कृष्ण प्रधानहाइज्याक
राँगा, कुखुरा, अण्डा, फाक्सा, लाङ्सासित पनि मिलेकै छ, उसिनेर, पोलेर वा फ्राई खाँदा पनि भा’कै छ । बोरामा एउटा पनि आलु कुहेको छ भने त्यसले बोराका जम्मै आलु कुहाउँछ भन्ने तिमीहरूलाई थाहा छैन ?

कृष्ण प्रधान :
पात्रहरू – आलु, फर्सी, प्याज, इस्कुस, खोर्सानी, भेण्डी, लौका, बैगुन, झिङेनी, जाँड ।
लकडाउनमा असहायहरूलाठई वितरण गरिनुपर्ने सब्जीहरूलाई गन्तव्य ठाउँमा पुग्न नदिई बाटोबीचबाटै अन्यत्र पुर्याई एउटा विशाल घरमा थुपारिएको छ । केही दिन पछि ती सब्जीहरू बजारमा दोबर मूल्यमा विक्री हुनेछ । सब्जीहरूमाझ विद्रोह देखिन थाल्छ।
आलु – हन हामीलाई यसरी थुपिरेर के गर्न खोजेको हँ ?
फर्सी – (गम्भीर भावमा) किन के भयो ?
आलु – अन्त हामीलाई लकडाउनमा अबर परेकाहरूलाई सित्थैमा बाँड्न ल्याइएको होइन ? यहाँ पो ल्याएर खाँदैको छ ।
फर्सी – बिस्तारै लान्छन् होला नि ! के साह्रो हतार तँलाई । गएर कराहीमा जाँकिनु नै हो ।
प्याज – को’नि पो अरे ! के साह्रो स्याक्रिफाइस् हौ ।
इस्कुस – लकडाउनमा शहिद हुनु मन लागेको नि ।
आलु – तिमीहरूले बुझेकै छैन, फ्री बाँड्ने निहुँमा हामीलाई डबल दाममा बेच्न हाइज्याक गरेर यहाँ ल्याएको नि ।
फर्सी – हामी बेचिनुलाई नै ता उम्रेका हौँ ।
खोर्सानी – फ्री बाँड़े पनि के बेचे पनि के ।
आलु – फ्री दिन्छु भनेर ल्याइएका सब्जीहरूलाई फ्री दिनुपर्छ । यसरी फ्याँकेर राख्नु हुँदैन ।
भेण्डी – आलु दाज्यूको कुरामा म सहमत छु । राख्दा राख्दा हामी कुहुयौं भने ।
आलु – म आफै कुहिदिन्छु हेर न । यहाँबाट नलैजावोस् न मात्रै ।
भेण्डी – अम्मुई फुर्के हेर न । तिमी कुह्यौ भने के हुन्छ थाहा छ ?
इस्कुस – लगेर नालामा फ्याँकिदिन्छन् नि ।
आलु – म कुहैँ भने तिमीहरू पनि कुहुन्छौं नि ।
लौका – कसरी ?
आलु – बोरामा एउटा पनि आलु कुहेको छ भने त्यसले बोराका जम्मै आलु कुहाउँछ भन्ने तिमीहरूलाई थाहा छैन ?
फर्सी – (गम्भीर मुद्रामा) यसको धम्की नेताकोभन्दा कम्ति छैन । सब्जी भएर सब्जीजस्तो बस् । मान्छेको बेउरा नदेखा ।
आलु – (छक्क परेर) म मान्छे ? वाट मान्छे ! आई एम अ प्यूर भेजिटेबल । मान्छेको जात ता तिमीहरूले पो जनाउँदैछौ य़
खोर्सानी – (व्यङ्ग्य भाकामा) लसुन पऱ्यो कल्लाई कल्लाई प्याज पर्यो मलाई ।
फर्सी – (झोंक्किएर) अरु सबै कुरा भन् कि आलु तर मान्छेसित हामीलाई तुलना नगर् बुझिस् ?
बैगुन – अन्त मान्छेलेजस्तै हावाहावाको धम्की दिइबस्छस् ।
आलु – मान्छेले हामीलाई हाइज्याक गरेर यहाँ कँज्याएर राखेको छ । यसको विरोध नगर्नु तमाम् सब्जीजातिको नामर्दपना हो ।
झिङेनी – विरोध कसरी गर्नु ? झण्डा लिएर गई घेराव गर्नु मान्छेलाई ?
फर्सी – को’नि पो अरे ।
आलु – हामी सबै यहाँ कुहिदिनुपर्छ । अन्त बेचोस डबल दाममा ।
इस्कुस – हाम्रो काम उम्रिनु हो अनि बजारमा बेचिनु हो ।
आलु – एक बिराउने शाखा पिराउने किन गर्ने ?
बैगुन – अलिक बुझिएन ।
आलु – हामीलाई हाइज्याक गरेर यहाँ ल्याउने सोकल्ड नेता विरुद्ध मात्र मेरो घोर विरोध र प्रतिवाद । सबै मान्छेहरूसित होइन । आई लभ देम ।
भेण्डी – के साह्रो माया गरेको हौ अरु मान्छेलाई चैँ । मान्छे सबै मान्छे नै हुन् । आफ्नो दुनो सोझ्याउन पाए केही नहेर्ने ।
प्याज – (बोराबाट चियाउँदै) सब्जी जातिमा आलुजस्तो चलाक कतै कतै पनि देखिएन । जतिसुकै ठूलो कुरा गरे पनि यो मोरा मान्छेसित ट्याप्पै भा’को रहस्य तिमीहरूलाई थाहा छैन साथी हो ।
लौका – यसको चर्तिकला सब थाहा छ मलाई पनि ।
आलु – के म मान्छेहरूजस्तै घरि यो पार्टीमा घर त्यो पार्टीमा लागेँ ?
फर्सी – त्यति गर्नुमात्रै बाँकी छ । मान्छेसित तेरो कस्तो साँठगाँठ छ मलाई थाहा छैन ? मेरो मुख खोल्न नलगा है भन्दैछु नि ।
आलु – अरे खोल्नोस् न कति खोल्नुहुन्छ । ड्याम केयर ।
लौका – हामीलाई ता मान्छेले त्यति मनपराउँदैनन् ।
आलु – (फुर्के भएर) मलाई मन नपराउने कमै होलान् ।
फर्सी – ठिक भनिस् । जता मल्कु त्यतै ढल्कु भन्ने खालका नेताहरूजस्तै यो पनि त्यस्तै छ नि !
बैगुन – राइट ।
प्याज – यसको जात त्यसै आलु भा’को होइन नि । जे मा पनि यो एडजष्ट हुन्छ अऩ्त । राँगा, कुखुरा, अण्डा, फाक्सा, लाङ्सासित पनि मिलेकै छ, उसिनेर, पोलेर वा फ्राई खाँदा पनि भा’कै छ । (केही युवकहरू तीनचारवटा सिण्टेक्स भर्ती भाती जाँड़ ल्याएर राखिवरी प्रस्थान) ।
फर्सी – (सिण्टेक्स हेर्दै) सिण्टेक्सभित्र को छ ?
जाँड – (भित्रबाट) सिण्टेकसको ढकनी खोलेर हेर न । सरकारको सिन्दूर पहिरिएर आएको हामी तर यहाँका मान्छेहरूको हात परेर हामी गति न पति भएका छौं ।
फर्सी – (सण्टेक्सको ढकनी खोलेर) आमामामा…यहाँ जाँड पो छ ता । सबै लट्ठ मातेको छ । हेर ह्वास्सै गन्हाको । हेर…हेर…चामलले जात फ्याँकेको हेर ।
जाँड – हामीले चामलको जात फ्याँकेको छैनौँ क्या ! सरकारले फ्री बाँड्नुलाई पठाको । यहाँका मान्छेहरूजस्तो बोर्ड बोर्डमा लागेर आफ्नो जाति बिर्सिने अन्न होइनौँ हामी ।
झिङेनी – (जिज्ञासु भावमा) हँ तिमारलाई पनि किडन्याप गरेका यी मान्छेहरूले ?
जाँड – किडन्याप गरेन हामीहरूलाई किन पाप बोल्नु ? एम आर शपबाट सिधै घरमा लगेर ठूलो भाँड़ामा खनायो । त्यसपछि चिसो पानी खन्याएर मज्जाले माडीमाडी बुलुबुलु गरिदियो ।
गोलभिँडा – (तर्सिँदै) हँ ! बुलुबुलु पनि ! सरकारी भनेर होला त्यस्तो स्याहार ?
