सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अर्यालको आलुदेखि तीनतिरेको तालुसम्म

आलु र तीनतिरे नेताको कुरा गरिरहँदा एउटा कुरा भने अचम्म लाग्छ । भैरव अर्यालको आलु कहिल्यै कुहिनेवाला छैन । तर त्यसदेखि बाहेकका आलु यदाकदा कुहिन्छन् र फ्यालिन्छन् पनि ।

Nepal Telecom ad

पिँडालु पण्डित :

अर्याल, अर्थात् नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर सम्राट भैरव अर्याल (१९९३ असोज ५- २०३३ असोज १९) । यस लेखको शीर्षक पढेपछि सतचालिस वर्ष अगाडि स्वेच्छाले प्राण त्याग गरेका भैरवको आलु कसरी चर्चाको विषय हुनसक्छ भन्ने जिज्ञासा तपाईं हामी जो कोहीमा पलाउन सक्छ जुन जिज्ञासा स्वाभाविक पनि हो । तर म अहिले भैरव अर्यालले प्राण त्याग गरेको सतचालिस वर्ष पुग्दै गरेको दुःखद अवसरमा प्राण त्याग गरेर पनि नेपाली हास्यव्यङ्ग्य साहित्यमा सधैँ जीवित रहन सफल भैरव अर्यालको गलबन्दीभित्रको ‘आलु’ निबन्धको विषय सन्दर्भ जोडेर सानो चर्चा गर्न खोजिरहेको छु ।

‘गलबन्दीभित्रको आलु !’

जसले भैरव अर्याललाई भौतिक रूपमा साक्षात्कार गर्न पाएनन्, तिनले यो सुनेपछि भैरव अर्याल गँडाहा रहेछन् भनेर अनुमान लगाउन सक्छन् । यस्तो अनुमानलाई अस्वाभाविक मानिनु हुन्न, स्वाभाविक नै मानिनुपर्छ । किनकि, जो कोहीको पनि गलगाँड हात, खुट्टा, निधार, पैताला, नाक, कान, घुँडा, पाखुरा कहीँ नभएर घाँटीमा झुन्डिएको हुन्छ । गलबन्दी नबान्दा त्यस्तो गलगाँड नरिवलका बोटमा नरिवल झुन्डिए जस्तै गलगाँडको आकार हेरी तुर्लुङ्ग झुन्डिएको वा टपक्क टाँसिएको हुन्छ । त्यसलाई छोप्ने भनेको न टोपीले हो, न सुरुवालले । त्यसलाई छोप्ने भनेको गलबन्दीले नै हो, चाहे त्यो पुरानो होस् चाहे नयाँ । त्यसैले गलबन्दीभित्रको आलु भन्नेबित्तिकै जो कोहीले पनि गलगाँड सम्झिनु अन्यथा कदापि होइन ।

म यहाँ अहिले भैरव अर्यालको गाँडका विषयमा पनि कुरा गर्न गइरहेको छैन । गाँडै नभएका अर्यालको गाँड छ भनेर अहिले मैले वकालत गर्न थालेँ भने मैले दायाँबायाँ नसोचीकन नजिकमा लगनखेल र टाढामा राँचीको यात्रा तय गरे हुन्छ । मैले यसमा चासो राखिन भने पनि मेरा आफन्तले त्यस्तो यात्रा आपैmँ पछि लागेर तय गराइदिन्छन् । यसमा कत्ति पनि शङ्का छैन । त्यसैले भैरवको गाँड थियो, भैरव गँडाहा थिए भनेर भन्न सक्ने हिम्मतवाला पनि म रहिनँ, जुन कुरो हुँदा पनि होइन ।

‘त्यसो नभए कुरो के त ?’

अब तपाईंका मनमा यस्तो जिज्ञासा उत्पन्न हुन्छ । म अब ढिला नगरी तपाईंको यही जिज्ञासाको उत्तर खोज्ने प्रयासमा अगाडिन्छु । भैरव अर्यालको आलुका विषयमा खोजखबरी गर्छु । निष्कर्षपछि तपाईंलाई लाग्नसक्छ – हो रहेछ ।

भैरव अर्यालका थुपै्र हास्यव्यङ्ग्य निबन्ध कृतिमध्ये काउकुती (२०१९), जय भुँडी (२०२२), गलबन्दी (२०२६), इतिश्री (२०२८) र दश औतार (२०३३) प्रमुख मानिन्छन् । यी हास्यव्यङ्ग्य निबन्ध कृतिभित्र समेटिएका विविध निबन्धमध्ये ‘आलु’ शीर्षकीय निबन्ध वि. सं. २०२६ मा पुस्तकाकार रूपमा प्रकाशनमा आएको ‘गलबन्दी’ नामक हास्यव्यङ्ग्य कृतिभित्र समेटिएको छ । यी निबन्ध कृतिमध्ये जय भुँडी बाहेकका अन्य चार कृति भूतका भिनाजुले काकतालीमा पारेर कौवा प्रकाशनको प्रकाशनमा ल्याएका थिए भने जय भुँडी छाप्ने अपुतालीचाहिँ रत्न पुस्तक भण्डारले पाएको थियो । पछिल्लो समय यी सबै हास्यव्यङ्ग्य कृतिलाई एउटैमा समेटेर भैरव पुरस्कार गुठीले २०६० माघमा ‘भैरव अर्यालका हास्यव्यङ्ग्यहरू’ नाम दिएर प्रकाशनमा ल्यायो । म अहिले यसै कृतिभित्र समेटिएको भैरव अर्यालको गलबन्दीभित्रको आलुका विषयमा केही कुरो कोट्ट्याउन खोजिरहेको छु । मैले सकेजति म कोट्ट्याउँछु, मैले कोट्ट्याउन नसकेको जति कोट्ट्याउने काम तपाईं स्वयं पनि गर्न सक्नुहुन्छ । किनकि, भैरव अर्यालको आक्षरिक आलु व्यापारमा कसैको एकाधिकार छैन, भैरव अर्यालले फलाए पनि यो सबैको साझा आलु हो ।

औँलो बाङ्गिएछ । कोट्ट्याउन खोजेको भैरवको आलु, कोट्टियो अरू कता कतातिर । अहिलेसम्म जे भयो भयो अब भने म दायाँबायाँ नलागीकन भैरव अर्यालकै गलबन्दीभित्रको आलु कोट्ट्याउनतिर लाग्छु । मेरो यो प्रतिबद्धता कुनै राजनीतिक दलको निर्वाचन घोषणापत्र जस्तो ढाँट्ने मनसायको हुने छैन । सत्यतामा आधारित हुने छ । भएनछ भने मलाई नछुने गरी हुने अरू त के भाटे कारबाहीको समेत भागिदार हुन तयाार छु म ।

आलु निबन्धको पाँचौँ अनुच्छेदमा अर्याल लेख्छन् –
“आलु कस्तो मिलनसार छ भने गान्टोमा स्वयं गान्टेमूलादेखि लिएर अग्लोमा लौकासम्म, चुच्चेमा स्वयं चुच्चेकरेलादेखि लिएर बुच्चेमा परबरसम्म, खाँदिएकोमा गुन्दु्रकदेखि बाँधिएकोमा कुरिलोसम्म, जेसँग जसरी मिलाइदिनुहोस् आलु ठ्याम्मै मिलिहाल्छ । त्यसैले धनी, गरिब, मानी, मगन्ते, विद्वान्, लम्फू, बुद्धिमान्, लट्ठू साराका भान्सामा आलुको समान सम्मान छ, समान प्रवेश र प्रतिष्ठा छ । यस अर्थमा आलुलाई समाजवादी, समन्वयवादी, साम्यवादी तपाईं जे नाम दिनुहोस्, वस्तुतः आलुको मूल सिद्धान्त आलुवाद नै हो । जतिसुकै समानताको आदर्श राखे पनि आफू आफूमा मेल नगर्नु आलुवादको विशेषता हो । आलु … ।”

आलुभित्र समेटिएको उल्लिखित गद्यांश पढ्दा हामी सरासर वर्तमान नेपालका राजनीतिक नेताहरूलाई सम्झन पुग्छौँ । हाम्रा नेताहरू पनि कम मिलनसार कहाँ छन् र ! झुपडीदेखि झाङसम्म, टपरीदेखि टाङसम्म, टाउकादेखि पुच्छरसम्म, शरणार्थीदेखि ग्रहणार्थीसम्म, विजुलीदेखि तेलसम्म, मार्सीदेखि मस्याङसम्म, खोलादेखि झोलासम्म जहाँ जसरी पुर्‍याउनुहोस्, त्यहाँ त्यसरी नै ठ्याक्कै मिलिहाल्छन् । गरिबका मतदेखि धनीका भोजसम्म, भान्साको भोजनदेखि रक्सीको लतसम्म, सत्कारको चियादेखि बलात्कारको बयानसम्म, खसीको टाउकादेखि माछाको पुच्छरसम्म, अरिँगालको गोलोदेखि तरकारीको पोलोसम्म, जडीबुटीका जङ्गलदेखि मान्छेका मङ्गलसम्म, दिनको उज्यालोदेखि रातको अँधेरोसम्म, फलमा कट्मिरो अम्बादेखि घाँसमा कलकलाउँदो कुटमिरो/पटमिरोसम्म जहाँ जसरी खोज्नुहोस्, यी त्यहीँ त्यसरी नै भेटिन्छन् । यिनको चरित्र नै समावेशी मात्र नभएर महासमावेशी छ ।

