साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ श्री गणेशाय नमः

नाम लेख्दालेख्दा गणेशजी त्यसै पनि थाकेका हुन्छन् । त्यसमाथि ठेगाना पनि लेख्न बस्नु ? मुसाको के, मुख फोरेरै भन्यो, ‘न्यायको स्थापना गर्नुस् । दानाको सन्तुलित र पेट भरिने गरी बाँडफाँड गर्नुस् । नाम लेख्न पनि जरुरी छैन । गणेशजी, कहिलेसम्म लेखेर बसिरहनुहुन्छ ?’

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

अथ श्री गणेशाय नमः, कुरो सुरु गर्‍यो गणेशबाट तर त्यो बिस्तारै मुसासम्म पुग्छ । अथवा मुसाबाट आरम्भ गर्‍यो भने त्यो श्री गणेशसम्म पुग्छ । अथवा पढ्नेलेख्ने चर्चा गरौँ । श्री गणेश ज्ञान र बुद्धिका देवता हुन् । यसै कारण सधैँ अल्पमतमा रहन्छन् होला, तर हुन् त उनी देवता नै ! सबैभन्दा पहिले पुजिने त उनै हुन् । अनि आखिरमा उनलाई नै जलप्रवाह गरिन्छ । पढ्नेलेख्ने चर्चालाई छोडेर तपाईं श्री गणेशको कथामा आउन सक्नुहुन्छ ।

विषय के हो ? मुसा कि गणेश ? बाबु, यस देशमा जम्माजम्मी विषय एउटै हुन्छ र त्यो हो गरिबी । सबै विषयको जन्म त्यसैबाट हुन्छ । कविता लेख या उपन्यास, कुरो हुने त्यही हो । गरिबी हटाउने कुरा गर्नेहरू कुरा गरिरहुन् तर उनीहरू के सोच्दैनन् भने गरिबी हट्यो भने लेखकहरूले लेख्छन् पो कुन विषयमा ? उनीहरूलाई लाग्यो, यी साहित्यकारहरू गरिबी हटाउने अभियानको विरुद्ध छन् । अनि यसैमा उनीहरू पनि लौ, साहित्यलाई नै हटाऊ भन्ने अभियानमा ओर्ले ।

त्यो त हट्न सक्दैन । आरम्भ नै श्री गणेशबाट भएको हो । उनी यसका आदिदेवता हुन् । ‘ऋद्धि र सिद्धि’लाई यताउता राख्छन्, अनि बिचमा काम चल्छ लेखनको । मुसोचाहिँ गोडानिरै बसिरहन्छ । रचना खराब भयो कि गणशजी महाराजले त्यो त्यसै मुसालाई दिन्छन्, ‘ला बाबु, कोतरेर खा ।’ तर यस्तो भने प्रायः हुँदैन । ‘आफ्नो कविता’ नराम्रो नलाग्ने नियम गणेशजीमा पनि उत्तिकै लागु हुन्छ । मुसो दिक्क परिरहन्छ । ‘महाराज, केही खानका लागि दिनुहोस् न !’ गणेशजी सुँढलाई मुसारेर गम्भीरतापूर्वक भन्छन्, ‘लेखकको परिवारको सदस्य होस्, खानेपिउने कुरा नगर् । भोकै बस्न सिक् ।’ निकै उच्चस्तरीय ठट्यौली बोध छ श्री गणेशजीको जुन राम्रा लेखकहरूमा पाइन्छ । सुनेर मुसो मुस्कुराउँछ । गणेशजी डाइटिङमा विश्वास गर्दैनन् भन्ने उसले जानेको छ । टन्न खान्छन् र लेख्छन् । अनि निरन्तर बसेर लेखिरहँदा शरीरको तौल त बढिहाल्ने भयो !

मुसाले साहित्यको गरोस् पो के ? उसलाई त चाहिन्छ अन्नका दाना । त्यसैलाई कोतरिरहोस् र प्रसन्न रहोस् । उसको आवश्यकता भनेको जनसाधारणको आवश्यकता हो । खानु र पेट भर्नु नै त हरेक गणेशभक्तको आवश्यकता हो । ‘भोकै भजन हुँदैन गणेश !’ अथवा जेसुकै होस् । साहित्यबाट पैसा कमाउने कुराको घनघोर विरोध त तिनैले गर्छन् जसको लेक्चररसिप स्थायी भएको हुन्छ र नयाँ ग्रेडवृद्धिको तलबमानमा तलब आइरहन्छ । जो अधिकारी छन् तिनलाई पेन्सनको सुविधा छ र तिनीहरू साहित्यमा ‘क्रान्ति त क्रान्ति’को नारा उरालिरहन्छन् । मुसो भने वास्तवमै गणेशभक्त हो ।

राष्ट्रिय दृष्टिकोणले सोच्नुस् । मुसाले गर्दा देशको कति खाद्यान्न बबार्द हुन्छ भन्ने थाहा छ तपाईंलाई ? मुसो शत्रु हो । देशका गोदामहरूमा पसेको चोर हो । हाम्रो उत्पादनको एउटा ठुलै प्रतिशत मुसाहरूको भुँडीमा जान्छ । मुसाहरूबाट खाद्यान्न जोगाउनु हाम्रो राष्ट्रिय समस्या हो । तपाईंले यसमा कहिल्यै विचार गर्नुभएको छ ? बडो गणेशभक्त बन्नुहुन्छ ! विचार गरेका छौँ । त्यत्तिकै गणेशभक्त बनेका होइनौँ । समस्यामाथि विचार गर्नु त हाम्रो पुरानै रोग हो । हाहाहाहा !!! सुनिहाल्नुस् न त !

तपाईंलाई किन दानादानामा खाने मान्छेको नाम लेखिएको हुन्छ भन्ने थाहा छ कि छैन ? यो भनाइ अनार र मेवाका निम्ति मात्र भनिएको होइन, खाद्यान्नका ससाना दानाका निम्ति पनि उत्तकै लागु हुन्छ । हरेक दानामा खाने मान्छेको नाम लेखिएको हुन्छ । केही बेरपहिले जुन परौँठा मैले अचार लगाएर खाएको थिएँ, त्यसमा ठाउँठाउँमा ‘शरद् जोशी’ भनेर लेखिएको थियो । यति धेरै दानाहरूमा नाम लेख्नु चानचुने काम होइन । कसले गर्न सक्छ यो ? श्री गणेशजीले । अरू कसले ? उनैले सक्छन् लेख्न । अरू कसैको बुताको काम होइन यो । परिश्रम, तल्लीनता र न्यायको आवश्यकता पर्दछ । यो दानादानामा नाम लेख्ने काम साहित्यकारलाई जिम्मा देऊ अनि हेर त , केवल आफ्नो आसेपासे र साथीसँगीको नाम लेख्नेछन् र अरूलाई त्यसै छोडिदिने छन् भोकै मर्नका लागि । दानामा तिनको त नामै लेख्ने छैनन् । मानौं दानामा नाम होइन, साहित्यको इतिहास लेख्नु थियो, या पछिल्लो दशकका लेखकहरूको आँकलन गर्ने काम थियो अनि जससित उनीहरू असहमत थिए तिनको नाम भुसुक्कै बिर्से ।

दृश्य यस्तो हुन्छ । गणेशजी बसेका छन् माथि । छिटोछिटो दानामा नाम लेख्नमा व्यस्त छन् । अधिष्ठाता भएका कारण कहाँ के उब्जिन्छ भन्ने उनलाई थाहा छ । उनको काम हो दानामा नाम लेख्नु जसबाट जसको नामको जुन दाना हो त्यो त्यसैले पाओस् । काम जारी छ । मुसो तल बसेको छ । बिच बिचमा गुहार लगाउँछ, ‘हाम्रो पनि ध्यान राख्नुहोला प्रभु ! मुसालाई नै बिर्सिदिने कामचाहिँ नहोस् । यसमा गणेशजी मनमनै मुस्कुराउँछन् । उनका दाँत पनि देखाउने र मुस्कुराउने छुट्टाछुट्टै छन् । फेरि केही दानामा नाम लेख्न छाडिदिन्छन्, बिर्सिन्छन् । जुन दानामा कसैको नाम लेखिएको हुँदैन ती सबै मुसाका । मुसो गोदामहरूमा पस्छ । जुन दानामा नाम हुँदैन तिनलाई टोकी टोकी खाइरहन्छ । गणेशमहिमा !

एक दिन मुसाले भन्यो, ‘गणेशजी महाराज, अलिकति कृपा गरिदिनुस् । असल घरको ठेगाना पनि लेखिदिनुस् नामसँगै, अनि बिचराहरूलाई यति झमेला भोग्नु पर्दैन । आफ्नो नाम लेखेको दाना खोज्न मरी मरी कुदिरहन्छन् । भोपालबाट बम्बई र दिल्लीसम्म । घरको ठेगाना लेखियो भने दाना घरमै पुग्ला र उनीहरूलाई यसरी भौतारिनु त नपर्ला ।’ आफूले बुझेअनुसार त मुसाले बडो समाजवादी कुरो गर्दै थियो तर गणेशजीले खुच्चिङ पारिदिए । ‘चुप लाग् । बढी चूँ चूँ नगर् ।’

नाम लेख्दालेख्दा गणेशजी त्यसै पनि थाकेका हुन्छन् । त्यसमाथि ठेगाना पनि लेख्न बस्नु ? मुसाको के, मुख फोरेरै भन्यो, ‘न्यायको स्थापना गर्नुस् । दानाको सन्तुलित र पेट भरिने गरी बाँडफाँड गर्नुस् । नाम लेख्न पनि जरुरी छैन । गणेशजी, कहिलेसम्म लेखेर बसिरहनुहुन्छ ?’ प्रश्न त के छ भने त्यसो भए मुसाहरूको दसा के होला ? ती जसले हरेक व्यवसायबाट आफ्नो प्रतिशत कमिसन कोट्याउँछन् तिनको के होला ? त्यही भयो नि त ! कुरो श्री गणेशबाट सुरु गरियो र त्यो बिस्तारै मुसासम्म त पुगिहाल्यो । के गर्नुहुन्छ ?

०००
जाेशीकाे ‘अथ  श्री गणेशाय नम:’ हिन्दी निबन्धबाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
0
Would love your thoughts, please comment.x
()
x