साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाउँतो पो आइलाग्यो !

‘आइन्दा यस्ता वाहियात कुरा पोष्ट नगर्नुहोला’ भनेर थर्काउँदै आफ्नो गाम्छा काँधमा हालेर ती मित्र कोठाबाट बाहिर निस्केपछि मैले लामो सास फेरें ।

Nepal Telecom ad

प्रेतलेखक ‘गुल्टन’को कुरा सुनेपछि घर पुग्दा नपुग्दै ममा आत्मकथा लेख्ने भीमकाय भूत सवार भइसकेको थियो । मन-मनमा आफूले आफैँलाई गुन्न थालेँ । एक मनले भन्यो- ‘लेख्-लेख् जे पर्ला पर्ला !” अर्को मनले भन्यो- “लेखिस् तैँले ! हिजो स्कुले जीवनमा नेपाली व्याकरण पढ्नुपर्दा काउछोघारीमा पसेजस्तो ऐय्या र आत्थो गर्थिस् । कुन ह्रस्व, कुन दीर्घ भन्ने कुराको अहिलेसम्म थाहापत्तो छैन । बडो आत्मकथा लेख्ने अरे ।” आफ्ना कमजोरीलाई लिएर चिमोट्दा पनि मेरो मनभित्र पसेको लेख्ने धुनको भूत कम नभएर झन् बेस्सरी लुतोझैँ चिलाउन थाल्यो । “मरोस् त ! लेख्नै पर्‍यो” भनेर ल्यापटप खोलें ।

सेवानिवृत्त हुने बेलामा इमेल र भिडियो हेर्नको लागि आवश्यक ठानेर स्कुल पढ्ने भुराहरूको हुलमा पसेर तीन महिनाको कम्पुटरको कोचिङ लिँदा बल्ल भित्तो समाउन खोज्ने बच्चाजत्तिको भएको थिएँ । अङ्ग्रेजी टाइप त टाकटुक गर्थें । नेपाली टाइप भने शून्यै थियो । कसरी लेख्ने होला ? भन्ने सोचमा थिएँ, म छु नि भन्दै, गुगल इनपुट टुल्स अगाडि उभिन आइपुग्यो । के खोज्छस् काना आँखो । मैले त्यसलाई तत्काल डाउनलोड पनि गरिहालेँ !

त्यसपछि दङ्ग परेको म नलेखी नछोड्ने मनस्थितिमा पुगेँ । लेख्न मात्रै सकेँ भने त व्याकरण र फुलबुट्टा भर्नको लागि त प्रेतलेखक ‘गुल्टन’ छँदै थियो म ढुक्क भएँ ।

त्यही रात अबेरदेखि लेख्न थालेको आत्मकथा, भर्खर बोली फुटेको बच्चाले दिनभरि आमा आमा भनेजस्तो, दिनरात केही नभनी लगातार ६ महिनासम्म लेखी नै रहेँ । फुर्सद भयो कि गुगलको रोमन नेपाली र म पर्यायवाची बन्यौं । आमाका लबटादेखि बाबुका चड्कनसम्मका कुराबाट लेख्न सुरु गरेको । कति लेखिएछ कति । पाना गन्दै जाँदा त पाँच सय पुगेछन् ।

लुर्की दमिनीका सुनका लुर्कादेखि सने घर्तीको खोप्रासम्म । थुम्कीदेखि जोगीडाँडा हुँदै बरको रूखसम्म । मौरेको राँके
बजारदेखि ऐँसेलुखर्कसम्म । त्यति मात्रै कहाँ हो र ? काठमाडौंका मन्दिर र सत्तलैपिच्छे देखिने उत्तेजक कलाकृति, खाजुरा होको गुफामा कुँदेका यौनजन्य चित्रका विस्तृत विवरणदेखि कलकत्ता र विशाखापतनमका मनोरम समुद्रीतटसम्मका सम्झिएजत्ति कुनै कुरा लेख्नलाई बाँकी रहेनन् ।

