साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभीपापी जिन्दावाद !

एक्लै घिचेको देखेर अर्को पिलन्धरे प्रशासकलाई औडाहा छुटेपछि झम्टिन खोज्दा काँतर मोरो त उल्टै पछारिएर धूलोमा मुख जोत्न पुगेछ ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

आदि सृष्टिकर्ता ब्रह्माजी र सञ्चारनायक नारदजीबीच नियमित भेटघाट चल्दै थियो । धेरैजसो फुर्सदमै देखिने उमेरले निकै वृद्ध ब्रह्माजीलाई एक दिन उनकै प्रयोगशालामा अस्तव्यस्त भेटेर नारदजी अलमल्ल परेछन् । के गर्दैछन् यी लहडी बूढा ! कति जाँगर चलेको हो यो उमेरमा पनि ! मनमनै गुनेछन् । हुन पनि निकै ब्युजी देखिन्थ्यो ब्रह्मलोक आज ! प्रयोगशालाको बाहिरी कम्पाउन्डको एक छेउमा चारपाँचजना बटुहरू गधाजस्तो देखिने जनावरलाई शिरदेखि खुरसम्म माडीमाडी दूधले नुहाइदिँदै थिए। अर्कोतर्फ देख्दै खाइलाग्दो हृष्टपुष्ट बंगुरलाई कोही पंखा हम्किएर झिँगा, डाँठ, मच्छड धपाउँदै थिए त कोही म्यागडोयलले तयार पारेका मीठामीठा परिकारका दाना, खोले, कुँडो खुवाएर सेवासत्कार पुर्‍याउँदै थिए । सूकरवंशकै उत्कृष्ट उत्पादन उर्मुट्ट ज्यान परेको बंगुरको शिरदेखि पाउसम्म दिलो ज्यानले हिफाजत गरिरहेका थिए । बूढा ब्रह्माजी भने नाकको डाँडीमाथि अडिएको चस्मालाई घरिघरि समाल्दै. प्रयोगशालाभित्रै व्यस्त देखिन्थे। नानाथरी सिसी, बोतल, ट्वाक, रिकापी बाटाहरू । थरीथरी सिरिन्जले विभिन्न प्रकारका पदार्थहरूको सम्मिश्रण, उच्छेद, विच्छेद र विपर्यासका क्रियाहरू सम्पन्न गरेर नयाँ जिन उत्पादन गर्न तल्लीन बनिरहेका थिए ।

हैन केको सृष्टि गर्न लाग्नु भो यो फेरि ? यसै त जीवजीवातहरूले पृथ्वी अटाइ न अटाइ छ ।

एकाएक कानमा बज्रिएको नारदजीको प्रश्नले ब्रह्माजी झसंग भए । अलि बेर त झनक्क रिस पनि उठ्यो । आँखीभौंमाथि देखिएको रिसको भुमरी नारदजीको अनुहारको स्पर्शल उतिबेरै हरायो पनि । एकपटक हल्का खोकेर घाँटी सफा गर्दै ब्रह्माजीले भने, ‘नयाँ जिन र डीएनए तयार गर्दैछु, क्लोनिङ गरेर नौलो जीवात सृष्टि गर्ने उद्देश्यले ।’ किन आवश्यक पन्यो यतिबेर ? यो बुढेसकालमा कति दुःख गर्नुभएको । नारदजीको छुच्चो मुख प्वाक्क बोलिहाले । म पनि त्यसै भन्दै त थिएँ । तर, सुख दिएनन् मोरामोरीहरूले । नयाँ प्राणी उत्पादन गर्नुपर्‍यो रे ! धोद्रो स्वरमा ब्रह्माजीको भद्र वाणी फुर्‍यो ।

कुन लोक कुन प्रदेशबाट माग भएको ?

त्यही क्या मत्र्यलोकको नेपाल भन्ने देशबाट । किन त्यस्तो नयाँ प्राणी चाहिएछ त्यहाँ ? जीवजन्तु र प्राकृतिक विविधताले परापूर्वकालदेखि नै टनाटन भरिएको ठाउँ थियो त्यो त ! संसारकै दुर्लभ प्राणी, वनस्पति, कीटपतङ्गको शान्तसुन्दर वासस्थान भनेर चिनिन्थ्यो त्यो देश ।

तिम्रो इन्फर्मेसनले हावा खायो बाजे ! अहिले त्यहाँ नयाँ गनगनतन्त्र आएको छ रे ! त्यो तन्त्रको मन्त्र जप्ने नयाँ पार्टी, नयाँ सरकार, नयाँ संविधान, नयाँ शान्ति, नौलो मेलमिलाप, नयाँ तात्त्विक निष्कर्ष, नयाँ कुर्सीपलङ नयाँ भोर्जुवा, नयाँ खोल । अनि बाँडीचुँडी भान्सा गर्ने नयाँखाले राजनीतिक खेल। केके भइसक्यो तिमीलाई पत्तै रहेनछ ।

हो प्रभो ! म उता देवलोकतिर निकै समय भुलें, यता यस्तो भइसकेछ । अनि तत्काल के आवश्यक परेर यत्रो कष्ट दिएछन् नेपालीहरूले ?

अहिले तत्कालैँचाहिँ बलिष्ठ जबरस्वाँठ खाइलाग्दा लोभीपापी स्वभावका दुई प्राणी पठाइदिनुपर्‍यो रे ! नत्र भन्सार ठप्प भएर देशकै राजस्व खत्तम । स्थानीय प्रशासन पूरै जाम ! दुवैतिर लुते हन्तकाली परेछन् रे अहिलका ती अड्डाका हाकिम । एउटाले भन्सारे ढलमा मुख जोतेर एक्लै घिचेछ र अतिसारग्रस्त भएर तीनैलोक गन्हाएछ । एक्लै घिचेको देखेर अर्को पिलन्धरे प्रशासकलाई औडाहा छुटेपछि झम्टिन खोज्दा काँतर मोरो त उल्टै पछारिएर धूलोमा मुख जोत्न पुगेछ । ती दुवै अपाहिजकों ठाउँमा यी बलिष्ठ दुई जीवलाई नियुक्ति दिएर पठाउन लागेको ।

ब्रह्माजी गधा र बंगुरतिर देखाउँदै भन्दै थिए । नारदजी सुन्दै थिए । बस !

०००
नयाँ वानेश्वर, काठमाडौं
‘अन्नपूर्ण पोष्ट’, १ भदौ २०६७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x