साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यक्तित्व परिचय : श्री केशवराज पिँडाली

कथाभित्र उपकथा जोड्नु र रोचकता दिनु, सस्याना कुराबाट पनि पाठकको मुटु छुनु र त्यस्तै हिसाबले गहिरोसँग छेडछाड गर्न सक्नु, कुनै पनि घटनालाई सुगठित र कलात्मक रूपकासाथ प्रयोग गर्नु अनि शब्द-शब्द तौलेर प्रयोग गर्नु पिँडालीको विशेषता हो ।

Nepal Telecom ad

अच्युतरमण अधिकारी :

१. भूमिकाः-
नेपाली भाषा साहित्यमा निकै गौरव लाग्दा प्रतिभाहरू देखा परे र नेपाली भाषा साहित्यको सेवा गरी कतिले यस संसारलाई छाडेर गए, कतिको हामी आज पनि दर्शन पाउँदैछौँ । आर्थिक र अरु पनि कतिपय कारणले हाम्रो देश पछि परेको छ र भनेजस्तो गरी हामी केही गर्न सक्तैनौँ र पाउँदैनौँ पनि तर हाम्रो भाषा साहित्यको साधना गर्ने प्रतिभाहरू त कसैका अगाडि कमजोर होलान् जस्तो लाग्दैन । लेखनमा सतर्कता धेरै पछि मात्र शुरु भयो तर नेपाली साहित्य चाडै नै यति विकसित भयो । यसले संसारका प्रसिद्ध साहित्यसँग पनि हाराहारीमा उभिएर मुख देखाउने अवसर कति विधामा प्राप्त गर्‍यो । यो काम साधकहरूबाट भयो । यस साहित्यमा प्रशस्त साधकहरू भए, कति गइसके तर कति अझै पनि छँदैछन् । यिनले जे जति दिइरहेका छन् ती अमूल्य कृतिका आधारमा विश्वसभ्यताका सामु नेपाली सभ्यता परिचित हुँदैछ ।

अझ हास्यव्यङ्ग्यकार त नेपाली भाषा साहित्यमा साह्रै थोरै छन् । सामयिक चरित्रलाई, परिस्थितिलाई र सामाजिक विकृतिलाई लिएर विस्तृत रूपमा हास्य व्यङ्ग्य लेख्ने आधुनिक हास्यव्यङ्ग्यकारका रूपमा पहिलो व्यक्ति भएर कृष्णप्रसाद चापागाईं देखापरे । त्यसपछि दोश्रो विशेष व्यक्तित्व प्रदर्शन गर्ने आजसम्मको मुख्य व्यक्ति यिनै केशवराज पिँडाली छन् । साँच्चै भन्ने हो भने पिँडालीपछि अर्को खास गतिलो हास्यव्यङ्ग्यकार भैरव अर्याल हुन् । केशवराज पिँडाली त्यहाँ जाँदैनन् जहाँ आफू पुग्न सक्तैनन् अनि पिँडाली त्यो बोली बोल्दैनन् जुन हाम्रो निम्नमध्यम वर्ग र मध्यमवर्ग भित्र पर्दैन । प्रस्तुत छ केशवराज पिँडालीको संक्षिप्त परिचय ।

२. जन्मः-

विक्रम सम्वत् वि.सं. १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमामा यिनको जन्म भएको हो । यिनी पिँडाली उपनामले विख्यात भए पनि वास्तविक थर लामिछाने हो । पिता कृष्णराज लामिछाने र माता श्रीमती युगमञ्जरी लामिछाने हुन् । धादिङ जिल्लाको गजुरीस्थित ‘पिण्डा’ भन्ने गाउँ यिनीहरूको पैतृक गाउँ हो । त्यसैले गर्दा लेखक केशवराज लामिछानेले आफूलाई पिँडाली बनाएका हुन् र भनाएका हुन् ।

३. शिक्षाः-

वि. सं. १६६२ सालमा पटना बोर्डबाट सञ्चालित प्रवेशिका परीक्षा मात्र यिनले उत्तीर्ण गरेका हुन् । त्यसपछि यिनलाई पढाइ अघि बढाउन अनुकूल परिस्थिति मिलेन । व्यवहारिक धन्दा र गृह सञ्चालनका व्यस्तताले गर्दा यिनको पढाई यसभन्दा अघि बढ्न नसकेको हो ।

४. लेखन प्रेरणा र प्रारम्भः-

यिनका मावली चालिसेहरू हुन् । कान्छा मामा दुर्गानाथ चालिसेले भानिज केशवराजलाई लेखनतिर प्रेरित गरेका रहेछन् । दुर्गानाथ स्वयं पनि लेखक थिए । उनले वि. सं. १९८५-८६ सालतिर नलदमयन्ती र प्रेमपिण्ड भने नाटक लेखेका थिए । यसरी हेर्दा पिँडाली पारिवारिक र मावलीका प्रेरणाले गर्दा लेखक बन्न पुगेछन् । आज यिनी राष्ट्रभाषा नेपालीको यति ठूलो प्रख्यात लेखक बन्न पुगेका छन् । १९९३ सालको शारदामा ‘गुण्टे र चरी’ शीर्षकको कथा प्रकाशित भएपछि यिनी लेखकका रूपमा बाहिर देखा परेका हुन् ।

पिँडालीलाई लेखनतिर प्रेरित गर्ने अर्को तत्व पनि रहेछ । पिँडालीका पुर्ख्याैली पुस्ताका व्यक्ति काशीमा रहेका विश्वराज हरिहर शर्मा पनि रहेछन् । विश्वराज हरिहर शर्माले खोलेको प्रकाशन संस्था ‘विश्वराज हरिहर प्रकाशन’ हो । अर्को देखासेखी गरेर बाबु राधोरामले पनि अर्को प्रकाशन संस्था खोलेका थिए । राधोराम भनेका पिँडालीका बाजेका घरको भान्छे बाहुनीतिरका सन्तान हुन् । तिनलाई घरमा नोकरका रूपमा व्यवहार गरिन्थ्यो । रुँधे र रधै भन्दा भन्दै र त्यसै नाउँले बोलाउँदा बोलाउँदै उनी बाबु राधोराम भएका हुन् भन्ने कुरा ‘प्रतिभा प्रतिभा र नेपाली साहित्य’ भन्ने पुस्तकमा समालोचक घटराज भट्टराईले उल्लेख गरेका छन् । जे भए पनि बनारसका ती नामी प्रकाशनहरूले पिँडालीलाई पनि लेखनका माध्यमबाट ठूलो प्रेरणा प्रदान गरेछन् । बनारसका श्री प्रसिद्ध प्रकाशनका प्रकाशकहरू पनि यहाँकै लामिछाने ब्राह्मणका वंशज रहेछन् भन्ने कुरा पनि यसबाट थाहा पाइन्छ ।

५. सेवाः-

(क) पारिश्रमिकका सन्दर्भको सेवाः-

वि. सं. १९९३ सालतिर वीरगञ्ज टेलिफोन कार्यालयको जागीरबाट यिनको तलवी सेवा शुरु भएको हो । अपरेटर पदमा त्यहाँ लगातार सात वर्षसम्म काम गरे । त्यसपछि तत्कालीन वनसल्लाहकार एकजना अङ्ग्रेजका पि. ए. भएर काम गरे । त्यस्ता कामबाट न सन्तुष्टि मिल्यो न त राम्ररी जीवन निर्वाह नै हुनसक्यो । त्यसपछि त्यस कामलाई छाडेर एक वर्षजति व्यापार व्यवसायमा लागे । अनि पछि यिनै पिँडाली २००२ सालतिर मोहन शमशेरकी कान्छी छोरीका निजी सचिव भएर भारतमा गए । तिनी ‘रैराखोल’ राज्यको महारानी थिइन् । यसरी यिनी २००७ सालसम्म भारतको उडिसा राज्यमा रहेका थिए । २००८ सालमा यहाँ फर्केर त्यस वर्षदेखि २०११ सालसम्म फिल्म वितरक भए । त्यसबेला यिनी सिनेमा हलहरूका लागि चलचित्र मगाएर वितरण गर्ने र त्यसबाट आएको आयस्ताबाट जीवीका गर्ने गर्थे । त्यसबाट पनि राम्ररी जीवन निर्वाह नभएपछि फेरि उडिसामै गएर उही पुरानै काम गरे । २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका निजी सचिव भए । यो सरकार विघटन भएर पार्टीहरूमाथि पनि प्रतिबन्ध लागेपछि विचल्लीमा परेका यिनी नेपालबाट भागी विदेशी सडक सडकमा भौतारिन पुगे । पछि नेपाल फर्केर आएपछि २०३० देखि २०३८ सम्म गोरखापत्र संस्थानमा कार्यकारी सम्पादकका रूपमा कार्यरत रहे ।

(ख) लेखन, प्रकाशन र स्वयंसेवकका रूपमा गरेको सेवा:-

२००८ सालतिर एउटा ‘गाईजात्रा’ भन्ने पत्रिका प्रकाशित भएको थियो । हास्यव्यङ्ग्यले भरिएको त्यस पत्रिकाका सम्पादक पिँडालीजी थिए । त्यसैबेला ‘नयाँ कदम’ भन्ने पत्रिकाका प्रकाशक पनि यिनी बने । २००९ सालतिर प्रकाशन शुरु भएको ‘विकास’ नाउँको पत्रिका पनि यिनीहरूले प्रकाशित गरे । त्यस पत्रिकाका सम्पादक तथा प्रकाशक दुवै नै यिनी थिए । पछि २०१० सालमा ‘प्रगति’ पत्रिका प्रकाशित भएपछि सम्पादनदेखि प्रुफरिडिङको कामसम्म पनि यिनले गरे । ‘प्रगति’ पत्रिका थोरै समयसम्म मात्र प्रकाशित भएर पनि केवल सोह्र अङ्क मात्र पाठकका समक्ष अउन पाएर पनि नेपाली साहित्यको धेरै नै माथिल्लोस्तरको पत्रिका मानिन्छ । यिनले लेखन, प्रकाशन, सम्पादन जस्ता विषयमा यसरी आफ्नै रुचि र आकर्षण बढाएर लगेका देखिन्छन् । उपेक्षित अवस्थामा पनि उत्प्रेरित अएर अघि बढ्ने ठूलो गुण लेखकको हुन्छ । पिँडालीका जीवनकथाबाट पनि यही कुरा शिक्षा लिइन्छ ।

६. यिनका प्रकाशित कृतिहरूः

(१) ‘खै खै’ (२०१६) नाउँको हास्यव्यङ्ग्यात्मक कथा र निबन्धहरूको सङ्गालो यिनको पहिलो सङ्ग्रहित कृति हो । (२) ‘फेरि उल्टै मिल्यो’ (२०३२) भन्ने अर्को हास्यव्यङ्ग्यात्मक कथा र निबन्धहरूको सङ्गालो दोस्रो हो । (३) ‘व्यङ्ग्यैव्यङ्ग्य’ (२०४६) तेस्रो हास्यव्यङ्ग्य सङ्ग्रह हो । (४) ‘एकादेशकी महारानी’ (२०२६) भन्ने उपन्यासमध्येको पहिलो कृति हो भने (५) अन्तदेखि शुरु’ (२०३८) उपन्यासमध्येको दोस्रो कृति हो । (६) ‘बाँच्ने एउटा जिन्दगी’ (२०४४) र (७) ‘साँझ घर फर्केको मान्छे’ (२०४७) तेस्रो र चोथो उपन्यास हुन् । यसरी यिनका सङ्कलित मुख्य कृतिका रूपमा आजसम्म जम्मा सात कृति देखा परेका छन् । फुटकर हास्यव्यङ्ग्यहरू पनि प्रकाशित छन् तर कति छन्र भन्ने टुङ्गो छैन । ती सबै विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

७. पिँडालीका कृतिगत विशेषताहरूः-

हास्यव्यङ्ग्यकारले सामाजिक अनुभूति, अवस्थिति र जीवनको राम्रो बोध गरेको हुन्छ । जीवनका साना ठूला, सीता मीठा अनेक कुराहरूलाई राम्ररी निरीक्षण र परीक्षण गरेर मात्र उसले कलम चलाएको हुन्छ । पिँडालीजीका लेखनमा पनि एकदमै सूक्ष्मभन्दा सूक्ष्म अध्ययन र त्यसबाट प्राप्त अनुभव समेत व्यक्त भएको हुन्छ । यिनका लेखनमा सामाजिक व्यथा, पीडा र मर्म मात्र होइन कलाजन्य चेतना, गम्भीर किसिमको हेराइ, भित्री, पहिरो र तीखो अनुभवपूर्ण व्यङ्ग्य इत्यादि कुरा हुन्छन् ।

शैलीलाई झट्ट हेर्दा यिनका कतिपय लेखनमा अतिरञ्जना जस्तो लाग्छ तर अतिरञ्जनात्मक तरिकाले गहिरोसँग व्यङ्ग्य गर्नु पनि यिनका शैलीको निजी विशेषता हो । नेपाली भाषाकै कतिपय लेखकहरू, हास्यव्यङ्ग्यकारहरू अतिरञ्जनाले गर्दा स्वभाविकताबाट धेरै टाढा पुगेका छन् । पिँडालीले प्रयोग गरेको एउटा सानो व्यङ्ग्यमा पनि पाठकलाई निकै महत्वपूर्ण, गहिरो र तीखो भनाई व्यक्त भएको हुन्छ । पिँडालीका कृतिभित्र अधिकांश भागमा पिँडाली स्वयं छन् र केही ठाउँमा अरु पनि छन् । जति छन् जो जो छन् प्रायः ती पिँडाली नै भएर बसेका छन् । सामाजिक विकृतिमाथि अपेक्षा गर्न यिनको शैली अति प्रभावकारी छ त्यसले कैयौँ आकाशेहरूलाई बतासे बनाएर उडाएको हुन्छ । व्यङ्ग्यकार सानोलाई उचाल्न र ठूलालाई खसाल्न साह्रै सिपालु हुन्छ, त्यो सीप पिँडालीमा साह्रै राम्ररी विकसित भएको छ । व्यङ्ग्य प्रयोग गर्दा आवश्यक पर्ने भाषिक संयम र मर्यादाको संरक्षणमा पिँडाली निकै सतर्क छन् ।

यिनका अभिव्यक्तिले मानिसको भित्रभन्दा भित्रलाई राम्ररी छोएको पाइन्छ । कृतिहरू यथार्थमूलक सामाजिक व्यङ्ग्यप्रधान हुन्छन् । कार्यसङ्गत कारुणिकता र कतै कतै अरु किसिमका कारुणिकताको माध्यमबाट पनि पिँडालीले समाजलाई राम्ररी व्यङ्ग्य गरेका हुन्छन् । अर्थपीडित र राजनीतिपीडित जीवनलाई यिनले राम्ररी देखाएका छन् । खासगरी आफूले देखेको र भोगेको निम्न, मध्यमवर्ग र मध्यमवर्गलाई देखाउने काममा पिँडाली बढी सक्रिय देखिएका छन् र ज्यादै सफल पनि भएका छन् । आफू नपुग्ने ठाउँमा अनुमानका भरमा दौडेर कलम चलाउँदैनन् यिनी । इतिहासलाई पृष्ठभूमिमा राखेर उपन्यास लेख्ने उपन्यासकार पिँडाली उपन्यास क्षेत्रमा त्यत्तिकै सफल छन् ।

‘एकादेशकी महारानी’ पिँडालीको प्रसिद्ध उपन्यास हो । यस उपन्यासलाई ऐतिहासिक उपन्यास भने पनि हुन्छ र कतिपय समालोचकले यसलाई ऐतिहासिक भनेर चर्चा पनि गरेका छन् । इतिहासभित्रका उच्चवर्ग, तिनीहरूको बोको र आडम्बरीपन इत्यादि कुरालाई पिँडालीले साह्रै सफल ढङ्गले देखाएका छन् । पिँडालीसँग इतिहास छ, अनुभव छ, यसकारण यिनी सफलतासाथ ती सामाजिक र ऐतिहासिक अनुभवलाई पोख्त छन् । पिँडालीले कविता र एकाङ्की पनि लेखेका छन् तर पुस्तक आकारमा छैनन् । अनुप्रासयुक्त लयात्मक कविता लेख्ने पिँडाली कवितामा पनि हास्यव्यङ्ग्यलाई नै प्रामुखता दिन्छन् । पिँडालीका हास्यव्यङ्ग्यात्मक गद्यलाई कसैले कथा भनेका छन् तर कसैले निबन्ध । कथाभित्र उपकथा जोड्नु र रोचकता दिनु, सस्याना कुराबाट पनि पाठकको मुटु छुनु र त्यस्तै हिसाबले गहिरोसँग छेडछाड गर्न सक्नु, कुनै पनि घटनालाई सुगठित र कलात्मक रूपकासाथ प्रयोग गर्नु अनि शब्द-शब्द तौलेर प्रयोग गर्नु पिँडालीको विशेषता हो ।

८. उपसंहारः-

केशवराज पिँडालीको संक्षिप्तमा यस्तै उस्तै कुरा र विशेषताहरू देखा पर्छन् । धेरैलाई कलमको कोर्रा चलाए पनि व्यक्तिको व्यक्तिगत मिजास सरल, कोमल र सहृदयी छ । राम्ररी समेटेर अनि सञ्चालन गरेर लैजाने र यस्ता प्रतिभाहरूलाई उचित रूपमा सम्मानित गर्ने परम्परा नभए पनि यहाँ प्रतिभाको खाँचो चाहिँ त्यति भएको पाइँदैन । साहित्य मानसिक सन्तुष्टिका लागि भनेर मान्ने पिँडाली हास्यव्यङ्ग्यकार र उच्चवर्गीय जनजीवनका दुर्गतिपूर्ण अवस्थाको चित्रण गर्ने एक सशक्त चित्रकार हुन् । एकासी वर्षको जीवन, स्वस्थ अवस्था, सरल, सहज र सहृदयी व्यक्तित्व आज पनि आश लाग्दो भविष्य बोकेर अघि बढिरहेको छ । जीवन शतायुमा पुगोस्, यही कामना छ ।

(त्रिभुवन प्रज्ञापुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनिधि पुरस्कार, भैरव पुरस्कार र रत्नश्री स्वर्ण पदक प्राप्त पिँडालीको २०५५ साल जेठ २६ गते काठमाडौंमा निधन भएकाे हाे । – याे अन्तिम वाक्यकाे पुच्छर चाहिँ फित्काैली डटकमले जाेडेकाे हाे ।)

०००
२०४८/५/७/६

‘उन्नयन ’ अङ्क ६ बाट जस्ताकाे  तस्तै  अङ्क १३ काे पिँडाली विशेषाङ्कमा  साभार गरिएकाे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x