साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा खेलाउने बानी

व्यावहारिक जीवनमा भेटघाट, साथ, सहयोग, सबा, आधा, पौने, डेढ, अढाइ, तलमाथि हुनसक्छ। तर कुरो खेलाउने बानीमा अधोगति वा पश्चगमनको के कुरा ? यसले उद्धर्वगमन र उर्ध्वगामीको पहिचान आर्जन गरेको गऱ्यै हुन्छ।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

मान्छे आफूलाई सबैभन्दा मनपर्ने बानी लाग्दो रहेछ कुरा खेलाउने बानी। अरुको चाहिँ त्यो बानी रहेछ भने पटापट दिऊँ र फटाफट हिडौं जस्तो लाग्दछ । तर आफूलाई भने मलाम अर्थात शवयात्रामा जाँदा पनि कुरा खेलाइरहन दिऊँन् जस्तो लाग्दछ। अरुको त के कुरा म जावाको पनि हालत उस्तै । हाम्रो बानी आफ्नो प्रगतितर्फ उर्ध्वमुख हुनुभन्दा अरुको प्रगतिमा ट्‌वाँ परेर थुक निल्ने कार्यमा अधिक क्षण खर्च हुन्छ । मान्छेसँग मात्र हो र अन्य जीव सँग पनि इर्ष्या पालेर गजक्क फुलेको हुन्छ । उसलाई हिँउजस्तो सेतो भन्दा पनि रन्का छुट्‌छ । पाए हिउँलाई नै जेल हाल्न पाए हुन्थ्यो भन्दै भन्ठान्दै कुरा खेलाउँछ ।

कुरा खेलाउने बानीलाई धारे हात लगाउनेको जमात अर्थात समर्थक या विरोधी फिप्टी फिप्टी हुन सक्छ । अल्छी नमानी सर्वे गर्ने हो भने। मान्छेका अनेक बानी हुन्छन् । एउटामा पर्ला कुरा खेलाउने बानी। य‌स‌लाई त्यति नखेदौं भन्छन् जानकारहरु । ती बानीमध्ये शीर्ष स्थानमा नै पर्ला यो बानी । एक्लाएक्लै बाँच्न विवश पारियो भने त यस‌को खेती औधी हलक्क बढेको देखिन्छ । साथ, सहयोग, मलजल र हातेमालो गरौं त गिदी भित्रका कुरा जति भैंसीको भुँडी खोल्दा जस्तो वातावरणको जोरजाम‌ भइहाल्छ । लिखित वा घोषित योजना निर्माण पूर्व अलिखित वा मानसिक मार्गचित्र नै कुरा खेलाउने बानीको प्रारम्भिक बीज रूप मानेका छन् विद्वान विदुषीका जमघटले र कतैकतै शास्त्रादि अनि मनोविज्ञान र शरीर विज्ञानका अध्येताहरूले । आफ्टर वर्किङ र विफोर वर्किङले पृथकता ल्याउला नभए कुरा खेलाउने बानी राम्रै त हो नि। भन्दिएपछि के लाग्यो

काम सिद्धिएपछि कुरा खेलाउनेलाई धेरैले अयोग्य पनि ठान्छन् । काम पूर्व कुरा खेलाउँदा योग्य पात्र अन्तर्गत नै परिँदो रहेछ । कतिखेर खेलाउने ? कसैलाई सोधियो भने प्रथम पटक त काम सिद्धिएपछि नै कुरा खेलाएको राम्रो रे । अण्डा पहिले कि चल्ला भन्ने प्रश्नमा उत्तर दिए जस्तो। अण्डा पहिला भनौं कस‌ले पाऱ्यो ? चल्ला अगाडि भनौं त्यो कहाँबाट निस्कियो ? अब हत्तु‌हैरान भई हाइहाइ आउन थालिहान्छ । यसमा गहन गरी सोच्दा पाकिस्तानी र नेपालीले कुनै बेला कुस्ती खेलेको किस्सा सुन्दा पेटको आन्द्रा नै टुट्ला जस्तो गरी हाँसो उठ्छ। दुवै कुस्ती खेल्न थाले अरे। पाकिस्तानीलाई मुनि पार्दा हारिन्छ भन्ने थाहा थियो नै। नेपालीलाई त थाहा नहुने कुरै भएन।

