुरीदुहाइ भएँ । समस्या सानै भए पनि अरूको घरमा जाने उचित समय कुन होला ? भन्ने कुराले मलाई निकै चिन्तित बनाउन थालेको छ आजकल ।

०००
‘चिबे-नकटो’ २०७८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल
प्रवृत्ति

प्रवृत्ति

लेखनाथ पाेखरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे