देवीप्रसाद चापागाईंसाला-भेना (पाखुरी सुर्कासुर्की)
चिल्ला वचनका मनुवा, उभो लागून् दिनहुँ बाहिर बाहिर आकारमा, उस्तै बोटमै कुहियून् गहुँहरू । जति शान्तिको घण्टी बजे नि नसुनून् सत्ताहरू एक एक गरी रोगी हुँदै गएस् आलोचक भिनाहरू ॥

देवीप्रसाद चापागाइँ :
भेना उवाच (सतापक्ष सालाउपर)
सुनिँदै जान थाले मनका कालाहरू
कुहिँदै झर्दै गए वीरका मालाहरू ।
भाँचिदै जान थाले देशभक्तका भालाहरू
सबथोक तिमीहरूकै, लौ खाओ सालाहरू ॥
दिनदहाडै चोरिँदै छन् आमाका बालाहरू
दैनिक कोतरिंदै छन् निर्धाका छालाहरू ।
जति पछि उति चिल्ला दुष्टका गालाहरू
सबथोक तिमीहरूकै, लौ ठोक सालाहरू ॥
एक एक गरी चुडिँदै छन् सत्यका तालाहरू
कुस्ती खेली सिध्यायौ पुर्खाका टालाहरू ।
बलभद्रका इतिहास बिर्सियौँ नालाहरू
सबथोक तिमीहरूकै, लौ टोक सालाहरू ॥
बर्सेनि ओइलिँदै छन् लिच्छवि कलाहरू
एकएक गर्दै घट्दै छन् धानका खलाहरू
अगति बोकेर ओर्लिंदो छ समयका पलाहरू
अरू बिर्सिए पनि देश नर्बिसिए सालाहरू ॥
बिस्तारै बेचिदै छन् सुनका डालाहरू
दूषित धुमिल बन्दै छ हाम्रा चालाहरू ।
सुस्तरी दबिंदै छन् हाम्रा गलाहरू
सबथोक तिमीहरूकै, लौ जोख सालाहरू ॥
स्वधर्म त्याग्दै छौ ध्वाँसे सालाहरू
परधर्मको माया गर्दै छौ कैले सालाहरू ।
आफ्ना ओछ्यान भिजाउँदै छौ सेता सालाहरू
हाँगोसुद्वै हुँदै छौ हुस्सु सालाहरू ॥
एकजुट हुनुपर्यो लौ हामी भेनाहरू
एकपछि अर्को थप सत्यका तलाहरू ।
जम्मा गरी फ्याँकिदिऊँ उतै टिलाहरू
धोती न टोपी गरी भागुन् बिग्रेका सालाहरू ॥
साला उवाच (प्रतिपक्ष भिनाउपर)
खिया लाग्दै जाऊन् सत्यका छिनाहरू
त्यत्तिकै फालिँदै जाऊन् तोरीका पिनाहरू ।
तोडिँदै जाउन् निरन्तर वीरका चिनाहरू
देशको तपाईंलाई केको चिन्ता नमस्कार भिनाहरू ॥
चौंरीगोठमा चौँरी नहोस्, रित्तै होऊन् किलाहरू
ह्याकुलो मात्र बढेको देखियोस्, सुक्दै जाऊन् फिलाहरू ।
साह्रो चीज बरु पाकोस् नपाकुन् गिलाहरू
बारम्बार आई सताइरहुन् गर्धनका पिलाहरू ॥
भकारीमा धान घटे पनि बढून् मुसाहरू
मान्छे जाबो दुब्लाउँदै जाओस् मोटाऊन् जुकाहरू ।
साइतका खस्दै झर्दै जाउन् आफन्तका टीकाहरू
दैनिक सुक्दै जाऊन् कोक्ल्याँटा भिनाहरू ॥
सिंहदरबारका कोठा भरियून् मिलेर काँचाहरू
लिच्छवि मल्लका ओइलिँदै जाऊन् ढाँचाहरू ।
नेपाली चोली र टोपीमा लौ कुदून् लिखाहरू
मुख बाउदै रुदै हिँड्न् लौ देशका भिनाहरू ॥
बिस्तारै झर्दै गरून् मिलेका दाँतहरू
खुट्टी लुलो टेक्दै जाऊन् भर्भराउँदा आँतहरू ।
किन प्रश्न ज्यास्ती गर्ने बेचियून् निर्मलाहरू
अनि पो गाँस बढी रुच्थ्यो कि होइन भिनाहरू ??
दूध पातलो हुँदै जाओस्, बाक्लिऊन् पानीहरू
स्वार्थी स्वाङी उभो लागून्, ओइलाऊन् दानीहरू ।
जताबाट पनि चोरियोस् महत्त्वपूर्ण खानीहरू
भित्रभित्र कमजोर हुँदै जाऊन् अचेलका ज्ञानीहरू ॥
चिल्ला वचनका मनुवा, उभो लागून् दिनहुँ
बाहिर बाहिर आकारमा, उस्तै बोटमै कुहियून् गहुँहरू ।
जति शान्तिको घण्टी बजे नि नसुनून् सत्ताहरू
एक एक गरी रोगी हुँदै गएस् आलोचक भिनाहरू ॥
०००
‘बड्कौँला’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह
Subscribe
Login
0 Comments
Oldest








