प्रथमपटक कुस्तीमा नेपाली मुनि पर्यो। उसले खुट्टो पाकिस्तानीको ढाडमाथि चढाएर जितेँजितेँ भनिदियो। ए ! मुनि पर्दा पो जितिने? भन्दै आफू तल परिदिएछ दोस्रोपटक । त्यसबेला पनि नेपालीले जितेँजितेँ भनिदिएछ। पाकिस्तानी छक्क पर्योट रे कुरो नबुझी। प्रथम पटक मुनि पर्दा त्यसपछि चाहिँ माथि पर्दा जितिन्छ। बिचरो पाकिस्तानी जिल्ल । अरुभन्दा मनमा कुरा खेलाउने बानी भएकाले ऊ बाठो भयो। विफोर वर्किङ कुरा खेलाउँदा हातमा लाभ नै हैन त ?

मान्छे बानीने र प्रकृ‌ति पानीले फरक हुन्छ भन्ने तर्क पहिला-पहिला सुन्दा हाँसो उठ्‌थ्यो म जिरेलाई । आनीबानीको परिधिमा दृष्टिकोण, रुचि, प्रवृत्ति फनफनी जाँतो घुमेझैं घुमेर मान्छेको कित्ताकाट गरिदिने सम्मको खुती यस‌मा विराज‌मान छ। यो भेउ बल्लबल्ल जीवनको उत्तरार्धमा पो बुभयो यो घ्यूखट्टेले । पूर्वार्थ चरणमा नै बोध गर्नेलाई वुझक्कड भनिन्छ क्यार ! तर उत्तरार्ध अर्थात पिण्डपानीको हक पाउने बेलामा बुझेर के नाप्नु छ र ? उही दिन कटनी उदस्स्तको झटनी बाहेक अरु थोक के होला त ? उही जैंसी (ज्योतिष)को छोरी राँड वैद्यको गलगाँड झैँ दुई चार अक्षर लेखेर पुङ न पुच्छरको हास्यव्यङ्ग्य जोड्‌दैमा मूल्यमान्यता दुब्लो होला त ?

शारीरिक बनोटले भन्दा पनि आनीबानीबाट मान्छेको वर्गीकरण गर्दा साइकोरलोजिष्टको अस्तित्व पनि जोगिएला । यो युगमा सर्वथा उठान हुने प्रश्न नै अस्तित्वको प्रश्न हो । आधुनिक र उत्तर‌आधु‌निक जोल्ठ्याउने हर्कत भएको बेला न‌ कुबेलाको वाणी भट्‌याएर आफैंलाई पुड्‌को बनाउनु छ र ? अब कुरो र कुलो जता लगे पनि जान्छ भनेपछि अनावश्यक कुतर्कको आरोप किन खेपौँ ? पानी हावा आदिले वनस्पति बालीनाली आदिकै संसार बदलिदिन्छ। सदावहार पतझर उपोष्ण, शीतोष्णको जन्म पानी र हावाका प्रभावले फरक ल्याउने सामर्थ्य पालेपछि हावा र पानीमाथि खेलाँची गर्नु आफैँ सिद्धिने कृत्य मात्र हो भन्ठान्यो यो मखुण्डीले फेरि ।

कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझैँ मान्छे पिच्छेको र देउतैपिच्छेका बानी र प्रभाव हुन्छ नै। त्यही बानीले कसैलाई रानी त कसैलाई र खैटी बनाउँछ कोही राजा त कोही अर्दली। कोही जन्तुमा गनिएलान् कोही जनतामा। कर्मेन्द्रियले नेतृत्व गरेका मनुष्यहरु खाइखुराकीमा रुमल्लिएलान्। ज्ञानेन्द्रियले टोकसेकाहरू परको प्रगति र नियालेर बाटो पहिल्याउलान्। अब जितेन्द्रियहरूको सङ्ख्या अधिक भएपछि बल्ल राहत मिल्ला समाज र राष्ट्रलाई। अब जितेन्द्रिय बनाइदिने कसले? सकेन, जानेन र पाएन भन्दैमा इमान्दार हुन्न है भन्ने सुकरातहरूले त हेम्लक पिउनु परेपछि हाम्रो के चल्ला र ! यस्तै कुरा मनमा दौडाइरहे प्राप्त हुने न हो। यक्ष-युधिष्ठिर संवादमा पनि सम्झौता भएकै थियो क्यारे। कि कसो ?

