सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाँसो हराएको सूचना

झलक्क सम्झना आयो देशमा भर्खर नयाँ मन्त्रिमण्डल बनेको छ । नयाँ सोच-समझ र जाँगर भएका एक जना मन्त्री महोदयलाई भेटेर उनको अनुहारको हास्य रसपान किन नगर्ने ? म सरासरी युवा पुस्ताका नेता नायक-खलनायक जे भन्न पनि सुहाउने मन्त्री महोदयको निवासतिर लम्किएँ ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

गोल गोल पृथ्वीमा हिजोआज सबै कुरा गोलमटोल हुन थालेछ । इमान जमानजति बेइमानहरूको गोजीमा भित्रिएजस्तै मान्छेको खुसीयाली र हाँसो पनि ब्वाँसोले निलेर पचाइदिएछ । यसको सट्टा मान्छेहरू टोलसडकको धुवाँ, धुलो, ध्वाँसो पिएर आनन्द मान्ने भएछन् । काउसो दलेर आङको चिलाइ मार्ने पाठ घोकाइरहेका गुरुहरू अनि अग्निपूजन र ध्वंसभजनमा आनन्दविभोर चेलाहरूको जमातको चालामालाले त देशको सुन्दर भविष्य झन् चम्किँदै छ भने स्वप्निल क्षितिजचाहिँ झन्झन् उधारो र फराकिलो बन्दै आएको छ ।

प्रसङ्गवश एक दिन एक जना मित्रले मसँग हाँस्य रचना माग गरेका थिए । रचना रच्ने धुन जगाउँदै हाँसोका खोजीमा म पनि यताउति भौँतारिँदै थिए । मनमा विभिन्न थरी रसदार कल्पनाहरूले खेल-मैदानको सुविधा लिए पनि आँखामा भने हाँसोको छायाँ पर्न सकेको थिएन । नसक्नुको अर्थ खोज्न भौँतारिँदै हिँड्नु पनि मेरो काम थियो । त्यो म गर्दै थिए । कागजमा खिपेर हाँसोको शिर-पुच्छर कतैतिर नछुने अलिनो रचना तयार गरे पनि हुने थियो, फोटोग्राफीमा खिचेर हाँसोको बीभत्स रूपलाई चित्रपटमा उतार्न सके झन् बेस हुने थियो ।

अझ आँखा अगाडिको कुरूपलाई कुचीले रङ भर्दै, संवादै र मुसा मूर्त कलाको रूपमा क्यानभासमा उतार्न सके पनि हुने थियो । जहाँ जुन । विधामा भए पनि हासोलाई अभिव्यक्ति दिएर तत्सम्बन्धी सानै भए पनि एउटा तथाकथित रचना संसारका सृष्टि सम्पन्न गर्नुपर्ने थियो । यो काम फत्ते गर्न खोज्दै थिए । शिवजीको गलामा बेरिने सर्प म बबुराको गलामा पो बेरिन आइपुगेझैं भयो। सोचें प्रजातन्त्र भर्खर आएको छ । मौलिक स्वतन्त्रता र अमनचैनको यस छताछुल्ल वर्षे भेलमा सबभन्दा खुसी देशका बुद्धिजीवीहरू नै हुनुपर्छ । नभन्दै उनीहरूको घरदैलो चहार्दै मेरो यात्रा सुरु भयो । पक्कै पनि बुद्धिजीवीहरूको मुहारमा अट्टहासदेखि स्मितहास्य सञ्चयको हास्य परिकारको विविधता चाख्न पाइन्छ भन्ने आफ्नो विश्वास थियो । अनि त्यही हाँसोलाई अक्षरमा  उतारेर गजबको लेख तयार पार्ने अठोट पनि थियो । तर हुन गयो अर्कै थोक ।

मैले पहिले भेट्ने गरेका बुद्धिजीवी महानुभाव त अर्कै पो भैसकेछन् । दस-पन्ध्र वर्ष युरोपतिर बसेर दानापानी, दान-दक्षिणा बटुलेर आएका यी बुद्धिजीवीले नेपालमा कर्मचारीमा घुसखोरी बढेको, संसद्को सोच-समझमा उत्माद चढेको, पहाड पहिरो वनेर लडेको, कुनै कुरा पनि सद्दे नपाएको देखेछन् । उनको कौवा दृष्टिमा तराई, मधेस चुरेको बालुवा र गेगरमुनि गढेको, वनसम्पदा डढ्यौलोमा डढेको मात्रै देखा पर्न थालेछ। केही वर्ष विदेश बसेर नेपाल पसेका उनीजस्तै अरू योजनाकार तथा अर्थशास्त्रीहरूको मति स्वर्गीय प्राणीको शव सडेको तर आडम्बरका अहङ्कारको गन्धेकार भने गोवरमा उम्रिएकै हलक्कै बढेको बेलीविस्तार लगाएर मेरो शिरमाथि माथापच्चीसी खडा गरिदिए । त्यही बखेडाले वानरले रूख हल्लाएझै मेरो मिथिङ्गल हल्लिन थाल्यो । उनको विशालकाय शिरभित्र नेपालका बारे रिसउठ्दा कुराहरू मात्र भरिएका रहेछन् । अनि मुहारमा हास्यको सट्टा रौद्ररसको डरलाग्दो सर्कस देखेर मेरो सोझो मन आत्तिएर झनै थरथर काम्न थाल्यो । बुद्धिजीवी फाँटबाट हाँसो प्राप्त गरेर रचना तयार गर्ने काम बन्दैन भन्ने सोचेर मचाहिं अर्कै फाँटतिर लागे ।

एकछिनको एकनासे यात्रापछि याद आयो आजको खल्ला बजार अर्थतन्त्रको जुगमा सबभन्दा खुसी व्यापारीहरू हुनुपर्छ । म सरासर देशका शासक, नेता र अभिनेता सबैको नाक छेडेर नत्थी करने व्यापारीवृन्दका महानायक एक जना ठूला व्यापारीसमक्ष उपस्थित हुन पुगे । व्यापारी महोदयको मेहनती र साहसिक चेहरामा हास्यरसको प्रकाशपुञ्ज पूणर्को जून झलमल्ल फैलिएको हुनुपर्छ भन्न मेरो मनको भित्री अठोट थियो । तर अठोटले सपोट नपाएर तुरुन्तै पल्ट्याङबाजी खेलेर वाड खान पुग्यो । व्यापारी महोदयको चेहरा विपादको वर्षे वाढीमा डुबेर बीभत्स रसप्रवाह गर्दै रहेछ । तैपनि होसियारीपूर्वक उनीसमक्ष मैले मुस्कान उत्थानबारे नयाँ प्रस्ताव राखें । उनले भित्री मनको औडाहा पोख्न खोजेको भावमा भकभकाएको स्वर निकाले । उनको भनाइमा व्यापार व्यापार नभएर कालोबजारी र भ्याटको अपरम्पार चड्गुलमा फसिसक्यो । स्वदेशी कच्चा पदार्थको मुहान सुक्यो । उद्योगको ठाउँमा विदेशी नक्कली सामानको वैरोपैरो लाग्यो । मजदुर हडताल, चुङ्गीकर, आगो-पानीको खेलवहाडमाथि अनियन्त्रित अवैध आयातले सीधा-सोझा व्यापारीको अस्तित्व सिङ्गोसग्लो रहेन । गोली र घायल पक्षी वल्ल अस्तित्वरक्षा गरिरहेका बिचरा व्यापारीको लामो गुनासो सुनी नसक्दै म उनीबाट पनि आफ्नो तत्कालीन काम नबन्ने देखेर बाटो लागेँ ।

झलक्क सम्झना आयो देशमा भर्खर नयाँ मन्त्रिमण्डल बनेको छ । नयाँ सोच-समझ र जाँगर भएका एक जना मन्त्री महोदयलाई भेटेर उनको अनुहारको हास्य रसपान किन नगर्ने ? म सरासरी युवा पुस्ताका नेता नायक-खलनायक जे भन्न पनि सुहाउने मन्त्री महोदयको निवासतिर लम्किएँ । उहाँ यतिबेर विभिन्न तामझामसहित विशाल पत्रकार भेलामा अन्तरक्रिया गर्दै हुनुहुँदोरहेछ । लामो हात, छोटो हात, धारे हात, जुम्ला हातलगायतका बाह्य-क्रियाको अभ्यास गर्नुपर्ने बेलामा नया-नया मन्त्रीजीसँग के यो अन्तरक्रिया हो ? त्यही पनि लेखक मनाउदो । मेरो समसामयिक चित्त त्यतिसारो बुझेको थिएन । वाहयक्रियाको थालनी नै नगरी केको अन्तरक्रिया ? ओठ रसिला अनुहार भरिलो र महार चिल्लो हसिलो नभई देश विकास र राष्ट्रिय समस्यातिर लागेर पनि कहीँ हुन्छ ? मेरो मन मन्त्रीज्यूको पक्षमा आफै वकालत गर्दै पनि थियो।

जे भए पनि त्यहांबाट सोचेजस्तो उपलब्धि हासिल हुने पक्कै भएन । मन्त्रीको आँखामा चिप्रा कचेरा मरिएर भिँंगाहरूले दुःख दिइरहेका थिए । अनिँदो चेहरामा झुस्स दाह्री बढेका र नङ, दाँत र कपालसमेत सफाइविहीन देखेपछि उहाँको व्यस्तताप्रति चिन्ता बढेर आयो । विरोधी लवी, विपक्षी दल, सदन र कार्यकर्ताको कोल पेलाइबाट अमिलो निचोरिएझैं देखिने उहाँको चेहरा यतिबेर हास्यरसभन्दा रुवाइरसको मूल प्रवाहमा तिर्खाएझैं देखिन्थ्यो । म त्यहाँबाट पनि तत्काल पुरानो वाटो समातेर आफ्नै घरतिर फर्किएँ ।

“हाँसो खोज्दाखोज्दै त्रास र वित्यासको भड्खारोमा पर्लास् । फुर्ती नगर ।”

आफ्नै मनले आवाज दियो । मेरो गति स्वतः टक्क अडियो । आड ढक्क फुलेर जिरिङ्ग भयो । काँडा उम्रिएर रौँ ठाडा भए अलि बेरपछि समालिँदै मनमनै गुन्दै थिएँ- यो निरर्थक र निस्सार यात्रा गर्नुभन्दा कुनै सञ्चार माध्यमबाट सूचना प्रकाशित गरिदिऊँ बरु ‘हाँसो हराएको सूचना ।’

०००
प्रमुख अतिथि हुनुको आतङ्क (२०६४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा