सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नबल्झिएको च्याँखे

फोकटको धन फुपूको श्राद्ध झैं गरी केही दिनसम्म त मस्त भएर खायो । ढलीमली गर्दै चैनसँग सुत्यो तर उसको त्यो मस्ती लामो समय टिक्न सकेन ।

Nepal Telecom ad

लेखनाथ पोखरेल :

लेखनको विषयबस्तु नभेटेको म घोत्लिएर एक्लै बसिरहेकोबेला अनुहारमा मधुर मुस्कान छर्दै पहिलो पटक मेरो नयाँ डेरामा आइपुगेको थियो विपिन । कोठामा पस्नेबित्तिकै भन्यो- ‘नानीमैयाँको त्यति राम्रो खोपीको रङ्ग त खुइलिएछ ।’ उसको कुरा बुझ्न नसकेको मैले सोधेको थिएँ- ‘को नानीमैयाँ ?’ मेरो छेउमा कुर्सी तानेर बसेको उसले म बसेको त्यो कोठाको आत्मकथा सुनाएको थियो । लेख्ने विषयवस्तुको खडेरी परेको त्यो दिन मैले उसैको प्रसङ्गलाई लिपिबद्ध गर्ने सोच बनाएँ । त्यसकै परिणाम हो ‘नबल्झिएको च्याँखे’ नामको यो आलेख ।

बिहान सबेरै विपिनको कोठाको ढोका ढक्ढक्याउन आइपुगेका घरबेटी सुब्बासाहेबले भने- ‘लौ छिट्टो गर्नुस् । मन्दिर दर्शन गर्न जानुछ ।’ विपिनले भन्यो- ‘तपाईं जानुस् सुब्बासाहेब ! म त जान्न । पशुपतिनाथको मन्दिरमा पुगेर चन्दन नलगाएसम्म बिहानको चियासम्म पनि नपिउने रोग लागेका सुब्बासाहेब कहाँ मान्नेवाला थिए र ? भने- ‘मन्दिर दर्शनको कुरा निस्क्यो कि जहिले पनि किन बटारिनुपरेको नि ? बुढापाकाले भनेको कुरा पनि कहिलेकाहीँ त मान्नुपर्छ । यसलाई मन्दिर दर्शनको कार्यक्रम नभएर मर्निङवाक मान्नुस् र खुरुक्क हिँड्नुस् न विपिनबाबु !’

सुब्बासाहेबको जिद्दीको अगाडि उसको कुनै जोर चलेन । आफूलाई किन मन्दिर जान मन लाग्दैन ? भन्ने कुरा सुब्बासाहेबलाई सुनाउँजस्तो लागेको थियो उसलाई, तर सकेन । आफूले भने मनमनै सम्झियो ती दिनलाई ।

सानै उमेरमा गाउँबाट पहिलो पटक काठमाडौं आइपुगेको बेला छालाका नयाँ जुत्ता लगाएर ट्वाक ट्वाक गर्दै पशुपतिनाथको मन्दिरभित्र छिर्न खोज्दा पुलिसले घोक्रेठ्याक लगाउँदा अह्ररिएको मुन्टो दुई दिनसम्म दुखेको कुरा अहिलेसम्म पनि बिर्सेको थिएन उसले । न त अर्को पटक पुगेको बेला फूल बेच्ने ठाउँमा खोलेर राखेको जुत्ता अरू नै कसैले लगाएर हिँडेको कारण मङ्सिर महिनाको चिसोमा खाली खुट्टा डिल्लीबजार पुगेको कुरा नै बिर्सिएको थियो ।

ती दुइटा घटनापश्चात् विपिनलाई त्यतातिर जान हत्तपत्त ऑट आउँदैनथ्यो, तर नजाँदा देउता रिसाएर बितल पो पर्ने हो कि भन्ने डरले औंसी-पूणर्िमाको बेला भने मन्दिरको मूलढोकासम्म पुगेर मात्र भए पनि फर्किने नियमित कार्य कायम राखेको थियो उसले ।

