काशीनाथ मिश्रितअत्याधुनिक षड्यन्त्र !
ङिच्चाटन भन्नु नै लाचारी न हो । उच्चाटनको कुनै सन्धगन्ध आउँदैन । अत्याधुनिक षड्यन्त्रका यी छ अङ्गहरू ‘झारण, दोहन, खसीकरण, प्रलोभन, छिद्रान्वेष र ङिच्चाटनबाट सधै होसियार रहनुपर्छ । तपाईंलाई यिनले तर्साउन पनि सक्छन् ।

काशीनाथ मिश्रित :
जसले मनलाई तर्साउन सक्छ त्यो मन्त्र हो । मनका साथै तनलाई पनि तर्साउन सक्ने बलवान चाहिँ तन्त्र हो क्यारे ! त्यसैले यी विभिन्न नामधारी तन्त्रहरूमा कैयौँ मान्छेहरू तर्सनु परेको छ तपाईलाई थाहै होला । यन्त्रले कसरी तर्साइरहेछ भन्ने बेलिविस्तार लगाउने हो भने तपाईंको सातो नै फर्कन्न कि भन्ने डर ! अहिले सर्वाधिक तर्साउने त यन्त्र भैरहेछ । अझ षड्यन्त्रको कुरो गर्नुहुन्छ भने त सत्य, त्रेता द्वापर, कली चारै युगमा त्राहि त्राहि पारेको छ । कहिले मन्त्रले, कहिले तन्त्रले त कहिले यन्त्रले तर्साइरहेका हामीलाई षड्यन्त्रले भने सधै उत्तिकै तर्साउने गर्छ । त्यसैले होला क्यारे हाम्रा बाजेहरूले बच्चाहरूलाई वणर्माला पढाउँदा पनि ‘त्र’ लाई तर्साउने त्र भनेर सिकाउने गरेका ।
अहिले कलीपछिको उपरकली लागिसक्दा पनि के सत्य युगको कुरो गर्छ यसले भन्ने लाग्ला तपाईंलाई । स्वभाविकै हो, मन्त्रको शक्ति त यति घटिसक्यो कि पुराना दलहरूको लोकप्रियता बरु के घटेको भन्नु ! सत्य युगमा ध्यानदृष्टिले हेरेर सबै देख्न सक्थे भनेर त अहिले कल्पना मात्र गर्न सकिन्छ । जाबो मन्त्रले अहिले फूः गरेर कपास पनि उडाउन सक्दैन । अरुको कुरै नगरौँ । फेरि राजतन्त्र आउन लागे जस्तो सत्य युग पनि फर्केर आएछ भने त्यो मन्त्रशक्तिले काम गर्ला नत्र त यी यन्त्र र षड्यन्त्रका अगाडि ती मन्त्र र तन्त्रहरूको जोर चल्नेवाला म देख्दिनँ ।
मन्त्रको जोर चल्ने भए लौ एउटा खतरै मन्त्र जानेको तान्त्रिकलाई ल्याएर फिराइदिनुहोस् न त हाम्रा मन्त्रीहरूको बुद्धि ! मन्त्र जान्दै नजाने पनि मन्त्री हुन पाइने अहिलेको उपरकली युग हो यो । उपरकली हैन छली युग हो भन्दा अझै उत्तम होला । ढाँट्न र छल्न जाने पुग्छ, कहाँको मन्त्र चाहिनु ? मलाई पनि सानैमा हजुरआमाले भन्नुहुन्थ्यो ठुलो भएपछि मन्त्री हुन्छ भन्थे रे भविष्यवाणी गर्नेले । खै कतैबाट अफर आएको छैन् अझसम्म । त्यसैले मलाई यी भविष्यवाणी गर्नेहरूप्रति पटक्कै विश्वास छैन । जाबो भुतवाणी त गर्न नसक्नेले के भविष्यवाणी गर्नु ? लौ मेरो विगत बताइदेओस् त कसैले ! पाँचवटा महत्त्वपूणर् घटना मिलाएछ भने पत्याइदिउँला, भएन ? अझै हाम्रा मन्त्रीजीहरू सात सात पटक बन्ने भविष्यवाणीका पर्खाइमा छन् । अझै चौध पटक बन्छस् भनिदिएको भए के गर्दा हुन् हँ !
