साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वच्छ छवि

व्यक्ति कुरा सकेर उठ्छ, बिदाइमा नमस्कार गर्छ । उहाँले पनि यसो टाउको हल्लाइदिनुहुन्छ, नमस्कार स्वीकार्य छ भनेर । र व्यक्ति बाहिरिन्छ । देख्नेहरू उहाँको स्वच्छ छविदेखि अभिभूत हुन्छन् ।

Nepal Telecom ad

भाउपन्थी :

उहाँ स्वच्छ छविको हुनुहुन्छ । स्वच्छ छवि भन्नाले उहाँ बिहान उठेपछि नित्यकर्म र त्यसपछि नुहाइधुवाई गर्नुहुन्छ । स्वच्छता उहाँको प्रधान विषय हो । हिजो लगाएका लुगा उहाँ पुनः लगाउनुहुन्न । उहाँको पोसाक प्रायः मयलपोस सुरुवाल नै हुन्छ । कहिलेकाहीँ मयलपोसको ठाउँमा कुर्ताको प्रयोग गर्नुहुन्छ । पोसाक इस्त्री लगाएर चिटिक्क पारिएको हुनुपर्छ । जुत्ता काला नै मन पराउनुहुन्छ । ती पालिस गरेर टल्काइएका हुन्छन् । सरसफाइबारे उहाँ सतर्क हुनाले उहाँ स्वच्छ छविको ठहरिनुभो ? होइन अन्य अनेक कारण पनि छन् उहाँलाई स्वच्छ छविको भन्नुमा । कारण यो पनि थियो, उहाँ गोरो र दुब्लो, पातला राता ओँठका हुनुहुन्थ्यो । हातखुट्टा खिरिला र बोल्दा उहाँ मसिनो स्वरमा बोल्नुहुन्थ्यो । नजिक गएर सुन्नुपर्ने पनि हुन सक्थ्यो । तर उहाँले धेरैलाई नजिक पर्न दिनुहुन्नथ्यो । कारण उहाँलाई आफ्नोभन्दा अर्काको श्वास अत्यन्त गनाउँछ रे ।

पहिले उहाँ शिक्षक हुनुहन्थ्यो रे । रेका कुरा । पङ्क्तिकारले प्रत्यक्ष देखेको होइन । उहाँका भाषणमा शिक्षकत्व झल्किन्छ । उपदेशात्मक । नेतागिरी उहाँले पछि सामात्नुभो । पहिले पनि उहाँ स्वच्छ छविकै हुनुहुन्थ्यो, शिक्षक छँदा । उहाँको माताले भन्नुहुन्थ्यो— ‘यो जन्मँदा मलाई थाहा नै भएन । कति बेला खसुक्क बाहिर आइसकेछ । यो रोएको हाँसेको थाहा छैन ।’ तर अनुहारले उहाँ गम्भीर हुनुहुन्छ । मानौँ कुनै गहन चिन्तनमा मग्न । घरकाले भन्थे— उहाँ हाँसेदेखि पानी पर्न सक्थ्यो । तर घरकाहरू यो पनि भन्थे— ‘उहाँमाथि देशको बोझ छ । देशले उहाँलाई हाँस्न दिँदैन ।’ मतलब यो हुन सक्थ्यो— देशमा एक जना पनि रुने बाँकी रहेसम्म उहाँले नहाँस्ने प्रतिज्ञा गर्नुभएको छ । यो प्रश्न पनि बन्थ्यो । पङ्क्तिकारको यस प्रश्नमा घरकाहरूले अनभिज्ञता प्रकट गरे । तर उनीहरूको भनाइ यो पनि आयो, पङ्क्तिकारको प्रश्नले सम्भावनाको एउटा क्षितिज उघारिदिएको छ । माने देशमा एक जना दुखी छउन्जेल र ऊ नहाँसेसम्म उहाँ पनि हाँस्नुहुन्न ।

गम्भीर अनुहारका भए पनि सरसफाइमा बेसी ध्यान दिने । बसेर उठेको ठाउँबाट यता निस्कनुभन्दा अगि जिउको पोसाक टकटकाइहाल्ने । चुरोट उहाँ खानुहुन्नथ्यो तर पटक्कै नखाने होइन । भात खाएपछि एक किमिसको महँगो विदेशी वफेटावाल चुरोट उहाँ खानुहुन्थ्यो । खरानी उहाँ एस्ट्रेमा झारिरहनुहुन्थ्यो । चुरोट परेसान । सल्केर टुप्पामा खरानी जम्मा हुन पाएकै छैन उहाँ एस्ट्रेमा लगेर टकटकाउनुहुन्थ्यो् । यो बानी नै परेको थियो उहाँमा । चिया पनि कप र प्लेटमा । कपको बिट फुटेको हुनुहुँदैनथ्यो । चट्ट कपबाट तल प्लेट थापेर उहाँ चियाको चुस्की तान्नुहुन्थ्यो । तर कहिल्यै उहाँले चिया जीउमा पोखिएको देखिएन । चिया खाने शैली उहाँको भनियो सामन्ती खालको थियो । उहाँसित विमति राख्नेहरूले धेरै कुरामा उहाँलाई सामन्ती भन्थे ।

पङ्क्तिकारको विचारमा शिक्षक पेशाबाट राजनीतिमा माथि मन्त्री अझ उपप्रधानमन्त्री पदसम्म उठेको मानिस कसरी सामन्ती हुन सक्छ ? यो एउटा चलन नै भइसक्यो मुलुकको रानजनीतिमा, आपूmसँग असहमतजति सामन्ती वा लोकतन्त्रविरोधी भइहाल्ने । पङ्क्तिकारलाई यसमा आपत्ति थिएन किनभने सामन्ती वा लोकतन्त्रविरोधी भनेर आरोप आक्षेप लगाउँदा जिभ्रो र गिदीले एउटा बेग्लै आस्वाद पाउँथे । राजनीतिको भाषागत विशेषता थियो यो । तर उहाँ स्वच्छ छविका हुनुहन्थ्यो । स्वच्छ छवि, कहिल्यै नाक कोट्याएको देखिएन र जथाभावी थुक्दै हिँडेको पनि । यो पनि समिान्तीपन नै थियो । नाक कोट्याउनु यस मानेमा, मुलुकको चिन्तामा निमग्न भइँदा नाकभित्र ओँलो छिराएर सिङानका सुकेका लोप्रा कोट्याएर बाहिर फाल्ने काम । यसले पङ्क्तिकारको अनुभवमा छेउछाउकालाई बिर्सेर एकदमै गहन चिन्तनतिर व्यक्तिलाई डुबाइदिन्थ्यो ।

अर्को कुरो यो थियो, स्वच्छ छवि हुनुको, उहाँ दारी पाल्नु हुन्नथ्यो । उहाँको मतमा दारीले फोहोरी बनाउँछ । मानिसलाई बिरूप पार्छ । दारी नपालेपछि जुङा पाल्ने कुरो पनि भएन । बरू जुङा पालेर दारी नपाल्न पनि सकिन्छ । उहाँ दैनिक दारी खौरनुहुन्थ्यो । दारी खौरनमा उहाँको विशेषज्ञता नै थियो । खौरने काम भन्नाले कतिलाई उहाँले थाहै नदिई खौरिसक्नुभएको पनि हुन सक्छ । राजनीतिमा यो चल्छ । खुट्टा तान्नु वा माथिका नेताको कान फुक्नु आदि चल्छ । मुलुकमा धृतराष्ट्रहरूको आधिपत्य छ । उनीहरूलाई प्रभावित पार्न कान फुक्नुका अलावा एउटा यो खौरने काम पनि सामेल छ । पङ्क्तिकारलाई विश्वास छ, उहाँ खौरनमा निपुण हुनुहुन्छ । अरूलाई खौरने कामका लागि दैनिक एक पटक उहाँ आफ्ना नेताको चाकरीमा नियमित जानुहुन्छ । यो एउटा तपस्या जस्तै हो, नेताको चाकरी । जान नसकेमा उहाँलाई ग्यास्ट्रिकले सताउँछ । पेटमा कुरा पच्दैन । ओकल्न पाइए पो त्यो शमन हुन्छ ।

उहाँको भनाइमा राजनीति स्वच्छ छ । यो मिसावट गरेर नाफा कमाउने व्यापार होइन, कसैलाई अपहरण गरेर फिर।ौती लिने पनि होइन, विचौलियागिरी गरेर कुम्ल्याउने पनि होइन, कमिसन खाएर मोटाउने पनि होइन, भूमाफिया वा डरधम्की देखाएर ब्ल्याकमेलिङको धन्दा पनि होइन । हो त के राजनीति ? यो प्रश्नमा उहाँ मौन रहनुभो । हो त के भने शुद्ध रूपमा नगद लिने र काम गरिदिने तन्त्र हो राजनीति अथवा काम गरिदिनुअगि रकम बुझ्ने काम । तर यसलाई उहाँले साइलेन्स राख्नुभो ।

आपूmलाई कोही भेट्न आए भने उहाँ पहिले बैठक कक्षमा तयारीसाथ बस्नुहुन्छ । कोठा सफा, सोफा सफा, पर्दा सफा, कक्षका फोटाहरू सफा । स्वच्छ छवि त्यसै्र कायम हुँदैन । फोटाहरू उहाँ पार्टीका ठूला र दिवङ्गत अदिवङ्गत नेताहरूसँग सँगै उभिएको बसेको, गाडीमा हात हल्लाउँदै हिँडेको वा माला लगाइदिँदै गरेको वा माला थाप्दै गरेको छवि उजिल्याउने खालका हुन्छन् । उहाँ पहिले थाहा गर्नुहुन्छ भेट्न आउने के कति कामले आइरहेछ । चित्त बुझेन भने उहाँ पहिले नै भेट्न अस्वीकार गरिदिनुहुन्छ । उहाँको स्वच्छ छविले गर्दा भेट्ने आउनेले पनि एकदमै महत्वपूणर् काम नभएसम्म भेट्ने अवसरको माग गर्दैन । उहाँलाई चित्त बुझेन भने पार्टीको कामले बाहिर जानुभा छ भनिदिन्छन् घरकाहरू । भेट्न आउनेले ल्याएका फलफूल र कोसेली भित्र हुलेपछि भेट्न आउनेलाई बस्नोस्सम्म भनिँदैन । भनिन्छ— टाइम लिएर आउनोस् । यसरी अपर्माझट आएर नेताहरू कसरी भेटिन्छन् । देशको अवस्था यस्तो चिन्ताजनक छ । हामी असफल भइरहेछौँ । देशका लागि केही ठोस गर्नु छ त्यसैले बिहानैदेखि बाहिर जानुभा छ । अहिले जानोस् । ठूला नेताहरूसँगको उहाँको भेटघाट छ ।’

उहाँको स्वच्छ छवि निष्कलङ्क छ । पङ्क्तिकारको विचारमा उहाँले यो स्वच्छ छविलाई निरन्तरता दिन सक्नुहुन्छ । अपवाद केही छैन । जति छ त्यसले उहाँको निष्कलङ्कतालाई कलुषित गराउन सक्दैन । भनाइ यो हो— साँझपख उहाँसँग विशेष भेटघाटका लागि समय मिलाएर मुनाफाखोर व्यापारी, राजस्व छल्ने उद्योगपतिहरू, कालाबजारियाहरू, भूमाफियाहरू, विचौलियाहरू आउँछन् । उनीहरूको पनि छवि स्वच्छ नै हुन्छ । सुटेडबुटेड । कोही सेता झकिझकाउ कुर्तासुरुवालमै । कारमै । हातमा महँगा ब्रिफकेस । तिनीहरूलाई सुटुक्क भित्र छिराइन्छ । उहाँले स्वच्छ छविविपरीत उनीहरूले बोकेको ब्रिफकेस लिनुहुन्न । भित्र लगेर राखिदिन सङ्केत गरिन्छ ।

भित्र पुर्‍याएर व्यक्ति बाहिर मुस्कुराउँदै निस्कन्छ । प्रत्युत्तरमा उहाँ मुस्कुराउनुहुन्न । कतिपय बेला ब्रिफकेसको ओजनले उहाँका ओँठका कुना थोरै उचालिन्छन् । मुस्कुराउनु उहाँको स्वच्छ छविको सिद्धान्तसँग मेल खाँदैन । व्यक्तिसित केही बेर कुराकानी हुन्छ । भित्री कक्षबाट अङ्क लेखिएको चिट ल्याएर उहाँको सम्मुख देखाइन्छ । चिटको अङ्क पढेर उहाँले स्वीकारमा टाउको हल्लाउनुहुन्छ । यस्तो भएको छैन कहिल्यै, अङ्क पढेर उहाँले अस्वीकारमा टाउको हल्लाउनुभएको होस् । धेरै खारखेर र माझामाझपछि एउटा सहमतिमा पुगेको अङ्क चिटमा लेखिएको हुन्छ जुन राशि ब्रिफकेसमा राखिएको हुन्छ । व्यक्ति कुरा सकेर उठ्छ, बिदाइमा नमस्कार गर्छ । उहाँले पनि यसो टाउको हल्लाइदिनुहुन्छ, नमस्कार स्वीकार्य छ भनेर । र व्यक्ति बाहिरिन्छ । देख्नेहरू उहाँको स्वच्छ छविदेखि अभिभूत हुन्छन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x