आफ्नो स्मरणशक्ति र घटनाक्रमको सिलसिलेबर लेखाइबाट म आफैँ दङ्गदास परेँ । आनन्दित भएर केही दिन विश्राम लिने सोच बनाएँ । केको विश्राम हुनु ? अब त झन् औडाहा हुन थाल्यो सम्पादन गर्न । काँटछाँट र चिल्लो पार्ने काम गर्न सुरु गरेपछि पो थाहा पाएँ, मैले त भाँडभैलो नै पो लेखेको रहेछु । आफ्नो स्मरणशक्ति सम्झेर एकछिन अगाडिसम्म मक्ख परेको म क्षणभरमा लल्याकलुलुक भएँ ।

छाडा बहर गोरुको स्वभाव भएका, जाँड भाँङ धतुरो जे पनि हसुर्न पछि नपर्ने, मान्छे त बिठ्याहा नै थिए पल्लाघरे दाइ । उनले गर्ने गरेका बिठ्याइँमध्ये, लाजभाँड मात्र छोपेर बाँकी सबै कुरा त मेरो आत्मकथामा विनालगामको घोडाजस्तो कुदेको यो रहेछ । जे जस्तो भए पनि मान्छे त आफ्नै हुन् । उनको त्यतिविधि कुरा मैले काट्नु हुँदैनथ्यो भन्ने लागेर हत्तपत्त सच्च्याउन थालें ।

केही दिन सुस्ताएर फेरि सम्पादन गर्न मात्र के थालेको थिएँ, पल्लाघरे दाइले मैले लेखेको कुरा सपनामा देखे कि ? कतैबाट सुइँको पाए कि ? मैले बिठ्याइँ गर्ने पो हुँ कि भन्ने उनको मनमा चिसो पस्यो कि ? या मेरो कोठाको भित्तामा कान पलाए ? यकिन साथ केही भन्न सक्दिनँ । एक दिन बिहानै मेरो अगाडि उभिन आइपुगेका पल्लाघरे दाइलाई देखेर ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भनेझैँ मलाई खत्रक्क भएको भयो । मेरो आङ पानी छर्केको बिरालाको जस्तो जिरिङ्ग भयो । ढोकामा उभिएर ठाडठाडै भने- ‘हेर् है केटा । तैंले के-के जाति लेख्दैछस् अरे । मेरो बारेमा गज्याङगुजुङ कुरा लेख्लास् नि ।’ आदि इत्यादि भन्दै मलाई थर्काएर फनक्कै फर्किए ।

दाइको थर्काइले एक प्रकारको भाव मनमा उब्जियो । सोच्न थालेँ- ‘अर्काको घरको कुरा झ्यालबाट चिहाएर हेर्ने, चिहाउँदा देखेको त्यही घटनालाई नौलो बनाएर प्रस्तुत गर्नेजस्ता चोरी काम गर्ने भएकाले लेखक प्रायः डरपोक नै हुन्छन् कि क्या हो ? प्रस्ट छ, यहाँसम्म आइपुग्दा लेखक हुँ भन्ने भ्रम छिरिसकेको रहेछ ममा । त्यसपछिका निकै दिनसम्म मेरो ल्यापटपले विश्राम लिने अवसर पायो ।

केही नगरी बस्न नसक्ने म अघिल्लो पटकको लेखाइले बिग्रिएको मनस्थिति के गरी ठीक होला भन्ने सोचमा बसेकै थिएँ । भर्खर लेखन सुरु गरेकोले विषयवस्तुको खाँचो हुने कुरै थिएन । मैले आफ्नो डायरी पल्टाउन सुरु गरेँ । त्यसमा आफ्नै जीवन भोगाइको क्रममा समेटिएका जीवन्त अनुभव र अनुभूति थिए । वर्षौंसम्म सुनेका साधु/सन्तका महान् वाणीहरू, अध्ययन गरेका ग्रन्थहरूका केही टिपोटहरूका अतिरिक्त, केही अन्तरङ्गसम्मका रमाइला कुराहरूको सङ्ग्रह गरेर राखेको थिएँ । त्यस पटक मैले तिनै कुराहरूलाई पुनः आत्मवृत्तान्तका रूपमा लिपिबद्ध गर्न थालें ।

मन्दिरमा झुन्ड्याइएको घण्टको आवाज पर-पर कुना कन्दरामा प्रतिध्वनित भएर जब-जब सुमधुर आवाजद्वारा अलौकिक चेतना प्रादुर्भाव गराउँछ तब-तब मन्दिरबाट विमुख जस्तोसुकै नास्तिक मानवमा पनि एक प्रकारको आध्यात्मिकताको अनुभूत गराउँदछ र अन्ततः कहीं कसैलाई साधनाबाट समाधीसम्म पुग्न प्रेरित गर्दछ । यस्तै घण्टको परम्पराजस्तो मात्र थियो मेरो सङ्कलनको प्रस्तुति पनि ।

