होम सुवेदीनेपाली हास्यव्यङ्ग्यको माध्यमिक कालको निरूपण
हास्यव्यङ्ग्यको माध्यमिक कालमा पहिलेको तुलनामा केही व्यापकता आएको छ । प्रकाशन हुन थालेका छन् । चहलपहल सुरु भएको छ । साना ठुला रचनाहरूमा यसले प्रवेश पाएको छ । कतै कतै विशुद्ध हास्य र कतै कतै हल्का व्यङ्ग्य देखिन थालेको छ ।

होम सुवेदी :
माध्यमिक काल थालनीका चेष्टाहरू :
कविता, निबन्ध, उपन्यास जस्ता विधाहरूमा मोतीरामको उदयसँगै युगपरिवर्तनका सङ्केत देखिएका छन् । यसले हास्यव्यङ्ग्यको कालक्रमिक अध्ययन गर्ने अवसरका लागि समय परिवर्तनका सङ्केत पनि दिएको छ । साहित्यिक पत्रकारिकताको क्रम पनि बिस्तार बिस्तारै उनै मोतीरामको पालादेखि आरम्भ भएको हाे । दरबारिया गतिविधिका कारण अघिल्ला कालका चेष्टाहरू कम भएर नयाँ चिन्तन र नयाँ स्वरुपहरू देखिन थालेका छन् । यता समाजमा चेतना पनि अलिक भिन्न हुन थालेको छ । नेपालको दरबारमा भएका पर्वहरूले जनमानसमा धर्म भन्दा अर्कै कुराको सोच पलाउन थालेको छ । वीरसमसेरको उदयले देशमा एक किसिमको नौलो अवस्था आउन थालेको सङ्केत दिएको छ । भजन कीर्तनका बदला दरबारमा अब ऐश आराम नाचगान बजान हुन थालेका छन् । कलकत्ताबाट ठेटरहरू ल्याएर राणाका दरबारमा रामरमाइलो हुन थालेको छ । एक किसिमले भन्ने हो भने अश्लील हर्कतहरूको प्रवेश भएको छ र त्यसका साथ नाच गान नाट्यमञ्चन पनि हुन थालेका छन् ।
यो अवसरको उपयोग कवि लेखकहरूले पनि नगर्ने कुरा भएन । यसैले हँस्सीमजाक, ठट्टा रमाइलो, इत्रिने कुराहरू र त्यही बेहोराका सामग्रीहरूको माग दरबारभित्रबाट हुन थालेपछि उद्देश्य जे भए पनि इतर दरबारका व्यक्तिहरूले यसको आपूर्ति गर्ने नै भए । यसैले कसैले रुमानी उपन्यास लेख्न थाले । कसैले तिलस्मी कथाहरू लेख्न थाले । कसैले हास्य सिर्जना गर्ने, कसैले अलिकति रमाइलोका लागि शृङ्गारका हल्काफुल्का कुरा जोडेर लेख्न थाले । यस्ता सामग्रीहरूको माग खास गरी दुई क्षेत्रबाट बढी भयो- एक, दरबारको दरबारिया समाज र अर्को आफ्ना आफन्त र प्रियालाई छाडेर दोस्रो विश्वयुद्धको धावामा गएका युवाहरूबाट । अनि मोती मण्डली चम्कन थाल्याे यस शैलीका सामग्रीको आपूर्ति गर्न ।
शृङ्गारिक साहित्यको लेखनका यी दुई कारण थिए । यस्ता रचनासँग शिष्ट शृङ्गार रहेसम्म हास्य र व्यङ्ग्य उति छिर्दैन तर अलिक अशिष्ट वा सम्भोग शृङ्गार मिसिएपछि समाजमा लाज सरमका साथ पाठकको हाँसो पनि मिसिन सक्छ । अनेक थरिका वक्र र व्याज उक्तिहरूबाट शृङ्गारको उत्पादनका लागि लेखकबाट प्रयत्न गरिन्छ । यसो हुँदा यस्ता रचनासँग हास्य र व्यङ्ग्य पनि जोडिन सक्छ । यो सैद्धान्तिक आधारबाट हेर्दा मोतीरामको युग नेपाली हास्यव्यङ्ग्यको इतिहासमा प्राथमिक कालको उन्नत चरणका रुपमा लिन सकिन्छ । रसिक मण्डलीभित्र हास्यव्यङ्ग्य हास परिहास वा कटाक्ष अवश्य नै हुन्थ्यो भन्ने कुरा रसिक मण्डलीको नामबाट मात्र पनि बोध हुने कुरा भो । जहाँ रसिक भए त्यहाँ ठट्टा रमाइलो हुने नै भो । मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, राजीवलोचन जोशी, भुवनप्रसाद ढुङ्गेल, देवराज लामिछाने, छविलाल नेपाल, गिरिशचन्द्र जोशी जस्ता कवि लेखकहरूले आफ्ना रचनाहरूबाट हास्य र व्यङ्ग्यको परोक्ष पृष्ठपोषण गरेका छन्, रसिक मण्डलीको नामलाई चरितार्थ गरेका छन् ।
मोतीराम स्वयं हास्य सिर्जना गर्ने गतिला सर्जक थिए । मोतीराममा विचित्र काव्यसृजन क्षमता थियो । धर्मका, श्रृङ्गारका, देशभक्तिका, विनयका, कटाक्षका हास परिहास र व्यङ्ग्यविनोद धर्म भएका कविता लेख्नमा उनी हाजिर जवाफ थिए । साथै विभाषाको प्रयोग गरेर क्वाँटी कविता लेख्नदेखि लिएर कवितामा विचित्रताको प्रयोग गर्नमा पनि माहिर मोतीरामको तलको श्लोकले माथिको भनाइको साक्षी बक्छः
धध्धोको पुपुगेन यो ममनको कक्कर्म खख्खोटियो
जज्जैले मम भेट्दछू ततहिले सोस्सोध्छु हाहाल यो
तत्तत्ततर क्यै जवाप ननदी हेहेरि हाँस्छिन् अती
यय्यस्तै दुःख छन् ककक्कति कहूँ सुस्सुख्ख छैनन् रती ॥ (मनोद्वेग प्रवाह, द्वितीय भाग श्लोक १२८)
मोतीरामले दिएको यो पृष्ठभूमिका जगमा माध्यमिक काल उदाउने सङ्केत देखियो । मोतीको यस जगमा राजीवलोचनले निकै दरा पाइला टेके । जे होस् भण्डारखाल पर्वोपरान्त र वीरसमसेरको उदयपछि तत्कालीन नेपालका धेरै कुरामा परिवर्तनका छनकहरू देखिएझैँ साहित्यमा पनि नवजागरण देखिन थाल्यो । परिणाम के भइदियो भने परोक्ष रुपमै भए पनि हास्यव्यङ्ग्यले समेत सुइरो हाल्ने मौका पायो । वनारसतिरबाट निस्किएका ससाना किताबहरू र पत्रिकाहरूले खुबै भाउ पाए । भक्तिबाहेक उडन्ते तिलस्मी जासुसी वा जादुगरी र पतिपत्नी वियोगका कुराहरू लेखिएका कविता, उपन्यास, सवाई र किस्साहरूबाट साहित्यको निकै प्रचार भयो । यिनैसँग हास्यव्यङ्ग्यले पनि गतिशीलता पायो र पहिलेको हस्तलिखित अवस्थाबाट मुक्त भई मुद्रणसँग जोडिन पुग्यो । देवसमसेरको पालामा १९५८ बाट गोर्खापत्र निस्कन थाल्यो । यसैलाई हामी हास्यव्यङ्ग्यले काँचुली फेर्न थालेको अवस्था मानेर माध्यमिक कालको आरम्भ मान्दछौँ ।
माध्यमिक कालका गतिविधिहरूः
गोर्खापत्र नै साहित्यका धेरै विधाको काल परिवर्तन गर्ने बिन्दु भएझैँ हास्यव्यङ्ग्यको कालपरिवर्तनको पनि प्रस्थान बिन्दु भएको छ । यस पत्रिकाले खुब हास्यव्यङ्ग्य छापेर योगदान दियो भन्ने आशय यो हुँदै हैन, खासमा अरु केही हैन लेखन पठन र प्रकाशनको संस्कार यस पत्रकाले दिन थालेको र अलिकति चेतना आधुनिक दिशातिर उन्मुख हुन थाल्नुलाई नै काल परिवर्तनको बिन्दु मानिएको हो ।
माध्यमिक कालको अवधि दुई पत्रिका गोर्खापत्र १९५८ प्रकाशन आरम्भ र शारदा १९९१ पत्रिकाको प्रकाशन आरम्भसम्मलाई लिनै पर्छ । यस कालमा हास्यव्यङ्ग्यको फाँटमा नयाँ रचनाहरू नै छापिए भन्ने कुरा यो हैन तर चेतना विस्तार भयो । पत्रपत्रिकाहरूले समाजमा चेतना फिँजाउन थाले । समाजमा उटुङ्गे र अन्धविश्वासीहरूमाथि केही कटाक्ष हुन थाल्यो । समाजमा विकासका र आधुनिक कुराका छायाहरू देखिन थाले । हँसाउने क्वाँटी जातका कविता बाक्लै लेखिन थाले । अड्को पड्कोका कुराहरू देखिन थाले, लेखिन थाले, छापिन थाले ।