नयाँ नेपालका हामी नयाँ नेपाली आधुनिक युगभन्दा माथिको उपरआधुनिक युगमा यसरी दौडिरहेका छौँ कि दौड्दा दौड्दा सासै फेर्न बिर्सौंला जस्तो । अझै कोही त साइकलमा चढेर बजार जान लागेको बेला ढिलो हुन्छ भनेर साइकलबाट ओर्लेर कुद्दै गरेका हुन्छन् के छोप्न होला ? भुईंमा खुट्टा टेक्नै पाएको हुँदैन उड्न खोजिहाल्छौँ । तर विश्वास भने तन्त्रमन्त्रको मात्र हैन तन्त्रकार र मन्त्रकारको गर्छौं आँखा चिम्लेर । मन्त्र त उहिले नै खुइलिइसकेको हो विश्वामित्रका पालादेखि । पुराना तान्त्रिकहरूको त कुरै छोडौँ अहिलेका नयाँ तान्त्रिकहरूको तन्त्रमा पनि विश्वासै हुन छोड्यो । हुन त ऋषिमुनिका पालामा तन्त्रमन्त्रले काम गर्दो हो तर आजको युग नै सिसिमुनिको युग हो त्यसैले कुनै तन्त्रले पनि काम गरेन । कुनै एउटा तन्त्रले राम्रो काम गरेको भए अत्याधुनिक नयाँ नेपालीहरूको पहिचान के यस्तै भइरहँदो हो त?
गाउँघरका कुनाकाप्चातिर बरु लामा झाँक्रीहरूको तन्त्रले काम गर्दै होला । तर सहरबजारतिर भने न बैद्यको तन्त्रले काम गर्न सक्यो न डाक्टरको तन्त्रले । इन्जिनियरको तन्त्रले त झनै गरेन । सान्दाइको समाजवाद भनौँ वा ठुल्दाइको जनवाद भनौँ कुनैले पनि धामीको तन्त्रले जत्तिको फुकेर बिरामीको उपचार गर्न सकेनन् । आउन त के के तन्त्रहरू आए आए । तर भैरव अर्यालको टाकनटुकन भुँडी टाल्न र ठण्डाराम भुँडी ठम्याउन नसकेकाले निकम्मा नै ठहरिए । राणातन्त्रमा आशा गर्ने कुरै थिएन । त्यसपछि आएको पञ्चतन्त्रले पनि लछारपाटो लाउन सकेन । अनि प्रजातन्त्र भन्ने अनौठो जन्तु देखा पर्यो । त्यसले पनि तल तलकालाई पर जा परजा भन्ने र माथि माथिकालाई वर आ वर आ भन्ने गर्न थालेकाले आफै पर जा तन्त्र हुन पुग्यो । त्यसपछि त ककसका कस्ता कस्ता तन्त्रहरू देखा परे कुरै नगरौँ । अनेक थरिका मन्त्रहरू फलाक्दै कहिले रणतन्त्र आयो त कहिले गणतन्त्र ! कहिले लोकतन्त्र आयो भने कहिले ठोकतन्त्र !! जे जे तन्त्र आए पनि ठण्डारामहरूको भुँडी उक्सने छाँट आउँदै आएन ।
अब यस्ता तन्त्रमन्त्रहरूका पछाडि लागेर ठण्डाराम भुँडी उक्सन्न भन्ने ठम्याए ठिटाहरूले । प्रजातन्त्रको आस गर्दा परजातन्त्र हात लाग्यो । लोकतन्त्रको आश गर्दागर्दै भोकतन्त्र बढ्न थाल्यो । भएन गणतन्त्रको आश गर्दा त झन् गाँडतन्त्र मात्र हैन भाँडतन्त्र नै मच्चिन थाल्यो । त्यसैले त अल्लारेहरू जति सबै तन्त्रहरूलाई तल्र्याङतुर्लुङ झुन्ड्याएर यन्त्रको पछाडि दौड्न पुगे । नत्रभने सबै खाले तन्त्रहरूलाई मन्त्रमुग्ध भएर यन्त्रवत् पालना गर्थे होला । किन षड्यन्त्रहरूलाई झेल्दै यन्त्रहरूको शासनसामु घुँडा टेक्न पुग्थे र ? त्यसैले हो क्या मैले मन्त्र र तन्त्रभन्दा यन्त्रको शक्ति ठुलो छ भनेको ! आज हेर्नुहोस् न जस्तै मै हुँ भन्नेहरूले पनि यन्त्रका सामु निहुरिन बाध्य छन् । नत्र तिनीहरूको मात्र हैन तिनीहरूका सात पुस्तासम्मको कामै चल्दैन । गर्ने के ?