सुब्बासाहेबको कमलपोखरीको घरबाट निस्किँदा घण्टाघरको घडीले टाङ्टाङ्-टुङ्टाङ् गर्दै बिहानी पाँच बजेको घन्टी हान्दै थियो । कमलपोखरीदेखि ज्ञानेश्वरको ओह्रालोसम्म झिँगटीले छाएका फाट्टफुट्टमात्र घरहरू बनेका थिए । सुनसान सडकमा लामालामा डेग चाल्दै पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा मानिसको आउजाउ बाक्लै भइसकेको थियो ।

केही महिलाहरू बागमतीमा नुहाउँदै गरेका देखिन्थे । मर्निङवाकमा निस्किएकामध्ये केही गुनगुन गर्दै कैलास डाँडाको कालो सिँढी चढ्दै थिए । परालले छोपछाप पारेका जल्दै गरेका चिताका लासले आर्यघाटको परिवेशलाई शोकमग्न बनाएका थिए । चिताबाट निस्किएको कालोमैलो धुवाँ शून्य आकाशमा विलीन हुँदै थियो । मानिसको त्यो भीडमा केही मलामी गफमा तल्लीन देखिए पनि तिनीहरूको आवाजलाई आफन्तको रूवावासीले अस्पष्ट बनाएको थियो ।

फूल, प्रसाद बोकेर पशुपतिको दर्शनमा जानेहरूको लामो लाइन देखिन्थ्यो । कुन दर्शनार्थीको हातको फूल, प्रसाद लुट्न पाइएला ! भन्ने सोच लिएर भर्खरमात्र जङ्गलबाट निस्किएर घरका झ्याल र छानामा बसेर दर्शनार्थीलाई नियाल्दै गरेका लुरे बाँदरको सङ्ख्या बाक्लै भइसकेको थियो ।

पशुपतिक्षेत्रमा मानिसको लर्को देख्दा ‘आहा हाम्रो समाज कति धार्मिक भइसकेछ भन्ने लागेको थियो विपिनलाई । यिनीहरूमध्ये कोही पशुपतिको दर्शनमा त कोही गुह्येश्वरीको दर्शनमा जाने होलान् भनेर उसले मनमनै प्रशंसा गर्‍यो त्यो दिन । पशुपतिनाथको मन्दिर जान थालेको केही दिनपछि पो यसो बुझ्दै जाँदा त लर्को लागेर हिँड्नेमध्येका धेरैजसो मानिस त केको दर्शन गर्न आउने रहेछन् र । चाकरीको माध्यमबाट आयआर्जन गर्ने यो जमात त पशुपतिको दर्शनको नाममा सिद्राको व्यापार गर्नका लागि पो यहाँ आउने रहेछन् भनेर अवगत भयो उसलाई ।

राजदरबारका जर्सावदेखि अदालतका न्यायाधीश, सचिव र मन्त्री बिहानको कुन समयमा कुन मन्दिरको ढोकामा पुग्छन् ? कुन पुजारी र पुरोहितको हातबाट टीकाप्रसाद ग्रहण गर्छन् ? साँझ नपर्दै गल्लीको कुन भट्टीमा ठाडो घाँटी लगाउन छिरेका हुन्छन् भन्ने कुराको राम्रो हेक्का राख्ने उनीहरू त चाकरीबाज पो हुँदारहेछन् । उनीहरूमध्येका एक सदस्य रहेछन् सुब्बासाहेब पनि । आफ्नो धन्धा चलाउन पशुपतिनाथको समेत उपयोग गर्न पछि नपर्ने यो जमातसँग पनि एकप्रकारको वितृष्णा उत्पन्न भयो उसलाई ।

व्यक्तिगत हिसाबले हेर्दा रमाइला थिए सुब्बासाहेब । उनको नाम थियो धनपति । आँखा नहुनेको नाम नैनबहादुर, कान नसुन्नेको नाम कणर्बहादुर वा कङ्गालको नाम धनपति राखेजस्तो नाम थिएन उनको । पुर्खाले आर्जन गरेर प्रशस्त सम्पत्ति राखिदिएको कारण उनी नामको मात्र नभएर साँच्चिकैका धनपति नै थिए । सुब्बासाहेबकी श्रीमतीको नाम थियो नानीमैयाँ । अपर्झटमा भएको उनीहरू दुईबीचको प्रेमविवाहको प्रसङ्ग र जीवनचर्या दुवै चर्चा गर्न लायक नै छन् ।