यस कालका खास हास्यरसका सर्जकहरूमा शिखरनाथ सुवेदी, शम्भुप्रसाद ढुङ्गेल, भीमलाल जैसी, लोकप्रियादेवी, लोकनाथ पोखरेल आदि आदि धेरै कविहरूले आफ्ना रचनाबाट हास्य र व्यङ्ग्यलाई चहकिलो पार्दै लगेका छन् । स्वयं लेखनाथले भर्तृहरिशतकको अनुवादमै भए पनि हास्यको खुराक दिने काम गरेका छन् । सिङ्गो हास्यव्यङ्ग्य कृति नभए पनि लोकनाथ पोखरेलकाे लोकमञ्जरी कृतिभित्रका धेरै रचनाहरू छन् र नलीकाण्डमा निकै नै घोचपेच गरिएको देखिएको छ । हो हुन त, उनका रचनाहरू कालजयी छैनन् । भानुभक्त पोखरेल (भूमिका लोकमञ्जरी ते स २०६०) ले भनेझैँ उनका रचनाहरू ठिनेमिने विषयमा रचिएका छन् । ठालु गौरीप्रसादको घरमा गएको बेला निजको घरमा हुक्का भन्दा लामो न लामो नली लगाएर हुक्का तानिरहेको देखेपछि त्यो लामो नली त फलानाफलानाहरूलाई पो सुहाउँथ्यो त भनेर गौरीप्रसादलाई त्यो नली नसुकाएको बयान गरेका छन् । उनका अनुसार:
थाङ्ग्रो होस् मकैको ठूलो गजबको देख्दा पहरो सरी
धान्का हुन् ढिकुटीहरू जहीँ तहीँ घर् बेँसी धन्सार् भरी
बस्ने टेबुल कुर्सी हुन् घरभरी त्यस्तै अरु मेच् मुडा
आऊन् बातचित गर्नलाई अघिका सेतै फुलेका बुढा ॥
ढाका लिनू दुलहीका निमीत्तमा राम्र ती वाराणसी
किन्नु सब् सरजाम् नबिर्कन क्यै तिन् दिन् वहीँ नै बसी
आफ्नी पातलीका निमित्त पनि एक् थान् रेसमी सक्कली
साटन्का फरिया पनि किनिदिनु स्वाउँदथ्यो त्यो नली ॥
गाडा होस्, दरबार होस्, सुसारे हुन् रजगझ होस् तब पो नलीको अर्थ हुने थियो वा यस्तो यस्तो भए पो त्यति लामो नली सुहाउँथ्यो त तिमीजस्तो ठिनेमिनेलाई सुहाएन त्यति लामो नली भन्दै गौरीप्रसादमाथि कटाक्ष गरेका छन् । यद्यपि उनको यो रचना मात्र नभई उनले आफ्ना लोकमञ्जरीभित्र यस्तै कुराहरूको उल्लेख गरेर छेडखान गरेका छन् । पूर्वको कोशी सगरमाथा र जनकपुरको पहाडी भेगमा उनको निकै नाम थियो भन्ने बुझिएको छ ।
महाकवि देवकोटाकी दिदी लोकप्रियादेवीलाई नेपाली भाषामा हास्य र व्यङ्ग्यका समीपमा रहेका रचना सिर्जना गर्ने पहिलाे नारी स्रष्टा भन्दा पनि फरक पर्दैन । देवकोटासँगै जस्तो र सोही रोगले परमधाम गएकी लोकप्रियाका रचनाहरू गोर्खापत्र लगयातका पत्रिकाहरूमा छापिएका छन् । सारै कडा बुहार्तनमा परेकी लोकप्रियाका करुण रसका छोटा छोटा कविताहरू निकै पाइन्छन् । हल्का हास्य र पीडायुक्त व्यङ्ग्य पाइने याे श्लाेक हेरूँ त :
बोल्छु मुसुक्क हाँसेर मन रुन्छ सधैँ भरि
मनको पिर यो कस्ले बुझ्न सक्ला कठैबरी ।
अब बाँकी नराखे है निठुरी पनको मति
मुटुको घाउमा मेरो लाऊ नून् चूक बेसरी । (गोरखापत्र वर्ष ३५, १९९३)
