साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिले हाँस्नलाई बौलाउनुपर्छ

खै कहाँ छ हाँस्ने ठाउँ ? अब त हाँस्नलाई बौलाउनुपर्छ । दुष्पप्रवृत्तिमाथि व्यङ्ग्य गर्‍यो, ऐया ! आत्था भनेर अलिकति पनि झस्किदैन, लासलाई घोचेजस्तो मात्रै हो । सब वाहियात, सब व्यर्थ ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

एउटा जौडे हास्यव्यङ्ग्य निबन्ध लेख्नुपर्ने भो । आउँदाे अङ्क हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्ने निधो गरेँ भनेर सम्पादकले बडो उत्साहित भएर फोन गर्नुभयो । मैले यसो विचार गरेँ, यो तिघ्रे पाखुरेहरूको मुलुकमा लेखेर के गर्नु ? शब्दका ग्याटिस, फित्कौली, मट्याङ्ग्रा, घुयँत्राले हानेर के हुन्छ ? विचार, सिद्धान्त, चरित्र, गरिमा, महिमा, इज्जत, आबरु, आदर्श सबै फुकालेर फालेर निर्वस्त्र भएर पैसाको दुव्र्यसनमा लागेका गतिछाडाहरूलाई त्यही गएर भालाले रोपे पनि कुनै पर्वाह गर्दैनन् । अरू सबैलाई ठेगान लाउनुपर्ने राजनीतिका नेता सांसद प्रशासकहरू नै आफै विसङ्गति र विकृतिको भासमा जाकिएका छन् । बित्याँ लेख्नको दुःख, कागज मसी र श्रमको नास । समयको अपव्यय । अहिले सम्पूर्ण बेथिति उम्लिएको बेलामा कुन विषयमा लेख्नु, कुन विषय छोड्नु ? जता फर्कियो उतै विसङ्गतिको रास । यति विघ्न फोहोर प्रदूषणको डङ्गुर पल्टाउँदा आफैलाई हैजा लाग्ला भन्ने त्रास !

यो बेलामा त्यस पत्रिकाले हास्यव्यङ्ग्य अङ्क होइन, राजनीति अक, नेता अङ्क, भ्रष्टाचार अङ्क, तस्करी, माफिया, विचौलिया अङ्क, महंगी गरिबी आदि आदि विशेषाङ्क निकाल्नुपर्थ्यो । आजका ज्याला ज्याद्रा चाम्रा मनमस्तिष्कमा ठेला उठिसकेका मान्छेलाई के भनेर हँसाउनु ? व्यङ्ग्यका कस्ता शब्दले आरो हान्नु ? उहिले पहिलेका हास्यव्यङ्ग्यका विषय सबै पुराना भए । यौनविकृतिका कुरा कोरलौं भने विकृतिले नै स्वीकृति पाइसकेको छ । नपत्याए सहरबजारका होटलहरूमा गएर बुझे हुन्छ । नेता, मन्त्री, प्रशासक, प्राविधिक कर्मचारीहरूका भ्रष्टाचारका कुरामा छुरा धसौ भने यो लुइरे लेखकले यस मुलुकमा भ्रष्टाचार भएको बल्ल मात्रै थाहा पाएछ । अहिलेसम्म कुन महानिद्रामा थियो ? भनेर भ्रष्टहरूले उल्टै लेखकलाई उपहासमा उडाउलान् । भन्सारको संसार, मालको कमाल, करको तर, यातायातको वाहियात जस्ता कुरा झुत्रा थोत्रा भए, थाङ्ना कति पखाल्नु । यस्ता कुराले कसका कानमा बतास लाग्छ र ?

नेपालका राजनीतिक खेलाडीहरूका कैरन बखानौ भने गैंडालाई कुत्कुती लायो भने छ महिनापछि भएपनि हाँस्छ अरे तर यिनलाई कुनै व्यङ्ग्यका शब्दले छुँदैन । राजनीति, नेता, मन्त्री जस्ता शब्द आफै बाउँटिएर पसाङ्गिएर बाङ्गिएका छन् । ती शब्द आफै असल व्यङ्ग्य भएका छन् । हास्य र उपहास्यका खाँट्टी सामग्री भएका छन् । देशको कुरो लेखौं भने आफैं शेष भइएला केही हुनेवाला छैन ।

हास्यव्यङ्ग्यका हस्यौली ठट्यौली उरन्ठ्यौली रत्यौली जस्ता शब्द र वाक्यमा खिया लागेर कामै नलाग्ने भएका छन् । अब पनि हास्यव्यङ्ग्य लेख्नु हो भने व्यङ्ग्यका यी पुराना शब्दलाई उद्याउनु, अर्जाप्नु, तिखार्नुपर्छ । शब्दहरूलाई डढाएर पगालेर फेरि बनाउनुपर्छ, नयाँ धार निकालेर कडा पाइन हाल्नुपर्छ । पुराना खिया लागेका हतियारले अहिलेको जिम्लिएको थाङ्निएको, बयैलिएको परिस्थितिलाई छास्न छिमल्न सक्तैन । यो आणविक युगमा भरुवा बन्दुक बोकेजस्तो शब्दका सिल्पट हतियारले काम चल्दैन। साँच्चै व्यङ्ग्य गर्ने हो भने झिलिक्क गर्दा पुर्लुक्कै पार्ने बज्र प्रहार गरे मात्र दुष्प्रवृत्तिलाई समाप्त पार्न सकिन्छ । त्यसो गर्न नसक्ने हो भने व्यङ्ग्यका नाउंमा विसङ्गति विकृतिलाई बित्थामा किन बिच्क्याउनु, थुथुड्याउनु, दगल्च्याउनु, कचल्ट्याउनु ?

हिजोआज साथीभाइले व्यङ्ग्य लेखेको देख्छु, पटक्कै चित्त बुझ्दैन आफैले लेखेको पनि ननविनाको तर्कारी जस्तो लाग्छ । हाम्रा व्यङ्ग्यहरू एड्स क्यान्सरका रोगीहरूलाई निको पार्न चानमरुवा, गुर्जो, गुद्दरगानु, निमपत्ती, तुलसीपत्ता, बोजो खुवाएर जाति पार्ने असफल प्रयास जस्तै मात्र भए । जहाँसम्म हास्यको करो छ, भोका बालक छोराछोरीलाई केही खान दिन नसकी अनिकालले उदेकी आमाले बालक छोराछोरीको घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गर्ने देश, बर्डफ्लुको महामारी कहिले आउला र सरकारी मान्छेले गाडेर नष्ट पारेका बोइलर कुखुरा झिकेर अघाउन्जी मासु खाउँला भनेर पर्खिबसेका जनताको देश, खाद्य संस्थानले अखाद्य प्रमाणित गरी मिल्काएको चामल लगेर अनिकाल टाने, चाडबाड मनाउने जनता भएको देशमा कस्ता उटाङ रचेर कबेर कसरी हाँस्नु हँसाउनु ? हुन त मलामी जाँदा पनि उरन्ठेउला कुरा गरेर अट्टहास गर्दै हास्नेसम्मका हास्यकार यहाँ छन् ।

श्रम पसिना गर्ने मान्छेहरू रोगी भोका नाङ्गा छन्, सज्जनहरू दुःखी छन्, इमानदारहरूलाई लाटा भनिन्छ, विद्वानहरू पछौटेमा गनिन्छन्, चिन्तकहरूलाई बौलाहाको दर्जामा गणना गरिन्छ, हरेक मान्छेलाई पैसाको तुलोमा राखेर मूल्याङ्कन गरिने यो बेलामा समयअनुसारकै हास्यव्यङ्ग्य रच्नुपर्दो हो ? राजनीतिको फेरो समातेर रजाइ गर्ने धूर्तहरूलाई बाठो चलाख मानिने, तिघ्रे पाखुरे ठुला गनिने, श्रमविनाको कमाइ गर्नेलाई बाठा मानिने, अपराधीहरू पगरी गुथ्ने, सम्मान पाउने, सिँढी चढ्ने यो वेलामा कुनै हास्यव्यङ्ग्य लेखविनै त्यतिकै ओभानै फुक्कै हाँसे पनि हुन्छ । देश दुनियाको छरस्टै वेथिति हेरेर हाँस्ने हो भने जहाँ जति वेला हाँसे पनि हुन्छ । यसका निम्ति नेपाली धरती आकाश सधैं खुल्ला छ ।

पछि नानी जन्मियो भने उनकै बोर्डिङ स्कुलमा भर्ना गरिदिने सर्तमा विवाहको जोडाजोडी मिलाइहिंड्ने प्रिन्सिपल, मेरो छोरी जन्मिए भने तिम्रै छोरालाई दिउँला, सम्धीसम्धी हौला भन्ने सर्तमा प्राइभेट कलेजमा विद्यार्थी तान्ने प्रिन्सिपल… आदि जस्ता देशका शिक्षासेवी साह महाजनहरूलाई सम्झिँदै हाँस्तै गरे भइगो त । किन चाहियो हास्यव्यङ्ग्य लेख ? अहिले हाँस्ने विषय मनग्ग छ – सरकारले तोकेको सार्वजनिक भाडादर नमान्ने यातायात व्यवसायी तोकेको शैक्षिक शुल्क नमान्ने जगरसेठ कैयाँहरू, मरेको लासलाई पनि भेन्टिलेटरमा राखेर बिलको मिटर बढाउने प्राइभेट निजी अस्पतालका द्रव्यपिशाचहरू, बजार अनियमितता हेर्न ‘अनु’ चाहि घरमै छोडेर ‘गमन’ मात्रै गर्ने सरकारी समाजका कमाउकान्त, चखे चतुरेहरू तस्करी गर्न पाउनै पर्छ भनेर नारा उराल्ने लाठेहरू, कख्यात भ्रष्टाचारी जेलबाट छुटेका वेला अविर र माला लिएर स्वागत गर्न पुग्ने राजनीतक दलका हुल र जमात, टेङ्करकबाट पेट्रोल चोर्न नपाउँदा हडताल गर्ने आयल निगमका डाइभर साहेबहरू, सरकारले ढकपल्ला जाँच गर्न खोज्दा त्यही ढकले कर्मचारीको गिदी निकाल्ने काठमाडौंका सब्जीव्यापारी, फटाहा तस्करलाई सबैपक्राउ गर्दा माथि मन्त्री, हाकिमको आदेशमा छोडिदिनुपर्ने अवस्था, रक्षकहरू भक्षक भएका कथा, हुने गरेको नाङ्गो उदाङ्गो स्थिति परिस्थितिलाई हेरेर सारा मान्छेले तिघ्रा ठटाएर पेट मिचेर लडिबडी गर्दै मज्जाले आफैँ हाँस्ता हुँदैन र ? किन चाहियो हास्यव्यङ्ग्य लेख ? पैसाको बलमा सांसदको टिकट किन्ने, त्यसपछि जनमत किन्ने, जागिरेहरूले बढ़वा र मलिलो अड्डा किन्ने, न्यायनिसाफ किन्ने यस देशमा यस्ता यावत् कुरा सम्झेर ल्याउनुहोस् आफैँ डल्लो परेर हाँस्नुहोस् । सबै कुरा लेख्न कसैले सक्छ ?