सुन्दर रूपरङ्ग देख्दा घुटुघुटु थुक निल्ने उमेरमा उनीहरू दुईको पहिलो जम्काभेट भएको थियो । जम्काभेट भएको ठाउँ नै यस्तो थियो जहाँ एक पटक पुगेका युवायुवतीलाई प्रायः दोहोर्‍याएर जाउँजाउँ लाग्ने गर्छ । स्थानविशेषको परिदृश्यले ठूलो प्रभाव पार्ने गर्छ मानिसको मानसिकतामा । भयो पनि त्यस्तै । पशुपतिनाथ मन्दिर परिसरमा रहेको उन्मत्त भैरवको लिङ्गलाई ढोग्न संयोगवश एकैचोटि निहुरिन पुगेका उनीहरू दुवैका आँखामात्र जुधेनन् झन्डै टाउको नै ठोकिन पुग्यो । अप्रत्यासित त्यो घटनाको कारण लाजले कक््रयाककुक्रुक भएकी नानीमैयाँलाई देख्दा कुनै विशाल गाडधन फेला पारेझैँ मख्ख परेका थिए धनपति । पहिलो आँखा सन्काइमा नै पट्याएर लैजाउँला झैं गरेका थिए उनले, बैंसले उन्मत्त नानीमैयाँलाई ।

आँखा सन्काइको पहिलो प्रयासमा नै लुँडिएर आएको थामिनसक्नुको प्रेमभावले धनपतिलाई निथ्रुक्कै भिजायो । नानीमैयाँको लर्के जोवन, लामो चुल्ठोमा लगाएको रातो फुर्के धागो हरियो सारी, ब्लाउज, हातभरि काँचका हरियो चुरा र मुखबाट निस्किएको मिठो चन्चले हाँसो बिर्सिन नसकेर उपर्तली होलाजस्तो भएका धनपतिले एक महिनासम्म पच्छ्याएर बेहुली बनाई घरमा भित्र्याएरै छोडे । लच्छिनकी रहिछन् नानीमैयाँ । उनलाई घरमा भित्र्याएलगत्तै धनपतिले सुब्बा खान्कीको जागिर पनि पाए ।

सानो उमेरदेखि नै सिक्नेजति कुरा मज्जैले सिक्ने अवसर पाएका थिए धनपतिले । आफूले झुटो बोले पनि छोरालाई झुटो बोल्न र गलत काम गर्न नहुने कुरा बाआमाले चन्दन घोटेझैँ घोटेर पिलाएकै थिए । लेखपढ गरेर धन कमाउनुपर्छ भन्ने कुरा दिमागमा नचढ्ने पो हो कि भन्दै दसैँको टीकामासमेत ‘सुब्बा भएस्’ भन्ने आशीर्वाद पनि पाएकै हो । आफूले पाएका ती अर्ती उपदेशमध्येका कति कुरा प्रयोगमा आए र कति आएनन् भन्ने सोच्नपट्टि नलागेका धनपति सरकारी नुनको सोझो गर्नतर्फ लागे ।

कुखुरे बैंस चढेको बेलादेखि नै दिल खोलेर हाँस्ने र उट्पट्याङ गफ गर्न विछट्ट सिपालु थिइन् नानीमैयाँ । श्रीमान् पनि आफैँजस्तो हँसमुख पाएकोमा दङ्ग थिइन् उनी । बुढ्यौली पोयामा लाग्दासम्म पनि बदलिन सकेन उनीहरू दुवैको स्वभाव । बुढाबुढीसँगै बसेर गफ गरेको बेला पर्‍यो भने त्यहाँ पुग्ने जो कोही किन नहोस् पेट मिचीमिची हाँस्न बाध्य हुन्थे ।

टोलछिमेकी सबैले धनपतिलाई सुब्बासाहेबमात्र भनेर सम्बोधन गर्ने गर्थे । काम कुरो जस्तोसुकै किन होस् जुगाड लगाउन औधी नै सिपालु थिए सुब्बासाहेब । कस्ता मानिसलाई कोठा भाडामा राख्ने भन्ने कुराको उनको आफ्नो मापदण्ड थियो । आफूलाई दैनिक आवश्यक पर्ने समूहअन्तर्गत पर्ने झारफुक जान्ने ज्योतिषी, पूजाआजाको राम्रो विधि जान्ने पुरोहित र पुलिसबाहेकका अरुलाई हत्तपत्त डेरा दिन हच्किन्थे । कलेज पढ्न काठमाडौं पुगेको दिनदेखि जागिर सुरु गरेको वर्षौं बित्दासम्म पनि उनको घरमा डेरा लिएर बसेको विपिन भने अपवादमा पर्थ्यो । कुन्नि के सोचेर हो उसलाई अन्यत्र डेरा सरेर जाने आदेश भने दिएका थिएनन् सुब्बासाहेबले ।

सन्तानको नाममा उनीहरूकी एउटी छोरीमात्र थिई । नाम थियो प्रिती । बुढाबुढीको जीउडाल त राम्रै पो थियो । छोरी भने कैफियतमा परेजस्ती । सानो गॉठीकी तिखारिएको काँडाजस्ती पातली, छ्याके अनुहार भएकी, छिरिक्क कसैले केही बोल्नु नहुने, चोथाले । सिङ्गारपटार गरेर नयाँ डिजाइनका परिधानमा ठाँटिएर महँगा होटेल चाहर्ने बानी परेकी उसले खुब रुपैयाँ खर्च गर्ने गर्थी । आँखामा कालो चस्मा नलगाई बसेको बेला भने उसले अगाडि बसेको मानिसको टाउकोतिर हेर्दैछे कि खुट्टातिर भन्ने कुराको भेउ पाउन गाह्रो पर्थ्यो । कारण एउटै थियो उसका दुईमध्येको एउटा आँखा डेढो थियो ।

जागिरबाट अवकाश पाएको केही समयपछि पुख्र्यौली घरलाई यथास्थितिमा राखेर अर्को ठूलो घर बनाउने तरखरमा थिए सुब्बासाहेब । पच्चीसओटा काम जिम्मा लिने तर पूरा भने कसैको पनि नगर्ने दसैँको बेलाका गाउँका दमाईजस्तै हुन्छन् काठमाडौँमा छ्यासछ्यास्ती पाइने भारतीय मिस्त्रीहरू । बैना लिँदै भाग्दै गर्ने त्यस्ता मिस्त्रीबाट वाक्कदिक्क भएका सुब्बासाहेबको जुगाड प्रविधि काम लागेन । उनले एक दिन ‘लौ न विपिनबाबू ! एउटा मिस्त्री खोजिदिनुपर्‍यो भन्दै हत्ते हाले । विपिनले संयोगवश फेला पारेको थियो लुबुले मिस्त्री भाइकान्छालाई । नेपाली चार तलाको घर बनाइसकेपछि भाइकान्छाले नै शहरको नामुद कारिगर ल्याएर भव्य रूपले सिँगारिदिएको थियो सुब्बासाहेब र नानीमैयाँ बस्ने तेस्रो तलालाई । भर्‍याङ, प्यासेज र भान्सामा महँगो ग्रेनाइट, सुविधासम्पन्न मोडुलर किचेन, कोठा चोटामा महँगो पार्केटिङ, कोठाका भित्तामा इन्द्रधनुषी रङ्ग, फल्स सिलिङ्मा राखेका झिलीमिली बत्ती, भुइँमा ठूल्ठूला महँगा गलैँचा, नयाँ सोफासेट र आधुनिक पर्दाले सजिएका झ्यालहरू । बेलामौकामा सुब्बासाहेबलाई कर्के नजरले हेर्दै मस्किने नानीमैयाँको खुसीको सीमा थिएन । मख्ख परेकी ऊनी तेस्रो तलाबाट भुइँतलामा झर्नसम्म पनि मान्न छोडेकी थिइनन् ।

घर बनाउन सुरु गरेको बेलादेखि नै सुब्बासाहेबको स्वास्थ्यले बिठ्याइँ गर्न थालेको थियो । नयाँ घर बनेको खुसीयालीमा दुई वर्ष त जसोतसो तलमाथि गर्दै थिए । अर्को वर्ष बुढीमाउको मात्र नभएर आफ्ना घुँडाका पाङ्ग्राले समेत ठाउँ छोडे । दुखाइ यति तीव्र भयो कि तेस्रो तलाको खोपी छोडेर भुइँतलामा बस्नुपर्ने बाध्यात्मक स्थिति आइपर्‍यो ।

भोग भन्ने कुरा आ-आफ्नो भाग्यमा निहित रहेको हुन्छ । साधन र सम्पति भएरमात्र के गर्नु ? भोग्न पाइने ग्यारेन्टी भए त हुन्थ्यो नि । कसैकसैलाई त अरूले खाएको र लाएको हेरेरमात्र चित्त बुझाउनुपर्ने बाध्यात्मक स्थितिसम्म पनि आइपर्छ । खाउँ खाउँ र लाउँ लाउँ लाग्ने उमेरमा गोर्खालीको खल्ती सधैंभरि खाली हुन्छ । ढल्किँदो उमेरमा भरिएको खल्तीको नगदनारायणजति डाक्टर र औषधि पसलेलाई बुझाउँदै ठिक्क । त्यही दिशातर्फ उन्मुख थियो नानीमैयाँ र सुब्बासाहेबको शारीरिक स्थिति । तर पनि उमेरको हाँसो र आफ्नो तन्नेरी बेलाको रमझमका कुरा झल्झली सम्झिएर मुख मिठ्याउन पछि पर्दैनथे दुवै बुढाबुढी ।

हुर्किएर छिप्पट भइसकेकी, अनुहार न दनुवारकी छोरीको विवाहको लागि केटो खोज्न आफ्ना आफन्त, गुरु, पुरोहित, ज्योतिषीदेखि बुढीबज्यूसम्म कहाँमात्र पुगिनन् नानीमैयाँ । तर पार लागेन । हार मान्ने र हात बाँधेर बस्ने खालकी त कहाँ थिइन् र ऊनी पनि । ज्वाइँ खोज्ने प्रयास जारी रहेको त्यस्तै बेला नानीमैयाँको दिमागमा एउटा विचार ढकमक्क भएर फुल्यो ।

आफ्नो मनमा उम्रिएको विचारले दङ्गदास परेकी नानीमैयाँले घाम तापेर छेउमा पल्टिराखेका श्रीमान्लाई भनिन्- “तिम्रो त बुद्धि पनि के भएको होला कुन्नि बुढा । न त छोरी बुढी हुन लागी विवाहको लागि केटा खोज्नुपर्छ भन्ने सोच आउँछ । न कतै खोज्न जान्छौ । कस्ता-कस्ता गरिखाने खालका रमितलाग्दा केटाहरू आफ्नो र छेउछाउको घरबहालमा बसेका छन् भन्नेसम्म पनि ख्याल गर्दैनौ । तिनीहरूमध्येको कसैलाई फकाइफुल्याइ गरेर यसो खाना खान बोलाउनु । पकाइ-तुल्याइ गर्ने म छँदैछु । छोरीले पकाएको भनेर कहिलेकाहीँ मिठो मसिनु खान दिएर छोरीको विवाहको तारतम्य मिलाउनुपर्दैन ?”

नानीमैयाँले बोलेको कुनै पनि कुरामा कहिल्यै झिँजो नमान्ने सुब्बासाहेबलाई त्यो दिन कुन्नि के भएको थियो । झर्किदै भने- ‘न रङ्गरूप, न त जीउडाल ! बुढीकन्यासँग विवाह गर्न कुन केटाले मान्छ र फकाउनु ?’ बूढाको कन्सिरी तातेको कुरा बुझेकी नानीमैयाँले नरिसाइकन विस्तारै भनिन्- “तिम्रो त बुद्धि पनि कुकुरको पुच्छरमा झुन्डिएर गयो कि कसो देख्दैनौ ’बुवाबुवा’ भन्दै तिम्रो अघिपछि लाग्ने ? आँखाको अगाडि नै उभिएको छ त ‘तिम्रो गोती’ विपिन । सरकारी अड्डामा जागिरे छ । कमाइधमाइ पनि राम्रै छ भन्ने सुन्छु । दुःख गरेर पढेको गाउँको केटा, बोलीचाली र व्यवहार देख्दा त भलोजस्तो छ । छोरा छैनन्, यत्रो सम्पत्तिको भोलिको हकदार उही त हुने हो”, भन्दै दाँत झरिसकेको आफ्नो थोते मुख आँ गरेर सुब्बासाहेबको मुखमा हेरिन् ।