यन्त्रको करामत वणर्न गर्न अहिले चतुर्मुख ब्रम्हाजी साक्षात् प्रकट भए भने त सक्दैनन् भने मेरो के तागत ! हजार जिभ्रा भएका शेष नागले स्वस्थानी माताको गुणगान गाउन नसके जस्तै मैले पनि यन्त्रको चर्चा परिचर्चा गर्न सक्दिन । आकासमा उडाउनेदेखि जमिनमा कुदाउनेसम्मका यन्त्रहरूको चर्चा गर्नै परेन । देख्नुभएकै छ पातालमा बस्ने नागकन्यासित स्वर्गमा बस्ने कामदेवहरूले मुख हेराहेर गरेर कुरा गर्ने यन्त्र बनिसके । यिनै यन्त्रले हैन र सिसिटिभी फुटेज लुकाउनेदेखि सत्तरी करोडको बार्गेनिङमा चुकाउने सम्मको करामत गरेको ? आजकल यिनै यन्त्रहरूले मै हुँ भन्ने महानुभावहरूको मुन्टो झुकाउन थालेका छन् । नियमपूर्वक कुम्ल्याएको धनको कुटुरो फुकाउन थालेका छन् । गिँड एउटाको टाउको अर्काको जोडेर बेइजेत गर्न सक्छन् गरेका पनि छन् । त्यसैले हो क्या मैले यन्त्रले तर्सायो भने तपाईँको सातो फर्कन्न कि भन्ने ठानेको । तन र मनलाई मात्र हैन धनलाई पनि तर्साउन सक्ने क्षमता छ यन्त्रको बुझ्नु भो ? त्यसैले तन्त्र र मन्त्रसित भन्दा यन्त्रसित सतर्क रहनुहोला ।
अँ साँच्ची मैले गर्न खोजेको त षड्यन्त्रको कुरो पो हो ! म पनि कस्तो हुस्सु !! उहिलेको सत्ययुगदेखि अहिलेको छलीयुगसम्म सधंै समान हैसियत राख्न सक्ने त षड्यन्त्र हो । फरक यत्ति हो उहिलेको षड्यन्त्र तन्त्रमन्त्रमा आधारित थियो भने अहिलेको षड्यन्त्र चाहिँ यन्त्रमा आधारित भएर देखा परेको छ । तपाईं विश्वास गर्नुहुन्छ भने मेरो भन्नु केही छैन । तर मैले टुनामुनामा पटक्कै विश्वास गर्दिन । यो टुनामुनाको जमाना नै होइन । त्यसैले हाम्रा बाजे बराजुहरूले गर्ने षड्यन्त्र र हाम्रा छोरा नातिहरूले गर्ने षड्यन्त्रमा धेरै भिन्नता छ । अर्थात् षड्यन्त्रले पनि युगअनुसार आफूलाई आधुनिकीकरण गरेको छ । यो छलीयुगको षड्यन्त्रबारे चाहिँ मलाई निकै उत्सुकता लागेर बुझ्न खोजेको हुँ क्या ! षड्यन्त्रलाई जालझेल मात्र सम्झने हो भने तपाईं हामी जत्तिका सोझा अरु कोही छैनन् भन्ने गौप्राणिले पनि अनुमान लगाउँछन् ।
बाजेहरूले कली युग भनिरहून् म त छली युग भन्छु । ढाँट छलसिवाय केही नभएपछि अरु के नै भन्नु र ! त्यसैले यो युग षड्यन्त्रको युग हो । जता हेरे पनि षड्यन्त्रै षड्यन्त्र । बाजेहरूले षड्यन्त्रअन्तर्गत मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गरी छवटा हुने बताएका रहेछन् । यी छ यन्त्रहरूको संयोग नै षड्यन्त्र हो भन्ने उनीहरूको भनाइ होला । अहिले ती सबै निकम्मा भैसके । युग नै कलीबाट छली बनिसक्यो कहाँ ती षड्यन्त्रले काम गर्नु अब ! ती पुरातन षड्यन्त्रका कुरा छोडौँ । अहिले त ती छवटै यन्त्रहरूले नयाँ रूप लिइसकेका छन् भन्ने कमैलाई थाहा छ क्यारे । सायद यो नयाँ नेपाल बनाउनेहरूलाई पनि थाहा नभएको हुनुपर्छ । सबै क्षेत्रमा नयाँपन आएपछि षड्यन्त्रले पुरानै अवस्थामा कसरी बस्न सक्छ ? तपाईं नै भन्नुहोस् त के षड्यन्त्रको नयाँ बन्ने अधिकार हुँदैन ?
अत्याधुनिक षड्यन्त्रको पहिलो खुड्किलो चाहिँ ‘झारण’ हो । सुन्दा झन्डै मारण जस्तो लाग्ने झारणको शाब्दिक अर्थ झार्ने काम हो । यसमा जसरी भए पनि माथिकालाई तल झार्ने काम हुन्छ । तपार्इंलाई जनजिभ्रोमै भिजेको भाषामा भन्ने हो भने यसलाई खुट्टा तान्ने प्रवृत्ति भनिदिए पनि हुन्छ । कसैले राम्रो काम गर्न थाल्यो भने दिँदै नदिनु यसको मूल चरित्र हो । झारणमा पहिले फुक्र्याई फुक्र्याई उक्साइन्छ । जब ऊ टुप्पोमा पुग्न थाल्छ अनि झारेर स्वाठ्ठै पछारिन्छ । म झारणमा पर्दैछु भन्ने उसलाई थाहै हुँदैन ।
तपाईंले को को कहिले कहिले कहाँ कहाँ झारणमा परेका छन् आफै पनि अन्दाज गर्न सक्नुहुन्छ । सबभन्दा सजिलो झारणको उपाय भने यान दुर्घटना नै हो । तपाईंले फलानालाई माथि चढ्न दिने विचार गर्नुभएको छैन भने पहिले हेलिकोप्टर चढाइदिनुहोस् र पहाडमा लगेर ठोक्काइदिनुहोस् खेला खत्तम ! अथवा कार झारिदिनुहोस् न त्रिशुलीमा झ्वाम्मै के फरक पर्छ र ! झारणमा केटी काण्ड लगाएर वा घुस काण्डमा फँसाएर पनि झार्न सकिन्छ । विगततिर दौडेर हेर्नुहोस् त झारणमा पर्न सफल टन्नै महानुभावहरू पाउनुहुने छ ।
सुन्दा मोहन जस्तै लाग्ने अत्याधुनिक षड्यन्त्रको अर्को यन्त्र ‘दोहन’ हो । मोहनमा के गरिन्थ्यो मलाई थाहा भएन तर दोहनमा चाहिँ दुध नआउने वस्तुहरूलाई पनि दुहिन्छ । दुहुनु भनेको थुन निचोरेर दुध झार्नु मात्र कहाँ हो र ! तपाईंको बिचारलाई थुतेर निचोरनाचर पारी घिउ गमक्र्याउनु र बिलौनी तपाईंलाई नै चाट्न दिनु पनि हो । दुध नआउने वस्तुलाई कसरी दुहुन सकिन्छ भन्ने सिक्नुभएको छैन भने हाम्रा मन्त्रीजीहरूबाट प्रशिक्षण लिनुहोस् न । दोहनका अनेक काइदा र फाइदा सजिलै बताइदिनुहुने छ । नदीबाट बालुवा दोहन गर्ने कि, चुरेबाट गिटी दोहन गर्ने ? वा तपाईंले खाडीमा पठाएका सन्तानले भित्र्याइदिएको ढुकुटी दोहन गर्ने ? सबै जान्न सक्नुहुन्छ । नत्र हालसालै उहाँहरूद्वारा प्रकाशित ‘राज्य दोहन नीति’ नामक विशेष ग्रन्थको गहन अध्ययन गर्नुभए पनि हुन्छ ।
वशीकरणलाई विस्थापित गरेर अत्याधुनिक षड्यन्त्रमा छिराइएको यन्त्र हो ‘खसीकरण’ । खसीकरण षड्यन्त्रको महत्त्वपूणर् र सर्वाधिक चर्चित यन्त्र पनि हो । सामान्यतया खसीकरण भन्नाले खसाल्ने क्रिया भन्ने हुन्छ तर यो काम झारणले नै गर्न सक्ने भएकाले यसलाई विशिष्टीकृत गरिएको छ । अत्याधुनिक षड्यन्त्रमा खसीकरण भन्नाले बोकाकरणको ठ्याक्कै उल्टो हो भन्ने बुझ्नुपर्छ । बोकाहरू पुङ्सक हुन्छन् भने खसीहरू नपुङ्सक ! त्यसैले खसीकरणलाई अर्को शब्दमा नपुङ्सकीकरण पनि भन्न सकिन्छ । यसमा जनावरहरूलाई मात्र हैन मान्छे र बोटविरूवाहरूलाई समेत खसीकरणको कार्य तीब्र रूपमा गरिन्छ । परिवारनियोजनका नाममा कति नेपालीहरू खसी बनिसकेका छन् ? त्यसको तथ्याङ्क किन खोजिरहनु ? मुस्लिमहरूले बोकाकरण गर्न हुने तर यहाँका गैर मुस्लिमहरूले चाहिँ खसीकरण गर्नुपर्ने कारण मैले बुझेको छैन । तपाईंलाई थाहा भए मलाई खुसुक्क जानकारी गराइदिनुहोला ।
अत्याधुनिक षड्यन्त्रमा खसीकरणको प्रभाव तुरुन्तै देखा पर्दैन । खसीकरणको सिद्धान्तअनुसार बालीनालीहरूलाई हाइब्रिड बनाउँदै लैजानु र रैथाने अन्न तथा तरकारीलाई निस्तेज पार्नु पनि अर्को उपलब्धी हो । जसले गर्दा आत्मनिर्भरता भन्दा परनिर्भरता सजिलै प्राप्त गर्न सकिन्छ । खसीकरण केवल प्रजनन र उत्पादनको क्षेत्रमा मात्र लागु हुँदैन । वैचारिक चिन्तनमा पनि यसले व्यापक पकड जमाउन सक्छ । स्पष्ट विचार र दृष्टिकोण लिन नसक्नु, कहिले बोका जस्तो त कहिले पाठीजस्तो गर्नु, नैतिकता, इमानदारिता तथा पारदर्शिता जस्ता दुर्गुणहरूलाई गोलखाडीमा जाक्नु पनि खसीकरणको मौलिकपन हो । यही खसीकरणको प्रभावले गर्दा नै आज नेपालले यस्तो अभूतपूर्व प्रगति गर्न सकेको हो भन्ने कुरामा कसैको दुई मत नहोला ।
यो छलीयुगे षड्यन्त्रमा अब स्तम्भनले कसैको रौँ पनि हल्लाउन सक्दैन । सत्ययुगमा गर्दो हो । अब त स्तम्भनको ठाउँ ‘प्रलोभन’ले ओगटिसक्यो । प्रलोभन अत्याधुनिक षड्यन्त्रको अर्को सर्वाधिक शक्तिशाली यन्त्र हो । सानातिनालाई ललिपप देखाएर फकाए झैँ ठुलाठालुलाई फलिफाप देखाएर चुङ्ग्याउनु प्रलोभनको तागत मानिन्छ । ललिपपको स्वादभन्दा कैयौँ गुना मिठो फलिफापको स्वाद हुन्छ भन्ने त स्वाद चाखेकालाई नै सोध्नुपर्ला । इमान बेचेर होस् कि जमान बेचेर होस्, बोकाको टाउको देखाई कुकुरको मासु बेचेर होस् कि छोरीचेलीको आँसु बेचेर होस् अथवा श्रीमतीको फुली बेचेर होस् कि वाग्मतीको बिजुली बेचेर होस् जसरी पनि फलिफाप हात लाग्छ भने छोड्नै नहुने सिद्धान्त यसमा अपनाइन्छ । कुन कुन वस्तुको प्रलोभनमा परेर कोकसले केकति फलिफाप हात पारे भन्ने बुझ्नु छ भने तपाईं नख्खुको चिडियाखानामा गएर बुझ्न सक्नुहुन्छ । प्रलोभनको यन्त्रले मै हुँ भन्नेहरूलाई पनि त्यतातिर लैजान सक्दोरहेछ नि कत्रो तागत रहेछ त यसको ?
सामान्य दिनचर्या जस्तै चलिरहने क्रियाकलापलाई षड्यन्त्र कसरी भन्नु ? यो छलीयुगमा वितन्डा, विद्रोह, विद्वेष, काटमार जस्ता तमाम घटनाहरू आँखाअगाडि भैरहेकै छन् । यसरी प्रत्यक्ष देखिने घटना षड्यन्त्र हुनै सक्दैन ! षड्यन्त्र त अदृश्य हुन्छ र हुनुपर्छ । अत्याधुनिक षड्यन्त्रले विद्वेषलाई षड्यन्त्रबाट हटाइसकेको छ । बरु त्यसको ठाउँ ‘छिद्रान्वेष’ले ओगटिसक्यो । छिद्रान्वेष भनेको प्वाल प्वालको खोजी हो । कसले के कति राम्रो काम गर्यो भन्ने लेखाजोखा नगरी कहाँ कहाँ गल्ति गर्यो भनेर खोज्दै हिँड्ने काम यसमा हुन्छ । यति मात्र होइन, प्वाल फेला पर्नासाथ खनखान गरेर वा च्यातचुत पारेर झन् ठुलो बनाइन्छ । टालटुल पारेर मिलाउने र सिलाउने काम त्यसमा गरिन्न । प्वालबाट चुहाएर जति नोक्सान गराउन सक्यो त्यति नै छिद्रान्वेष सफल ठहरिन्छ । छिद्रान्वेषको यो यन्त्रबाट राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय शक्तिमान, भक्तिमान र बुद्धिमानहरू पनि तहसनहस हुन पुगेको कुरा छर्लङ्गै छ ।
अत्याधुनिक षड्यन्त्रको छैठौँ यन्त्र चाहिँ ‘ङिच्चाटन’ हो । ङिच्चाटनमा ङिच्च दाँत देखाउँदै अरुसित माग्ने काम हुन्छ । बाजेहरूले उच्चाटनमा के गर्थे उनै जानुन् तर आजकलका नाति पनातिहरूले चाहिँ पहिले आफूसित भएको सम्पत्ति धुलिराम पार्छन् र ङिच्चाटनको बाटो लिन्छन् । ङिच्चाटनलाई निच्चाटन वा अनाटन पनि भन्न सक्नुहुने छ । अनाटनको अर्थ नै अभाव हो । षड्यन्त्रको यो जालोमा अभावको सिर्जना गर्ने अनेक हत्कन्डा अपनाइन्छ । सशक्त युवाशक्तिलाई विदेश पलायन गराउनु, खेतीयोग्य जमिनलाई खसीकरणका माध्यमबाट उर्वराहीन बनाउनु, पहाडका मानवबस्तीहरूलाई बानरबस्तिमा परिणत गर्नु जस्ता प्रसिद्ध कदम यसमा चालिन्छ । त्यतिले पुगेन भने क्रमशः नदीनाला अरुका जिम्मा लगाएर जलको अभाव गराइन्छ । सुस्ता, कालापानी, लुम्बिनी, तिलौराकोट जस्ता सांस्कृतिक भूमिहरू अर्काको नक्सामा छिराइन्छ । ङिच्चाटन भन्नु नै लाचारी न हो । उच्चाटनको कुनै सन्धगन्ध आउँदैन ।
अत्याधुनिक षड्यन्त्रका यी छ अङ्गहरू ‘झारण, दोहन, खसीकरण, प्रलोभन, छिद्रान्वेष र ङिच्चाटनबाट सधै होसियार रहनुपर्छ । तपाईंलाई यिनले तर्साउन पनि सक्छन् । यदि नतर्सने उपाय खोज्नुहुन्छ भने छवटै यन्त्रहरूको नाम लेखेर ‘जन्तर’ बनाई लगाउनुहोस् न । तपाईंलाई कुनै षड्यन्त्रकारीले छुनै सक्ने छैन । यदि छोइहालेर सातोपुत्लो उड्यो भने चर्चित तान्त्रिकलाई ल्याएर झारफुक गराउँला नि, ढुक्क हुनुहोस् ।
०००
२०८० जेठ २३ गते
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest







































