सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रवृत्ति

हर्पेभरिको घिउको चिल्लो लेपन गरेको जिब्रोमा बाक्लो चास्नी मिसाएझैँ गरी बोल्ने हाकिमको त्यति मिठो बोलीबचन सुन्दा पचहत्तर वसन्त पार गरिसकेको एउटा जेष्ठनागरिकले विश्वास नगर्ने कुरै थिएन ।

Nepal Telecom ad

लामो कुरा गर्न नजान्ने, नयाँ पुस्ता विवेकशील हुन्छ भन्ने आदर्श सोच राख्ने, पेन्सनको रकम हात परेको दिनबाहेक अरू दिन दूध सुकेको बकेर्नु भैंसीको फाँचो खाली भएझैँ प्रायः खल्ती खाली हुने, पचहत्तर बसन्त पार गरिसकेको यो देशको जेष्ठ नागरिकमध्येको एक थियो मेरो साथी ।

एक दिन म मेरो त्यही पुरानो मित्रको घरमा पुगेको थिएँ । उधारो खाएको ग्राहक परमधाम पुगेको खबर सुन्दा पुर्पुरोमा हात लगाएर बसेको पसलेझैँ झोक्राएर बसेको ऊ कुटेको कुकुरजस्तो देखिन्थ्यो । धेरै दिनको अन्तरालपछि एकाएक अगाडि उभिन पुगेको मलाई देख्दा ऊ क्षणभरको लागि त अक्क न बक्क भयो । अनि अचम्म मानेर निकैबेरसम्म हेरिरह्यो । म बेतको एउटा कुर्सी तानेर उसको छेवैमा बसें ।

सधैभरि हँसमुख मुद्रामा रहने उसलाई झोक्राएर बसेको देख्दा ठूलै समस्या परेछ कि क्या हो ? भन्ने लागेर सोधें- “ओइ ! के भयो ?” उसले ठूलो कुरा केही होइन भन्दै कुरा आलटाल गर्ने प्रयास गर्‍यो । तर, मलाईचाहिँ केही न केही कारण हुनैपर्छ भन्ने लागेर, केही होइन भने किन ‘मरेको बिरालो काखी च्यापेर बसेझैँ गरेको त ?’ भन्दै वास्तविक तथ्य भन्न उसलाई थप दबाब दिएँ । आफ्नो पीडा सुनाउँ कि नसुनाउँ गर्दै क्षणभरको लागि ऊ पुनः झोक्राएरै बसिरह्यो ।

त्यसो त यो मन भन्ने जिनिसको कुरा गरिसाध्य पनि छैन, क्षणभरमै अदलबदल भइदिन्छ । कुनै पनि कुराको सोच विचार किन आउँछ ? भन्ने कुराको खासै कारण हुँदैन । मान्छेको मन न हो ! हुरीबताससँग उडेर आउने कसिँगरझैँ कुनै पनि बेला केही पनि आउँन सक्छ । आयो भनेपछि आयो । कहिले कुनै लट्टे जोगीको जगल्टाको सम्झनाले पिरोलेको हुन्छ त कहिले कुनै यौवनाको रेसमी कपालले । उसको पीडा पनि त्यस्तै प्रकृतिको होला भन्ने मेरो अनुमान थियो । तर कुरा बुझ्दै जाँदा थाहा भयो ऊ अलि अर्कै मनोदशाबाट गुज्रिएको रहेछ । उसको कुरा सुनिरहँदा मलाई लुटपाटको बिगबिगी भएको कुनै बेलाको रोशी खोलाको खाेँच र तिब्बती शरणार्थीको बाक्लो बसोबास भएको एक समयको बौद्धको सम्झना हुन गयो ।

पूर्वी पहाडका मानिसको काठमाडौं उपत्यका छिर्ने विकल्पविहिन एक मात्र बाटो रोशीखोलाको खोँच भएर निस्किन्थ्यो । त्यो बाटोमा हिँड्ने गरेका एक्का-दुक्का, सुकिला-मुकिला मानिस देखिए भने त्यहाँको पाखाभित्तामा गाईबस्तु चराउने गोठालाले खोला छेउका गोठालालाई “लैनु कि थारो ?” भनेर सोध्ने गर्थे । खोलाछेउको गोठालोले ‘थारो’ भन्यो भने त्यो मानिसको कुम्लो कुटुरो जोगिन्थ्यो । “लैनु है, लैनु !” भन्यो भने सबै गोठाला जम्मा भएर बटुवालाई लुटपाट गर्ने गर्थे ।

त्यो बेला काठमाडौँको बौद्धमा पनि रोशी खोलाकोजस्तै प्रवृत्ति भएका मानिस भेटिन्थे । खल्तीमा दस रुपैयाँ बोकेर हिँड्ने मानिस उनीहरूको लागि ‘लैनु’ ठहरिन्थ्यो । रात-साँझको बेला खल्तीमा दस रुपैयाँ बोकेको त्यो बाटो भएर हिँड्ने एक्लो बटुवा अँध्यारो गल्लीबाट झ्वास्स निस्किने मानिसको समूहबाट लुटिने निश्चित प्रायः हुन्थ्यो । समयले कोल्टे फेर्‍यो । ती ठाउँका मानिस सम्पन्न भएसँगै लुटपाट हुन छोड्यो ।

अहिले आएर रोशीखोला सम्भ्रान्त र ब्यापारीहरूको थलो बन्न पुग्यो भने बौद्धलाई लुटपाट नहुने काठमाडौँको सबभन्दा सुरक्षित ठाउँ ठानिन्छ । आर्थिक सम्पन्नताले ती ठाउँमा चोरी र लुटपाट गर्ने व्यक्ति त हराएर गए तर त्यो प्रवृत्ति कता गयो होला ? भन्ने लाग्थ्यो मलाई । मेरो त्यो मित्रसँग घटेको घटना सुन्दा बुद्धिको बिर्को एकाएक ढ्वाक्कै खुलेको त्यो क्षण मात्र मैले मेसो पाएको थिएँ चोरीको प्रवृत्ति कता पुगेछ भन्ने कुरा । साथीसँग घटेको घटना यस प्रकारको रहेछ :

सरकारी अड्डा घेरेर बस्ने दलाललाई रूपैयाँ ख्वाएर के काम गराउनु ! आफैँ गएर अनुरोध गर्दा भइहाल्छ नि ! भन्ने सोच राखेर सम्बन्धित अड्डाको हाकिमकोमा पुगेको रहेछ ऊ । त्यो अड्डाको हाकिम, आफ्नो भूतपूर्व कार्यालय सहयोगीको छोरा भएको कारणले गर्दा पनि होला हौसिएर ऊ त्यहाँ पुगेको ! अड्डाको त्यो हाकिमको बाबु र आफूबीचको घनिष्ट सम्बन्धको बारेमा लामै कुरा सुनाएको थियो उसले मलाई । भन्यो-

“स्वस्थ शरीर हँसिलो अनुहार, व्यवहारमा शालीनता भएका उसको बाबु मभन्दा निकै जेठा थिए । एउटै कार्यालयमा काम गर्ने हामीहरूबीचको सम्बन्ध हाकिम र कारिन्दाजस्तो नभएर दाजुभाइजस्तो थियो । निम्नस्तरको जागिर र सामान्य आर्थिक स्थिति भएका ऊनी ठूलो सोचका धनी थिए । आफूले दुःख गरेर भए पनि छोराहरूलाई उच्च शिक्षा दिने उनको चाहना प्रशांसयोग्य थियो । उनको आदर्श स्वभाव र कार्य कौशलताबाट प्रभावित भएको कारण बच्चाबच्चीको पढाइ सहज होस् भन्नको लागि अड्डाको गरिखाने खालको फाँटको जिम्मा मैले उनैलाई दिने गर्थें । त्यो क्रमले लामो समयसम्मनै निरन्तरता पाइरह्यो ।

उनका छोराहरूको उच्च शिक्षाको लागि बाटो सहज बन्दै गयो । छोराहरू जेहेनदार थिए, अध्ययनपश्चात् सरकारी अड्डामा हाकिम भए । समय बितेको कुराको हेक्का कहाँ हुन्छ र मानिसलाई । उनी रिटायर भएको धेरै वर्षपछि म पनि रिटायर भएँ । तर छोराहरूको उन्नति देख्न पाउनुअगाडि नै उनले परलोक प्रस्थान गरे । उनको छोरा हाकिम भएर बसेको अड्डामा मेरो काम नहुने भन्ने कुरै थिएन’ भन्दै ऊ  रोकियो ।

