साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मतत्त्वाय स्वाहाः

नबुझिने लेखको पारिश्रमिक बुझेको सही गिराएर हात खाली लिएर आ, पुरस्कार मण्डलीमा जा, एक हातले थाप् अर्को हातले त्यसमा थपेर टक्र्या, यावत् चक्रप्रणालीलाई बुझ् अनि मात्र साहित्य मात्र के प्रत्येक पल प्रत्येक मोड सफल, जता गए पनि सफलैसफल... ।

Nepal Telecom ad

युवराज मैनाली :

खुब मै हुँ भन्छस् आफूलाई के के ठान्दछन् लण्ठुको लण्ठु नै भइछस् । गरिखाने अरू सब काम छोडेर साहित्य, साहित्य भन्दै हिँड्दा पाइस् के ? मान सम्मान पाइस् कि दाम पाइस् । भएका दुईचार जना पनि दन्केर हिँड्या देख्या छु । मुहार तेरो पन्किएको पाएको छु । साहित्यमा खर्चिएको समय बरु राजनीतिको तेलाँ भुटेको भए मन्त्रीसम्म त पाकिसक्थ्यो होला । मन्त्री नभए पनि कुनै अरू अरू भएर वरिपरि झिँगा झैं मान्छे आफूमा झुम्याएर छातीमात्र होइन पेटै फुलाएर सबैको आँखालाई चुक्चुक्याएर लमक्क लमक्क हिँडिराख्थिस् होला । चाकरी साकरी मात्र गरिराख्या भए अनेक अवसरको टोकरीका टोकरी हात पारिराख्थिस् होला । लेखनमात्र गरिटोपलिस्, फेसन गर्न सकिनस्, फेसन गर्न त चाहियो नि मल्ली-जमानाअनुसार झेल्ली भएर के के गरेर मल्ली सोहर्न थालेको हल्लीखल्ली सुनेर पनि बहिरो भइस् । काण्ड पनि गर्न पाइने भागबण्डा पनि लाइने पारदर्शी पाराको दृश्य देखेर पनि साहित्यको रागले पिरोलेर अन्धो भइस् । बरु समयलाई चिनेर टुप्पी कसेर घोकेको भए हाकिम, बडाहाकिम त हुन्थिस् सरर मोटर चढेर कार्यालय हुइँकिन्थिस् बङ्गला सानदारको ठड्याउँविस्, भन्टाभुन्टी स्कुल, हाकिमनी साहेबको बजार त्यही कारमा सरर हिँड्दा सबैको मानको शानका कुरा तँलाई कसरी सम्झाऊँ ? बिग्रिस तँ बिग्रिस् बिग्रिस् ।

अपारको व्यापारमा आफूलाई लतारेर भए पनि आफूलाई सपारेको भए त्यै घरबूढीले कस्तो सेवा टहल गर्थी भुराभुरी घेरेर बस्दथे । तिनैका आवश्यकतालाई निचोरेर पुस्तक निकाल्ने भइस् कसले पढ्छ तेरो पुस्तक ? कसले किन्छ तेरो किताब, लौखा कसले तिरिदिन्छ तेरो सञ्चयकोष सापटी । पाठ्यक्रमको किताब त इन्टरनेटमा पढ्ने बेला तँलाई रातो दिन कसले लेख्न लगायो ? घुर्कीसुर्की मर्कीचर्की खेपेर खुब लेखिरहिस् । दुई वर्षमा दशवटा किताब आहा ! क्या बिक्यो ? यस्तो साहित्य साहित्य भनी मरिमेट्ने बाटो कसले देखायो ? लेखेको कसले छैन र मैले यो लेखेँ त्यो लेखेँ भनेर नाक फुलाउँछस् । यहाँ ऐले टोलैपिच्छे गुच्चमुच्च लेखकैलेखक छन् । नभएको त पाठक त हो, यत्ति पनि बुझ्न नसक्ने तँ लठ्ठक मात्र होइन हरिलठ्ठकै होस् ।

कविता कोर्दिए हुन्थ्यो नि, त्यो पनि फुर्सदको बेला, गीत लेख्दिया भए हुन्थ्यो, मुक्तक छर्दिया भए हुन्थ्यो, हाइकू भर्दिया भए हुन्थ्यो, गजल गाइदिया भए हुन्थ्यो । कहाँबाट के रे आलोचना समालोचना च्यापेर आफ्नो बुद्धि घोप्ट्याई रै’छस् । ‘च’ मय यो बेलाँ पनि प्रशंसै-प्रशंसाको ढल्काई छोडेर सोझो पारामा रातोलाई रातो कालोलाई कालो भन्दै हिंड्छस्, यो छैन त्यो पुग्दैन भनेर तिते करेला बन्दैछस् । फेरि ज्यादा त भौतिक रूपमा यहाँ नभएकाका बारेमा लेखेर भन्नेवाला छैनन् भन्ने बठ्याईं देखाउँछस् । बड़ो सेवी भएर देखाउन खोजेको होला । तेरी बठ्याइँको लेवी कहीं लाग्नेवाला छैन बुझिस् । लेख्ने भए नयाँ कुरा सोच्, दूध दिने गाई रोज्, बरू लात सहूँ दूधभात खाऊँ । सम्पादकको आश्वासन पर्खी आँखा थकाइमा पन्छाऊ । आफैलाई यसरी पन्छाइँदा पनि लेख्ने कीरो किन दिमागमा डेरो बसाएर राख्या राख्यै छौ ? न त्यसले तिमीलाई बहाल तिर्छ न त पेट नै भर्छ बरु उल्टो जोगीको घरमा सन्यासीको पाहुना पाल्यापाल्यै राख्या छ । योभन्दा मुर्खता अरु के हुन सक्छ ?

लेख्ने भूतले छोप्या छ कि गँजेडीको सूर चढ्या छ भए नभएको पैस बटुल, किताब छपाऊ त्यसमा पनि लोकार्पण विमोचन नगराई प्रचारको अचार बन्दै नबन्ने । फेरि विमोचनको लागि भएसम्म हसुरानन्द प्र.म. नभए बटुलानन्द मन्त्री नभई नहुने । यिनीहरू टि.भि.का विवी हुन् वा टि.भि. यिनीहरूका विवी हुन् यिनीहरूकै पछि मात्र लाग्ने । आखिर युग आधुनिक विद्युतीय सञ्चारको प्रयासले लोकमान खाने, फेरि चिया नास्ताको जोहो गर्ने पर्‍यो, हलभाडा कतैबाट जोगियो नै भने पनि । आखिर यति गरेर पनि किताब बोक्ने हत्केला गन्छस् कि औँला भाँच्छस् । वार्षिक श्राद्ध पर्खेर बसेको पितृको पिण्ड आश न हो यस्तै हालत त हो लेखकस्व खाने कुरा पनि । तैपनि कत्रो लेखक बन्छस्, कत्रो सम्मान बोक्छस्-
धाउ धाउ धाएरै ठाउँ बनाऊ
नधाई कहाँ सुख छ जाऊ
कमसेकम पुरस्कार पड्काऊ

नबुझिने लेखको पारिश्रमिक बुझेको सही गिराएर हात खाली लिएर आ, पुरस्कार मण्डलीमा जा, एक हातले थाप् अर्को हातले त्यसमा थपेर टक्र्या, यावत् चक्रप्रणालीलाई बुझ् अनि मात्र साहित्य मात्र के प्रत्येक पल प्रत्येक मोड सफल, जता गए पनि सफलैसफल यसमा अलमल भयो कि यत्र मात्र होइन परत्र पनि डाँवाडोलै डाँवाडोल । बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई जहाँ पनि पहिरो छ । आगे तेरो मर्जी  ।

०००
‘भ्रष्टाचारको भाङ’ (२०६५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x