उनले यहाँ आफूलाई अझै दु:ख देऊ नुन चुक छर भन्दै दृश्यादृश्यमा व्यङ्ग्य गरेको देखिन्छ । उद्योग, चन्द्र, चन्द्रिका, शारदा, लगायतका पत्रिकामा पछिसम्म पनि उनका रचनाहरू छापिएका पाइन्छन् । ठट्टा रमाइलोका लागि शम्भुप्रसाद, शिखरनाथका नाम यस कालमा उच्चाइमा छन् । व्यङ्ग्य गर्दा गर्दै शिखरनाथले अश्लील रचनाहरू भरमार लेखेका छन् । शम्भुप्रसादले शिखरनाथको जति अश्लील रचना गरेका छैनन् । सूक्तिसिन्धुभित्र पनि शिष्ट अश्लीलसँग हास्यको छनकमनक देखिन्छ ।
यता स्वदेशबाट मात्र नभई विदेशबाट पनि हास्यव्यङ्ग्यलाई गति मिलेको देखिन्छ । दार्जिलिङ, खर्साङ, वनारस र देहरादुनबाट छापिने पत्रिकाहरूले पनि हास्यव्यङ्ग्यलाई मलजल गरेर उकासेको देखिन्छ । बलबहादुर सारु मगरलाई यहाँ भुल्न सकिन्न । उनले निकै राम्रो ठट्टा रमाइलो गरेको पाइन्छः
अर्काको सुसार् गरेर प्यारी कति दिन् बस्छ्यौ नि
आइतबार् बिहान् खर्साङ्मा आउँछ्यौ बेलुका जान्छ्यौ नि
भातै त पाक्यो गुदु र गुदु तिहुन् त खुर्सानी
जेठीलाई मेरो सलाम भन्द्यौ कान्छीलाई गुडमानी ॥ (आनन्द लहरी)
जे होस् माध्यमिक कालका रचनाहरू धेरै छन् । केही स्तरीयता आएको छ । यसले प्रकाशनको अवसर पनि पाएको छ । मुद्रणको युग पाउनु नै गतिशीलताको लक्षण पनि हो । गोर्खापत्र, माधवी, चन्द्र, चद्रिका, गोर्खासंसार जस्ता पत्रिकाहरूमा सानामसिना रचनाहरूका माध्यमबाट हास्यव्यङ्ग्यमा निकै गति मिलेको छ । यद्यपि यी रचनाहरूमा हास्यव्यङ्ग्य नै भनिएका भने छैनन् । विषयान्तरमा वा अन्यविधामा समाविष्ट छन् । खोजेर निकाल्नु पर्छ । बरु गोर्खापत्रमा भने अलिक हास्यव्यङ्ग्यका निकट हुने रचनाहरू पाइन्छन् । विषयवस्तु भने यस समयमा समाज सुधार गर्ने अन्धविश्वासलाई थान्को लाउने कुरा छन् । धार्मिक र जातिपातिमा विभेदक ब्राह्मणवादी समाजको सुधार गर्ने कुरा छन् । नारीका दु:ख दर्द दिनेहरूमा खिसी टिउरी गरिएको छ । अलिक अश्लीलताले पनि हास्यका साथ स्थान पाएको छ । धार्मिक सन्दर्भसँग पनि कटाक्षहरू हुने गरेका छन् । उदाहरणबाट यो भनाइ पुष्टि हुन्छः
गाइ गोठ्मा दुध दुहुँदा मुखमा छिर्का मार्ने
नौनी चोरी खाने आफू गाल मलाई पार्ने
गोपिनीको मुख छली राधालाई तानी
हाँसी हाँसि माया लाउने कस्तो छिर्के बानी ॥
मुरलीको धुन सुनी सबै हामी आयौँ
वृन्दावन्मा नाची गाई तम्रो दर्शन पायौँ
वृन्दावनमा रस रची मधुवनमा झर्ने
जगतलाई तार्छु भनी सधैँ अघि सर्ने ॥ (– बहादुरसिंह बराल)
यसरी हास्यव्यङ्ग्यको माध्यमिक कालमा पहिलेको तुलनामा केही व्यापकता आएको छ । प्रकाशन हुन थालेका छन् । चहलपहल सुरु भएको छ । साना ठूला रचनाहरूमा यसले प्रवेश पाएको छ । कतै कतै विशुद्ध हास्य र कतै कतै हल्का व्यङ्ग्य देखिन थालेको छ ।
१९९० को दशकदेखि हास्यव्यङ्ग्यले महाकवि देवकोटा भीमनिधि तिवारी रुद्राज पाण्डे जस्ता नयाँ नयाँ कवि, महाकवि, कथाकार, उपन्यासकारहरू पाएको छ । यसैले यही दशक नै हास्यव्यङ्ग्यको आधुनिक कालको प्रवेशको दशक मान्नु पर्छ । क्रमश:
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































