साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभुजी ! मलाई भेंडो होइन, चम्चा बनाऊ

चम्चाका यिनै पौरख, पराक्रम, बल र बुताका कारण बडेबडे नेताहरू समेत आफ्ना कार्यकर्तालाई भन्दा बढ्ता माया र विश्वास चम्चालाई गर्दछन्, गरिरहेका छन् । देश त नेताले हैन चम्चाले चलाइरहेको छ ।

Nepal Telecom ad

सबै कुरा छोड़ी पुच्छरमा हात भने झैं हिजोआज म चम्चा चिन्तनतर्फ लहसिएको छु । अहिले जुन बेला म यो लेखिरहेको छु, नेपाल टेलिभिजनको चिन्तन-मन्थन र गन्थन कार्यक्रममा एउटा कुशल चम्चा बडो मेहनतसाथ चम्चागिरी गरिरहेको छ । ठाउँ-कुठाउँ, बेला न कुबेला, रङ्ग न ढङ्गसँग चमचमाउने वस्तुविशेष नै चम्चा हो भन्ने कुरा यहाँ बताइरहनु पर्दैन । तपाईंलाई थाहा छ कि छैन अथवा थाहा पाउन चाह छ कि छैन, मैले गरेको चम्चा चिन्तनबारे मेरो कूटानुभूति तपार्इंहरूसमक्ष प्रस्तुत नगरी भएकै छैन ।

एक्काइसौं शताब्दी चम्चाहरूको एकलौटी शताब्दी हुनेछ । यो सिङ्गै युग चम्चागिरीको युग हो, अतः चम्चाकै चाटुकारिता, चुक्ली र चाकडीमा रम्नेछ, रमाउनेछ । अखबारका कोलममा होस् या विद्वान् लेखकका कलममा होस् चम्चा चमकदार शैलीमा नाचिरहेको हुनेछ । गुलियोमा झिंगा भुनभुनाएझैं नेताको वरिपरि गुनगुनाउँदै बाँचिरहेको हुनेछ । के तपाईलाई पत्यार लागेन ? आउनुस्, एकैछिन चम्चाकै चमकदार र चमत्कारपूर्ण क्रियाकलापहरूको विहङ्गावलोकन गरौँ, हुन्न ?

चम्चाका थुप्रै जात र थरहरू छन् । कुनै ठूलो जातका पनि छन् र कुनै सानो जातका पनि छन् । कुनै तलै रमाउँछन्, कुनै भने माथिको पनि भेट्नै समाउन बल गर्छन् । हैसियत अनुसारको चमक-दमक चम्चाको वैशिष्ट्य हो । चम्चा बिलकुल आफ्ना स्वार्थका निम्ति चलमलाउँछ, मनोरञ्जनपूणर् खेल खेल्छ, खेलाउँछ । कसैलाई जिल्ल्याउँछ, कसैलाई चिल्ल्याउँछ । चम्चा न हो, उसको स्वार्थ पूरा नहुन्जेल ठुटे पुच्छर पनि हल्लाउँछ ।

राजनीतिमा पनि चम्चा चलायमान छ । यो त उसको मूलथलो भइहाल्यो । मलाई राम्रोसँग थाहा छ कि चम्चा अर्थतन्त्रमा छ, साहित्यमा छ, संस्कृतिमा छ, कला-कौशलमा छ, यततत्र-सर्वत्र छ । सडकमा हिंड्ने बगुन्द्र मानिसको हूलभित्र हरेक मान्छेमा म चम्चा देखिरहेको छु । साँच्चै चम्चा रेडियोमा कुर्लिरहेको छ र चम्चा भिडियोमा उर्लिरहेको छ ।

मुलुकको वर्तमान राजनीति चम्चा मण्डलीको टुँडिखेल बनेको छ । कतै चम्चा जुत्ता खुवाइरहेको छ, कतै ऊ आफै जुत्ता खाइरहेको छ हजुर ! जुता मात्रै होइन, कसैलाई मोजा सुँघाइरहेको छ । कसैको मोजा ऊ आफै सुँघिरहेको छ चम्चाको चारित्रिक विशेषता नै यही हो । एक्काइसौ शताब्दीको मान्छे विनाचम्चा बाँच्न नसक्ने भएको छ । चम्चा उसको प्राण हो र चम्चा नै उसको त्राण हो । चम्चाले जे पनि देख्छ, जहाँ पनि पुग्छ, उस्तै परे चम्चा फरियाको फेरमा पनि लुक्छ । चम्चाहरूकै प्रतापले राजनीतिमा कसैको फलिफाप भएको छ. । कसैलाई त्यही पनि अभिशाप बनेको छ । चम्चा कुर्सीमा छ, फाँट-फाँटमा छ, फाइल-फाइलमा भेटिन्छ । कहिले हाकिमको पाउ मुसारिरहेको हुन्छ, कहिले जम्लाहात गरेर हात पसारिरहेको हुन्छ । हैन, यो कस्तो बितण्डा हो, चम्चा खुद आफ्नै कार्यकर्तालाई झपारिरहेको छ । उसको सान नै बेग्लै हुन्छ, मान नै बेग्लै हुन्छ ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैं हिजोआज चम्चा पत्रकारिताको आवरणभित्र पनि लुसुक्क छिरेको छ । यतातिर छिरेको चम्चा कसैलाई उचाल्छ, बुईमा वोक्छ, स्वस्ति अनि सलाम गर्छ, जीहजुरीका भरमा हावा कुरा लेख्छ, अनि कसैलाई वेससँग ठोक्छ, इज्जत आवरू सबै खोल्छ वाहियात कुरा गर्छ, कसैको व्यक्तित्वलाई विषालु सर्पको फणाले झैं बेस्करी ठुँग्छ, आफ्नै घरमा आगो लगाएर बडो आनन्दले रमिता हेर्छ, गौरव गर्छ, बहादुरी बखान्छ । यस्तै खतुकी र बेतुकी कार्यमा समय खर्च गरेर चम्चाले आफ्नो जीविका चलाइरहेको हुन्छ । कुन बेला के कस्तो खोल ओढाउनु पर्छ, कुन बेला को कसको पक्षमा वा विपक्षमा के कसरी ढोल बजाउनुपर्छ आदि इत्यादि कुरा चम्चाले राम्ररी बुझेको हुन्छ । ऐनमौका र समय-परिस्थितिको पारख गर्न चम्चा असाध्य सिपालु हुन्छ । चम्चा स्थिर हुनै नसक्ने एउटा अत्यन्तै चलायमान वस्तु हो । चलायमान भएन कि उसको जीवनगाडा चल्नै सक्दैन । चम्चाका यिनै पौरख, पराक्रम, बल र बुताका कारण बडेबडे नेताहरू समेत आफ्ना कार्यकर्तालाई भन्दा बढ्ता माया र विश्वास चम्चालाई गर्दछन्, गरिरहेका छन् । देश त नेताले हैन चम्चाले चलाइरहेको छ ।

चुनाउ सुनाउतिर पार्टीले उम्मेदवारको टिकट दिने बेला भयो चम्चाकै सटरपटर र सक्रियता खूब बढेको हुन्छ । सरकार गठन या पुनर्गठनको बेला आयो चम्चार्क फुर्तिफार्ती र उफ्री-पाफ्री बढ्ता देखिन्छ । घुर्की लगाउन होस् या छिर्के लगाउन होस्, चम्चाहरू अग्गा भेटिन्छन् । स्वदेशमै रम्दा होस् या विदेशतिर घुम्दा होस् चम्चा नै अधि सर्छ, चम्चाकै चमचम, चम्चाकैं दादागिरी ! कुर्सी पट्याउने, कमिसन कुम्ल्याउने, पद जिप्ट्याउने, जस लिने र अपजस दिने, काममै उसको दैनिकी चलिरहेको हुन्छ । चम्चाको जातै जमदार हो, मानों ऊ एक मात्र हकदार हो । चम्चागिरीकै भरमा उसले एश्वर्यको सुखभाग गरिरहेको हुन्छ र गरिरहेको छ ।

कुनै पनि मुलुकको राज्य सञ्चालनको काम दुईवटा क्याबिनेटले गरिरहेको हुन्छ । एउटा त वैधानिक क्याबिनेट नै भयो, तर त्योभन्दा बढ्ता शक्तिशाली अर्को क्याबिनेट पनि हुन्छ, त्यो हो किचेन-क्याबिनेट । किचेन भन्नेबित्तिकै त्यहाँ त धेरै सरसामान हुन्छन् । जस्तै-पकाउने, चलाउने, पस्किने, बेल्ने, पेल्ने, ठेल्ने, धकेल्ने, खन्याउने, सोहर्ने, तार्ने, झार्ने, डल्लो पार्ने, कोर्ने, छाँट्ने, लाछ्ने, ताछ्ने, सोझ्याउने, बङ्ग्याउने, झिक्ने, राख्ने, हाल्ने, फाल्ने, बाल्ने, ढाल्ने, उठाउने, जमाउने, समाउने, चुहुने, दुहुने ओहो !, कति हो कति ! यस्ता सामानहरू रहेको ठाउँ या कोठा विशेषलाई किचेन भनिन्छ । अनि यस्तै-यस्तै विशेषता भएका भाइभारदारहरूको सल्लाहमा चल्ने क्याबिनेट नै किचन क्याबिनेट हो । ती भाइभारदारलाई छोटोमीठो शब्दमा भन्नुपर्दा चम्चा भन्नुपर्छ । किचेनको चम्चा भन्नु र किचेन-क्याबिनेटको चम्चा भन्नु बिलकुल उही हो, काम-दाम, रूपरङ्ग, आकारप्रकार एवं अनुहार सबै उही । अनि बाहिर देखिने क्याबिनेटलाई यो झ्वाट्ट हेर्दा नदेखिने क्याबिनेटको कुशल चम्चाले चलाइरहेको हुन्छ । अब भन्नोस्, यो मुलुक नेता- राजनेताले नै चलाइरहेको छ कि उसको चतुरे चम्चाले ? कुरा एकदमै प्रस्ट छैन र ?

अतः आउनुहोस् प्रबुद्ध नागरिकहरू, हामी पनि यो चलायमान चम्चाको चाकरी गर्न आजैदेखि थालौं, उसकै खातिरदारी गरौं र स्वयं चम्चा बन्ने कोशिस गरौं । यसैमा तपाईं हामी सबैको भलो हुनेछ । तपाईं हाम्रो भलो हुनु नै यो राष्ट्रको भलो हुनु हो । महाकवि देवकोटा ज्यूँदै हुन्थे भने उनीसमेत यो बेला निर्धक्कसँग लेख्ने थिए, “प्रभुजी ! मलाई भेंडो होइन, चम्चा बनाऊ ।”

०००
०५४ मङ्सिर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x