सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो पनि झुटो हो !

सोच्नुस् त, कोमामा पुगेको मानिस कुरेर अस्पतालको चिसो भुइँमा बसेको यस्तो बेलामा पनि मैले कसरी ढाँट कुरा गर्न सकौँला र ! यी सबै घटना र प्रसङ्ग साँच्चो हुनुपर्छ भन्ने कुरामा तपाईंको मनभित्र कुनै द्विविधा हुने कारण पनि देख्दिन म । तर, साँच्चो कुरा सुन्न चाहनु हुन्छ भने सुन्नुहोस्, यो पनि झुटो नै हो !

Nepal Telecom ad

त्यसो त म कुनै सत्यवादी हरिश्चन्द्र होइन । म मज्जाले झुटो बोल्छु । अरुलाई गाली गर्ने कुरामा मलाई कसैले भेटौंला भन्ने कुरा नचिताए पनि हुन्छ । ‘राँडीका छोरा’, ‘बज्याका छोरा’ जस्ता खाँटी बाक्यदेखि ‘आमाचकारी’सम्मका गाली कण्ठस्त छन् मलाई । यो कुरा मेरा आफ्ना-आफन्त सबैलाई थाहा छ । म त्यसैमा आनन्दित हुन्छु र त्यसैमा रमाउँछु भन्ने कुरा पनि बुझेका छन उनीहरूले । त्यसैले मैले बोलेको कुराको प्रतिवादमा उत्रिने हिम्मत गर्दैन कसैले । तर अहिले जुन कुरा सुनाउन गइरहेको छु, त्यसमा झुठको अंश बिल्कुल छैन । किनकि म अहिले यस्तो ठाउँमा बसेको छु, जहाँ पुगेर झुटो बोल्ने हिम्मत कसैले पनि गर्न सक्दैन भन्ने कुराको विश्वास समेत दिलाउन चाहन्छु । यसको लागि हिन्दी सिनेमामा खुवाइने खालको ‘गीताको कसम’ खानसमेत तयार छु म ।

मानिसहरू भन्दछन् मेरो बोली झुटो मात्र नभएर रुखो पनि छ । ठिकै पनि होला किनकि मैले चिल्लो भाषा बिर्सिसकेको छु । मेरो मुखबाट सिधा र चिप्लो कुरा निस्किनै मान्दैनन् । त्यसैले मसँग मेलजोल गर्न रुचाउँने मानिसको खडेरी परेको हुन्छ प्रायः । तर, मेरी भाउजू त्यस्ती छैनन्, उनले मेरो बोलीमा सत्य र तथ्य लुकेको हुन्छ भन्दै मलाई हौसला दिने गर्छिन् । उनको कुरा सुनेर म त्यसै-त्यसै मक्ख पर्ने गर्छु ।

त्यसो त, म मेरा दाजुभाउजूको परमभक्त हुँ । उनीहरूको अगाडि पर्दा जहिल्यै भिजेको बिरालोजस्तो बनेको हुन्छु । तर आज किन हो कुन्नि ? मलाई औधी नै बिरक्त लागेको छ । कति झुटो र फटाहा कुरा मात्र गर्नु । आज मलाई साँच्चिकै साँच्चो कुरा भन्न मन लागेको छ, त्यो पनि आफ्ना साख्यै दाजु भाउजूको कुरा ।

आफ्नो परिवारको गुह्य किन ह्वाङ्ग पार्नु परेको होला ? भन्ने लाग्न सक्छ तपाईंहरूलाई ! यी सब कुराको पछाडि पनि कारण छ । त्यसो त बिनाकार्य र कारण यो संसारमा हुन्छ नै के र ? सुन्न चाहनु हुन्छ भने सुन्नुहोस्, बिषयबस्तु यस प्रकार रहेको छ-

मेरा दाइ गफ गर्न र डिङ हाँक्ने कुरामा जति खप्पिस थिए, उति नै खली थिए सुरा र सुन्दरीको मामलामा । दुई चार पेग बेलायती सर्बत लगाएको बेला पर्‍यो भने त उनको स्वभाब गाउँघरमा छाडा छोडेको बहर गोरुजस्तो बनेको हुन्थ्यो । खल्ती दह्रो पारेर हिँड्ने दाइले जसलाई आँखा झिम्क्याउँथे त्यो तरुनी पट्टिई भनेर बुझ्न तिथिमिति या साइत पर्खिनु पर्दैनथ्यो । उनले कुन होटेलमा रात बिताए भन्ने कुरा, अलि ठुलो भएपछि दाइ के गर्छन् ? र कता जान्छन् ? भन्ने कुरा बुझ्न कुकुरले जसरी सुँ… सुँ… गर्दै सुँघ्दै हिँड्ने बानी परेको मबाहेक अरु कसैले सुइँकोसम्म पनि पाउँदैनथ्यो । त्यसो त दाइका यस्ता बिठ्याइँ मैले भाउजूलाई सुनाउँदिनथें । तर, नसुनाएर के गर्नु ! दाइको चरित्रप्रति सधैंभरी त्रस्त र सशङ्कित रहने भाउजूले उनलाई फिटिक्कै विश्वास गर्दिनथिन् ।

एक दिन, घरभित्र पस्दै गर्दा अलि परबाटै नियालेर हेरें, एक्लै चुपचाप बरन्डामा बसेकी भाउजूको अनुहारमा । चुप लागेर बस्ने स्वभावकी त थिइनन् ऊनी । तर, त्यो दिन के भएर हो कुन्नि ! धुमधुम्ती एक्लै बसेकी भाउजू द्रौपदीले जसरी झाँक्रो फिंजाएर कपालका एक एकवटा केस्रा छुट्याउँदै थिइन् । उनको चालामाला निको छ जस्तो लागेन मलाई । मेरो मनले उनको यो कृत्यलाई अनिष्टको सङ्केत ठान्यो ।

मैले नजिकै पुगेर बिस्तारै- ‘के भयो भाउजू ? सन्चो छैन कि कसो ?’ भन्दा कुनै जवाब नदिएकी उनी आफ्नो खुम्चिएको सारी टकटक्याउँदै उठिन् र केही नबोली कतै नहेरी बैठक कोठामा बोल्दै गरेको टिभी बन्द गर्दै भान्सातिर लागिन् । त्योबेला मलाई अघिल्लो दिन घटेको घटनाको स्मरण हुनगयो ।

त्यो दिन दाइको छुट्टी थियो । भर्खर मात्र श्रीमानसँग पारपाचुके गरेकी दाइकी चनमते साली कुन्जन केही दिन बस्नेगरी त्यही बिहानी मात्र घरमा भित्रिएकी थिइन् । बहिनी घरमा आउँदा खुशी हुनु त कता हो कता, झन् गम्भीर मुद्रा धारण गरेर बसेकी थिइन मेरी भाउजू ।

गडङ्ग… डङ्ग हाँस्न र गफ गर्नमा पोख्त दाइले आफ्नी चन्चले सालीसँग बगैंचामा घुम्दै गरेको त्यही बिहानीको बेला गुलाफको फूल टिपेर मायालु पाराले कपालमा लगाइदिएको कुरा मैले जसरी भाउजूले पनि देखेकी थिइन् कि कसो ? वा त्यो बाहेक पनि अन्य कुनै बिठ्याईं गरेका पो थिए कि दाइले ? यकिन साथ् केही भन्न सक्दिन !

मध्यान्न पनि नढल्किँदै एउटा पार्टीमा जानु छ, हामीलाई खाना नबनाउनु है ! भन्दै कुन्जनलाई गाडीमा हालेर दाइ बाहिर निस्किए । भित्ते घडीले रातिको एघार बजेको सङ्केत स्वरूप एक पटक ‘टन’को आवाज सुनायो । कुन्जनलाई लिएर पार्टीमा गएका दाइ अझै आइपुगेका थिएनन् । आज मेरा दाइको बाह्र बज्नेवाला छ भन्ने कुरामा मभित्र कुनै द्विविधा बाँकी रहेन । केही समयपश्चात् ढोका घरक्क घर्किएको आवाज सुनियो र तत्काल बन्द भयो । लाग्यो दाइ आइपुगेछन क्यारे !

दाइको र मेरो कोठा जोडिएको थियो । मेरा कान दाइको कोठाको प्रत्येक ध्वनि सुन्नमा लीन थिए । घडीले बाह्र बजेको सङ्केत दिँदै गर्दा दाजुको कोठाबाट सुँक्क… सुँक्क… गर्दै केही भन्दै गरेको भाउजूको अस्पष्ट आवाज सुनियो । मधुरो आवाजको फुस्फुसाहट र ङ्यार्र..ङुर्र.. अर्को आधि घण्टासम्म चलिरह्यो । त्यसपछि दाजुभाउजूको बिचमा ठुलै घम्साघम्सी पर्‍यो ।

अर्को दिन बिहानी भाले पनि नबास्दै भाउजूले आफ्नी बहिनीलाई लखेट्दै बसपार्कसम्म पुर्‍याएर फर्किंएकी थिइन् । किन होला ? भन्ने कुराको खासै मेसो पाउन नसकेको भए पनि भाउजूको झाँक्रो फिंजाईले कुन्जनतिर नै सङ्केत गरेजस्तो लाग्यो मलाई ।

००
जाडोको रात । बेलुकीको खाना खाएर सिरकभित्र पसेसँगै मेरो मन भाउजूमा गएर अड्कियो । भाउजूले गृहप्रवेश गरेको बेला मेरो उमेर तेह्र वर्षको थियो । भाउजू कुलीन घराना र उच्च ओहदाका मालवाला बाबुकी छोरी हुन् भन्ने कुरासम्म त सुनेको थिएँ मैले । तर, अनुहार न दनुवारकी भुतिनीजस्ती उनलाई पहिलो पटक देख्दा भने आतङ्कित भएको थिएँ म । कुन्नि के हेरेर त्यस्ती युवतीसँग बिबाह गरे दाइले ? मैले बुझ्नै सकिन । त्यसो त द्रव्य र उच्च ओहदाका मानिसको अगाडि धनुष्टङ्कार ढाँचामा उपस्थित हुने दाइको बानी व्यहोरा मलाई थाहा नभएको भने होइन ।
अग्लो कद, चतुर्भुजाकार शरीर, चौडा मुख, बाक्ला ओठ, खस्रो कपाल, नाके बोली भएकी भाउजू सुन्दर थिइनन् । भाउजूको सुन्दरतामा गुणभन्दा बढी अवगुण नै देखिन्थ्यो । तर, जहाँसम्म उनको आफ्नो कुरा हो, उनी आफूलाई कोहीभन्दा कम ठान्दिन थिइन् । थिइन् त ऊनी अरूप नै । तर, आफूलाई असुन्दर कुन मानिसले पो ठान्दछ र भाउजूले ठानुन् । आफ्नो सुन्दरताप्रति घमण्ड थियो उनलाई ।

मिलनसार स्वभाव, गफ हाँक्नमा खप्पिस, काम गर्नु नपरोस् भनेर अनेक बहानाबाजी र नखरा गर्नमा खली थिइन् भाउजू । सानु भन्दा सानु काम परे पनि मलाई बोलाएर चेब्रे भाषा बोल्दै त्यो काम गराएरै छोड्थिन् । बोलीमा यति चिप्लो घस्थिन् कि मैले नाइँ भन्न सक्दिनथेँ । त्यसो त मलाई माया नगर्ने पनि होइनन् उनले । मिठो खानेकुरा पकाएको दिन सबभन्दा पहिले मलाई नै बोलाएर खान दिन्थिन् । कहिलेकाहीँ मेरो राजा देवर भन्दै अँगालो मारेर गालामा म्वाइँ पनि खान्थिन् । म दङ्ग पर्ने गर्थें । उनको यस्तै प्रेमपूणर् व्यवहारको कारणले नै हो उनी मलाई राम्री लाग्नथालेकी थिइन् र उनको सम्मान पनि गर्थें ।

अलि ठुलो भएपछि दाइले मलाई एउटा जागिरमा लगाइदिए । भर्खर मात्र सानुतिनु जागिर सुरु गरेको ‘म’ नामको देवरले आफ्नो कमाईको रुपैयाँबाट आफ्नी सुन्दर भाउजूको लागि केही न केही उपहार ल्याओस् । उनलाई सिनेमा देखाओस् । कुनै दिन भान्साबाट उन्मुक्ति देओस् र कुनै होटेलमा लगेर खाना खुवाओस् भन्ने भाउजूको चाहना बुझेर पनि नबुझेझैं गर्ने गर्थें मैले ।

त्यसो त भाउजूको भित्री चाहना दाइले पनि नबुझेका होइनन् । तर, बुझेर पनि बुझ पचाउने बानी परेका साधन सम्पन्न दाइले एक दिन पनि भाउजूलाई कुनै होटेलमा लिएर गएको कुरा मलाई कहिल्यै थाहा भएन ।

प्रत्येक दिन कार्यालयबाट घर फिर्दा आफ्नो साधन सम्पन्न आधुनिक बङ्गला, इम्पोरटेड गाडी, कोठामा भएका सानदार फर्निचर सबै कुरा देख्दा गजक्क परेर बसेका हुन्थे दाइ । व्यापारीहरूबाट खल्ती न्यानु हुनेगरी जम्मा हुने नगद नारायणका बिटा, घ्यू, तेलका टिन, चामलका बोरा र सिजन अनुसारको फलफूलका टोकरीको ओइरो लिएर चाकडीमा आउने मानिसको पनि कमि हुँदैनथ्यो । दाइको इमानले त्यसलाई परम्परागत उपहार मान्दथ्यो । अख्तियारले चाल पाउने हो कि भन्ने भयरुपी मुसाले भने उनको बुद्धिमा प्वाल पारेर बसेको हुन्थ्यो ।

जागिर कसरी खानुपर्छ र के गर्दा आफ्नो फलिफाप हुन्छ भन्ने कुरा बुझ्नमा खप्पिस थिए मेरा दाइ । चाकरी र चाप्लुसीमा पोख्त दाइले, प्रभुलाई प्रसन्न गर्नुभन्दा पहिले उनकी सासूलाई प्रसन्न राख्नु बढी फलदायी हुन्छ भन्ने कुरा राम्रैसँग बुझेका थिए । अघिल्लो पटक कायम मुकायम मुकर्रर भएर जिल्लाको हाकिममा पोस्टिङ हुँदा पनि उनले यो मन्त्र चलाएर ‘तालुमा आलु’ फलाएका थिए ।

२०७२ सालको विनासकारी भूकम्प दाइको लागि अर्को बरदान साबित भयो । भूकम्पको लगत्तै हाम्रै आफ्ना केही तथाकथित देशभक्त नागरिक भनाउँदाहरूको सहयोगमा हाम्रा अनन्य छिमेकी मित्रले लगाएको नाकाबन्दीको बेला बासमती चामलको दानासम्म पनि भेटिन छोडेको थियो । त्यो बेला हनुमानजीले पर्बत उठाएर ल्याएझैं उनले चार बोरा बासमती चामल, एक बोरा चिनी र एक टिन मगमग बास्ना आउने घ्यू प्रभुकी सासूको चरण कमलमा अर्पिएका थिए ।

कस्तुरीको बिनाजस्तो मगमग बास्ना आउने त्यो घ्यू र चामल भान्सामा पाक्दै गर्दा प्रभुको पूरा घर सुवाषित भएको हुन्थ्यो । बासमती चामलले ‘अल्लादिनको चिराग’लेजस्तो करामत देखायो । एक तह बढुवा भएर आफूले रोजेको जिल्लाको हाकिम बन्न पुगेका दाइ, घर व्यवहारको सम्पूणर् जिम्मेवारी भाउजू र मेरो जिम्मा लगाएर प्रभुकी सासूको जय..जयकार गर्दै जिल्लातिर लागेका थिए । एक वर्षको अवधिमा एक पटक मात्र घर आएका दाइले समय बितेको पत्तै पाएनन् ।

त्यो बिचमा, अब आइन्दा जिल्लाको प्रमुख हाकिम बन्ने अवसर दाइकोभन्दा एक तह माथिको ओहदाले मात्र पाउने भन्ने सरकारी फरमान जारी भयो । हुँदाखाँदाको मालवाला कुर्सी खुस्किने डरले दाइलाई एक पटक फेरि भाउन्न हुनथाल्यो । तर, यो बढुवाको लागि प्रभुकी सासूको चाकरीले काम काम नदिने कुरा बुझेका दाइ एक पटक पुनः चैते बाँदरजस्ता भोका मन्त्रीका गुरिल्ला सेनासम्म पुग्ने प्रयासमा जुटे ।

खोज्नुमात्र पर्छ के मात्रै पाइँदैन यो देशमा ? दाइजस्ता मालवाला जागिरेको खोजीमा अड्डा अदालत चहारी हिँड्ने गुरिल्लाको के कमी ! चल्तापूर्जा मेरा दाइले उनीहरूलाई नभेट्ने कुरै थिएन, भेटि त हाले !

