साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय सम्पत्तिको सदुपयोग

राष्ट्रलाई रसातलमा पुऱ्याउन भरमग्दुर भगीरथ प्रयत्न गर्ने सारथिले विकासको खसोखास दाबी गरी जहाँ मञ्च भेट्टायो कि त्यहाँ उर्लने र कुर्लने गर्नेछ ।

Nepal Telecom ad

हरि वंदी :

आफ्नो सम्पत्ति सबैलाई प्यारो हुन्छ । तर नेपाली समाजमा यस्ता महात्यागी राष्ट्रभक्तहरू मौजुद छन्, जसलाई आफ्नो निजी सम्मतिभन्दा कता हो कता बढी राष्ट्रिय सम्पत्तिको माया छ । यस्तो राष्ट्रभक्ति अन्यत्र कहीं पाइँदैन नेपालमा मात्र पाइन्छ । यिनको प्रशस्ति गाउनुअगाडि म तपाईंलाई चिनाउन उभिएको छु ।

उहाँ हुनुहुन्छ महास्वार्थानन्द । अहिले नै बताइहालूँ- उहाँ कुनै अखडाको स्वामी होइन- उहाँको स्मगलानन्द, भोगानन्द, भ्रष्टाचारानन्द, परिपूर्णानन्दको संक्षिप्तीकरण बोलाइने नाउँ हो महास्वार्थानन्द । उहाँको चरित्र विश्लेषण गर्ने काम भने अलि अप्ठ्यारो छ, किनभने उहाँ आफूलाई कुनै सीमा- भित्रको पेसामा सीमित गर्न चाहनुहुन्न र कुनै जातिविशेषको दाम्लो पनि आफ्नो गर्धनमा भिर्न चाहनुहुन्न ।

तर एउटा कुरामा भने उहाँले ग्रिन सिग्नल दिइसक्नुभएको छ- त्यो हो नेपालको हावापानी सुहाउँदो कट्टर राष्ट्रवादको उहाँ हो- सर्वश्रेष्ठ समर्थक । अर्थात् विश्ववन्धुत्वको अन्तर्राष्ट्रिय नारालाई उहाँ खोक्रो र हात्तीको देखाउने दाँत सम्झनुहुन्छ । यसैले सालाखाला नेपालीको तुलनामा अपेक्षाकृत लामो दौरा उहाँको भेषभूषा छ र बोलीमा उहाँ तराई र पहाडको दुवै भाषा घोली बोल्ने गर्नुहुन्छ । उहाँलाई सजिलै खुट्टयाउन काँधमा उहाँ झोली पनि भिर्नुहुन्छ र गाडीभित्र हुँदा ब्रिफकेस पनि साथमा लिनुहुन्छ । झुलुक्क हेर्दा उहाँको सक्कल यस्तै देखा पर्छ ।

सार्वजनिक स्थलहरूमा गीताको शपथ पनि उहाँ ठेक्कापट्टाको गोलमाल रकमजस्तै सहजै खाइदिनुहुन्छ र आफ्नो इमानदारीको सच्चा स्वरूपलाई उहाँले आजकल ‘डोरक्स मेसिन’ को संज्ञा दिनुभएको छ जसको अर्थ हो त्यस कपिकर्ता आत्माका अनेक शरीर बेलाबेलामा सृजना हुन्छन् ।

अर्थात् उहाँको प्रतिरूप कहिले कृषिकाण्डको सचिव, कहिले कर भन्सारको खरदार, कहिले उद्योगपति र कहिले कार्पेटकाण्डी मन्त्री र कहिले सभापतिको योनीसम्म पनि जुनी फेर्छन् । तर उहाँको विशेषता यी सबै घरी जुनीमा सम्भव हुन्छन् र तिनले जेजे गरी भ्याउने हो सकभर एउटै मन्त्रिमण्डलको आयु नसकिँदै आकाशपाताल गरिसक्छन् ।

अब लागूँ महास्वार्थानन्दको राष्ट्रवादतर्फ । उहिले सत्तासीन हुँदा उहाँले देशमा जुन दरिद्रताको अर्को सगरमाथा उभ्याउनुभयो, अहिले सत्ताहीन हुँदा आफूले देशव्यापी रूपमा अघि चर्काएको महंगी, अभाव र अगतिमा लगभग डुबिसकेका जनताको टुपी तानेर निकाल्ने नाटकको रङ्गमञ्च तयार पार्दै हुनुहुन्छ उहाँ । उहाँको नाटकको शीर्षक हुनेछ- ‘खुर्सानी प्रजातन्त्र’ । जसको विषयवस्तु प्रजातन्त्र ज्यानमारा खुर्सानीजस्तो पिरो हुन्छ र जसले पचाउन सक्छ त्यो मात्र सफल हुन्छ भन्ने छ ।

नाटकको कथानक यस्तो छ- अनुत्पादक हरियो वन मासी खुर्सानीको खेती धूमाधामले गरिनु, खुर्सानीका लागि जङ्गल फँडानीदेखि खुर्सानी निकासीसम्मका आफ्ना भाइभतिजालाई सक्रिय रूपमा संलग्न गराउनु र अन्ततोगत्वा आफ्ना साहनबाहनसहित धनवान् कुवेर बन्नु ।

यो नाटकका चरित्र भने विचित्र हुनेछन् र ती जे हुनेछन् सत्पात्र र भित्र एकछत्र आफ्नै दुनो सोझ्याउने मात्र हुनेछन् । तर वास्तवमा ती जे होइनन्, आफूलाई त्यही नै सिद्ध गर्न खोज्नेछन् । उदाहरणार्थ महाभ्रष्ट शिरोमणिले नैतिकताको प्रामाणिक शास्त्र तयार पार्नेछ, घोर दमननीति डन्डाधारी कुलपतिले उदारवादको झन्डा फहराउनेछ । राष्ट्रलाई रसातलमा पुऱ्याउन भरमग्दुर भगीरथ प्रयत्न गर्ने सारथिले विकासको खसोखास दाबी गरी जहाँ मञ्च भेट्टायो कि त्यहाँ उर्लने र कुर्लने गर्नेछ ।

यो नाटक डनक्विकसट् र साञ्चोपाञ्चाका बथानहरूबाट प्रेरित हुनेछ र जबजब कुर्सी खाली भएको सुइँको लाग्नेछ अनि पुन विकास संस्थापनाय संभवामि युगे युगे भनी त्यहाँ बुर्कुसी मार्ने तँछाडमछाड हुनेछ ।

नाटकको अन्तिम दृश्यसम्ममा बिचरा अर्धनग्न दर्शक एक हातमा मिसावट भरिएको आधा सिसी तेल, अर्को हातमा दुई मुठा रायोको साग बोकेर लुरुलुरु डेराको छिँडीतिर हिँडिरहेको देखा पर्नेछ र उसको पछिपछि ऊजस्तै कोही हातमा डाडु, पन्यूँ बोकेका, कोही रित्ता फुटेका हाँडी बोकेका शिवजीका गणजस्ता दरिद्रहरूको सिङ्गै जुलुस हुनेछ । दायाँबायाँ मजस्ता ट्वाँ परेर हेरिरहेका दर्शकका पनि दर्शकसमेत त्यहाँ देखिनेछन् ।

थाहा छैन, महास्वार्थानन्दको पर्दा खस्नुअघि त्यो डुब्न लागेको दर्शकको टुपीको त्यान्द्रो तानिने हो कि चुँडिने पो हो ।

०००
उल्टाेपट्टि (२०४५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x