साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

मेरी अर्धाङ्गिनीले उनको स्तुति सुन्न नपाए पनि माथि मञ्चमा एउटा खादा वा पुष्पहार ता अवश्यै पाउलिन् नि होइन र ? बरु भानुजयन्ती कार्यक्रम भव्य रुपमा सफलताको निम्ति सहोयग भेटीस्वरुप मोटो रकम दिनुपरे पनि यो अधम तयार छ ।

Nepal Telecom ad

कृष्ण प्रधान

अरु साहित्यकारहरूलाई को’नि तर मलाई भने भानुजयन्ती आयो कि डर लाग्न थाल्छ । डर लाग्ने कारण तर भानुजयन्तीमा एकाबिहानै शोभायात्रामा सामेल हुनपर्छ भन्ने चाहिँ होइऩ । हाम्रो यतातिर महिना दिनसम्म चल्ने भानुजयन्ती कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिको आसन ग्रहण गर्नुपर्छ भन्ने डरले म असार महिनारी नै थुरथुर हुन्छु । सभा शिरोमणिको आसनमा विराजमान हुने भाग्य अहिलेसम्म जुरेको छैन । फेरि अचेल ता भानुजयन्ती कार्यक्रम आयोजकवर्ग पनि कोइलीभन्दा चङ्खा भइसकेको छन् । भानु बुझेका होस् कि नहोस्, सामान्य हुने खाने र कुनै उच्च ओहोदामा हुनेहरूलाई मात्र सभाध्यक्ष वा सभाशिरोमणिको पगरी गुँथाएर मञ्चमा विराजमान गराइन्छ । आफू ता उक्त क्याटागरीमा नपरेकोले उक्त पदको निम्ति मैले डराउनु परेको छैन ।

विद्यादेवी सरस्वती माताको पूजाको दिन विभिन्न मण्डपमा गएर पूजा साङ्गे गरिदिनु बाहुन बाजेलाई फुर्सदै हुँदैन । घरि यो मण्डप, घरि त्यो मण्डप । म्याराथान दौड़ । एकक्षण फुर्सद छैन । भानुजयन्तीको दिन मैले पनि बाहुन बाजेकै बिड़ो थामेर विभिन्न ठाउँहरूमा हुने भानुजयन्तीमा अतिथिको आसन ओगट्नुपर्छ । कम्तिको पनि बाहुन बाजेले सरस्वती सरस्वती पूजाको दिन मोटो रकम ता पाउँछन् तर हामी विशिष्ट अतिथि, प्रमुख अतिथिले खादा, अछेता, नेपाली टोपी अनि सामान्य थपड़ीमै सन्तोक मान्नुपर्छ । पूजामा बाहुन बाजे किताब पल्टाउँदै मन्त्रोच्चारण गर्छन्, हामी अतिथिले तात्क्षणिक वक्तव्य दिनुपर्छ । यति हो, बाहुन बाजेले बेला बखत शङ्ख फुक्दै घण्टी बजाउँछन्, हामीले दिँदा न घण्टी बजाउनुपर्छ न ता शङ्ख नै फुक्नुपर्छ । वक्तव्य सुन्न मनै नपराउने कतिपय श्रोता-दर्शकको साइँसाइँ र सुइँसुइँले बाहुन बाजेको घण्टीको काम गरिरहेको हुन्छ । पूजामा बाहुन बाजेले मन्त्रोच्चारण गर्दाको समयमा कम्तिको पनि श्रोतागणले आँखा चिम्म गरी हात जोड़ेर बसिदिन्छन् तर हामी अतिथिको वक्तव्यको समयमा दर्शक-श्रोता दीर्धामा बस्नेहरू अतिथिको वक्तव्य नसुनेर आफ्नै गफमा व्यस्त देखिन्छन् । अतिथि, प्रमुख अतिथिको वक्तव्य कसले सुन्ने ? पूजा सिद्धिएपछि बाहुन बाजे दक्षिणा लगायत झोलाभरि प्रसाद घुसारेर विदा लिन्छन् भने हामी अतिथि, प्रमुख अतिथिहरू भने खादा, टोपी पोको पारी कार्यक्रम थलोबाट विदा लिनुपर्छ । वाह भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

‘प्रमुख अतिथि’ र ‘विशिष्ट अतिथि’-को परिभाषा मैले बुझेको छैन । हिजोआज अतिथि, प्रमुख अतिथि, अति विशिष्ट अतिथिलाई मञ्चमा विराजमान गराउऩे चलन चल्न थालेको देखिन्छ । क्या हो यो ‘विशिष्ट अतिथि’ भन्या ? एकजना सभाध्यक्ष र एकजना प्रमुख अतिथिलाई मात्र मञ्चमा विराज गराउँदा हुँदैन र ? अतिथि, प्रमुख अतिथि, अति विशिष्ट अतिथिबाहेक पनि मञ्चमा खुट्टा टेक्ने ठाउँ नराखेर आफूलाई मनपर्नेहरूलाई मञ्चमा विराजमान गराएको देखिन्छ । भानुभक्तले यसै गर्नु भनेका छन् कि छैनन् कोनि त्यो मलाई थाहा छैन । किन मञ्चमा यस्तो भीड़ ? सबैलाई खुसी पार्नै पर्ने ? तर मञ्चमा विराजमान गराएन भनेर चित्त दुःखाउनेहरूको सङ्ख्या पनि कम्ति ता छैन नि ! सबैलाई मञ्चमा विराजमान नगराउँदा कवि भानुभक्तले चित्त दुखाउने होइनन् । न कि उनी प्रतिकृतिको फ्रेम फुटाएर सुपरम्यानजस्तो उड़ेर आई विरोध गर्ने हुन् । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !

भानुजयन्तीका दिन मात्रै होइन साहित्यका अन्यान्य कार्यक्रमको गति पनि उस्तै देखिन्छ । भानुभक्त ता एउटा बहाना मात्रै हो । भए भरकाहरूलाई मञ्चमा गुजुल्टाउनु मात्रै होइन… निखार-पखार विशेषणले सर्काएर, फुक्र्याएर खादा-माला अर्पण गरी झोलामा हाल्ने नै यो भानुजयन्ती आयोजन गरिनु बहाना होकि जस्तो लाग्छ । यो दस्तुर “बाहिर गयो जुत्ता ठ्याप-ठ्याप, घर आयो खोले ल्यापल्याप” (मिथ्या आडम्बर देखाउनु) भनेजस्तो भएन र ? खासै कुरा भन्नु हो भने, जयन्ती कसको हो ? कवि भानुभक्तको कि अतिथि वर्गको ? सोझो उत्तर कविजीको । तर हिजोआजको भानुजयन्ती कार्यक्रम हेर्दा कवि भानुभक्तको जयन्ती नभएर अतिथि वर्गकै जयन्ती हो कि जस्तो लाग्न थालेको छ । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !

अर्को हाँसउ़़ठ्दो कुरो, कार्यक्रमका सर्वप्रमुख व्यक्ति सभाध्यक्ष भएपछि कविको प्रतिकृतिमा माल्यार्पण वा खादार्पणका साथै धूप-दीप प्रज्वलन सभाध्यक्षकै बाहुलीबाट सम्पन्न गराउँदा हुँदैन र ? दस बाह्र जना माथि मञ्चबाट ओर्लेर सबैले धूप-दीप प्रज्वलन गरिसकेर फेरि मञ्चमा चढ़्दा समय कति फुर्मास हुने हो सोबारे आयोजक वर्गले सोंचेका छन् के ! त्यति मात्रै कहाँ र ! हजूर कविजीलाई श्रद्धा सुमन चढ़ाउनुलाई ता साबिक नियम मानिन्छ । तर सभाध्यक्षदेखि आरम्भ गरेर शिरदेखि पुच्छरैसम्मका अतिथिवर्गहरू बरर्‍याम लागेर मोबाइलमा फोटो खिँच्न तम्सेका देख्ता अचम्म र उदेक लाग्छ । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !

यसै पनि हाम्रो कार्यक्रममा सभाध्यक्ष महोदय कहिल्यै समयमा कार्यक्रम थलोमा आइपुग्दैनन् । उनलाई पर्खिनुपर्दा निर्धारित समयमा कार्यक्रम कहिल्यै आरम्भ गर्न सकिँदैन । भारीमाथि सुपारी भनेजस्तो सभाध्यक्ष महोदयलाई पर्खिँदा एक ता कार्यक्रम आरम्भ गर्न ढिलो भएको त्यसैमाथि अतिथि वर्गलाई मञ्चमा निम्त्याउँदा, उनीहरूलाई खादा-माला अर्पण गर्दा, उनीहरूको स्तुति गाउँदा र धूप-दीप प्रज्वलन र फोटो खिँच्दा कम्तिको पनि तीसदेख पैंतालिस मिनट ता खैरातमा त्यतिकै फुर्मास हुन्छ । भानुजयन्ती कार्यक्रममा उद्घोषक महोदय-महोदयाले कवि भानुभक्तलाई होइन तर मञ्चमा विराजमान हुने अतिथि वर्गको स्तुति गाएर समय फुर्मास मात्र गर्दैनन् तर निजी उर्जी समेत खर्च गर्छन् । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

अतिथिवर्गको स्तुति गाएर समय फुर्मास नगेरर कुनै एकजना वार्ताकारलाई गहन, खोजपूणर्, शिक्षामूलक वार्ता पेश गर्न लाउँदा कवि भानुको असल श्रद्धा हुनेथ्यो कि ! तर त्यस्ता गहन व्यक्तव्य ध्यान लाएर सुन्ने, मनन गर्ने, घोत्लिने श्रोताहरू पाइएलान् के कार्यक्रम थलोमा ! वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

महिना दिनसम्म चल्यो यो भानुजयन्ती मेरो फुर्सद छैन । सरस्वती पूजामा बाहुन बाजेको डिमाण्ड भएझैं मेरो पनि डिमाण्ड बढ़ेको छ । घरि गैरी गाउँमा, घरि माथिल्लो गाउँमा, घरि अजम्बरी सङ्घमा, घरि कता ता घरि कता अतिथिको आसन सम्हाल्दाको जात्रा हुन्छ । कति ठाउँबाट भोकभोकै फर्किनुपर्छ भने कति ठाउँमा सिङ्गड़ा, रसदानामा मात्रै डल्लिनुपर्छ । ग्यास्ट्रिक वा डाइबेटिसको निम्तो पेटमा बोकेर कार्यक्रम थलोबाट फर्किनुपर्छ । कति ठाउँमा ता रिजर्भ अतिथि भएर आफ्नो पालो कुर्नुपर्छ भने कति ठाउँमा सभाध्यक्ष जरुरी काम गरेर कार्यक्रम थलो छोड़ी जान्छन् अनि त्यस्तो अवस्थामा सभाध्यक्षको भार पनि सम्हालेर कार्यक्रम नसकिञ्जेल मञ्चमा ऐरे-गैरे-नत्थुखैरेहरू अतिथिको मुखुण्डो ओढ़ाई मञ्चमा चढ़ाउँदैमा भानुजयन्ती कार्यक्रम सफल हुन्छ ? वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

उदघोषक महोदयको स्तुतिले मेरो कुखुरे छाती चौड़ादार मात्र होइन साथमा चेपेर लगेकी अर्धाङ्गिनीको नाक घोक्रेको दृश्यले मभित्रको स्तुतिप्रिय अतिथि महोदय गजक्क र मसक्क हुँदा आफू भक्कुचूर खुशीले उफ्रिन्छु । खानु ता के छ नाउँ ठूलो भने झैं भानुजयन्तीमा अतिथिको निम्तो पत्र हात पर्ने बित्तिकै आयोजक वर्गमण्डलीका सचिव साथै काय्रक्रम उदघोषक महोदयको हातमा मेरो जीवनी-तथ्य अगावै सुम्पिँदै मेरो स्तुति माइकमा भट्याइ दिने विन्ति बिसाउन म छोड़्दिनँ । यो पनि मलाई लागेको एउटा रोग नै हो । “जसो-जसो बाहुन उसो उसो स्वाहा ।” अतिथि आसनमा गजक्क र मसक्क भएर बसेको बेला उद्घोषक महोदयको लम्बेतान स्तुति सिङ्गो हलभरि रुमलिँदा कुन हरिलट्ठकलाई मन पर्दैन र ! कारण यस्ता स्तुतिले नै हामी सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अति विशिष्ट अतिथि र अतिथिका निमित्त जत्तिकै हुन्छ । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

भानुजयन्तीको छेकतिर बाहेर भानुको रामायण शिरदेखि पुच्छरसम्म नपढ़े पनि, भानुको रामायण कति काण्डमा लेखिएका छन् र कतिवटा अनि कुन कुन छन्दमा लेखिएका छन् सोबारे एक रत्ति ज्ञान नभए पनि अतिथिको आसनमा बस्दा-बस्दा थेत्तर भएको अनि मेरा अन्यान्य विद्वान सह-अतिथिगणले दिेएका वक्तव्य सुन्दा-सुन्दा सोही वक्तव्यलाई मेरो मगजको फ्लपिमा इन्सटल गरेर राखेको छु । तिनै कुरालाई सामान्य माराक-मुरुक पारी भानुभक्तबारे भट्याउनसम्म भट्ट्याएर टाटो मार्न पनि सिकिसकेको छु । दर्शकदीर्घामा बसेका श्रोतावर्गले सुने सुनुन्, नसुने नसुनुन् । मलाई लुतो न कनाइ । कुरा यति हो, मैले वक्तव्य दिँदै गरेको मोबाइलमा खिँचिनुका साथै भोलिको अखबरमा मेरो नक्सा छापियोस् । बस्… यति भए काफी । अतिथि भएर यति पनि नाफा लुट्न सकिएन भने अर्को जन्ममा माइक अपरेटर भएर जन्मिने डर । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

साँच्चै ! भानुले हामीलाई के सिकाएनन् ? नौनी घिजस्तो भाषा बोल्न सिकाए । मञ्चमा नाँच्नु सिकाए । नाँच्दा थपड़ी मार्न सिकाए । अतिथि वर्गको वक्तव्यको समयमा साइसाइ र सुइसुइ गरी उनको वक्तव्यलाई फ्लप पार्न सिकाए । उनीहरूको वक्तव्यको समयमा जुरुक-जुरुक उठेर दर्शकदीर्धाबाट सुइँकुच्चा ठोक्न सिकाए । वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

तपाईंको गाउँ-घरतिर, सङ्घ-संस्था, समितितिर यसपाली भानुजयन्ती कार्यक्रम आयोजन हुँदैछ भने अतिथि वर्गको प्यानेलमा यो अधमको पनि नाउँ गाभिदिनुहोला । रिजर्भ अतिथिमा भए पनि पुग्छ यो अधमलाई । काम चलाऊ सभाध्यक्ष वा पार्ट टाइम (आंशिकरूपमा) भए पनि ठिकै छ । माथि मञ्चमा बस्नु पाए भैगो । मलाई चान्स दिने काम तपार्इंहरूको, सियो भएर फाली भई निस्कने काम मेरो । एउटा कुरा सुटुक्कै भनिहालुँ क्यारे ! निम्तो पत्रमा मिल्छ भने मेरी अर्धाङ्गिनीको नाउँ पनि लेख्नु चाहिँ कृपया नबिर्सिनुहोला । मेरी अर्धाङ्गिनीले उनको स्तुति सुन्न नपाए पनि माथि मञ्चमा एउटा खादा वा पुष्पहार ता अवश्यै पाउलिन् नि होइन र ? बरु भानुजयन्ती कार्यक्रम भव्य रुपमा सफलताको निम्ति सहोयग भेटीस्वरुप मोटो रकम दिनुपरे पनि यो अधम तयार छ । कारण हिजोआज भानुजयन्तीको निम्ति भेटीस्वरुप मोटो रकम दिनेहरूलाई नै सभाध्यक्ष र प्रमुख अतिथि, मुख्य अतिथि, अतिप्रमुख अतिथिको आसनमा विराजमान गराइने चलन चल्तीमा आएको देखिन्छ ।

वाह रे भानुजयन्ती ! हाय रे भानुजयन्ती !!

०००
सिलिगुड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x