कुरा खेलाउने बानी परेपछि भौतिक विकासको आवश्यकता नै नपर्ने कस्तो मज्जा। झुप्रो वा छाप्रो दरबार भई खडा हुन्छ। स्थानीय वा राष्ट्रिय रेकर्ड समेत सुँघ्न नपाएकाहरू विश्वरेकर्डमा पुग्न एकै छिनको प्रयासमा सम्भव हुन्छ। क्षणभरमा उर्वशी, तिलोत्तमासँग प्रणयसूत्र गाँसिन्छ। देवादिदेव महादेवको अतिथि भई सुनको गिलासमा अमृत र दूध कफी पार्वतीको शिष्टाचारमा प्राप्त गर्ने सामर्थ्य बटुलिन्छ। क्षणभरमा झाँक बनेर मुडुलीलाई पत्राचार गर्न सकिन्छ। निमेश निमेशमा कालिदास र देवकोटा झैँ कविता लेखी उच्च कविको दर्जा प्राप्त गरेका गर्भानुभूति पस्किन सकिन्छ । आर्थिक परिसूचक गिरावट राष्ट्रले शक्ति सम्पन्न मुलुकको दर्जा भेट्याउँछ।। अमेरिका, चीन, जापान, यु.के, डेनमार्क, जर्मनी, फ्रान्सहरूलाई विपन्न बनाएर हाम्रा सामु हात पसार्न आएको परिदृश्य दृष्टिगोचर हुन भ्याउँछ। अरु जतिसुकै उच्च स्थानमा पुगुन् हामी कुरो खेलाउनमा कम उच्च छैनौँ। काम खेलाएर मात्रै हुने हो र ? कुरो खेलाएको आनन्द कति कति। कि कसो ?

कुरा खेलाउनु जतिको आनन्द संसारमा के होला? निरङ्कुश शासक पनि क्षणभरमा प्रजातन्त्रवादी वा राष्ट्रपिता बन्न सकिने सामर्थ्य यसले राख्दछ। तिरस्कृत आमा-बाबु लिन पुत्र-पुत्रीहरु प्लेनबाट हर्षित मुद्रामा अवतरण भएको कल्पनामा डुबुल्की मार्न पाइन्छ। माता-पिताका समीप सुखसुकाउँदै खडा भएको अवस्था प्राप्त गर्न सकिन्छ। जीवनभर जनता र राष्ट्रको ढाड सेक्ने पार्टी वा नेताहरु धुरुधुरु रुँदै आत्मालोचना गरेको त्यो दृश्यपान कम रोचक हुने छैन। पर पीडामा आनन्दित भएको महसुस गर्ने पात्रसमेत परोपकारी भनेर परिचित बनेको दृष्टान्त दिन सकिन्छ। मनमा कुरो खेलाउने व्यक्ति भीमसेनभन्दा बलवान, कृष्ण भन्दा चतुर, अर्जुन भन्दा उच्च धनुर्धारी भएको स्वाद पाउनु कति मजा छ। आलोचना नै आलोचना भोगेको पात्र मातृभूमिलाई घातैघात गरेको नेतानेतृ पनि स्वप्निल दुनियाँमा चुर्लुम्म हुने अवसर प्रदान गर्ने कुरो खेलाउने बानीकै परिणाम पक्कै होला। हैन त ?

अरु चिजवस्तु खेलाउँदा घाटा-नाफा दुवै हुन सक्दछ। फुटबल होस् वा चेस, क्यारम बोर्ड होस्, अर्थात् टेबुलटेनिस, पौडी होस् वा दौडी त्यहाँनेर हार जितको ट्याग लाग्न सक्छ। एकैछिनमा जितारु साँढे हरुवा गोरुमा बदलिन सक्छ। तर कुरो खेलाउने बानीले स्वयंलाई जहिले र जहाँ पनि जितारु वा विजयी बनाइरहन सक्दछ। फुर्सदी हौँ या बेफुर्सदी, प्रेषक हौँ वा प्रापक, पदासिन हौँ वा पदविहीन सर्वथा यसले स्वयंलाई आत्मास्वाभिमानी वा जीवित अर्थात् जिउँदा राख्न प्रेरित गर्ने हुँदा यो सुश्रुत, चरक, वैदाङ्ग आदि संहिता आधुनिक एम.वि.वि.एस, एम.डी का थेसिस वा रिसर्च बेसिसका कोर्स सबै भन्दा उच्चकोटीका मानेका छन् यहलोक र परलोक जुनसुकै लोकमा टुसुक्क बसेर कुरा खेलाइरहेको मौन व्यक्तिदेखि दर्शक पनि अलमल्ल परेर उभिएको वा बसेको देख्दा यसमा लुप्त सामर्थ पक्कै छ भनी अड्कल काट्न गाह्रो छैन। पृथ्वीमाथि रहेका कल्पित सात लोक स्वर्लोक, सत्यलोक, भुर्लोक, भुलोक, महलोक, जनलोक, तपलोक पृथ्वीमुनिका अतलदेखि रसातलसम्म कोटी चक्षु, सहस्र जिव्रा पराधौँ नशा भएका सर्वशक्तिमान ईश्वरको पनि शक्ति नपुग्ने डर पक्कै रहन्छ।

कुरा खेलाउने बानीलाई मात्र जिरा मसला मिसाएर स्वादिलो बनाई यहाँहरुलाई जवर्जस्त कोचाउन खोजिएको होइन। मान्छेका आआफ्ना रुचि र सोचाइ हुन्छन् । कसैलाई गाला सुमसुम्याई रहँदा आनन्द आउँछ। कोहीलाई कान कोट्याइरहँदा कसैलाई यताउति हेरिरहने, कसैको एक्लै बोल्ने बानी बसेको देख्छौं तर ती आङ्गिक चेष्टाको मूल जरो कुरा खेलाउने बानीकै बाह्य अभिव्यक्ति हुन्। भित्री चुरो के हो भने कुरो खेलाउने बानीकै उपज मानिन्छन् यी। कुरा खेलाउन थालेपछि उसलाई ऐकान्तिक स्थल, मितभाषी साथी, सदाबहार समर्थककोमा समय कटाउने ध्येय पैदा हुन्छ। प्रतिस्पर्धी र आलोचकबाट बच्न उसले धेरै वा प्रायजसो एकलव्य शैलीलाई अप्नाउँदै पूर्व धुन्धुकारी शैलीलाई घोडेलात चखाएको हुन्छ।

अन्य बानीको सीमा हुन्छ। गाला र गोडा कन्याइरहे कन्याएको ठाउँ टट्याउन थाल्छ। आँखा मिचिरहे पोल्न सुरु गर्दछ। कान कोट्याइरहँदा दुख्न थाल्छ। पेट सुमसुमाई रहे केही समयपछि दिक्क लाग्न आरम्भ हुन्छ। हजम गरिरहे अजीर्ण, अरुचिले सताउला। लेखिरहे हात, गर्दन दुख्न थालिहाल्छ। तर यो कुरा खेलाउने बानी त जति खेलायो उति यसको क्षेत्रफल, आयतन र घनत्व वृद्धि भई भीमकाम स्वरूप प्रकट गराई अन्दाज र अनुमानै गर्न असमर्थ परिवेश तयार गरेर आफ्नो पराक्रम देखाएरै छाड्छ। सानो छित्रबाट तय गरेको यसको यात्रा विशाल समुद्र, आपट्टे पहाड, डरलाग्दा खोंच र गल्छी पार गर्दै निरन्तर गतिवान हुन्छ। न हिंस्रक जन्तुको भय, न निशाचारहरूको त्रास। हात्ती, घोडा, जिराफ, बाघ, भालु, ओराङओटान, बदेल आदिसँग गज्जबले हितैषी झैं बात मार्दै हिँड्दाको काल्पनिक आनन्द अन्यत्र कहाँ भेट्नुहुन्छ त ? एक-दुई रात दिन, बिहान, मध्यान्ह, अपरान्ह, यसका खातिर खर्चनु भयो भने अति आनन्दको महसुस गर्नुहुनेछ। र मलाई यसको सर्जक मान्दै प्रात: स्मरणीय व्यक्तिमा दर्ज गर्नु पक्कै हुनेछ। प्रात: कालमा ‘कराग्रे वसते लक्ष्मी’ को उच्चारण पूर्व यसैलाई नमन गर्ने कि ?

बानीबाट शरीरमा वात, पित्त, कफ अनि सन्नीपातजन्य रोगले हाम्रो शरीरलाई चिमोट्दै, घुच्याउँदै, चिथोर्दै थिलथिलो पार्न सक्ला। नशामा दुखाई, कलेजोमा बोसो, किड्नीमा पत्थरी, आँखामा मोतीबिन्दु, रगतमा सुगर, थाइराइड, कोलेस्ट्रल, आदिको मात्र आवश्यकता भन्दा उच्च र न्युनावस्थाको रिजल्ट दिन सक्दछ। कब्जियत झण्डै दीर्घ रोग नै बन्ला ।अधिक मनोवेगले बेचैनी कुण्ठा घृणाको बिउ उमारीदिन सक्ला। शरीरका जोर्नी समातेर काक्राकुक्रुक पार्ने बात बलवान भई अन्न आउला। यो कुरा खेलाउने बानीबाट खासै घाटा भएको गुनासो कतैबाट सुनिएको छैन। उल्टै एक्लै हुँदा बाटो काट्ने आधार र धेरै जनाको बीचमा वेवास्था गर्न सक्ने खुबी पो आर्जन गरिदिन्छ यसले ।

एक मेरा मित्र थिए पाथिराम शर्मा । डोलो र बाटुलो पाथी जस्ता शरीर भएकाले पाथिराम भनिएको ठान्नुहोला । शरीरको बनोट र आकर्षसँग यो नामको कुनै एकपटक गाडीमा सिट छाडिदिएको जतिको साइनो समेत थिएन। लिँदा ठूलो पाथी र दिँदा सानो पाथी प्रयोग गर्ने हुँदा सबैले पाथिराम राखेका रहेछन्। खास उनको बोलाउने नाम चम्चाराम र नागरिकताको पातोमा वुइँगलकृष्ण थियो। पहाडको घरको बुइगलमा जन्मेका कारण वुइँगलकृष्ण नामधारी हुन पुगे। कति रात त मनमा कुरा खेलाउँदा खेलाउँदै छर्लङ्ग पार्थे अरे। एकदिन ससुरालीमा सासुले चार जनालाई पकाएको खाना खाइसकेर पनि उठेनछन्। त्यतिखेर सासूआमाले ज्वाई ! अहिले हात चुठ्नाेस् अर्को पकाएर बोलाउँला भन्दा पो झसङ्ग भएर उठेछन्। भान्सामा भएको सबै खाना एकै जनाले हजम पार्न सक्ने शक्ति कुरा खेलाउने व्यक्ति राज्यको उच्च तहमा राख्ने हो भने कत्रो उन्नति हुन्थ्यो होला ? पृथ्वीको भूत्वकमा मात्र नभई मध्यमण्डल र केन्द्रमण्डलमा पुगी घटना रहस्य लुप्त भएको रहस्योद्घाटन हुन्थ्यो होला। अचेल मेरो खेती पनि बीउ यसकै गोडगाड, जोडजाडमा अभ्यस्त छ। उन्नत मल‌ यसकै फेदमा हालेर पक्कै परेको छु।

व्यावहारिक जीवनमा भेटघाट, साथ, सहयोग, सबा, आधा, पौने, डेढ, अढाइ, तलमाथि हुनसक्छ। तर कुरो खेलाउने बानीमा अधोगति वा पश्चगमनको के कुरा ? यसले उद्धर्वगमन र उर्ध्वगामीको पहिचान आर्जन गरेको गऱ्यै हुन्छ। अभाव, कष्ट, पीडाका क्षणमा पनि विषयान्तर गरी अन्य विषय, विधा र अन्य लोकको गुलियो चखाउने ताकत बोकेको कुरा खेलाउने बानीलाई वेवास्थाको झटारो नहान्ने कि ? कुरो खसोखास।

०००
काठमाडाैं
२०८२/०१/०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x