भैरव अर्यालपख्नोस् !
यतिखेरै कपुरीकान्त कार्की कान्लामाथि बसेर माइत गएकी कर्किनीलाई पर्खंदो हो । खस्याङ्गखुसुङ्ग खोलाका खबटानन्द खतिवडा खाटमाथि पल्टेर ख्वाङ्ख्वाङ् खोक्दै डाक्टर खुकुरीराम खत्रीलाई पर्खंदो हो । गाना सुन्न गएकी गीतादेवी बेला नभैसकेकोले गजक्क परेर रेडियो भएनिर पर्खंदी हो ।

भैरव अर्याल :
“पख्नोस्, एउटा लेख दिउँला ।”
‘पस्नोस्’— उही- चिर-परिचित शब्द ! यही पत्यारलाग्दो आश्वासन !! उही भुलाएर फुलाउने बोक्रे बढत्व !!!
तपाईंको कन्सिरी तातेर आयो होला, होइन ? तर, डर नमान्नुहोस् कन्सिरी जतिसुकै ताते पनि तपाईंको जीउमा आगलागी भैहाल्नेछैन । भियतनामका बौद्धभिक्षुले झैं तपाईंले ज्यूँदै डढेर मर्नुपर्ने छैन । किनभने नेपालमा रक्तकाली प्रकट भैसकेकी छन् ।
जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईंले मसित माग्नुभएको, तर पटकैपिच्छे मैले पख्नोस्’ भन्दै आएको छु, पर्खाएको छु । सम्पादकजस्तो मान्छेले पनि जमीन्दारकहाँ ऋण माग्न गएको जैरे काहिँलो पटकैपिच्छे लुत्रे कान लगाएर फर्कनुपर्दा जंग चल्नु स्वाभाविकै हो । जंगिदा जंगिदा जंगबहादुरै बने पनि के लाग्छ र ! अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपार्इंले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईंले धैर्य गर्नु पर्छ । अझ भनुँ भने झुल्नुपर्छ, धाउनुपर्छ- पर्खनुपर्छ । सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन्, थाङ्ने, माग्नेहरू खस्रा शब्द, फरकचाहिँ यत्ति हो । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।
भनुँ भने, मान्छेले राम्ररी जानेका क्रिया नै पर्खनु र पर्खाउनु हो । यो के बकन्याई छाँट्न लाग्यो भनी तपाईं जिल्लिनु होला, तर पख्नोस्, तपाईं आफूमात्रै पर्खिरहेको नठान्नुहोस्, तपाईं अहिले जुन बेला मसित लेख पर्खिरहनुभएको छ, यसै बेला यत्तिखेरै कहाँ कहाँ, को को, के के पर्खिरहेका होलान् त ! लौ मनमीटर घुमाउँदै जानोस् ।
यसै बेला यतिखेरै कपुरीकान्त कार्की कान्लामाथि बसेर माइत गएकी कर्किनीलाई पर्खंदो हो । खस्याङ्गखुसुङ्ग खोलाका खबटानन्द खतिवडा खाटमाथि पल्टेर ख्वाङ्ख्वाङ् खोक्दै डाक्टर खुकुरीराम खत्रीलाई पर्खंदो हो । गाना सुन्न गएकी गीतादेवी बेला नभैसकेकोले गजक्क परेर रेडियो भएनिर पर्खंदी हो । घटसिंह घले घट्टमा घैयाको पीठो पिंघ्न गएको, पालो नपाएर उँधी उँघी पर्खंदो हो । जंगबहादुर डोलेसित लहस्सिएकी सुश्री नाकथोप्ली मैयाँ भर्याङमुनि ङिच्च मुख लगाएर उसैलाई पर्खंदी हो । चम्रेल बाबू चाक्सी किन्न पठाएको चोर चतुरे चार घण्टा भैसक्यो आएन भनी पर्खंदा हुन् । छत्रजंग छाता नहुनाले छत्रपाटीको छयापी-पसलमा पानी रहला र हिँडुला भनी पर्खंदा हुन् । जर साहेबकाँ जागीर माग्न गएको जगन्नाथ जैसीदेवलको छिँडीमा उनको बाटो कुरी पर्खंदो हो । झाडा लागेको झसबीरेकी बुहारी, झट्पटसाथ टट्टी गएकी, भित्र अर्को मानिस देखेर बाहिरैपट्टि पर्खंदी हो । गोरुसिङे ‘ञ’ जस्तो लट्ठक ञचाको नाति सिद्रा बेच्न देउपाटन गएको वनकालीमा बाँदर देखेर फरक्क फर्की गौशालाको बस पर्खंदो हो । ल भन्नोस्, नाम काम र ठामको पछि नलागेर जवाफ दिनोस् के यी सब सम्भाव्य पर्खाइ होइनन् ? नेपालको मात्र कुरा नलिऊँ भने मनमीटर अलि टाढा-टाढा नै पुर्याइदिनोस् ।
यस बेला यत्तिखेरै तानाबाना भिरेर ताइपेहमा जम्मा भएका तोर्मे सिपाहीहरू विपक्षीको तालुमा तारो हान्न पर्खंदा हुन् । थाइल्याण्ड पुगेका थाक खोलाका थाक्सेहरू अमेरिकी सैनिकको अड्डामा थुनिएर रिहाइको आदेश पर्खंदा हुन् । दलाई लामाका दलालहरू दानापुरमा दाना सिद्धिएर देवताको नाम वा दाम कमाउन देश फर्कने दाउ हेर्दै देवाधिदेवको दैलामा दण्डवत् गरी गरी पर्खंदा हुन् । धक्कुबाजका धुरन्धर धम्मरधूसहरू पेरिसको धोके क्लबमा साफसित रक्सी धोकेर बाटबाटैमा ओछ्यान लाउन आआफ्ना जोडीको मंजूरी पर्खंदा हुन् ।
ल अब कति भनुँ, नपुगेको भए फेरि मनमीटरलाई जता जता पर्छ, उतै उतै छोड्नोस्— यस बेला यतिखेरै पोल्याण्ड जान लागेका पाँडेजी पालम एयरपोर्टमा पासपोर्ट जँचाएर ‘पाइप’ पिउँदै प्लेन पर्खंदा हुन् । फर्सीजङ्ग सुब्बा फैजाबादको प्लेटफार्ममा फत्तेपुर जाने रेल पर्खंदा हुन् । बाटुली बराल्नी लाहुर गएको पोइ कहिले आइपुग्छ भनी पर्खंदी हो । भाटभटेनी बस्ने भुँडेकाजी भद्रकालीनिर आफ्नी रखौटी पर्खंदो हो । मास्कोका वैज्ञानिकहरू उडिरहेको स्पुतनिक मरुभूमिमा खस्ने भो भनी आँखा तानेर पर्खिरहेका होलान् ।
ओहो !! अब त मेरो एकोहोरो फतफताईं अति नै भयो । तपाईंलाई कति झर्को लाग्यो होला हकि ? तर साह्रै नै झर्को
लागेको भए त एक सर्को चुरोट तान्नोस् । अनि तपाईं नै भन्नोस् को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिकहरू जति घोत्लिइरहुन्, वैज्ञानिकहरू जति घोट्टिइरहुन् मलाई त लाग्छ- बाँच्नुको पर्यायनै पर्खनु हो । सो कुरा गरूँ भने पनि हेर्नोस्, दशौं महीना आमाको एक माने भुँडीमा गुडुल्किएर नपर्खी तपाईंले पृथ्वी दर्शन पाउनुभएन । दशौं दिन कुनामा गुटुमुटिएर नपर्खी तपाईंले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पर्खंदै आउनुभएको तपाईंले शायद किशोर भएपछि विद्यालयमा शिक्षकलाई कैयौं दिन पर्खनुभयो होला । बैंस लागेपछि बाटाको छेंडोमा, बारीको डीलमा, या बिग्रेको पाटीमा प्रतीक्षाका गीत गुन्गुनाई दिनको बाह्रौं घण्टा पर्खनुपर्यो होला— आफ्ना केटी साथीहरूको गुलियो भाकामा । यसरी पर्खाइबाट शुरू भएको तपाईं हाम्रो जिन्दगी यता र उता, यसलाई र उसलाई पर्खदा आज कताबाट यहाँ आइपुगेको छ, तपाईं पर्खने र म पर्खाउने हुनुपरिरहेको छ । मान्नोस्, मैले आज लेख दिएँ तर भोलिदेखि तपाईंको पत्रिका कहिले निस्कने हो भनी मैले पर्खनुपर्छ । एक महीने भनेको चार महीनामा निस्कने नेपाली पत्रिकाको बानी नजान्ने को छैन ? भनूँ, एक न एक दिन तपाईंको पत्रिका निस्किहाल्यो, तर, भोलिपल्टदेखि पुरस्कार लिन आज-आज भोलि भोलि भन्दाभन्दै कैयौं दिन तपाईंले भुलाउनुहुन्छ, पर्खाउनुहुन्छ ।