झिंगे दाउ खेल्ने श्रीमतीको आशय बुझेका सुब्बासाहेबले दङ्गदास पर्दै- ‘नाक नहुने हो भने मेरी बुढी देउता बराबर छ’ भन्दै घर थर्किने गरी हाँसे । बुढाको हाँसोले मख्ख परेकी बुढीमाउ पनि आफ्नो थोते मुख हल्लाउँदै हाँसिन् । ‘तर जुवाको खालमा थापेको च्याँखे बल्झिन्छ नै भन्ने यकिन हुँदैन नि बुढी । प्रायः गुम्ने डर हुन्छ’ भन्दा नानीमैयाँले भनिन्- ’छुट दिएको भन्दैमा आँखा चिम्लेर बस्नेचाहिँ होइन नि बुढा । बितल पर्ला । आँखा खुला राखेर च्याँखे थाप्ने बुढीमाउको सुझाव उचित ठाने सुब्बासाहेबले पनि ।

मान्छेको जातै सिपालु । शिकार पनि के केको मात्र गर्न जानेको हुँदैन उसले । त्यसमाथि नानीमैयाँ त झनै सिपालु । सम्पत्तिको शिकार गर्नेको कुरा त गरिसाध्य नभएको जगजाहेर नै छ । तर, नानीमैयाँ भने विपिनको शिकार गर्नेमा केन्द्रित थिइन् । कति थोक जानेको पनि हो ।

अर्को दिन नानीमैयाँले विपिनलाई आफ्नो कोठामा बोलाएर भनिन्- ‘तपाईंभन्दा नजिकको अरू को नै छ र हाम्रो ? आफैँ बसौँला भनेर सिँगारपटार गरेको तेस्रो तलामा बस्न जुरेको रहेनछ हामीलाई । आजदेखि तेस्रो तलामा भएका पाँच कोठामध्ये भान्सा र दुइटा कोठा तपाईंको भयो’ भनेको सुन्दा छैँटीको दिन भावीले आफ्नो पुर्पुरोमा लेखिदिएको सुखमध्येको एउटा घटना यही रहेछ भन्ने ठान्दै मख्ख परेको थियो विपिन । त्यो दिनदेखि सुब्बासाहेबको घरको तेस्रो तलाको हकदार बन्यो ऊ ।

तेस्रो तलाको खोपीको साँचो सुम्पिनु अगाडिदेखि नै नानीमैयाँले विपिनलाई बोलाएर मिठो मसिनु खुवाउन थालेकी थिइन् । मिठामिठा पकवान र सुसज्जित कोठामा बस्न पाएकोमा दङ्ग थियो ऊ । कोठा यसरी सिँगारिएको थियो कि उसलाई दुई-चार दिन छुट्टी लिएर कोठामा नै बसिरहुँ लाग्न थालेको थियो । फोकटको धन फुपूको श्राद्ध झैं गरी केही दिनसम्म त मस्त भएर खायो । ढलीमली गर्दै चैनसँग सुत्यो तर उसको त्यो मस्ती लामो समय टिक्न सकेन ।

विपिनलाई आफूले तेस्रो तलाको साँचो पाउनुको रहस्य त्यतिबेला खुल्यो जब तर्साउने प्रेतको जस्तो अनुहार र जीउडाल भएकी प्रिती साँझ बिहान, रात बेरात केही नभनी बेलानकुबेला उसको कोठामा छिरेर टाँस्सिउँलाझैँ गर्दै छेउमा आएर बस्न थाली । सशङ्कित भएको विपिनलाई बुढाबुढीले खेल्न खोजेको झिँगे दाउ बुझ्न साइत जुराउनुपरेन ।

त्यही हप्ता जरुरी कामको बहाना बनाएर विपिन गाउँतिर लागेको थियो । पन्ध्र दिनपछि फर्किंदा साथमा नयाँ दुलहीसमेत लिएर आएको देख्दा आफू बस्ने घरमा चोचेरो लागेको अनुभूत गरेका सुब्बासाहेब र नानीमैयाँले आफ्नो बिल्लीबाठ भएको ठाने ।

०००
‘चिबे नकटो’ २०७८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल
प्रवृत्ति

प्रवृत्ति

लेखनाथ पाेखरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे