रामशरण न्याैपानेआमा भन्छिन्
जाली झेली सबतिर फिँजिए लोकमा त्रास छायो सामन्तीले धन जमिन लुटी दास ज्यादा बनायो फाटो गर्छन् अबुझ पसु बनी व्यर्थमा भाइ भाइ आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥

रामशरण न्यौपाने :
माया मार्दै बहुत पर भए आँत मेरो जलाइ
माटो बिर्से जनक र जननी बिर्सिए दाइ भाइ
स्वर्गै जस्तो पर मुलुक भनी जान थाले रमाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥१
यो माटोमा अवतरित भए देवता बार बार
यै धर्ती हो अति पवित थलो पूर्वको सृष्टिद्वार
बस्थे आई सुर अधिक यहाँ कर्मको गीत गाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥२
मान्छे नै हो कुशल र बलियो तेजिलो चित्रकार
मान्छे नै हो चरम प्रगतिको सिर्जनाको जुहार
आफ्ना बिर्से सचमुच गुरु नै मान्न थाले पराई
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥३
मान्छेले नै हिम शिखर छुने देख्छ सोपान बाटो
मान्छेले नै श्रम र सिप दिए हुन्छ गुल्जार पाटो
बिर्से आफ्नो प्रखर बल बुता हुन्छ के पो भलाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥४
जाली झेली सबतिर फिँजिए लोकमा त्रास छायो
सामन्तीले धन जमिन लुटी दास ज्यादा बनायो
फाटो गर्छन् अबुझ पसु बनी व्यर्थमा भाइ भाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