यति मात्र नभएर सदाचारका फाइलदेखि भ्रष्टाचारका भ्वाङसम्म, मतपत्रका ढ्वाङदेखि आडम्बरको स्वाङसम्म, मुर्गाको खोजीदेखि आफन्तको गोजीसम्म जहाँ खोजे पनि यी फटाफट भेटिन्छन् । यति मात्र नभएर जुन तरकारीमा सजाए पनि ठ्याक्क फिट हुने आलु जस्तै हाम्रा यी नेता पनि जुन पार्टीमा प्रवेश गर्‍यो त्यही पार्टीमा ठ्याक्कै मिलिहाल्छन् । जतिसुकै समानताको आदर्श राखे पनि आपूmआपूmमा मेल नगर्नु आलुवादको विशेषता हो भनेर भैरवले भट्ट्याएजस्तै हाम्रा नेतामा पनि आपूmआपूmमा नै मेल नगर्ने आलुवादी विशेषता चाङका चाङ पाइन्छ । यसरी हेर्दा भैरव अर्यालले उः बेला बखान गरेका आलु र हामीले अहिले बखान गरिरहेका नेतामा कुनै भिन्नता पाइन्न । त्यस अर्थमा अहिलेका हाम्रा नेतालाई पनि आलु नेता नै भन्दा कुनै अर्घेल्याइँ नहोला । कसैले औँलो नठड्याउला ।

कसैका तालुमा आलु फल्यो भने ढाक्रेबाट सोझै भन्सारअड्डाको हाकिम हुने कुरा भैरवले आफ्नाे आालु निबन्धको आलुमय बखानमा उल्लेख गरेका छन् । हाम्रा अहिलेका नेता पनि कसैका तालुमा आलु फलाउन कम खप्पिस छैनन् । चोटाको कोटामा होस् कि आफन्तको भोटामा होस् । यिनले चाहे भने स्वदेश विदेश जहाँ जतिखेर पनि आलु फलाइदिन सक्छन् । बखानकर्तादेखि कार्यकर्तासम्म सबैलाई यो औसर जुटाइदिन सक्छन् उनीहरू । यसरी हेर्दा पनि हाम्रा नेता आलु नेता नै हुन् । कसैले हाम्रा नेतालाई आलुभन्दा पनि कम आँक्छन् भने तिनका तालु सधैँका लागि आलु नफल्ने गरी बँझ्याइँदिए हुन्छ । परेको तिनै बेहोर्छन् ।

भैरवले आलुको बहुमुखी व्यक्तित्त्वका विषयमा उल्लेख गर्दै लेखेका छन् – “पोलिएर, उसिनिएर, पाकेर, साँधिएर, तारिएर, चप, पकौडी, कट्लेट आदि विभिन्न परिकारमा परिणत भएर जुन बेला जस्तो चाहियो उस्तै बन्न सक्ने आलुको व्यक्तित्त्व साँच्चै नेपाली बुद्धिजीवीको जस्तै बहुमुखी छ ।”

यो पढिरहँदा हामीलाई के लाग्छ भने हाम्रा नेता पनि आलुभन्दा कम त कहाँ छन् र ! राणातन्त्रदेखि प्रजातन्त्रसम्म, प्रजातन्त्रदेखि राजतन्त्रसम्म, राजतन्त्रदेखि प्रजातन्त्रसम्म, प्रजातन्त्रदेखि लोकतन्त्रसम्म, लोकतन्त्रदेखि गणतन्त्रसम्म सबै समयका हाम्रा नेताको व्यक्तित्त्व आलुजत्तिकै महान बन्न पुगेको छ, किनकि हाम्रा नेतामा पनि जुन बेला जहाँ जस्तो चाहियो उस्तै बन्न सक्ने क्षमता आलुमा भन्दा बढी छ । यस अर्थमा आलुभन्दा महान छन् हाम्रा नेता । उनीहरूमा यो व्यक्तित्व अहिले मात्र नभएर पहिल्यैदेखि विद्यमान छ । त्यसमा कुनै घुनपुतली लागेको छैन । बरु सुन जोखाइमा रौँ बराबर भए पनि तलमाथि होला तर आलु र हाम्रा नेताको व्यक्तित्वको जोखाइमा रौँ बराबर पनि फरक पाइन्न । यो व्यक्तिगत होइन, साझा बोलाइ हो ।

नेताको इज्जतमा दशकौँदेखि बढोत्तरी नभए पनि आलुको इज्जतमा अहिले पनि निरन्तर रूपमा बढोत्तरी भइरहेको छ । उहिले उहिले ‘आलु खाएर पेडाको धाक लगाउने !?’ भनेर हप्काइपरक उखान हाल्नेहरू अहिले गौरवका साथ पेडा खाएर आलुको धाक लगाउन थालेका छन् । नेताको बखान गर्दा नाक खुम्च्याउने नेपाली जनता आलुको बखान गर्दा उज्यालो मुख लगाउन थालेका छन् । त्यसरी नै समय नदिने घडीलाई आलुघडी भनेझैँ बोलेको वचन नपुर्‍याउने नेतालाई यतिखेर सबैले आलुनेता पनि भन्न थालेका छन् ।

‘कामभन्दा पनि पैसा देखेपछि हुरुक्क हुने अहिलेका नेतालाई जनताले यतिखेर तीनतिरे पनि भन्न थालेका छन् । कहिल्यै पछाडि फर्कन नजानेका यिनीहरू एकातिर आफू उभिन्छन् अनि बाँकी दायाँबायाँ र अगाडि तीनैतिर अवसर खोजेको खोज्यै गर्छन् । यस्तालाई दिएको यो ‘तीनतिरे’ उपाधि वास्तवमा हाँसो उठ्दो भएर पनि सुहाउँदो छ । यस किसिमको अनौठो उपाधि पाउँदा पनि दङ्ग छन् यिनीहरू । हुन पनि हो नि, अहिलेको परिवेशमा नेता मात्र भन्नुभन्दा बरु आलुनेता वा तीनतिरे भन्दा तिनको इज्जत कता हो कता माथि उकालिन्छ । पत्यार नलागे तपाईं आफैँ तिनको मूल्याङ्कन गरेर हेर्नुस् त कस्तो पाउनुहुन्छ ।

आलु र तीनतिरे नेताको कुरा गरिरहँदा एउटा कुरा भने अचम्म लाग्छ । भैरव अर्यालको आलु कहिल्यै कुहिनेवाला छैन । तर त्यसदेखि बाहेकका आलु यदाकदा कुहिन्छन् र फ्यालिन्छन् पनि । कुहिएको आलु फाल्नुको विकल्प हुन्न । छानी छानी फालिदिन्छौँ । तर नेता कुहिएपछि भने रोजी रोजी हामी तिनैलाई मात्र अँगालो हाल्छौँ र अँगालोमै सजाइरहन्छौँ । कहीँ कतै फाल्दैनौँ । नकुहिएकालाई वास्ता गर्दै गर्दैनौँ । तर जतिसुकै जे भए पनि एउटा कुरो चाहिँ सबैले याद गरौँ । त्यो के भने भैरव अर्यालको आलु निबन्ध पढेका हामी जो कोहीले जतिसुकै रिस उठे पनि यी तीनतिरेलाई ‘तिमीहरूले आलु खान परोस्’ भनेर चाहिँ झुक्किएर पनि कहिल्यै नभन्नुहोला । किनकि, यिनीहरू कहिल्यै आलु खान चाहँदैनन् र सदासर्वदा आफू जोगिएर अरूलाई मात्र आलु ख्वाउन उद्यत् हुन्छन् । यस बाहेक अर्को हिसाबले पनि यी तीनतिरेलाई आलु खुवाउनु हुन्न । कारण- यिनले आलु खाए भने नेपाली साहित्यमा आफ्नो अनुहार ऐनामा नहेरी तिनैलाई मात्र तारो बनाएर हास्यव्यङ्ग्य लेख्न पल्केका तपाईं हामी जस्ता स्वनामधन्य हास्यव्यङ्ग्यकारको हास्यव्यङ्ग्य लेख्ने हत्केलो नै बाँझिन्छ । सबैलाई हुनसम्मको चेतना भया ।
जय आलु, जय तीनतिरे ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित
कालो

कालो

पिँडालु पण्डित
धाकका धोक्रा

धाकका धोक्रा

पिँडालु पण्डित
सम्माननीय थुतुनो

सम्माननीय थुतुनो

पिँडालु पण्डित
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे