अशोककुमार शिवाक्षुद्रताको पराकाष्टा
बालीबिरुवामा मलखाँद लगाउँदा उचित प्रकारले कम्पोष्टिङ गरिएको मल प्रयोग गरिन्छ ताकी बालीबिरुवा पनि सप्रियोस र सफासुग्घर पनि होस् ।

अशोककुमार शिवा :
कुनै पनि कुराको निश्चित सिमा हुन्छ । त्यो कुराले ढाक्ने दायराभित्र रहेर नै चर्चा परिचर्चा, टिकाटिप्पणी एवं व्याख्या विश्लेषण गर्ने गर्दा राम्रो हुन्छ । यसरी चर्चा परिचर्चा, टिकाटिप्पणी एवम् व्याख्या विश्लेषण गर्ने पनि निश्चित समयावधि हुने गर्दछ । त्यो निश्चित समयावधि भित्र गरिएको गतिविधिले मात्रै मूर्त र सार्थक रुप लिन सक्दछ । गलत तरिकाले जथाभावी जहिलेसुकै एउटै कुरालाई लिएर अनेकन गतिविधि गर्नु भनेको क्षुद्रताको पराकाष्ठा हो भन्न अप्ठारो मान्नु पर्ने हुँदैन ।
एउटा व्यवस्थापकले आफ्नो व्यवस्थापन कसरी गर्ने भन्ने बारे योजना बनाएर राख्नु र सोही योजना मुताविक गतिविधिलाई फलदायी बनाउन प्रयत्न गर्नु राम्रो कुरा हो । तर जब व्यवस्थापक नै बेलगाम घोडा झैं बन्न थाल्दछन् तब त्यो संस्था, व्यवसाय वा कुनै पनि समुह होस् त्यो पनि बेलगाम नै बन्दछ । जब घोडा बेलगाम हुन्छ उसले सिधा बाटो नहिँडेर जथाभावी दौडिन थाल्दछ । जब बाटो बिराइन्छ तब हरेक कुरा असरल्ल बन्दछ । यसरी असरल्ल बनेको परिस्थितिलाई समेट्ने काम पनि एक कुसल व्यवस्थापकको नै हुन आउँछ ।
समस्यालाई सुल्झाउने भन्दा पनि उल्झाउने हिसावले गरिने गतिविधिहरू कसैको हितमा हुँदैन । एउटालाई उचाल्ने अर्कोलाई पछार्ने, एउटालाई काखि च्याप्ने अर्कोलाई वास्ता नगर्ने गर्दा उत्पादन सन्तुलन बन्न नसकेर यात गलत वस्तु उत्पादन हुन्छ या त लक्ष्य अनुरूप उत्पादन हुँदैन या त अधिक उत्पादन भएर उत्पादित वस्तु वा सेवाको व्यवस्थापन गर्न गाह्रो पर्दछ । यस्तो अवस्था आउनु भनेको व्यवस्थापकको कमजोरी नै हो भन्न सकिन्छ ।
सस्थासँग जोडिएको जो कोही पनि उक्त संस्थाबाट स्वेच्छाले वा व्यवस्थापकको कटु व्यवहारको कारणले अलग हुन चाह्यो वा अलग रह्यो भने त्यो उसको आफ्नो अधिकारको कुरा हो । यसो भन्दै गर्दा पनि यदि संस्थामा उस्को आवश्यकता अपरिहार्य छ भने त्यस अवस्थामा संस्थाका आधिकारिक व्यक्तिले एकल वा सामुहिक रूपमा पहल गर्नुपर्छ । अनाधिकृत व्यक्तिहरूलाई लगाएर अनाधिकृत कुरा गर्नु गराउनु भनेको समस्या सुल्झाउने भन्दा पनि अझ बढी उल्झाउने हुन सक्छ भन्ने कुरा व्यवस्थापकले बुझ्नुपर्छ ।
आवेशमा आएर गरिने कामहरूको नतिजा कहिले पनि राम्रो निस्कँदैन । आवेशमा गरिने रोदन भनेको अपरिपक्व बालापन मात्रै ठहर्दछ । बालहठ खाली बालकहरूका लागि मात्रै सुहाउने कुरा हो । यस्तो व्यवहार आफुलाई कुसल व्यवस्थापक हो भन्न रुचाउनेका लागि राम्रो किमार्थ हुन सक्दैन । हौसिनेको लागी दिइने थोरै हौसला पनि अपार हुन सक्छ र ऊ फोहोरमा सप्रेको मुला जस्तो हुन सक्दछ । वरिपरी फोहोर नहेरी सप्रेको मुला मात्रै हेरेर लोभिनेको लागी त ठिकै होला तर वरिपरिका फोहोर जसले देख्छ उसले मुलामा लोभ गर्नु भन्दा फोहोरको कारण घृणा चाहि बढी गर्दछ । त्यसैले त बालीबिरुवामा मलखाँद लगाउँदा उचित प्रकारले कम्पोष्टिङ गरिएको मल प्रयोग गरिन्छ ताकी बालीबिरुवा पनि सप्रियोस र सफासुग्घर पनि होस् ।
मानिसको स्वभाव पनि हरेक कुरामा सन्तुलित हुन जरुरी छ । असन्तुलित स्वभाव र व्यवहार त असन्तुलित मानसिकताको उपज हो । यस्तै मानसिकता भएकोहरूको क्षुद्र स्वभावको अधिकताले नै क्षुद्रताको पराकाष्ठा निम्त्याउने गर्दछ ।
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































