साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसद् र मन्त्रीका जुँगा

म भन्दै छु, दुबै सदस्यहरू सदनबाट बाहिर निस्किनुहोस् । यो के तमासा हो ? जबदेखि सभामुख बनेको छु मेरो दिमाग कति चड्केको छ भने आफ्नी पत्नीका मायालु कुरा सुन्दा पनि ‘अर्डर अर्डर !’ गर्दै चिच्याउँछु ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

संसद्को कामकाजका विषयमा पटक पटक के कुरो उठ्ने गर्छ भने प्रतिदिन संसद्को खर्च कति उठ्छ ? प्रतिमिनेट कति रुपैयाँ लाग्छ ? अनि हरेक प्रश्नमा कति खर्च हुन्छ ?

यस्ता प्रश्नहरू निरर्थक छन् । संसद् कसैसँग पैसा माग्न जाँदैन । त्यसले त आफै बजेट पास गर्छ । अनि जसले बजेट पास गर्छ उसलाई चाहेजति खर्च गर्ने अधिकार रहन्छ ।

संसद्को बहुमूल्य समय कति मज्जामा बित्छ भन्ने कुराको एउटा उदाहरण दिँदै छु ।
एक दिन गुलजारीलाल नन्दा (रेलमन्त्री) जब सदनभित्र पसे तब सांसद्हरूले उनका जुँगा सफाचट भएको देखे । नन्दाजीको सिन्काजस्तो फुकिढल शरीरमा जुँगा निकै सुहाउँछन् । उनी रेलमन्त्री भएर पनि सुरक्षामन्त्रीजस्ता देखिन्छन् ।

संसद्मा कानेखुसी चल्न थाल्यो अनि जनसङ्घका सांसद्हरूले संसद्को कारवाही रोकेर प्रश्न गरे, ‘सभामुख महोदय, आज नन्दाजीका जुँगा देखिँदैनन् । उहाँका जुँगालाई के भएको हो भनेर थाहा पाउन चाहन्छ यो सदन । उहाँका जुँगा उहाँले आफैं मुड्नुभएको हो वा अरू कसैले मुडेर लगेको हो ?’

अर्का जनसङ्घी – यो सामान्य घटना होइन महोदय । यस मन्त्रिमण्डलमा नन्दाजीका मात्र जुँगा छन् ।
सत्ताधारी कांग्रेसी – नियमापत्ति छ महोदय ! यो भनाइ सही होइन । जगजीवन रामजीका पनि जुँगा छन् ।
जनसङ्घी – हामी जगजीवन रामजीका जुँगालाई जुँगा मान्दैनौं ।
सत्ताधारी कांग्रेसी – तपाईंले मान्नैपर्छ । हामी हाम्रा अध्यक्षज्यूका जुँगालाई जुँगा नै नमान्ने साम्प्रदायिक प्रतिक्रियावादीहरूको यो धाँधली हुन दिँदैनौं । हामी हरेक मोर्चामा यस्ता प्रतिक्रियावादीहरूसित भिड्न तयार छौं चाहे त्यो मोर्चा जुँगाको नै किन नहोस् ।
जनसङ्घी – यो सामान्य विषय होइन । नन्दाजी साधारण मन्त्री हुनुहुन्न । जब हामी गोरक्षा आन्दोलनमा थियौं त्यति बेला उहाँ नै गृहमन्त्री हुनुहुन्थ्यो । फेरि उहाँ दुई पटक दुईजना प्रधानमन्त्रीका बिचमा (कामु !) प्रधानमन्त्री पनि हुनुभएको हो । उहाँका जुँगा देशका जुँगा हुन् । अनि जँुगा त भारतीय संस्कृतिमा उत्तम पौरखका प्रतीक पनि हुन् ।
द्रमुक (द्रविड मुनित्र कडगम) सदस्य – यो सही होइन । राम र कृष्णका जुँगा थिएनन् । कुनै पनि फोटो हेर्न सक्नुहुन्छ । उत्तर भारतको यो साम्राज्यवाद चल्न दिइने छैन ।

सङ्गठन कांग्रेसी – यदि कांग्रेस अविभाजित हुन्थ्यो र हामी सँगै हुन्थ्यौं भने हामीले यस्तो हुन दिने थिएनौं । यो त अनुशासनहीनताको हदै भयो । दलको कार्यसमितिबाट निणर्य नै नगराई कुनै मन्त्रीले कसरी जँुगा मुड्न सक्छ ? हामीलाई विश्वस्त सूत्रबाट के जानकारी प्राप्त भएको छ भने उहाँले कम्युनिस्टहरूको दवाबमा परेर जुँगा मुड्नुभएको हो । हाम्रा एक जना सदस्यले आज बिहान भूपेश गुप्त (कम्युुनिस्ट सदस्य)लाई नन्दाजीका जुँगा खौरिरहेको देख्नुभएको रहेछ ।

साम्यवादी – यो गलत आरोप हो । हामी सरकारलाई केवल उसको कार्यक्रमका आधारमा समर्थन गर्दछौं र त्यस कार्यक्रममा नन्दाजीका जुँगाका विषयमा कुनै कुराको उल्लेख भएको छैन । अनि न त कांग्रसीका जुँगा मुड्नु हाम्रो काम हो न सुरक्षा गर्नु नै । यो सबै सी. आई. ए.को षड्यन्त्र हो । जहिलेदेखि दिल्लीको प्रशासन जनसङ्घका हातमा परेको छ तबदेखि नै राजधानीमा कैयौं मानिसहरू सी. आई. ए.का एजेन्ट बनेका छन् । त्यसैले त भूपेश गुप्त दाह्री खौरन कलकत्ता जानुहुन्छ र हामी केरला पुग्छौं ।

प्रसोपाली – (प्रजातान्त्रिक सोसलिस्ट पार्टी) यस विषयमा हामी पनि केही भन्न चाहन्थ्यौं तर अहिले हाम्रो सत्ताधारी कांग्रेससित सम्झौतावार्ता चलिरहेको छ ।
संसोपाली- (संयुक्त सोसलिस्ट पार्टी) तिमीहरू त इन्दिराका पाउपोस (जुत्ता) हौ ।
प्रसोपाली – सटअप !
भाक्रान्दी – (भारतीय क्रान्तिदल) कतै नन्दाजीका जुँगा मुड्ने व्यक्ति मुगलसरायका तिनै साधु त होइनन् जसलाई
उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने काममा लगाउनुभएको थियो ? यदि यो कुरो सत्य हो भने त यो चिन्ताको विषय हो । जुन साधुले रेलमन्त्रीका जुँगा मुड्न सक्छ त्यसले त रेलको इन्जिन पनि गायब पार्न सक्छ ।

माक्र्सवादी – संशोधनवादीहरूसित सम्झौता गरेपछि जुँगा त जाने नै भए नि ! जुन दिन केरलामा यिनीहरूको मोर्चा बनेको थियो त्यसै दिन हामीले एक दिन नन्दाजीका जुँगा उड्नेछन् भनेर भविष्यवाणी नै गरेका थियौं ।

अब भने सभामुखले नन्दाजीतिर हेरे । नन्दाजीले उठेर स्पष्टीकरण वक्तव्यमा भने, ‘मलाई के मात्र थाहा छ भने आज मैले बिहानै हजामत (सान्दर्भिक अर्थ दाह्री खौरिने काम) गरेको हुँ, अनि नुहाइवरी खाना खाएर लोकसभा (प्रतिनिधिसभा)मा आएको हुँ । अब मेरा जुँगा छन् कि छैनन् भन्ने मलाई थाहा छैन । त्यसैले यसको जाँच सरकारी तहबाट हुनेछ ।’

कैयौं सदस्यहरू – हातले मुसारेर हेर्नुस् न !
नन्दाजी – म माननीय सदस्यहरूको यो माग स्वीकार गर्न सक्दिनँ । म मुख मुसार्दिनँ । सरकारको पनि काम गर्ने एउटा तरिका हुन्छ । सरकारले हतारमा कुनै काम गर्दैन ।
कैयौं सदस्यहरू – तर सम्मानित सदनलाई यसको सत्यतथ्य थाहा पाउने अधिकार छ ।

नन्दा – म भन्दै त छु नि कि जाँच समितिको बैठक बस्नेछ । त्यसले पहिले मेरा जुँगा थिए कि थिएनन् भनेर जाँच गर्नेछ । यदि थिए भने अहिले छन् कि छैनन् भनेर जाँच गर्नेछ ? यदि छैनन् भने किन छैनन् भनेर पनि जाँच गर्नेछ ।
कैयौं सदस्यहरू – समितिले जाँच गर्दासम्म त जुँगा फेरि पलाइहाल्छन् नि ! त्यसैले अहिल्यै र यसै सदनमा यसको फैसला हुनुपर्छ ।

अब आएर प्रधानमन्त्रीले हस्तक्षेप गरे – जब उहाँ जाँच समिति बनाउने कुरा गर्दै हुनुहुन्छ भने त माननीय सदस्यहरू सन्तुष्ट हुनुपर्ने हो किनभने सरकार कुनै पनि तथ्यलाई गोप्य राख्न चाहँदैन ।
एक सदस्य – यसको न्यायिक जाँच हुनुपर्छ ।
प्रधानमन्त्री – हुन्छ, न्यायिक जाँच नै हुन्छ । न्यायाधीश खोसला अहिले खाली हुनुहुन्न, व्यस्त हुनुहुन्छ । नेताको मृत्युको जाँच सकिएपछि नन्दाजीका जुँगाको जाँचको विषय पनि उहाँलाई सुम्पिइने छ ।
एक संसोपाली – धिक्कार छ ! यो राष्ट्रिय सर्म (लज्जा)को सरकार हो । इन्दिरा गान्धीको मन्त्रिमण्डलमा सहभागी हुनेहरूको कल्याण छैन । इन्दिरा हटाऊ देश बचाऊ !
अर्को संसोपाली – होइन, पुनामा नारा फेरिएको छ । इन्दिरा हराऊ देश बचाऊ !
पहिलो संसोपाली – चुप लाग् ए राजनाराण !
अर्को संसोपाली – चुप लाग् ए जोशीकी रखौटी !
पहिलो संसोपाली – थुः थुः !
अर्को संसोपाली – थुः थुः !

सभामुख – माननीय सदस्यहरूले सदन छाडिदिनुस् ।
दुबै – हामी छाड्दैनौं । हामी सिटमुनि पस्छौं । हामी कुर्सीका खुट्टामा टाँसिन्छौं ।
सभामुख – म भन्दै छु, दुबै सदस्यहरू सदनबाट बाहिर निस्किनुहोस् । यो के तमासा हो ? जबदेखि सभामुख बनेको छु मेरो दिमाग कति चड्केको छ भने आफ्नी पत्नीका मायालु कुरा सुन्दा पनि ‘अर्डर अर्डर !’ गर्दै चिच्याउँछु ।
सभामुखले मर्यादापालकलाई आदेश दिन्छन् ।

दुबै संसोपाली सिटमुनि घुस्छन् । मर्यादापालकलाई ती दुबैलाई त्यहाँबाट थुतेर बाहिर निकाल्नमै बिस मिनेट लाग्छ । सिङ्गो महागठबन्धनले सदन बहिस्कार गर्छ ।

सदनको एक घण्टाको कामकाज सम्पन्न हुन्छ ।

०००
‘परसाईंका प्रतिनिधि व्यङ्ग्य’ बाट  ‘स‌ंसद अैार मन्त्रीका मूँछ ’ काे  नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x