नेपाल चरम विकासतिर
बाटोभरि टाउको छड्किरह्यो । सुनको भाउ पो दिनदिनै बदलिन्छ अन्तर्राष्ट्रिय बजारमा, नेपालको राष्ट्रिय बजारमा त छिनछिनै फलामको भाउ पनि बदलिँदो रहेछ ।
हरि वंदी :
यो टाउको पढ्दा तपाईंको टाउकोलाई अर्थ लाग्ला कुनै समाचारको टाउको हो । बिलकुल ठीक । टाउकैटाउकाको महत्त्व छ यहाँ, बोकाको टाउकादेखि समाचारको टाउकोसम्म । मेरो टाउकोलाई यो टाउकोले कसरी कुतकुत्यायो भने मेरो विश्वास अस्तिसम्म थियो- नेपाल विकासोन्मुख मुलुक हो । तर हिजो मात्र त्यो विश्वासको चीनको भन्दा पनि ठूलो पर्खाल तीन छक खाई ग्वार्लामगुर्लुम ढल्यो । कुरा के भयो भने वर्षाको खोलो पसेको मेरो घरलाई ढल्नवाट बचाउन तलो थप्ने सुरमा म बाटोमा हिँडिरहेको थिएँ- देखें काष्ठमण्डपको एउटा गोदामले फलामको छड थुपारेको रहेछ । पाइला त्यतैतिर बढाएँ । महँगीको छाडा व्यापारको अपार मौका छोपी काठउद्योगले पनि फलाम भित्र्याएछ । साहूजीसँग छडको कुरा छेडें । भन्न थाले- “हजुर, मोल त ४ लाइन छडको वाह रुपियाँ के. भी. मा खोसाखोस छ । हजुरजस्तो आफ्नो मान्छेलाई म एक सुका कम गरिदिन्छु।” मैले भनें- “साहुजी, सरकारी रेट त साढे दस छ नि ?” साहूजीले भने- “रेटसेटको कुरा नगर्नुस्, रेटको कुरा गर्ने भए गेटतिर लाग्नुस् हजुर !”
मैले झट्ट सोचें, यो हप्ता आफ्नो घरको ढलान हुने आजसम्म छडको पत्तो नै छैन । यो ब्ल्याक मार्केटको ब्रह्मलुटमा बजारबाट छड नै चट हुन के बेर ! अनि भाउका लागि साहूजीसँग बिन्तीभाउ गर्न लागें- “साहूजी, त्यसो नभन्नुस् ! जे भए पनि मलाई साढे एघारसम्म गरिदिनोस् ।” साहूजीले भने- “हुन त घटाउन नहुने हो तर तपाईंको मुख हेरेर एक रुपियाँ लौ भैगो म छोडिदिन्छु ।”
म दौडेर घर आएँ, सन्दुक खोलें र हजारको एक बिटो बोकें । झलक्क सम्झेँ, साहूजीले भनेको- ‘तपाईंको मुख हेरेर ।’ होइन, मेरो मुखमा के रहेछ र त्यस्तो भनेर ऐना उठाएर पुलुक्क हेरें, मुख त उस्तै हो, खालि बेफुर्सदीले दुई दिन यता झुस्स दारी पलाएको छ मुखभरि त्यति मात्र हो । मेरो दारीले साहजीको मनमा पक्कै दया लगाएन होता त !
म काठगोदामतिर जसरी दौडेर आएको थिएँ त्यसरी नै दौडेर पुगें । हेर्छ त साहूजी छैनन् । साहूजीको प्रतिनिधित्व गर्दै विदेशी भाइ देखा परे। मैले उनलाई भनें- “साहूजीसँग मोलको तय भइसकेको छ जोब्नुस् छड।” भारते भाइ भन्न थाल्यो- “ओ तो मालुम छैन हजुर, साहूजीको इन्तजार गरिलिनुस् ।” साहूजीको प्रतीक्षामा दुई घण्टा कुरिज खाएँ, तैपनि साहूजीको फिर्ती आगमन भएन । साहूजी भागेका रहेछन् एयरपोर्टतिर । सायद उतैबाट हवाईजहाज पक्डी उडे कि भन्ने लाग्यो । हताश भएर आखिर घर फर्के। घर भित्रनासाथै मुसलधारे घनघोर वर्षा हुन थाल्यो । दिनभर घरभित्र छिरेको खोलो पन्छाउनमै अति व्यस्त हुन पुगें । भोलिको सूर्य उदाउनुअघि नै थैलो वोकेर साहूजीकहाँ पुनः पुगें । सौभाग्यले आज विराजमान रहेछन् उनी । भर्ने- “लौ साहूजी, हिजो तपाईलाई पर्खदा आधा दिन गयो, अब जोख्नुस् छड ।”
साहूजी छडजस्तै कड्के- “हुन्छ म जोख्न लगाउँछु तर तपाईलाई अहिल्यै भनिदिन्छु, हिजोको जति आज हुँदैन नि मोल, हुने हो ?”
म पनि पड्किन पुगें- “के भन्नुभएको साहूजी ? हिजो र आजमै मोल फरक ?”
साहूजी झन् फलामको छडबाट इस्पात वन्न पुगे- “हेर्नोस्, हामीलाई दिनदिनैको भाउ विराटनगरबाट खबर आउँछ । आज बढ्यो । भोलि अझ वढ्ला के ठेगान् । रह्यो तपाईंको र मेरो कुरा, आज तेह पुगेको छ म तपाईलाई पच्चीस पैसाको सहुलियत दिन तयारै छु ।”
मलाई लाग्यो- साहूजीले मानौं त्यही छडले मलाई दनादन पिट्दै छ । म चुपचाप भाउन्निएर निस्कें कारण मैले बोकेको नोटको विटोमाथि हिजोको आजै अर्कै झन्डै उत्रै विटो थप्नुपर्ने स्थिति आयो । बाटोभरि टाउको छड्किरह्यो । सुनको भाउ पो दिनदिनै बदलिन्छ अन्तर्राष्ट्रिय बजारमा, नेपालको राष्ट्रिय बजारमा त छिनछिनै फलामको भाउ पनि बदलिँदो रहेछ । सायद नेपालले यस क्षेत्रमा विकसित मुलुकहरूलाई पनि उछिनिसक्यो ।
०००
उल्टोपट्टि (२०४५)
Subscribe
Login
0 Comments
Oldest