साँध मिचेर थिचोमिचो गर्ने छिमेकीले मुद्दामा फसाएको कारणले गर्दा मेरो साथीलाई त्यो हाकिमकोमा पुग्नुपर्ने बाध्यात्मक स्थिति आइपरेको रहेछ । ‘घिचनाले थिचना’को स्थितिमा पुगेझैँ लाग्ने, होचो कद, बाहिर उछिट्टेको पिल्टिक्क परेको पित्ले कसौंडीजस्तो भुँडी, च्यापुमा झुन्डिएको मासुको मोटो लुँदा, खस्रिएको कुभिन्डो आकारको । बेडोल शरिर, भक्कुको राँगाकाजस्ता रक्सीले मातेझैँ देखिने राता आँखा भएको आफ्नो कार्यालय सहायकको हाकिमको छोरालाई सम्झिँदा, मानिसको शरीरको आकार-प्रकार जस्तोसुकै होस्, हो त आफ्नै आफन्त भन्ने लागेकोले सुन्दर लाग्ने गथ्र्यो अरे बेढङ्गको उसको जीउडाल पनि ।

त्यो दिन उसलाई अफिसको हाताभित्र पस्दै गरेको देख्नेबित्तिकै हतार हतार बाहिर निस्किएको हाकिमले “यो तातो घाममा किन दुःख गर्नुपथ्र्यो र ? फोनबाटै भनेको भए भइहाल्थ्यो नि ।” भन्दै बनावटी आत्मीयता प्रदर्शन गरेछ । उसका सबै कुरा सुनेपछि “तपाईंको काम गरेर दुई-चार दिनभित्रै कागज घरमै पठाइदिन्छु” भनेर उसलाई आश्वस्त पारेछ र कार्यालयमा छिर्न नदिई घरतिरै फर्काइ दिएछ ।

हर्पेभरिको घिउको चिल्लो लेपन गरेको जिब्रोमा बाक्लो चास्नी मिसाएझैँ गरी बोल्ने हाकिमको त्यति मिठो बोलीबचन सुन्दा पचहत्तर वसन्त पार गरिसकेको एउटा जेष्ठनागरिकले विश्वास नगर्ने कुरै थिएन । हाकिम भएर पनि कति संस्कारी रहेछ आफ्नो कार्यालय सहायकको छोरा भन्ने लागेको उसले मनैमन त्यो हाकिमलाई स्याबासी दिन पछि परेन । कसैले टिप्न नभ्याएर घोक्रिएको घिरौंलाजस्तो नाक पार्दै दङदास परेर घर फर्किएको थियो अरे त्यो दिन ऊ । मानिसलाई उल्लु बनाएर खल्ती न्यानो पार्न खप्पिस हाकिमले कस्तो खेल खेल्दैछ भन्नेबारेमा सिधासादा स्वभावको बबुरो मेरो साथीलाई के थाहा हुनु !

हाकिमले काम गरेर पठाइदिन्छु भनेको पनि एक महिना बित्यो । त्यो कागजसम्बन्धि म्याद घर्किनै लाग्दासम्म पनि न काम फत्ते भएको खबर आयो न त कागज लिन आउनु भन्ने फोनकल नै आयो । घरबाट गरेको फोनकल नउठेपछि हाकिमलाई भेट्ने सोच बनाएको ऊ इस्त्री गरेका सेता कुर्ता-सुरुवालको पहिरनमा आँखामा चस्मा र हातमा लौरो बोकेर हाकिमलाई भेट्ने उद्देश्यले ‘कोरोना महामारीको बेला’ बसको कोचम्कोच भीडमा छिरेर अफिस पुगेको रहेछ । हाकिमको कोठाबाहिर खबटे गाला, भ्यागुताका जस्ता ट्वाल्ल परेका आँखा, निधारमा सुपारीजत्रो टुटुल्को उठेको, मुढामा बसेर खैनी मोल्दै गरेको मरन्च्याँसे द्वारपालले उसलाई रोकेर ‘आज हाकिमसाब व्यस्त हुनुहुन्छ भेट्न मिल्दैन अर्को दिन आउनुस्’ भन्दै ठाडठाडै फिर्ता पठाएको कुरा उसले सुनायो ।

काम भइहाल्लाकि भन्ने आस बोकेको ऊ लगालग तीन दिनसम्म हाकिमलाई भेट्न उसको अफिस धाइरह्यो । घरबाट मात्र नभएर अफिसको हातामै पुगेर पनि धेरै पटक फोन गर्‍यो उसले तर हाकिमले कुनै पनि दिन न उसको फोन उठायो न त भेट नै दियो । चौथो दिन पनि अफिस पुगेको उसलाई द्वारपालले कोरोना महामारीको अर्को नयाँ बहाना बनाएर पुनः एक पटक हाकिमसम्म पुग्नबाट वञ्चित गर्‍यो ।

आफ्नो हुर्मत लिन द्वारपालको दुरुपयोग गर्ने त्यो हाकिमको अनुहार सम्झिँदा कहिल्यै नरिसाउने उसलाई आफ्नो टाउको रोटेपिङझैँ फन्फनी घुमेको भान भएछ । त्यसलाई भेटेमा टोक्ने भोटेकुकुर उसको पछि लगाइदिउँकि, काठको चिर्पटले हिर्काएर चारभन्ज्याङ कटाउँ लागेको थियो अरे त्योबेला उसलाई । तर, सोचेर मात्र के गर्नु । ‘रिस खा आफू, बुद्धि खा अर्को’ भन्दै मुर्मुरिंदै घर फर्किनुको विकल्प भएन ऊसँग । बोलीको टुङ्गो नभएको कस्तो बनावटी र नकच्चरो मानिस रहेछ, हेर त अब, जरिबानासहितको डबल दस्तुर बुझाउनुपर्ने बाध्यात्मक स्थिति आइलाग्यो । दलालको माध्यमबाट उसैलाई रुपैयाँ नख्वाइ आफ्नो काम नहुने भयो भन्दै रुझ्न लागेका आफ्ना आँखा अर्कोतिर फर्काएर पुनः पुर्पुरोमा हात लगाउँदै बस्यो ।

उसको हतास मानिसकता देखेर मैले भनें- “कुनै बेला उसको बाबुको हाकिम थिएँ भन्ने लागेर उसको छोरालाई विश्वास गरेको होलास् । छोड्दे बाबै, गए विश्वासका ती जमाना । ’ऊ दिन गए यी दिन आए, आमाबाबुले म्वाइँ खाने ठाउँमा भुत्ला पलाए ।’ लेनदेनको दुनियाँ हो यो । तँ मूले रिटायर हाकिमले उसलाई अब के नै दिन सक्छस् र उसले तेरो खोजीनीति गरोस् ? खल्तीबाट स्पैयाँ निकाल्न नसक्ने आमाबाबुलाई आफ्नै छोराछोरीले त डोकोमा हालेर वृद्धाश्रम पुर्‍याउन लगाएर छोड्छन । तँ त उसको बाबुको कुनै जमानाको हाकिम ? आफ्नो बाबु तल्लो तहको कारिन्दा थियो भन्ने कुराको पोल खुल्ला भन्ने डरले नै होला तँलाई बाहिर भेटेर बाहिरैबाट लखेटेको पनि । धन्नै बोलेछ पो !

विवेकको आधारमा काम हुने जमाना गए साथी । यो देशका प्रत्येक नागरिकलाई ग्राहक ठान्नेहरूको खल्ती न्यानो नपारी कुनै काम हुँदैन भन्ने कुरा नबुझ्नु तेरो मख्र्याइँ हो । खन्खनी नगद गन्ने मालवाला तेरो झगडियालाई छोडेर, दूध नदिने बकेर्नु भैंसीजस्तो, अवकाश प्राप्त तँजस्तो ‘खुसट बुढोको’ काम, त्यो पनि फोकटमा, किन गर्ने उसले ? तँ को होस् र ?

आज नगद भोलि उधारो भन्ने शब्द उहिले उहिले व्यापारीको पसलमा देखिने गथ्र्यो, आजकल त्यो उक्ति सरुवा भएर सरकारी अड्डाभित्र छिरेको छ । काम लिनुछ भने गएर खुरुक्क नगद बुझा त्यही तेरो कारिन्दाको छोरालाई । कोरोना पनि भाग्छ, द्वारपालले ढोका पनि खोल्छ । तेरो थात- बास पनि टिक्ला । नत्र त्यो नै हराउन बेर लाग्दैन । मैले त्यति कुरा भन्दासम्म पनि ऊ अन्यमनस्क भावले टोलाइरहेको थियो । उसले कुरा बुझेजस्तो नलागेकोले मानिस कति छिटो बदलिन्छ भन्ने आफूसम्बद्ध बचपनको घटना सुनाएर उसलाई हँसाउन र शान्त पार्ने एउटा प्रयास गर्नुपरेको थियो त्यो दिन मैले ।

धानचमर निस्किएर सुत्ला च्यापेका मकैले छपक्क छोपेको बाटोको दुवैतिरको पाखोबारी, समय अन्दाजी साँझको साँढे चार बजे, खैरो रङ्गको खागीको कमिज र हाफपेन्ट लगाएको, खुट्टामा छालाको खस्रो कालो बुटजुत्ता, घुँडाभन्दा माथिसम्म तानेर लगाएको रातो उनीको मोजा, पिठ्यूँमा खागीको गह्रुङ्गो झोला, एक हातमा अर्धगोलाकार बेतको डाँठ भएको कालो छाता, अर्को हातमा बल्दै गरेको ‘पेट्रोम्याक्स’ बोकेको एकजना मानिस ओह्रालो झर्दै थियो । दिउँसै पेट्रोम्याक्स बालेर हिँडेको ऊ घर वा ससुराली जान हिँडेको भारतीय लाहुरे भन्ने प्रस्ट अनुमान गर्न सकिन्थ्यो । ऊभन्दा केही पछिल्तिर थिए ओह्रालो झर्दै गरेका ओख्रेका ठुल्दाइ ।

भोकले लखतरान भएर घर पुग्ने हतारोमा भएका हामी भुराहरूलाई उभिने इशारा गर्दै बाटोको बीचमा टक्क अडिएको थियो लाहुरे । पछि-पछि आउँदै गरेका ओख्रेका ठूल्दाइ लाहुरेको छेउमै पुगिसकेका थिए । लाहुरेले धानचमर फुल्दै गरेका बारीका मकैतिर देखाएर ‘बच्चा लोग, बोलो तो, यह किस चिजका रूख बिरुवा है ?’ भन्दै हामीहरूलाई सोधेको थियो । लाहुरेको प्रश्नले भुन्भुनिएका ठुल्दाइले अधकल्चो हिन्दी बोल्दै गरेको त्यो मानिसको मुखमा क्षणभरको लागि ट्वाल्ल परेर हेर्दै भने- ’होइन ! तँ, एक माना मकैको च्याँख्ला र एक माना कोदोको ढिँडोले पनि नअघाउने तल्ला गाउँको त्यही गने भँडारीको छोरा चिम्रे होइनस् ?’

चित्त नबुझेको कुरामा तत्काल प्रतिवाद गर्ने स्वभाव थियो ओख्रेका ठूल्दाइको । त्यसैले लाहुरेले ओल्चिएर बोलेको सुन्दा झोँक चलेपछि मुर्मुरिदै भने- “तेरीमा टोक्ने, कोदोको नरूवा समातेर हुर्किस्, मकैको फ्याप्लो र सिस्नु खाएर तिघ्रे भइस् । दुई वर्ष मुग्लान बसेर आउँदा मकैको बोट नचिन्ने तेरो यत्रो फुर्ती ।” ठुल्दाइ च्याँठ्ठिएपछि सातोपुत्लो उडेर अक्क न बक्क भएको लाहुरेले ट्वाँ परेर ठुल्दाइतिर हेर्‍यो र भन्यो- ‘ए जेठा मुखिया पो । म त भाइहरूसँग यत्तिकै जिस्किन खोजेको नि ।’ भन्दै लामो कुरा नगरी दुई ओह्रालो लाग्यो ।

यति कुरा सुनाइसकेपछि मनभित्र क्वाँक क्वाँक. गरेर कुखुरा कराइरहेको साथीको चिन्ता केही मत्थर भयो कि भन्ने लागेर पुनः एकपटक उसको अनुहारमा नियालेँ । उसले भन्दै थियो- ‘त्यस्तो बाबुको छोराको व्यवहार यस्तो होला भन्ने कुरा कसले सोच्न सक्छ र मैले सोच्नु ? टमाटरको बोटमा खुर्सानी त फल्नु नपर्ने थियो तर फलेछ । पैंचो मागेर ल्याएजस्तो हाँसो हाँस्ने त्यो हाकिम भनाउदोलाई आफ्नो मान्नु र उसको बोलीबचनलाई सत्य ठान्नु मेरो आफ्नै भुल थियो भन्दै चुप लाग्यो ।

०००
‘चिबे नकटो’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे