सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चिबे-नकटो

सिँगानको लेघ्राले छोपिएको घोडेको अनुहार र खुट्टा बिचित्रको देखिन थालेसँगै उसको दुखाइ पनि कम हुँदै गयो । अनुहार र हातखुट्टा बिरूप भएको घोडे स्कुलतिर नगई बाँसको तोस्रो टिपेर बुर्कुसी मार्दै घरतिर टाप कस्यो ।

Nepal Telecom ad

लेखनाथ पोखरेल :

भर्खर मात्र सरकारी जागिर सुरु गरेको थिएँ । पहिलो महिनाको तलब हात परेकै दिन नयाँ जुत्ता किन्ने रहर लाग्यो । रुपैयाँको ‘छेलो खेलाई’ भएपो बाँसबारी छाला जुत्ता कारखानामा बनेका महँगा र फेन्सी जुत्ता किन्ने । रहर पुर्‍याउने र केही महिना काम चलाउनेसम्म त हो भन्दै सार्कीको जुत्ता पसलमा पसेर त्यस्तै डिजाइनको अर्धप्रशोधित छालाको बुट जुत्ता सिलाउन लगाएको थिएँ । चाँडो नखिइयोस भनेर जुत्ताको एडीमा घोडाको खुरमा ठोक्ने खालको फलामको नाल ठोकाउन पनि पछि परिनँ ।

फलामको नाल ठोकेको छालाको बुट जुत्ता लगाएर पिचरोडमा ट्वाक ट्वाक गर्दै हिँड्नुको मज्जा नै अर्कै ! त्यस्तो जुत्ता लगाएर दिनभरि घुमफिर गरेर कोठामा फर्किएको दिन भने जुत्ताको पछिल्लोपट्टिको खस्रो छालाले नलीखुट्टाको हाड देखिने गरी छाला खुइल्याएर घाउ बनेको हुन्थ्यो । त्यो घाउ सन्चो हुन एक हप्ताभन्दा बढी समय लाग्थ्यो । जुत्ता लगाउन नमिल्ने त्यो अवधिभर खुट्टाको पहिरन हुन्थ्यो फित्तावाला हवाई चप्पल ।

एक दिन म चिरिच्याट्ट परेर छालाको बुट जुत्ता ट्वाक ट्वाक पार्दै डिल्लीबजारबाट बागबजारतिर लागेको थिएँ । टुकुचाको पुल तरेर पारिपट्टि पुग्दासम्म त ठिकै पो थियो । पुलपारि पुग्दा एउटा खुट्टाको ट्वाक ट्वाकको आवाज नआएकोले के भयो भन्दै पछाडि फर्किएर हेरेँ । ला । जुत्ताको फलामे खुर त भुइँमा पो खसेछ । खुस्किएको फलामे खुरलाई अरूले नदेख्ने गरी भलाद्मी बन्दै उठाएर सरक्क पेन्टको खल्तीमा घुसारेँ । छ नम्बरको खुट्टामा पाँच नम्बरको जुत्ता लगाए जसरी खोल्च्याङ खोल्च्याङ गर्दै जुत्ता मर्मत गर्ने मानिस कतै छकि भन्दै पल्याकपुलुक हेर्दै जाँदा पद्मकन्या कलेजअगाडिको फुटपाथमा एकजना ‘मोची’ भेटियो ।

‘मोची’को अगाडि राखेको मुढामा कमिज सुरुवाल लगाएको एकजना मानिस आफ्नो जुत्ता मर्मत गराउँदै थियो । उसको छेउमा उभिएकी थिइन् अन्दाजी २८-३० वर्षे अग्ली हृष्टपुष्ट शरीरकी स्वामिनी एउटी सुन्दर महिला । ‘मेरो जुत्ता पहिले मर्मत गर्दे त भाइ’ भनेर मैले मोचीलाई भनेको मात्र के थिएँ ती महिलाले मेरो शरीर नै छेडँुलाजस्तो गरी दृष्टि फ्याँकिन् ।