जाँड – खौ को’नि स्याहार हो’कि के हो नि !
झिङेनी – अनि….
जाँड – त्यसपछि फेरि चिसो पानी हालेर चूल्हामाथि राखिदियो ।
फर्सी – कोई नबोल एकक्षण । उसलाई नै भन्नदेऊ । भन भन त्यसपछि के के गर्यो तिमीहरूलाई ।
जाँड – त्यसपछि निकालेर हाम्रो पसिना तार्यो अनि सेतो पाउडर छरेर हातले भक्कु माडिदियो । अनि एउटा लुगाले छोपेर दश दिनसम्म कुनामा राख्यो । मगमग घरै गन्हाउने मात्र होइन हामी आफै रनक्क भयौ ।
इस्कुस – र ता ब्यूटी पार्लरबाट भर्खर फ्लेसियल गरेर आ’कोजस्तो देख्दोरहेछ ।
जाँड – के के ब्यूटी पार्लर ? गोर्खा जाँड पार्लरबाट आ’ को हामी अलुवा चामलहरू । तिमीहरूजस्तो हाइज्याक भएर चैँ आको होइन है… हामी प्यूर सरकारी (आलु उफ्रेर सिण्टेक्सभित्र पस्छ । जाँडमा चोबलिन्छ । एकक्षणपछि टन्न मातेर निस्कन्छ) ।
आलु – (धरफरिँदै) तिमीहरू सरकारी हामी तरकारी । यी मान्छेहरूले हाइज्याक गरेका कुरा मलाई ठ्याम्मै पचेको छैन । (नेपथ्यतिर हेर्दै) एई हाइज्याकरहरू हो ! निकाल् हामीलाई यहाँबाट अनि फ्री बाँड्ने ठाउँमा लैजा । (धरफरिँदै) अब हामी सब्जी र जाँड मिली संयुक्त पार्टी खोलेर यी हाइज्याकरहरू विरुद्ध बृहत् आन्दोलन गर्नुपर्छ । (जिज्ञासु भावमा) हामीलाई पनि फ्री बाँड्छ ? आफैले धित मरुञ्जेल धोकेर रमको तिर्सना मेट्छ ।
प्याज – अनि नरसिङ् ट्वाकको हाहाकारमा डबल-टेबल दाममा बेचेर…
इस्कुस – (झोक्किँदै) के को बेच्छ… हामीले नै यी सिण्टेकसभरिका जाँड खाएर सकिदिनुपर्छ । (सबै हो मा हो मिलाउँछन् । सिण्टेकसभित्रबाट सकी नसकी तरुणी जाँड निस्कन्छे ।)
तरुणी जाँड – (सिण्टेक्सको डिलमा बसेर) तिमीहरू सबै मिलेर हामीलाई लुट । (गीत गाउँदै नाच्छे)
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु
आँसु बेचिदिन्छु, रगत बेचिदिन्छु…
भेण्डी – (रुँदै) हामीलाई केई चाहिँदैन । त्यसो नभन डियर । तिमी कति ब्यूटी ।
तरुणी जाँड – (मुस्कुराउँदै) तपाईं ता झन् कति क्यूट, टल, जीर फिगर भेण्डी दि ।
भेण्डी – ठैट कहाँ हौ ! लकडाउनले मोटाएर हेरन ।
लौका – (सिण्टेकसतिर दगुर्दै) आक्रमण….
फर्सी – (कड्केर) के को आक्रमण… यिनीहरू पनि हामीजस्तै भुक्तभोगी हुन् । रसपान भन रसपान भन ।
तरुणी जाँड – (गीत गाउँदै नाच्छे) म आँसु बेचिदिन्छु, रगत बेचिदिन्छु
भेण्डी – त्यसो होइन म रिस पिलाइदिन्छु भन ।
(भाती जाडमा डुबाइदिन्छु भनन…(भए भरका सब्जीहरू सिण्टेक्सभित्र पसेर जाँडमा चोबलिन्छन् । सबै रनक्क भएर निस्कन्छन्)
पर्दा खस्छ ।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest








































