साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरो भ्रष्टाचार !

सरकारले भ्रष्टाचारको जाँच गर्नुभन्दा भ्रष्टाचार गर्ने तरिका सिकाउने कामको प्रयोग सुरु गरोस् । वास्तवमा सारा होहल्ला त किन हुन्छ भने भ्रष्टाचार गर्दा कुनै अधिकारीले कहीँ कतै कुनै गल्ती गरिदिन्छ अनि बदनाम हुन्छ शासन !

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

अब भने भ्रष्टाचारमाथि आपत आइलाग्यो । मध्यप्रदेश सरकारले भ्रष्टाचारको जाँच समिति बनाएछ । समिति बन्नासाथ भ्रष्टाचार पनि बन्द हुनेछ । हामीकहाँ समिति बन्नासाथ कामको थालनी पनि भइहाल्छ । जस्तो खाद्य समिति बन्नासाथ कृषिउत्पादनमा वृद्धि हुन्छ, बाढी समिति बन्नसाथ नदीहरूमा बाढी आउन रोकिन्छ, साहित्य परिषद् बन्नासाथ धर्तीबाट कविताहरू उम्रिन थाल्छन्, सुगा र सारौंले गीत गाउन थाल्छन् अनि कुकुर पनि कवितामै भुक्छन् । कमिटी बनाउनासाथ हामीकहाँ काम भइहाल्छ । जस्तै यदि कसैले गएर मेरो घरमा आगो लाग्यो भन्यो भने तुरुन्तै समिति गठन हुन्छ र समिति बन्नासाथ आगो आफै निभिहाल्छ ।

हामीकहाँ भोका मान्छेका निम्ति समिति छ, नाङ्गाका निम्ति समिति छ, रोगका निम्ति समिति छ, किसानका निम्ति समिति छ, इमानदारका निम्ति समिति छ, बेइमानका निम्ति समिति छ । यदि चोरी गर्नुलाई राष्ट्रिय व्यवसाय मान्ने हो भने पनि सरकारले यस्तो एउटा विशेषज्ञ समिति बनाउने छ जसले चोरी कसरी गर्ने भन्ने विषयमा रायसुझाव दिनेछ ।

यसरी अब जाँच समिति पनि बन्यो । मानिसहरू भ्रष्टाचार बढ्यो भनेर निकै कराउँथे नि ! ए भलादमी हो ! अब त समिति बन्यो नि ! अब तिमीहरू के गर्न सक्छौ ? सरकारका कुरा आम मानिसले त बुझ्नै सक्दैनन् । सरकारसित भ्रष्टाचारको गुनासो गर्‍यौ भने सरकारले भ्रष्टाचार बन्द त गर्दैन, तर एउटा कमिटी बनाइदिन्छ । यदि खाद्यान्नको अभाव भएको सिकायत गर्‍यौ भने पनि अन्न उत्पादन त बढाउँदैन, तर अन्न समिति भने गठन गरिहाल्छ । सरकारी काम हुने नै यसै गरी हो ।

यसरी जुन भ्रष्टाचार समिति बनेको छ नि, त्यसमा सबै इमानदारहरू मात्र छन् र यो तिनैको समिति हो । ती निष्पक्ष व्यक्तिहरू हुन् जो कसैसित डराउँदैनन् । तीमध्ये कसैका त तीनचार लाखका भवन छन् र दुईचार लाखका सेयर छन् । पहिला यिनीहरू सरकारी नोकर (राष्ट्रसेवक) थिए र अवकाश पाउनासाथ भ्रष्टाचार समितिका पदाधिकारी बनेका हुन् । तपाईंसित यति पैसा कहाँबाट आयो भनेर सोध्ने अधिकार हामीलाई छैन, किनभने अब त यिनैले भ्रष्टाचारको जाँच गर्ने हुन् । त्यसैले हाम्रो सुझाव त के छ भने समितिमा तिनै मानिसहरूलाई ल्याइयोस् जो देशभरिमै सबैभन्दा बढी भ्रष्टाचारी मानिन्छन्, किनभने यिनैले भ्रष्टाचारका सबै हतकन्डाहरू जानेका हुन्छन् । बिचरो इमानदार मान्छेलाई के थाहा भ्रष्टाचारका दाउपेच कस्ता कस्ता हुन्छन् ! त्यसो त यो समिति त्यति नराम्रो पनि छैन ।

यस समितिको काम पनि निकै जोडदार छ । यसले त सिकायत मात्र गर्ने हो । दण्डसजाय गर्ने काम त सरकारी अधिकारीको हातमा पो हुन्छ ! अर्थात् यस समितिले एउटा पत्रमञ्जूषाको काम मात्र गर्ने हो । यसमा चिठी खसाल, सरकारी अधिकारीले त्यो खोल्नेछन्, पढ्नेछन् र च्यातेर फाल्नेछन् । जब पहिलेदेखि सरकारी अधिकारीहरूले नै दण्डसजाय गर्दै आएका छन् भने यो समिति नै पो किन ? किनभने भ्रष्टाचारका विरुद्ध आवाजहरू उठिरहेका छन् । अनि जब कुनै कुराको लागि आवाज चर्किन थाल्छ त्यसपछि सरकारले कमिटी बनाइहाल्छ । यसरी कमिटी बनाउनुको उद्देश्य नै आवाजको मुख थुन्नु हो । अनि भ्रष्टाचार ? त्यो त पहिलेजस्तै चलिरहोस् न ! बरु बढोस्, किनभने जब कमिटी बनिसकेको छ भने भ्रष्टाचारको जाँच हुँदैन भनेर बोल्ने को ? अब त कमिटीकै छत्रछायामा भ्रष्टाचार खुब मौलाओस् न !

अब त भ्रष्टाचारको बाटो पनि सोझो भएको छ । अधिकृत घुस खान्छन्, समितिमा सिकायत हुन्छ । अनि समितिले के पत्ता लगाउँछ भने यो अधिकृत कसको के हो ? अर्थात् कुन मन्त्री, विभागीय प्रमुख, नेता या कुन मित्रको नातामा पर्ने हो ! यदि त्यो यीमध्ये कुनैमा पर्‍यो भने त ऊ निर्दोष भएर छुट्छ । यदि कुनैमा पनि परेन भने त्यसले सजाय पाउँछ । उसो भए ती को हुन् त जो कसैका पनि कुनै पर्दैनन् ? ती हुन् गरिब मुखिया र पियन अर्थात् कार्यालय सहयोगी । अनि दण्ड पनि यिनैले पाउँछन् । बिहानै घरैमा रू. पाँच सय घुस लिएको अधिकारी नै बाह्र बजे आठ आना घुस खाने पियनको न्यायसम्पादन गर्छ र दण्ड दिन्छ । यसरी भ्रष्टाचार पुरै निर्मूल नै हुन्छ ।

मेरो सुझाव त के छ भने जब दशपन्ध्र्र मुखिया र पियनलाई भ्रष्टाचारको अभियोगमा दण्डित गरिन्छ अनि यसै समितिलाई ‘भ्रष्टाचार सल्लाहकार समिति’मा रूपान्तरित गरिनुपर्छ । किनभने यति दिनको अनुभवबाट त उनीहरूले भ्रष्टाचारका केही तरिकाहरू त सिकेकै हुन्छन् । त्यसैले यसै समितिले अधिकृतहरूलाई पनि त्यो तरिका सिकाउनुपर्ने छ । यसबाट धेरै फाइदा हुन्छ । जब अधिकृतहरूले यसरी चतुर्‍याइँपूर्वक भ्रष्टाचार गर्न सिक्ने छन् अनि त यो कुरो न कसैले थाहा पाउँछन् न विरोधमा आवाज उठाउँछन् । अनि सत्ताको बदनामी पनि हुँदैन । त्यसपछि भ्रष्टाचार भयो वा हुन्छ भनेर भन्न सक्ने को ? त्यसैले सरकारले भ्रष्टाचारको जाँच गर्नुभन्दा भ्रष्टाचार गर्ने तरिका सिकाउने कामको प्रयोग सुरु गरोस् । वास्तवमा सारा होहल्ला त किन हुन्छ भने भ्रष्टाचार गर्दा कुनै अधिकारीले कहीँ कतै कुनै गल्ती गरिदिन्छ अनि बदनाम हुन्छ शासन ! त्यसैले विशेषज्ञहरूको समितिले यस विषयमा प्रशिक्षण दिनुपर्छ र शासनलाई बदनामीबाट जोगाउनुपर्छ ।

हामी त त्यो अशुभ दिनको प्रतीक्षा मात्र गरिरहेका छौं जुन दिन कुनै अधिकृतलाई भ्रष्टाचारको अभियोगमा दण्डित गरिने छ !

०००
पहिलो पटक सन् १९५५, १२ जुनमा प्रकाशित यो व्यङ्ग्य ‘परसाईं रचनावली’ भाग ४ को
‘बेचारा भ्रष्टाचार’ बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x