हिन्दीभाषीले नेपाली बोल्ने ती महिलाको आँखामा क्रोधको ज्वाला देखिन्थ्यो । उनले आफूलाई संयमित बनाउने प्रयास गर्दै भनिन्- “सुरु गरेको हाम्रो काम नसकी तपाईंको काम गर्दैन उसले, चुप लागेर पालो पर्खिनुस् ।” ‘राजाके आगे बाबाकि दुहाई’को स्थितिमा पुगेर अक्कन बक्क भएको मैले ती महिलालाई नियालेर हेरेँ । उनको तिखो हेराइले आतङ्कित भएको मैले यिनी कुनै प्रतिबन्धित पार्टीको धाकड महिला नेतृ पो हुन् कि क्या हो । भन्ने ठानेको थिएँ त्योबेला ।

त्यस्तैमा ती महिलाको अगाडि मुढामा बसेको मानिसले म भएतिर पुलुक्क हेरेर आफ्नो मुख पुनः मोचीपट्टि नै फर्कायो ।
तत्क्षण मतिर फर्किएर निकैबेरसम्म मलाई नियाल्दै भन्यो- “हैन तिमी फूलबारी माइला होइनौ ? मलाई चिनेनौ कि कसो ?” भन्दा काठमाडौँ शहरमा मलाई चिन्ने अर्को कुन मानिस आइपुगेछ भन्दै उसलाई नियालेको थिएँ । बाल्यकालमा ‘घोडे’ र ‘चिबे-नकटो’ को उपनामले चिनिने ऊ त आफ्नै बालसखा पो रहेछ ।

‘चिबे-नकटो र मेरो भेट नभएको धेरै वर्ष भइसकेको थियो । वर्षो पछाडिको आकस्मिक त्यो भेटले हामी दुवै रोमाञ्चित भएका थियौँ । “उहाँ को नि ?” भनेर सोध्दा थाहा भयो ती महिला त उसकै श्रीमती पो रहिछन् । रूप-रङ्गदेखि कद-काठीसम्म सबैथोक विल्कुल विपरीत भएका धेरै कम युगल जोडीसँग मात्र चिनजान थियो मेरो । उनीहरू दुईजनाको अस्वाभाविक जोडी देखेर जिल्लिएको म त्यो बेलासम्म अविवाहित नै थिएँ ।

धेरै वर्षपछि भेट भएको मित्रले खाजा खाने अफर दिँदा हामी तीनैजना नजिकको रेस्टुरेन्टमा पसेका थियौँ । क्षणभर अगाडिसम्म मलाई दुश्मनसरह ठान्ने मित्रपत्नीको व्यवहारमा एकाएक परिवर्तन देखापर्‍यो । उनका आँखा अनौठो किसिमले चम्किएका देखिन्थे । वाचाल ती महिलाका आँखा उनको मुखभन्दा धेरै बोल्छन् झैँ लाग्यो मलाई ।

प्रकृतिले सजीव प्राणीका लागि दिएको अद्भूत उपहार आँखा । मनको अन्तरङ्ग भावभङ्गीमा प्रकट गर्ने विलक्षण खुबी पनि आँखाभित्र सन्निहित हुन्छ । रङ्ग रूप छुट्याउने क्षमता मात्र होइन प्रेम प्रदर्शनदेखि आक्रोश पोख्नेसम्मका घटनामा आँखाको सशक्त भूमिका देखिन्छ । प्रेममय परिवेशमा जून- ताराॐ चम्किलो बनेर शीतलता प्रदान गर्ने आँखा, ईर्ष्या र क्रोधमा दन्दनी दन्किएको ज्वाला बनेर प्रस्तुत हुन्छ । नियालेर हेर्ने हो भने कुनै पनि व्यक्तिको नियत र धुत्याइँ आँखामै प्रतिविम्बित हुने गर्दछ ।

खाजा खाँदै गर्दा ‘चिबे नकटो’ले आफू बर्दियाको राजापुरमा धानको ठूलो व्यापारी बनेको कुरा सुनायो । त्योसँगै सुनायो आफूले कमाएको सम्पत्तिको ठूलो हिस्सा कुम्ल्याएर कसरी आफ्नै व्यावसायिक पार्टनरसँग आफ्ना दुइटी श्रीमतीले कुलेलम ठोके भन्ने कुरा । साथमा खाजा खाँदै गरेकी ती महिला आफ्नो श्रीमान् लाई छोडेर उसको तेस्रो श्रीमती बन्न आएकी हुन् भन्ने कुराको सहज जानकारी दिनसमेत पछि परेन ऊ । तत्कालको भोक मेटाउनको लागि अनिश्चित भोलिलाई पर्खिनुभन्दा आज जे भेटिन्छ त्यसैमा रमाउन उचित ठान्ने उसको सोच ठिकै थियो होला, तर उसको जीवनगाथा सुन्दै गर्दा ऊप्रति मेरो सहानुभूति पनि जागृत भयो । उसलाई भावी जीवनको सुखद् कामना व्यक्त गर्दै बिदा हुनुबाहेक अरू उपाय देखिनँ मैले । रेस्टुरेन्टबाट बाहिर निस्किँदै गर्दा बचपनमा ‘घोडे’ उपनामले चिनिने ‘चिबे नकटो’सँग पुनः एक पटक जोडिन पुगेको थिएँ म ।

कम उमेरका बच्चाबच्ची पढ्ने गाउँको प्राथमिक स्कुलमा ऊ एक मात्र छिप्पिएको विद्यार्थी थियो । उसको असली नाम थियो वैकुण्ठप्रसाद । मध्यम कद, झट्ट हेर्दा खैरो रङ्गको घोडाको बान्की परेको उसको मुहार, उछिट्टिएर बाहिर निस्किन खोजेझैँ लाग्ने तमाखुको सिठुवाले माझेका पहेँला दाँत थिए उसका । अस्वाभाविक शारीरिक बनोट भएको ऊ स्कुलका सबै बच्चाबच्चीसँग झ्याम्मिन चाहन्थ्यो, तर ऊसँग मित्रता गाँस्न भने कुनै पनि तयार हुँदैनथे । स्कुले भुराहरूले उसको छद्म नाम ‘घोडे’ राखेका थिए ।

गुरुले गर्नुहुँदैन भनेका सबै काम नगरी नछाड्ने जिताहा स्वभावको थियो ऊ । कहिले स्कुल भवनको धुरीमा चढेको हुन्थ्यो त कहिले अग्लो रूखमा चढेर हाम फाल्थ्यो । कहिले स्कुल छेउका हौँचा रूखको पोथ्रामा चढेर बाँदरले जसरी जीउ कन्याउँथ्यो त कहिले स्कुलअगाडिको चौरमा घोडा कुदेझैँ बुर्कुसी मार्दै कुद्ने गन्थ्यो । चिबे चराकोजस्तो स्वभाव भएको उसले कुनबेला कस्तो उपद्रो गर्ने हो थाहा नहुने भएकाले उसले ‘चिबे-नकटों’ को अर्को उपाधि पनि पाएको थियो । ‘घोडे’लाई ‘चिबे – नकटो’को रूपमा नामकरण हुनुमा ठूलो श्रेय भने उसको तरबारे भैँसीलाई जान्थ्यो । आफ्ना दुवै उपनामको अन्तर्यबाट अनभिज्ञ ऊ भने सधैँभरि भुराहरूसँग घुलमिल हुने प्रयत्नमा लागेको हुन्थ्यो ।

ढुङ्गामाटाको पर्खाल भएको, बाक्लो खरले छाएको दुईतले थियो स्कुल भवन । स्कुल भवनको छेउ भएर निस्किएको थियो ब्यासीतिर जाने मूलबाटो । स्कुलको पूर्वपट्टिको खेल मैदानलाई पर्खाल लगाएर दुईतिरबाट घेरिएको थियो । घेरिएको त्यो कम्पाउण्डको बीचमा थियो एउटा आहाल । काँधमा किताबको झोला भिरेर धपाउँदै ल्याएका दुवै भैँसीलाई स्कुलको चौरको आहालमा बसाएर मात्र कक्षा कोठाभित्र पस्ने गन्थ्यो ‘घोडे’ । त्यो आहालमा घोडेका दुईटा भैँसी दिनभरि उग्राएर बसेका हुन्थे ।

स्कुल छुट्टीपछि कक्षाकोठाबाट बाहिर निस्किँदै गरेको उसलाई देखेपछि मात्र आहालबाट उठेर वाइँ गर्ने अचम्मकै थिए उसका भैँसी पनि । घोडेका दुइटा भैँसीमध्ये एउटाका सिङ लाहुरी भैँसीका जस्ता बटारिएका थिए भने अर्काका तरबारजस्ता लामा थिए । लामा सिङ हुनेको नाम थियो तरबारे भैँसी । तरबारे भैँसीको पुच्छर लिँडो थियो । भैँसीको पुच्छर कसरी लिँडो भयो ? भनेर सोध्दा ‘बलु’ नामको कुनै कीराले खाएर लिँडे भएको भन्थ्यो उसले ।

प्रत्येक दिन गोठबाट बाहिर निस्किनेबित्तिकै, तरबारे भँैसीको दुवै सिङको टुप्पोमा आनन्दसँग बसेर आ-आफ्नो टाउको यताउता घुमाउँदै गाउँको दृश्यावलोकनमा लागेझैँ मग्न भएर बसेका हुन्थे कालो रङका चिबे चराको एक जोडी । गाईवस्तु र मान्छेसँग आफ्ना आफन्तझैँ झ्याम्मिन खोज्ने साइँदुवा हुन्छ चिबे चरा । प्रायः गाईभैँसीको आङमा बस्न रुचाउने यो चरा कहिले टाउकोमा बस्न पुगेको हुन्छ त कहिले ढाडमा । कहिले गाईभैँसीको कान कोट्याउन पुग्छ त कहिले पुच्छर ठुङ्न पुगेको हुन्छ । आकाशमा उड्दै फर्किँदै गरेर आहाल बसेका घोडेका भैँसीको सिङमा बसेर मग्न हुन रुचाउने ती दुवै चरा, घर फिर्ने बेलामा पनि बिहान आउँदा जसरीनै भैँसीको सिङमा टुक्रुक्क बसेर दङ्ग पर्दै रमाएको दृश्य रोचक र मनमोहक हुने गर्दथ्यो । उसको उट्पट्याङ स्वभावको कारणले गर्दा नै हो, महिलाहरूले त्यो चरालाई ‘चिबे- नकटो’ भन्ने गर्थे ।

घरपालुवा जनावर जसरी गाउँ घरको सेवामा लाग्ने, कालो रङ्ग, लामो चुच्चो र तिखा नङ्ग्रा भएको, आकाशमा धेरै माथिसम्म उड्न सक्ने फूर्तिलो चराको नाम हो चिबे चरा । गाउँका घर- आँगनमा चर्दै गरेका कुखुराका चल्ला टिप्न र बारीमा कुद्दै गरेका मुसा समाउन माथि आकाशबाट झपटा मार्दै जमिनमा आउने बाज र चिललाई समेत हायलकायल गराएर लखेट्ने खुबी हुन्छ यससँग ।

आहालको उत्तरतर्फको कम्पाउण्ड वालको बाहिरपट्टि थियो एउटा ठूलो नागफिनी (ऋबअतबक) को झ्याङ । त्यसमा फलेका देख्दै रमितालाग्दा राता-पहेँला फललाई आकाशमा सधैंभरि देखिने चराहरूमध्येका केहिले ठुन थालिसकेका थिए । फल पाकिसकेका थिए, तर गाउँका बुढापाकाले भने नागफिनीको फल खानुहुँदैन भन्थे । जान्ने र सिक्ने चाहनाको एकखाले अराजक मानसिकताले भरिएको हुन्छ मानिसको बचपन । जुन काम गर्नुहुँदैन भनेको छ त्यही काम नगरी नहुने । जुन कुरा हेर्नुहुँदैन भनेको छ त्यसैलाई खोतलेर नहेरी नहुने स्वभावका उरन्ठेउला र उत्पाती भुरालाई सम्झाउन कसले सक्ने र ?

गुरु ढिलो आउनुहुन्छ भन्ने थाहा भएको एक दिन भुराहरूको अराजक बैठकले नागफिनीका पाकेका राता-राता फल टिपेर खाने निणर्य गन्यो । खाने सहमति त बन्यो तर झाँगिएर अग्लिएको, तिखा काँडाले भरिएको त्यो रूखका फल टिप्ने कसरी भन्ने समस्या आइलाग्यो । गाउँमा कलिला अम्बा र काँचो आँप चोरेर खान बित्पाते सिपालु घोडेले नागफिनीको फल टिप्ने समस्याको सहज समाधान निकालेको थियो । अर्को दिन सबैजनाले एक घण्टाअगाडि स्कुल पुग्नुपर्ने उर्दी पनि उसले नै जारी गयो ।

अर्को दिन भुराहरू चाँडै स्कुल पुग्दा चोके भएको एउटा लामु बाँसको तोस्रो लिएर नागफिनीको झ्याङनजिकै उभिएको थियो घोडे । हामीमध्येका अलि ठूला दुईजना भुरालाई बोलाएर बाँसको भाटामा भएको चोके घुमाउँदै घोडेले पाकेर राता भएजति सबै फल टिपेर भुइँमा थुपान्यो । भुराहरूको गिन्तीभन्दा बढी फल टिपेको थियो उसले । एक-एकओटा सबैलाई दिएर दुइटा फल आफूले खाएपश्चात् बाँकी बचेका सबै फल मेरो मेहनत हो, कसैले केही पनि बोल्न पाउँदैन’ भन्दै सुजेरोजस्तो आफ्नो झोलामा हालेर तुना कस्यो ।

त्यही बेला स्कुलतर्फ झर्दै गर्नुभएका गुरु डाँडामा देखिनुभयो । भुराहरूले फल त बाँदरले केराको दाम्चो चिथोरे जसरी दाँतले चिथोरेर ‘हाङ्ग्राले पाङ्ग्रा निले गरी सल्याकसुलुक निले । तर समस्या पन्यो बाँसको भाटो लुकाउने ठाउँको । नागफिनीको झ्याङभन्दा अगाडि ठूलो सिस्नुघारी थियो । हाफकट्टु र हाफमोटो लगाएको घोडे बाँसको तोस्रो बोकेर लुकाउन घोडा कुदेझैँ कुदेको थियो, एकाएक त्यहीँ सिस्नुघारीमा पछारिन पुग्यो । ऐय्या र आत्थो गर्दै ऊ सिस्नुघारीमा नै लडिबुडी गर्न थाल्यो । उसको अनुहार र हातखुट्टा आगोको फिलुङ्गाजस्ता राता हुँदै गए ।

सिस्नुघारीभन्दा अलि पर्तिरको बारीमा घाँस काट्दै गरेकी राताघरे हजुरआमाले हामीहरूको उपद्रो र सिस्नुघारीमा पछारिएको घोडेलाई नियालेर हेरिरहनुभएको रहेछ । कुद्दै नजिक आउनुभएकी हजुरआमाले घोडेलाई हत्तपत्त सिस्नुको झाङबाट घिसारेर बाहिर निकाल्दै भन्नुभयो- “तेरा ती घोडाकाजस्ता टोड्के आँखाचाहिँ डडाल्नुमा सरेका छन्कि क्या हो आजकल ? यत्रो सिस्नुघारी पनि नदेख्ने कस्तो आँधो होला यो केटो ।” अनि भुराहरूतिर फर्किएर भन्नुभयो- “सबैजनाले आ-आफ्नो नाकबाट सिँगान निकालेर यसको अनुहार र खुट्टामा घसिदेओ नत्र उपर्ताली भएर यो मर्न बेर लाग्दैन ।”

नाकबाट सिँगानको लत्का बगाउने भुराहरूको कमी नभएकाले सिंगानको खाँचो हुने कुरै थिएन । घोडेको हालत देखेर आत्तिएका भुराहरू सबैले सिँ..सिँ.. गरेर बाहिर फ्याँक्नुपर्ने र बाहुलामा पुछ्ने सबै सिँगान उसको मुख र खुट्टामा घस्न थाले । सिँगानको लेघाले छोपिएको घोडेको अनुहार र खुट्टा बिचित्रको देखिन थालेसँगै उसको दुखाइ पनि कम हुँदै गयो । अनुहार र हातखुट्टा बिरूप भएको घोडे स्कुलतिर नगई बाँसको तोस्रो टिपेर बुर्कुसी मार्दै घरतिर टाप कस्यो ।

त्यो घटनाका प्रत्यक्षदर्शी गुरुले क्लासमा पस्नेबित्तिकै नागफिनी टिप्न जानेजति सबै भुराहरूलाई ढाड अइरो हुने गरी ‘मुर्गा’ बनाएर सजाय दिनुभयो । सिस्नुको कारण ओच्छ्यानमा लम्पसार परेको घोडे भने एक हप्तापछिमात्र स्कुल आएको थियो ।

०००
चिबे नकटो (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल
प्रवृत्ति

प्रवृत्ति

लेखनाथ पाेखरेल