साहित्यिक पत्रिका प्रकाशन गर्ने सम्पादकहरूलाई पनि केको छाँटा चढ्को हो ? चुप लागेर बस्न सक्तैनन् ? एउटा न एउटा उटाङ रच्नुपर्छ ? खनखनी पैसा आउने काम छोडेर हास्यव्यङ्ग्य पत्रिमा छाप्न कसरी जाँगर पलाएको ? महंगी अभावले चरमचुली नाघिसकेको यो वेलामा केका पैसाले प्रकाशन गर्छन् ? चन्दा मागुँला भन्दाहुन् । हिजोआज हतियार नबोकी चन्दा माग्न जानेलाई पालेले नै घोक्याएर कम्पाउन्डबाहिर निकाल्दिन्छ । पैसा नपर्ने, मागेरै पाइने भनेको यिनै लेख रचना मात्रै हुन् । पत्रिका निस्केर विमोचन गरेको वेलामा त्यसको टीकाटिप्पणी गर्ने पुरेतलाई पनि पैसा दिनुपर्दैन । यीबाहेक यावत् कामकुरामा पैसा लाग्छ । यो ्र समयमा विनापैसा जोतिने उदेकका प्राणी भनेका रचनाकार र समीक्षक नै हुन् । चार लाइन मुक्तक सुनाउने रहरमा चारसय रुपियाँ भाडा तिरेर टाउको टेक्तै पुग्ने अचम्मको जात हो कवि लेखक समीक्षक । एउटा लेख पत्रिकामा छापियो भनेर सगरमाथा उक्लिएको आनन्द प्राप्त गर्ने अजिवका प्राणी हुन् रचनाकार । यी जम्मै कुरा सम्झिदै हाँस्दै गरे भैगो त किन चाहियो व्यङ्ग्यलेख ?

जहाँसम्म हास्य र व्यङ्ग्यको कुरो छ, यो बडो अप्ठ्यारो कटिलो कुरो हो । यो वेलामा कसले कसलाई किन व्यङ्ग्य गर्ने ? के भनेर हँसाउने ? लोकतन्त्रका निम्ति सुनौला सपना बोक्तै सहिद भएकाहरूले के पाए ? जिउँदा सहिदहरूको के हविगत छ ? कम्निस्ट भनाउँदाहरूको वर्गीय होइन जातीय युद्धले देश कसरी थिलथिलो, क्षतविक्षत भयो ? आज जनताको कस्तो टिठलाग्दो अवस्था छ ? नेताहरूको जीवनशैली कस्तो छ ? भन्ने हाम्रा भुक्तभोगी जनतालाई भलिभांति थाहै छ। हरेक ठाउँमा सिन्डिकेटले पिसोल्टिएका मान्छे, पार्टीले साँढे छोडेका कार्यकर्ताबाट भएका आतङ्क, वितण्डा र अराजकता, अपराधीहरूलाई पार्टी नेताहरूको छत्रछायाँ, पाल्तु गुन्डा डनहरूको बिगबिगी आदि कुरालाई मधेर, गुनेर कहाँनेर हाँस्नुपर्ने हो, कहाँनेर विद्रोह आक्रोश ओकल्नुपर्ने हो ? पाठक आफैँले गरे भैगो । लेखकले सक्तैन, सम्पूणर् कुरा कलमले उगेल्न सम्भव छैन । म फलाना पार्टीको हुँ, मेरा वालेको छ । ग्लानि पनि गलिसकेको छ । पश्चात्ताप पाकिसकेको नेता फलाना फलाना हुन् भन्न अब त लाज आफैँ सरमले निहुरिन थालेको छ । खै कहाँ छ हाँस्ने ठाउँ ? अब त हाँस्नलाई बौलाउनुपर्छ । दुष्पप्रवृत्तिमाथि व्यङ्ग्य गर्‍यो, ऐया ! आत्था भनेर अलिकति पनि झस्किदैन, लासलाई घोचेजस्तो मात्रै हो । सब वाहियात, सब व्यर्थ ।