त्यो बेला भाउजूले त भनेकी थिइन् । धेरै उम्लिनु हुँदैन है, पोखिन्छ नि ! यत्रो बिधि सम्पत्ति जोडेकै छ । भुइँमा खसेको दाना टिप्न खोज्दा पोल्टाको सामल सबै पोखिएला नि ! तर, सम्पतिको नशामा ‘घुम्ने बेथा लागेको बोका’जस्तो आफैं मैमत्ता भएर फनफनी घुम्दै गरेका दाइले श्रीमतीले भनेको कुरा के सुन्थे ! उनले आफ्नो सोच परिबर्तन गर्ने छेकछन्द ल्याएनन् ।

तासका बाउन्न पत्ती फिटे जसरी फिटिँदै थियो मन्त्रीमण्डल र कर्मचारीतन्त्र । शक्तिको भक्ति गर्ने परम्परामा ‘चार-चाँद’ लाग्दै थियो । ओहदाको कुर्सी माल अनुसारको मोलमा सट्टापट्टा हुन थालेसँगै कर्मचारीको पदोन्नतिमा कुनै बेलाको इतिहासमा मात्र भेटिने ‘पाँडे-पजनी’ प्रथाको बिगबिगी पुनः एकपटक शिखरमा पुगेको थियो ।

मन्त्रीका गुरिल्ला सेनासँग मोलतोल सुरु भएको छोटो अवधिमा नै कुराकानीले लय लियो । ठुलो धनरासी लिने शर्तमा हाललाई कायममुकायम र तीन महिनापछि बढुवामा नाम निकाल्दिनेमा कुरा टुङ्गियो । कुरा टुङ्ग्याएर आएको दिन दङ्ग परेका दाइले मसँग भने- ‘बुझिस् कान्छा, यसपालि त दुवै हात चुर्लुम्म घ्यूमा डुब्ने भए नि !’ भन्दै घटनाको बेलिबिस्तार लगाए ।

त्यो अवधिसम्म आफूले कमाएर राखेको ठुलो धनरासी बुझाएर जिन्दगीको सबभन्दा ठुलो जुवा खेलेका दाइ पुनः जिल्लाको कायममुकायम मूल हाकिम बनेर आफ्नो कार्यालयमा फर्किए । आफूले मन्त्रीलाई बुझाएको रकम सोधभर्ना गर्न दाइले प्रत्येक कार्यालयका हाकिमलाई मिसिनमा हालेर पेलेको उखु जसरी पेल्न बाँकी राखेनन् ।

कौडाको खालमा बसेको कुनबेला सोह्रै कौडा उत्तानु र कुनबेला घोप्टो पर्ने हो भन्नेकुरा कसलाई थाहा हुने ? भाग्य टेढिएर बसेको कुरा पत्तो नपाएका दाइलाई म्यादी मन्त्री र उसका गुरिल्ला-सेनाले सोह्रै कौडा घोप्टिए जसरी घोप्टो पारिदिए ।

एक महिना, दुई महिना हुँदै तीन महिना बित्यो । त्यो बिचमा बढुवाको रिजल्ट पनि निस्कियो । तर, त्यसमा दाइको नाम थिएन । छाँगाबाट खसेझैँ भएका दाइ हतार-हतारमा उडेर काठमाडौँ आइपुगे । भनिन्छ, पुत्र शोकभन्दा पनि ठुलो हुन्छ अरे धनको शोक । त्यही साँझ आफू सम्बद्ध मन्त्री बर्खास्त भएर गाउँतिर टाप कसेको खबर सुनेपश्चात इन्तु न चिन्तु भएर भुइँमा ढलेका दाइ अहिले पनि अस्पतालमै छन् । भाउजू र म उनकै सेवामा अस्पतालको आइ.सि.यु.बाहिरको चिसो भुइँमा दाइको स्वास्थ्य लाभको कामना गर्दै बसेका छौँ ।

सोच्नुस् त, कोमामा पुगेको मानिस कुरेर अस्पतालको चिसो भुइँमा बसेको यस्तो बेलामा पनि मैले कसरी ढाँट कुरा गर्न सकौँला र ! यी सबै घटना र प्रसङ्ग साँच्चो हुनुपर्छ भन्ने कुरामा तपाईंको मनभित्र कुनै द्विविधा हुने कारण पनि देख्दिन म । तर, साँच्चो कुरा सुन्न चाहनु हुन्छ भने सुन्नुहोस्, यो पनि झुटो नै हो !

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
प्रवृत्ति

प्रवृत्ति

लेखनाथ पाेखरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे