छविलाल आचार्यताली बन्यो जिन्दगी
अर्कैको गुण दोष खेपिरहने, तारो बन्यो जिन्दगी । तारो भै अधिकाङ्सको नयनको, पारो बन्यो जिन्दगी ॥ कल्पेको घर भात्किएछ अहिले, गाह्रो भयो जिन्दगी । प्यारो बन्छु म भन्छु त्यो नयनको, छारो बन्यो जिन्दगी

छविलाल आचार्य :
ऐया देह दुखेछ आज किन हो ? भारी बन्यो जिन्दगी ।
काँडे झाँग फुलाई नित्य रहने, घारी बन्यो जिन्दगी ॥
हुन्थे जीवनमा अनन्त सपना, खाली बन्यो जिन्दगी ।
चोटै चोट सहेर पड्किरहने, ताली बन्यो जिन्दगी ॥१॥
हाँसो बाहिर रुन्छु भित्र मनमा, पासो भयो जिन्दगी ।
आफ्नै देश छ धर्मपुत्र सरि यो, नासो भयो जिन्दगी ॥
बुझ्दा बुझ्न सकिन्न खेल्छ मनमा, चासो भयो जिन्दगी ।
चोटै चोट खपी हाँसाइरहने, हाँसो भयो जिन्दगी ॥२॥
जस्ले खन्दछ खेत जोत्छ हलिया, भोको रह्यो जिन्दगी ।
उस्को त्यो पसिना चुहेछ सहजै, डोको बन्यो जिन्दगी ॥
कैयौँ फूल फुले बसन्त ऋतुमा, बाँझो बन्यो जिन्दगी ।
अर्काकै भरमा घुमेर रहने, जाँतो बन्यो जिन्दगी ॥३॥
पानी छ्याल्ल र ब्याल्ल भो मुलुकमा, सुख्खा बन्यो जिन्दगी ।
भो भो यो जलको उखानहरुको, टुक्का बन्यो जिन्दगी ॥
खोक्रो राष्ट्रियता भिरेर जनता, भज्दैछ रे जिन्दगी ।
घिन्ताङ् मादल त्यो बजाई अरुले, नाच्दैछ यो जिन्दगी ॥४॥
अर्कैको गुण दोष खेपिरहने, तारो बन्यो जिन्दगी ।
तारो भै अधिकाङ्सको नयनको, पारो बन्यो जिन्दगी ॥
कल्पेको घर भात्किएछ अहिले, गाह्रो भयो जिन्दगी ।
प्यारो बन्छु म भन्छु त्यो नयनको, छारो बन्यो जिन्दगी ॥५॥
मेरो रम्य हिमाल पग्लिन पुग्यो, पग्लिन्न त्यो जिन्दगी ।
झुट्टा दम्भ र निर्विवेक पनले, अग्लिन्न त्यो जिन्दगी ॥
छन् ती औसरवाद मुर्ख घटिया, जाली बन्यो जिन्दगी ।
चोटै चोट सहेर पड्किरहने, ताली बन्यो जिन्दगी ॥६॥
०००
पोखरा १६, कास्की
Subscribe
Login
0 Comments
Oldest











































