साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बुढो भएँ अरे !

तलबितल परेमा महिलाको जमातले आफैँलाई दोक्च्याएर धोबी चुटाइ गर्न के बेर ! परिस्थितिको आँकलन गरेपश्चात् खँज्याहा भइएला भन्ने डरले ‘लुतो न कन्याइ’को स्थितिमा केही नबोली चुपचाप बस्न बाध्य भएँ ।

Nepal Telecom ad

लेखनाथ पोखरेल :

आफ्नै मन सुन्दर नभएसम्म कुनै पनि कुरामा सुन्दरताको झलक पाइन्न भन्ने कुराको भेउ मेरो ब्रह्मले पाइसकेकोले कुनै रमाइलो र फरक घटनातर्फ मोडिने प्रयास गर्ने सोच बनाएर लेखनमा फर्किएँ । लेखनमा मन फर्किए पनि कहाँबाट सुरु गरौँ भनेर द्विविधाग्रस्त थिएँ । एक दिन खाना खाँदै गर्दा बुढीमाउले ‘कपालमा कालो लगाएर एस्सो चिटिक्क पर्नू !’ मात्र के भनेकी थिइन्, न्यूटनको टाउकोमा खसेको स्याउ जसरी मेरो मानसपलटमा पनि इलामे नेप्चीको ‘बाबै’ शब्दको हुङ्कार गुन्जियो । त्यो गुन्जनसँगै मेरो कलम फड्दुवाल कुदेको घोडाजसरी एकाएक नै इलामतर्फ मोडिन पुग्यो ।

इलामबाट गाडी चढेर मधेशतिर झर्दा गोलाखर्कमुनिको रेसमखेती र गोदकको पाँचओटा घुम्तीको हिलोमा नाङ्गैभुतुङ्गै भएर ‘जोड गर— हँसे’ भन्दै गाडी तान्न तयार हुनुपर्छ भन्ने कुरा सबैलाई थाहा थियो । तैपनि मान्छे गाडी चढ्न छोड्दैनथे ।

गोलाखर्कमा भेटिने मट्याङ्ग्री कान्छी र तल्लो गोदकमा भेटिने मगर्नी साइँलीले ती दुवै ठाउँको महत्त्व बढाएका थिए । उनीहरू एकअर्काको सिमाना मिच्न भने जाँदैनथे । मट्याङ्ग्री गोलाखर्कको घुम्ती कुरेर बसेकी हुन्थी भने मगर्नी गोदकको घुम्ती । गाडी कुन घुम्तीमा फस्छ र त्यहाँ पुगौला भन्ने दाउ हेरेर डाँडामाथि बसेका दुवैको हातमा पाँच लिटरको जर्किनमा कोदाको ‘तीनपाने’ हुन्थ्यो । पोल्टामा हुन्थ्यो आकाशतिर फर्केर पाक्ने, कन्पारो थर्काउने पीरा चिनियाँ खुर्सानीका ढिँडी र एक पोका धूलो नुन । गाडी तान्ने डोरी निकालेको देख्नेबित्तिकै उनीहरू त्यो ठाउँमा पुगिसकेका हुन्थे । उनीहरूको पोल्टाबाट निस्किने नुनखुर्सानीसँग एक दुई ग्लास तीनपाने ठाडो घाँटी लगाएका यात्रुलाई हिलोबाट गाडी निकाल्न कुनै सकस पर्दैनथ्यो ।

झर्कोलाग्दो त्यो बाटोमा कुनचाहिँ गन्गने बुढो आएर छेउको सिटमा बस्ने होला भन्ने लागेर बसको ढोकाबाहिर हेर्दै थिएँ । त्यही बेला मेरो आशङ्काविपरीत सुर्पणखाकोजस्तो च्याप्टो लामु नङमा रातो पालिस घसेकी, नाइटोभन्दा एक बित्ता मुनिसम्मको पेटका सबै धर्सा देखिने गरी बेल्लीसाडी लगाएकी एउटी झकास तरुनी मेरो सीटको छेउमा उभिन आइपुगेकी थिई । त्यसलाई देख्दा केही वर्षअगाडि घटेको विराटनगरको एउटा घटना अचानक सम्झनामा आयो ।

हुन त अलिक पुरानो नै कुरा हो । सीप नभएकी सुँडेनीको बेढङ्गको नाल कटाई र सेकताप गर्न झर्को मान्ने आमाको कारण बन्न पुगेको ढ्याङ्ग्रे नाइटोको पुछारसम्म नै देखिने गरी बाँध्ने ‘बेल्लीसाडी’को प्रचलन भर्खर सुरु भएको थियो त्यसताका । त्यसो त साडी लगाउने कुरा गर्ने हो भने नाइटो देखाएर लगाउने या छोप्ने गरी यी दुई अपवादबाहेक अन्य तरिका भेटिंदैन । कति इञ्च तलसम्म देखाउने या कति माथिसम्म छोप्ने भन्ने कुरा महिलाहरूको आफ्नो रुचिको नित्तान्त निजी कुरा हो ।