साँच्चै हास्न मन लागेको छ भने नयाँ नेपालको ठट्टालाई सम्झिए हुन्छ । नेपाललाई सिङ्गापुर बनाउँछु स्मार्ट सिटी बनाउँछु भन्ने गँजडी गफ सुने हुन्छ । कति हाँस्ने तागत छ तपाईंको ? नेताहरूका बैठकका निणर्य वार्ता सकारात्मक, निष्कर्षको नजिक, भोलि दइगो लाग्छ । “अर्को वैठक कहिले बस्ने भन्ने छलफल गर्ने कहिले बैठक बोलाउने भन्ने सम्बन्धमा बैठक बसी यथाशीघ्र वैठक बोलाउने निणर्य गरियो” अरे ! च्याउजत्तिकै पघिता पार्टी भयाउजस्ता नेता. सत्तापक्ष प्रतिपक्ष, बारमासे फोस्रा वार्ता र छलफल, दिल्ली दरवार आदिका बारे अलिकति गुनाभागा जोडघटाउ गर्नुहोस् त्यहाँबाट निस्किने प्रत्येक उत्तरहरू हाँसोमै निस्किन्छन् । हाँस्नुहोस्, जिउ ज्यानले थाम्ने जति । एनजिओ, आइएनजिओका काम र कागज बजाएर हेर्नुहोस्, अनि कति सक्नुहुन्छ हाँस्नुहोस् । विकासका निम्ति निकास भएको सरकारी रकमको विनाश भएको देखेपछि दिल खोलेर नहाँस्ने को होला र ? यस्ता अनगिन्ती कुरा लेखेर सकिन्छ ? हरेक कामकुरा हेर्दै, सम्झिदै, मनन गर्दै, आफू आफैं हाँस्नुपर्छ । हाँस्ने सामग्री देश दुनियाँमा छरस्ट छ लेखेर कतै पार लाग्छ ?

हास्यसँग जोडिएर आउने व्यङ्ग्य चाहिँ सबैभन्दा पहिले यस्ता वेलामा पत्रिका प्रकाशन गर्ने सम्पादकलाई नै गर्नुपर्छ । दुनियाँ रातारात मालामाल भइरहेको यो वेलामा पत्रिका निकाल्ने के बुद्धि आएको ? सरकारी मलिला मुहानमा बसेर पनि भ्रष्टाचार गर्न नसक्ने नजान्ने कर्मचारी, मन्त्री भएको छ सात महिनामा दई चार पुस्तालाई पुग्ने सम्पत्ति सोहोर्न नसक्ने मन्त्री, सरकारी अस्पतालमै मात्र काम गरेर चित्त बुझाउने डाक्टर, प्राइभेट क्याम्पस बोर्डिङ खोल्न नसक्ने सरकारी क्याम्पसका प्राध्यापक, जनताका निम्ति वितरण गर्न आएको औषधी पसलमा लगेर नबेच्ने स्वास्थ्यको हाकिम, मेहनतको कमाइ मात्र खान्छु भनेर परिश्रमको पत्थर फुटाइरहने भुंदु व्यक्ति, चाकरी गर्न नजान्ने कर्मचारी, एक नम्बरी काम गर्ने व्यापारी, ऋण तिर्ने उद्योगी, रक्सी नखाने मान्छे आदि व्यङ्ग्यका असल पात्र हुन् । यिनैलाई व्यङ्ग्यको बन्चरो हान्नुपर्छ । म चाहिँ भ्याउदिनँ पनि सक्तिनँ पनि । तपाईंहरू आफै चलाउनुहोस् बन्चरो । सबै कुरा मैले लेखिदिनु पर्ने, तपाईंहरूचाहिँ पढ्ने मात्रै ? त्यस्तो कहाँ हुन्छ ? मेरो कागज मसी र श्रमको मूल्य कसले दिन्छ ?

०००
मुलाको मुरली (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x