आफू जुम्राजस्तो जुम्सो छ, अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईं गिज्याउनुहोला । मुखिञ्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साह्रै जुम्सो भएको छु । बरु के तपाईं पत्याउनुहुन्छ ? यो जुम्स्याइँको पनि यस्तै जङ्गचल्दा पर्खाइहरू हुन् । साँच्चै भनूँ भने मेरो दुनियाँ झन् लम्स्याङ-लुम्सुङको छ । मेरो जमाना झन् जम्स्याङजुम्सुङको छ । मैले थाहा पाएदेखि म पर्खंदो छु । काममा गएकी आमालाई, चाकरीमा गएका बाबुलाई, पाठ दिने गुरुलाई, प्यार दिने आइमाईलाई, जागीर पाउने आश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई बिदा दिने निर्देशकलाई, पैसा दिने मालिकलाई, लुगा सिउने दमाईलाई ।
यी सबै पर्खाइको पछिल्तिर मेरा सयौं सपनाहरू पर्खिरहेछन्, इच्छा र आकांक्षाहरू पखिरहेछन् । म केही गरूँ, केही बनूँ, केही दिऊँ भन्छु, तर यो असीमित इष्टसद्धिको लागि यतै पर्खनुपर्छ, उत्तै पर्खनुपर्छ, यतै भुल्नुपर्छ, उतै धाउनुपर्छ, दोष कसलाई ?- जब जमाना नै यस्तो जुम्सो छ कि जर्मन एकीकरणको प्रश्न कुराकुरैमा पर्खिरहेछ । पैंसठ्ठी करोडको चीनलाई एउटा साधारण सदस्यताको लागि राष्ट्रसंघले पन्ध्रौं वर्षदेखि पर्खाइरहेछ । धेर कुरा किन ? शुरूदेखि सत्य, समता र शान्ति पर्खदै आएको मानिस आज झन् विषमताको विषले बौलाहिरहेछ, झन् अशान्त भइरहेछ । बुझ्नै सकिदैन- आणविक हतियारमा प्रतिबन्ध लगाउने कुरोमा किन सबैको लम्स्याङ्-लुम्सुङ्ग हो, भौतिक उन्नति यति तीव्र भैसक्यो तैपनि २ गज र २ गाँसको निम्ति जिन्दगीभर पर्खनुपर्ने । यो कस्तो जम्स्याङ्-जुम्सुङ हो ।
अब तपाईं मात्रै पर्खनुपर्यो भनेर किन पट्टाउनुहुन्छ जब तपाईंलाई नपर्खी सुखै छैन । त्यसैले मान्नोस्- पर्खाइदेखि डराउने पलायनवादी हो, पामर र पानीमरुवा हो । जुन आदर्श आज म तपाईंका अगाडि छाँट्दै छु, भोलि तपाईं मेरा अगाडि छाँट्दैहुनुहुन्छ । वास्तवमा तपाईं पनि पर्खन चाहनुहुन्न, म पनि न चाहन्न । हामी दुवै चाहन्छौं एउटा त्यस्तो दुनियाँको सिर्जना गरौ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् । झुल्याएर फुल्याउने, लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् । तर समस्या त उही नै हो जतिसुकै बलियोसँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन, पर्खनुपर्छ । त्यसैले त म लम्स्याङलुुम्सुङ गरेर भए पनि घरी यता धाउँछु, घरी उता धाउँछु घरी यता हुन्छु, घरी उता हुन्छु, जम्स्याङजुम्सुङ गरेर भए पनि पर्खिरहेछु र तपाईंलाई पनि भन्दैछु- पर्खनदेखि पट्टाउनु पलायनवादिता हो ।
मेरो पर्खाइ पुराण त अहिल्यै के सकिन्थ्यो र ! तर अब कति बेर पर्खाऊँ, तपाईंकी श्रीमती (सम्पादक्नी)-ज्यू घरमा तपाईंलाई पर्खिरहेकी होलिन् । आउँदै गर्नुहोला, धाउँदै गर्नुहोला, पख्नोस् कुनै न कुनै दिन म पनि एउटा लेख लेख्ने प्रयास गरूँला, तपाईंको पत्रिकामा छाप्न दिउँला ।
लौ त, नमस्ते !
०००
‘सिंहनाद’ कार्तिक २०, गोकर्ण
‘जयभुँडी’ २०२३ ?
Subscribe
Login
0 Comments
Oldest









































