हरि वंदीटाइगरज्यूको देहावसान
चङ्खे बखते पनि अलमलियो । सुनेको कुरा खान सकेन । तर नजिकै तमासे भएर उभिएकी सानु मैयाँले तुरुन्तै बुझिन् र भनिन्- “डैडी ! टाइगरलाई त्यहाँ नगाडिस्योस् । भूत भएर तर्साउँछ ।”

हरि बन्दी :
आखिर केही सीप लागेन । साँच्चिकै टाइगरझैँ हिजो दिउँसोसम्म ह्वाउह्वाउ गर्जने बाबुसाहेबको अचाक्ली प्यारो टाइगर कुकुरले आज बिहान ङ्याउङ्याउ गर्दागर्दै बही बुझायो । परार मुमामा स्वर्गे हुँदा पटक्क आँसु नझारेका बाबुसाहेब रुमालले मुख छोपीछोपी खोपीभित्र पसेर सुँक्कसुँक्क रोए । मानौँ टुहुरो नै भए । टाइगरलाई बचाउन गर्नु गरियो । बाबुसाहेबको मोटरकारहरूमा सधैँ पछिल्लो सिटको शोभा बढाउने टाइगरलाई आफैँले हिजो काखमा राखेर बाबुसाहेबले त्रिपुरेश्वरको पशुचिकित्सालयमा मर्सिडिज बेञ्जमा दौडाएथे ।
तैपनि टाइगरको प्याउप्याउ स्वर एकतमासको, एकनासको हुँदै गयो । टाइगर झन्झन् सिकिस्त हुँदै गएको तोडमा बाबुसाहेबले हिजो बेलुकी त भुजाज्यूनार गर्नै पनि बिर्सिदिए । अनि रातभर दुलहीसाहेबदेखि घरका एक दर्जन नोकरचाकर सबै बाबुसाहेबको कठोर आज्ञाले बिरामी टाइगरको अटुट सेवामा तैनाथ गरिए । दुलही साहेबलाई बेलाबेलामा झप्की नलागेको होइन, तर टाइगरको छिनछिनको कुइँकुइँले निद्रा गायब । नोकरचाकरहरू टाइगरको वरिपरि एकअर्कालाई मुखामुख हेराहेर गरी पूरैरात जाग्राम बसे । किनभने हिजोअस्तिजस्तो आज टाइगरको गोडा र ढाड सुमसुम्याएर मालिक रिझाउन त के छुनसम्म पनि पशुको डाक्टरले मनाही गरिदिएको थियो ।
उनीहरू टाउको झोक्राएर ठूलो सन्तापमा परेझैँ आफूलाई विवश देखाइरहेका थिए । भित्रभित्र भने दङ्दास थिए, किनभने उनीहरू सधैँ आधा पेट उसिनामा, टाइगर छेरुन्जेल मसिनामा टाइगर छाकैपिच्छे आधा धार्नी फिले मासु पाउँथ्यो, उनीहरूको भागमा महिनामा बल्लतल्ल दुई पाउजति मासु आउँथ्यो । यसैले आफ्नै जारतुल्य जनावर आफ्नै अघिल्तिर अहिले छटपटिरहेकोे देखेर उनीहरूको हाड हाँसिरहेको थियो । दुई लाख ठेक्कामा नोक्सान खाँदा खिन्न नहुने बाबुसाहेब बिचरा ! कोचको तल सतरन्जामा च्यूँडोमा हात राखेर दिक्क थिए ।
बिहानीपख भालेको पहिलो डाँकोमा टाइगरले सास छोड्यो । टाइगरले हिरिक्क हिरिक्क गरेको सुइँको सबभन्दा पहिले हीराले के पाएको थियो, डाँकै छाडेर ऊ रुन थाल्यो- “हजुर ! टाइगर स्वर्ग जानुभन्दा त मै राँडो गा’को भा’ हुन्थ्यो पो !”
यही मौका छोपेर अझ चर्को स्वरमा तिलेले तीखो आवाज झिक्यो- “मै अभागी मर्दो हुँ ! टाइगर ! किन बिजोग पारेर छाडयौ नि !”
मालिकको हातबाट असर्फी डल्लेको हातमा पर्यो किझैँ डाढोले आत्तिएर कालु करायो- “है देव नारान् ! मेरो मुटु नै चुँडाएर लग्यौ, सिरी-सम्पत्ति नै हर्यौ !”
यतिन्जेल बाबुसाहेबका बाहिरिया चाकरीदारहरू एकअर्को गरेर धमाधम आउन थालेका थिए । यो बेलामा आउनेहरूमा सुन्तलीका जोईपोइ नै सबैभन्दा अघि जस गुत्नेमा परे । सुन्तलीले बोली बिराउलान् भनी आफ्नै अधबैँसे पोइलाई उछिनेर भनी- “मालिक हजुर ! कर्मको लेखा कसै गरी मेटिन्न । जो हुनु भो । सप्ताह एउटा लाइबक्स्योस् । टाइगर तर्छ ।”
सुन्तलीको पोइ घण्टेले थप्यो- “हो हजुर ! छोरो जसरी पालिबक्सेको टाइगरलाई धर्मको सिँढीमाथि चढाएर स्वर्ग पठाइबस्क्योस् ।”
अलि पर टुप्लुक्क आइपुगेको बखतेले बीचैमा कुरा टिपेर बाल्यो- “हजुर ! कहाँ हुन्थ्यो, कुकुरको सप्ताह लगाए त खतबात लाग्छ । बरु गरिबगुरुवालाई दानदक्षिणा बक्से शुद्धि हुन्छ ।”
सुन्तलीका जोईपोइले बल्ड्याङ्ग्रे आँखा पल्टाएर बखतेलाई काँचै निलुँला जस्तो गरी हेरे । बखेले उल्टो आँखा झिम्काएर कुरा बुझाउन खोज्यो ।
यतिन्जेलमा बाबुसाहेबले ठूलेलाई मोटरसाइलमा दौडाएर ल्याएको तासको कपडाले टाइगरलाई छोपिसकेका थिए । गहभरि आँसु र बहभरि गह्रुङ्गो स्वर झिकेर बाबुसाहेबले बखतेलाई अराए- “ए बखते ! टाइगरलाई मेरो बैठक कोठाको तल बगैँचामा राख्नुपर्छ । जा खन् ।”
चङ्खे बखते पनि अलमलियो । सुनेको कुरा खान सकेन । तर नजिकै तमासे भएर उभिएकी सानु मैयाँले तुरुन्तै बुझिन् र भनिन्- “डैडी ! टाइगरलाई त्यहाँ नगाडिस्योस् । भूत भएर तर्साउँछ ।”
सानु मैयाँको कुराले मात्र बुझेर बखते कोदाली लिन भित्रतिर दौड्यो । बाबुसाहेबले यो सुने झर्के- “हो मैयाँ ! त्यस्तो पनि भन्न हुन्छ हाम्रो टाइगरलाई ! त्यही न्याउली बूढी होली नि भूत ! कठै यो त देवदूत !”
अलि पर बसेकी मैयाँहरूलाई कथा सुनाउने न्याउलीले आफ्नो टाउको टाङमुनि घुसारी । यता बाबुसाहेबले पेरिसबाट झिकाएको गुलाबी अत्तर टाइगरको लासमाथि छर्कन थाले ।
०००
‘उल्टोपट्टि’ निबन्धसङ्ग्रह (२०६०)
Subscribe
Login
0 Comments
Oldest







































