साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागतको विडम्बना

अनि जब केही मानिसहरू सहजताका निम्ति यहाँ आएर बस्छन् तब एक्कासि भाषण ठोक्न थाल्नुस् । जनतालाई त झुक्याएर पो समाउने हो त !’

Nepal Telecom ad

हरिशंकर परसाई :

अनुवाद : : रमेश समर्थन

यो समाचार बैतुलको हो । (सहायक राज्यमन्त्री )उपमन्त्री गुमस्ता साहेब पञ्चायतहरूका पञ्चहरूका सामु भाषण गर्न गए ।

सबै व्यवस्था भएको थियो । सयौंका सङ्ख्यामा पञ्चहरू आउने भएका थिए । तर जब गुमस्ता साहेब त्यहाँ पुगे, त्यहाँ त पाँच छ जना मात्र पञ्च उपस्थित थिए । आउने भनेर पनि आखिरमा पञ्चहरू (सहायक राज्यमन्त्री) उपमन्त्रीको भाषण सुन्न आएनन् ।

तर व्यवस्था मिलाउने अधिकारीहरू निकै चलाख निस्के । उनीहरूले तत्कालै त्यहाँका विद्यालयहरू बन्द गराए अनि त्यहाँका शिक्षकहरूलाई त्यहाँ पुर्‍याए र पञ्चहरूका ठाउँमा बसालिदिए । सबै आसनहरू भरिए । पञ्चायतका पञ्चहरूका ठाउँमा विद्यालयका शिक्षकहरू बसे अनि प्रस्तावहरू एकपछि अर्को गर्दै पारित हुन थाले ।

सबै प्रस्तावहरू सर्वसम्मतिले नै पारित भए । पञ्चहरूको सभामा पञ्चहरूकै अनुपस्थितिमा पञ्चायतसम्बन्धी प्रस्तावहरू पारित भए ।

फेरि एउटा अखबारको समाचार पढेर त झन् मज्जा पो आयो । समाचारमा ती अधिकारीहरूको प्रशंसामा लेखिएको थियो, ‘अधिकारीहरूले पञ्चहरूका ठाउँमा शिक्षकहरूलाई ल्याएर परिस्थितिलाई अनुकूल बनाए । अर्थात् शुद्ध घिउ भनेर वनस्पति घिउ बेच्ने साहूको जस्तो प्रशंसा हुन्छ त्यस्तै प्रशंसा भयो ती अधिकारीहरूको पनि ।

अब भने ती अधिकारीहरूलाई यसको पनि बानी परिसकेको छ । जुन नेताको भाषण कसैले सुन्न चाहँदैन त्यस्तो नेता आउँदा उनीहरू विद्यालयबाट शिक्षक र विद्यार्थीलाई हाँक्दै लैजान्छन् र दर्शकश्रोता बनाएर राखिदिन्छन् । उनीहरू यसो किन पनि गर्दछन् भने उनीहरूलाई थाहा छ, कसरी विद्यालयनिरीक्षणका दिन शिक्षकहरूले शून्य उपस्थितिलाई सयमा परिणत गर्दछन् ।

अचेत भाषण सुन्ने फुर्सद कसैलाई छैन । अनि भाषणयुगमा जन्मेका यी भदौमा आँखा फुटेको गोरुजस्ता नेतालाई भाषण नठोकी पनि हुन्न । यहाँ जबलपुरको तिलकभूमि तलैयामा बिचराहरू दिनभरि ढ्वाङ फुकेर सभाको आयोजना गर्छन् तर त्यहाँ पुग्छन् त्यही पच्चिस जना जति मात्र । त्यसैले त त्यस दिन तरणतारण जयन्तीमा हजारौंको सङ्ख्यामा आएका महिलापुरुषको समूह देखेर नेताहरूको मनमा फेरि हरियाली छाएको थियो नि ! उनीहरूलाई त यस्तो लाग्यो मानौं कुनै भोको मानिसका सामु छपन्न प्रकारको खानेकुरा राखिएको होस् । अनि त के चाहियो र ? त्यस दिन कैयौं नेताहरूले भाषण गर्ने मनको धोको पुरा गरे । त्यस दिन त उनीहरूलाई खुसीकै कारणले निँद पनि परेन होला !

यस्ता नेताहरूको सभामा भन्दा बढी भिड त चोकमा उभिएर सर्प र बिच्छी देखाएर औषधि बेच्नेहरूले जुटाउँछन् ।
तिलकभूमिमा त जुन दिन लाउडस्पिकर लागेको देखिन्छ त्यस दिन त्यहाँका स्थायी निवासी पनि एक दिनका निम्ति अन्तै गइदिन्छन् । एक दिन त के भयो भने दलका मानिसहरू लाउडस्पिकर लगाएर साँझको छ बजेदेखि साढे सात बजेसम्म बसिरहे तर श्रोताको मुख देख्न पाएनन् अर्थात् उनीहरू नदारद ! अनि एउटा नेताले मसँग आएर भने, ‘के भएको हो यी जनतालाई ? किन आउँदैनन् मान्छेहरू ?’

अनि मसँगै बसेका एक जनाले भनिदिए, ‘तपाईंहरू यो लाउडस्पिकरको खोल थुतेर फ्याल्नुस् । यो देखे कि मान्छे बिच्किन्छन् र आउँदैनन् । अनि जब केही मानिसहरू सहजताका निम्ति यहाँ आएर बस्छन् तब एक्कासि भाषण ठोक्न थाल्नुस् । जनतालाई त झुक्याएर पो समाउने हो त !’

०००
‘हरिशंकर परसाईं ग्रन्थावली’ भाग ६ बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x