वासुदेव पाण्डेयशहीदको गुनासो
जो मर्छन् दिन रात काल गतिले हो कार्यकर्ता भनी चक्काजाम गरी बने शहिद ती को गर्छ श्रद्धा पनि । थोरै लायक देखिने शहिदका बाँकी सबै नक्कली आफू सालिक भ्रष्ट मालिक हुँदा दोधारमा सक्कली ।।

वासुदेव पाण्डेय :
पापी, भ्रष्ट लडी मरोस् सब मिली सङ्घर्ष चर्को गरे 
चक्काजाम, विरोध, बन्द दलका चुल्ठे र मुन्द्रे मरे ।
दर्ता गर्दछ राज्यले शहिदमा जो मर्छ यो देशमा
साँच्चै यो अपमान हो शहिदको को भन्छ यो देशमा ।।
बिर्सी राष्ट्रिय स्वाभिमान जसले आफ्नो भनेनन् घर
खाई भात उता, यतातिर हिजो फ्याँके निकै पत्थर ।
झन्डा, राष्ट्रिय मानचित्र जसले खोजी जलायो हिजो
दर्ता हुन्छ मऱ्यो भने शहिद ऊ सुन्दै छ लाग्ने झिँजो ।।
हेर्दैनन् किन दुष्ट शासकहरू को राष्ट्रघाती थियो
सत्ता मिल्छ भनेर नै शहिदको दर्जा तुरुन्तै दियो ।
खोजी सत्य र तथ्य देन अनि पो हो राष्ट्रसेवी भनी
गर्दा घोषित लाग्दथ्यो शहिद हुन् आदर्श भन्ने पनि ।।
बिर्सी जीवन- मोह राष्ट्रहितमा लागेर जो मारिए
जाने योग्य सुपुत्र हुन् शहिद ती जो मुक्तिकर्ता थिए ।
प्राणोत्सर्ग गरे सपूत जसले यो देशका खातिर
सच्चा नायक पूज्य ती, तर परे ओझेलमा आखिर ।।
जो मर्छन् दिन रात काल गतिले हो कार्यकर्ता भनी
चक्काजाम गरी बने शहिद ती को गर्छ श्रद्धा पनि ।
थोरै लायक देखिने शहिदका बाँकी सबै नक्कली
आफू सालिक भ्रष्ट मालिक हुँदा दोधारमा सक्कली ।।
०००
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