धर्मग्रन्थका मर्महरू बुझ्न मैले जसरी लामो उमेरसम्म पर्खिनुपयो, अर्को कुनै एकजनालाई मात्र पनि समय बाँकी हुँदै बुझाउन सकेर जीवनको रूपान्तरणतर्फ लाग्ने प्रेरणा दिन सकिएला कि वा कसैमा आत्मसात् होला कि भन्ने झिनो आत्मीय चाहनाबाहेक कुनै पनि खालको बडप्पन वा पाण्डित्य देखाउने मेरो सोच थिएन ।

यिनै सङ्कलनलाई कसरी तह लगाउने होला भनेर सोच्दै थिएँ । हाम्रो देशलाई नाकाबन्दी गरेर कङ्गाल बनाउन चेष्टा गर्ने, हाम्रा दुःखमा गोहीको आँसु झारेको अभिनय गर्न खप्पिस, एक भारतीय नेताको चुनावी प्रचारको एउटा झलक फेसबुकमा देखेपछि मेरा आँखा उज्यालो भएर चम्किए, मन तरङ्गित भयो र एउट नयाँ सोचको प्रादुर्भाव भयो । धन्य हो मार्क जुकरवर्ग । ज होस् फेसबुकको भन्दै मैले पनि त्यही शैली अपनाएर फेसबुकको माध्यमबाट ती टिपोटहरू पोष्ट गर्न सुरु गरेको थिएँ ।

मेरो छिमेकमा भएका एकजना व्यक्ति मेरो फेसबुक मित्र पनि हुन् । उनी आफूलाई हिन्दूधर्मको एक मात्र ठेकेदार ठान्दछन् । धार्मिकग्रन्थका टिपोट फेसबुकमा पोष्ट गर्न थालेको निकै दिनपछिको कुरा हो । एक दिन बिहानै फेसबुके ती मित्र मकहाँ आइपुगे । सदाझैँ सरासर कोठामा पसेका उनलाई मैले बसौं मात्र के भनेको थिएँ उनी त वर्षाको मेघझैँ गडगडाउन थाले । म ट्वा परेँ । उनी त रौद्र रूप धारण गरेर पो आएका रहेछन् ।

भन्न थाले- ‘यसरी धर्मको उपहास गर्न पाइन्न श्रीमान् ।’ फेरि अर्को भाउँतो आइलाग्यो भन्ने कुरा बुझ्न मलाई गाह्रो परेन ! उनी भन्दै थिए, न वेदको पूणर् ज्ञान, न पुराण वाचनको कला, म्लेच्छहरूले गर्ने ध्यान गरेर हिन्दूधर्मको उपहास त गर्नुभएकै छ । त्यसमा पनि हजारौं वर्षदेखि अस्तित्त्वमा रहेका जिउँदा अष्टचिरञ्जीवी र आफू जन्मिएकै स्वरूपमा आकाशमा घुमिरहेका पञ्चकन्यालाई नै मृत घोषित गर्ने तपाईं को हो ?

जन्म र मृत्युको बीचमा घुमिरहेको जीवन अजम्बरी कहिल्यै छ । यो नै शाश्वत सत्य हो, हुँदैन । त्यसको अन्त्य सुनिश्चित यो नै गीताको मर्म हो । भनिन्छ, भगवान्को स्वरूप मानिने श्रीकृष्णले पनि १२५ वर्षको उमेरमा मृत्युवरण गर्नुपरेको थियो भने अष्टचिरञ्जीवी र पञ्चकन्यालाई कसरी जीवित मान्ने ?

पुरुष जातिमा हुनसक्ने सम्भावित स्वभावहरूको चिरकालीन अवस्थितिको एउटा दृष्टान्त हो अष्टचिरञ्जीवीको आख्यान । हिन्दु धर्मग्रन्थमा उल्लेखित त्यस्ता विभिन्न स्वभाव भएका उदाहरणीय आठ नाम हुन्- अस्वस्थामा, बली, व्यास, मार्कण्डेय, हनुमान, विभीषण, कृपाचार्य र परशुराम । त्यसमध्ये कोही अत्यन्त ज्ञानी र निष्ठावान् थिए । कोही अत्यन्त दानी थिए । कोही मोहवस लोभमा फसेका विद्वान् थिए । कोही कर्तव्यनिष्ठ तर अविवेकी थिए । कोही बदलाको भावले ग्रस्त अत्यन्त पराक्रमी थिए । कोही सेवालाई नै धर्म मान्ने ज्ञानी थिए भने कोही विश्वासघात गर्न उद्यत् पनि ।

त्यसैगरी, स्त्रीजातिमा पाइने विभिन्न स्वभाव र चरित्रका दृष्टान्त हुन पञ्चकन्या । उनीहरूको जीवनलाई होइन, स्वभावलाई मात्र अजम्बरी मानिएको हो । अनिद्य सुन्दरी अहिल्यादेखि विभिन्न चारित्रिक गुण र स्वभाव भएका प्रतिभा सम्पन्न द्रौपदी, तारा, कुन्ती र मन्दोदरीजस्ता चर्चित स्त्रीहरूलाई पञ्चकन्या भनियो ।

त्यस्ता अष्टचिरञ्जीवी र पञ्चकन्यालाई अद्यापि आकाशमा घुमिरहेका जीवित काया ठान्ने यी मित्रको पाण्डित्यलाई देखेर दया जाग्नु स्वाभाविक थियो । फेसबुकमा पोष्ट गरेका कुराको तात्पर्य अष्टचिरञ्जीवी र पञ्चकन्याको अपमान गर्नु होइन भनेर मैले जति धेरै बुझाउन प्रयत्न गरेँ, उनी त्यत्ति नै उग्र बन्दै गए । उनको यो रौद्र रूप देख्दा मैले चुप लाग्नु नै उचित सम्झिएँ । ‘आइन्दा यस्ता वाहियात कुरा पोष्ट नगर्नुहोला’ भनेर थर्काउँदै आफ्नो गाम्छा काँधमा हालेर ती मित्र कोठाबाट बाहिर निस्केपछि मैले लामो सास फेरें ।

त्यसपछि लाग्यो, हैट्. । यो लेख्ने काम त काउछोघारीमा छिरेजस्तो पो हुँदोरहेछ, जता फर्कियो त्यतै उखर्माउलो हुने गरी चिलाउने मात्र । विनासित्तिको कुरामा कहिले कसैले हप्काउने, कहिले कसैले थर्काउने । न्वारानदेखिको बल लगाएर, सम्झी- सम्झी खाटा बसिसकेका आफ्नै जीवनका घाउलाई आफैँ कोट्याउदै उजागर गरेर लेख्न पनि यो रिसाउला कि त्यो रिसाउला भन्दै अल्मलिने हो भने त केको जीवनगाथा लेखाइ भयो । लौ ! जीवनगाथामा त हस्तक्षेप भयो अरे । ग्रन्थहरूको सार सङ्कलनसम्ममा पनि हस्तक्षेप हुनु कति क्षम्य होला ? अनौठो लाग्यो ।

प्रेतलेखकको माध्यमबाट आत्मकथा तयार पार्ने मेरो सोच, कतै टेको लगाएर अड्याएको सम्बन्ध पो बन्ने हो कि भन्ने भान पर्न गएको थियो त्यो बेला मलाई । बसौं लगाएर लेखेका र सङ्कलन गरेका मेरो मेहनतका पाँच सयभन्दा बढी पानालाई अरु कसैले नभेट्ने गरी त्यही दिनदेखि कम्प्युटरभित्र घुसारेर एक प्रति इन्टरनेटमा थन्काएँ । त्यसपछि, भोलि फेरि के गर्ने भन्ने केही सोच नै नबनाई सम्पत्तिको नाममा भएको एउटा गधा बेचेर अब चोरिने र हराउने कुनै डर छैन भन्दै ढुक्क भएर सुतेको धोबीजस्तो, म पनि चुपचाप हात बाँधेर बस्ने निधो पो गरेको थिएँ त्यसबेला ।

०००
‘चिबे-नकटो’ २०७८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल
प्रवृत्ति

प्रवृत्ति

लेखनाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x