कानुनीराज्य भएको हाम्रोजस्तो देशमा त्यस्ता कुराहरू व्यक्तिगत स्वतन्त्रताको दफाअन्तर्गत पर्ने भएकाले आफ्नो हक लाग्ने आफ्न च्वाँक भए पनि ट्वाल्ल परेर हेर्नेबाहेक यसो गर, उसो गर भनेर बोल्न मिल्दैन । तर, बेल्लीसाडी पहिरेका तरुनीको नाइटोमा तीन त्रिलोक चौध भुवन देख्ने अल्लारे केटाहरूको जत्था भने यस्ता व्यक्तिगत स्वतन्त्रताका कुरा मान्ने पक्षमा हुँदैनथे ।

अल्लारेको कर्के नजर र तिनको तित्राको जस्तो मुख बन्द गर्न छिचरा मुख भएका तरुनीहरूको मुखबाट, ‘एई मोरा । अर्काको नाइटो कसले हेर्नू भनेको छ र !’ भन्नेसम्मको गतिलो गाली र खप्कीका फोहरा ननिस्किएसम्म चित्त नबुझ्ने, त्यो जमात देख्दा ‘नकच्चराको औषधि हुँदैन’ भन्ने उखान चरितार्थ भएको टुलुटुलु हेर्नु र सुन्नुसिवाय विकल्प थिएन सिधासुधाको ।

म बसेको सिटको छेउमा उभिएकी झक्कास तरुनीलाई देखेदेखि तरङ्गित हँुदै अतीतलाई स्मरण गरिरहेको बेला एकाएक, ‘बाजे, अलि पर सर्नुस् त ।’ भन्ने आवाज आफ्नो कानभित्र पस्दा मेरो मन चट्याङ परेको हरियो रुखजस्तो खङ्ग्रङ्ग भएर, टुप्पीबाट धुवाँ छुटेजस्तो भएको थियो ।

मनमनमा गुनेँ, आफू जन्मिएको अनुभव त थिएन नै । तर हतार हतार बितेको बचपनको सम्झना त अद्यापि जस्ताको त्यस्तै थियो । जवानीको खुड्किला नै पार भइसकेको आत्मसात् नगर्ने मेरो मन एक्कासी नै आफू बुढो भएको कुरा मान्न तयार हुने कुरै थिएन । त्यसैले ऊ यो कुरा नमान्ने पक्षमा नै उभियो । तर त्यो झक्कास तरुनीले बोलेको शब्दले म साँच्चिकै बुढो पो हुन लागेको हुँकि क्या हो ! भन्ने झस्का मभित्र नपसेको भने अवश्य नै होइन ।

उसलाई बस्ने ठाउँ बनाइदिन सिटमा अलिकति खुम्चिएर भित्ता लागे पनि आगोको रातो फिलुङ्गोसरह बनेको ‘बाजे’ शब्दले भने मनभित्र पोलिरहेकै थियो ।

त्यो तरुनीले सिटमा बस्नेबित्तिकै आफ्ना ढुङ्ग्रेबाँसजस्ता दुइटा तिघ्रा तेस्र्याएर अघिल्लो सिटमुनि घुसारी । बडेमानको जाँतोजस्तो आफ्नो बैठकलाई सिटमा दरो गरी टेकाएसँगै दुई हातलाई कँची पारेर आफ्नो गर्धनमुनि घुसारेर निदाउने तरखर गर्न थाली । त्यसो गर्दा उसको खुकुलो ब्लाउजको झ्यालबाट छातीको एकापट्टिको थुम्कोले आकाशतिर नियालिरहेको थियो ।

कुन्नि कहाँबाट हिँडेर आएकी हो ? कति दिनदेखि ननुहाएर होला ! उसका काखीमुनिका लामा कैला भुत्ला भने ठसठसी गन्हाइराखेका थिए । थामिनसक्नुको त्यो गन्धले हुलुक्क भएर उल्टी होलाजस्तो भएपछि मैले आफ्नो मुन्टो बसबाहिर निकालेर निकै बेरसम्म बाहिरै झुन्ड्याइराखेँ । मन-मनमा सोचें- ‘छिःछिः कस्तो भीमसिने बोकोजस्तो नमीठो गन्हाएकी होली !’

त्यस्तो उधुम नगन्हाएकी भए त्यो तरुनीसँग गफका प्रसङ्ग निकाल्नुहुन्थ्यो भन्ने सोच नआएको होइन । तर डढेलो लागिसकेको मेरो मनमा त्यो सोच टिक्न सकेन । ढ्याङ्ग्रे नाइटो हुने त्यो तरुनीको ‘बाजे’ शब्दले मरणान्त भएको मलाई यसरी भत्भती पोल्योकि दोहोर्‍याएर त्यसको अनुहार हेर्नसम्म पनि मन लागेन । फिक्कल पुगेपछि कन्याम कहिले पुगिएला ? भन्ने खसखस हुने मलाई त्यो दिन त्यहाँको चिसो हावा र मनोरम दृश्यले पनि आनन्दित बनाउन सकेन । विराटनगर पुगुन्जेलसम्म पनि आफूभित्र तिल, जौ नै पो पाकेको हो कि ? जस्तो गरी उलीतुली भएर पोलिरह्यो । केही गर्दा पनि शीतल हुन सकेन ।

त्यो झक्कासका वचनको रापलाई शान्त पार्न विराटनगर पुगेको अर्को दिनदेखि घरमा आउने-जाने भुराहरूलाई प्रतिगोटा पाँच पैसामा दिने गरी सेतो कपाल उखेल्न लगाउने अभियान सुरु गरेँ । पाँच दिन चलेको त्यो अभियानपछि बाँकी बचेको कपाल लिएर म काठमाडौं पुगेको थिएँ । काठमाडौँ पुगेको दुई हप्ता पनि नबित्दै, ब्रह्माजीबाट तथास्तुको वरदान पाएसरह मेरो सेतो कपाल दूत्तर गतिमा यसरी मौलायो कि सबै कपाल तिलचामले हुन पुग्यो । मलाई बुढो देखिनु नै थिएन, किन मान्थेँ र म ? महँगो जापानी रङ किनेर तिलचामले कपाललाई चटक्क परेको कालो र चिल्लो बनाएँ । आफूलाई तन्नेरी ठानेर हिँड्दाको शान नै अर्कै !

त्यसअगाडि कहिल्यै रङ नलगाएको म गर्धनको खोप्लेबुढीपट्टिको भाग चाँडो फुल्छ भन्ने कुरोको हेक्का नै रहेन । रङ लगाएको १२/१५ दिनपछि इलाम फिर्न बिर्तामोड पुग्दा पहिलो पटकको भन्दा भयानक दुर्घटना घट्न पुग्यो ।

बसमा कोचम्कोच भीड थियो । म एउटा हिन्दी फिल्मी पत्रिका ओल्टाइपल्टाइ गर्दै थिएँ । मेरो सिटभन्दा पछिल्तिर बसेका दुइटी अल्लारे ठिटीहरू उठ्दै बस्दै गर्दै थिए । ‘पेटमा चुर्ना परेको छ कि क्या हो ?’ के खोज्न उठ्दै बस्दै गरेका ? भनेर मैले सोधेको थिएँ । मेरो भनाइले रातो अनुहार पारेका दुईमध्येकी एउटी नेप्चीले प्याट्ट भनी- ‘बाबैले पढ्दै गरेको पत्रिकामा गोविन्दाको कस्तो राम्रो फोटो रै’छ, त्यही हेरेको नि ।’ त्यो तरुनीले ’बाबै भनेको सुन्दा एक पटक फेरि मेरा नौनारी गलेर आए । अघिल्लो पटकजस्तै भाउन्न होलाजस्तो भयो ।

‘बा’ भन्ने त्यो नेप्चीका पोक्चे गाला चड्काइदिउँजस्तो नलागेको पनि होइन । तर कुरा पर्‍यो महिलासँग सम्बन्धित । बसभित्र आँखा घुमाएँ । आधीभन्दा बढी सङ्ख्या महिलाको थियो । तलबितल परेमा महिलाको जमातले आफैँलाई दोक्च्याएर धोबी चुटाइ गर्न के बेर ! परिस्थितिको आँकलन गरेपश्चात् खँज्याहा भइएला भन्ने डरले ‘लुतो न कन्याइ’को स्थितिमा केही नबोली चुपचाप बस्न बाध्य भएँ ।

इलामे नेप्चीको ‘बाबै शब्दले मलाई निकै पछिसम्म पनि घोच्न छाडेको थिएन । बरू पन्ध्र दिनमा लगाउने रङको अवधि घटाएर सात दिन गरें । यसबीच यस्ता घटना त कति घटे, घटे । सुन्दा-सुन्दा केही नलागेर थेत्तरो हुनुको विकल्प नभएपछि मैले मन मनमा सोचें, ‘शब्दको कुरा त हो नि, भनिहाले, भैहाल्यो’ भन्दै आफूलाई शान्त र भलाद्मी बनाउने प्रयास गर्न थालेँ । तर म भलाद्मी बनेको नभएर केवल देखावटी रूपमा मात्र रूपान्तरण भएको रहेछु भन्ने कुरा अगाडिका घटनाक्रमले पुष्टि गर्दै गए ।

०००
‘चिबे नकटो’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल
प्रवृत्ति

प्रवृत्ति

लेखनाथ पाेखरेल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x