हरि वंदीराष्ट्रिय सम्पत्तिको सदुपयोग
राष्ट्रलाई रसातलमा पुऱ्याउन भरमग्दुर भगीरथ प्रयत्न गर्ने सारथिले विकासको खसोखास दाबी गरी जहाँ मञ्च भेट्टायो कि त्यहाँ उर्लने र कुर्लने गर्नेछ ।

हरि वंदी :
आफ्नो सम्पत्ति सबैलाई प्यारो हुन्छ । तर नेपाली समाजमा यस्ता महात्यागी राष्ट्रभक्तहरू मौजुद छन्, जसलाई आफ्नो निजी सम्मतिभन्दा कता हो कता बढी राष्ट्रिय सम्पत्तिको माया छ । यस्तो राष्ट्रभक्ति अन्यत्र कहीं पाइँदैन नेपालमा मात्र पाइन्छ । यिनको प्रशस्ति गाउनुअगाडि म तपाईंलाई चिनाउन उभिएको छु ।
उहाँ हुनुहुन्छ महास्वार्थानन्द । अहिले नै बताइहालूँ- उहाँ कुनै अखडाको स्वामी होइन- उहाँको स्मगलानन्द, भोगानन्द, भ्रष्टाचारानन्द, परिपूर्णानन्दको संक्षिप्तीकरण बोलाइने नाउँ हो महास्वार्थानन्द । उहाँको चरित्र विश्लेषण गर्ने काम भने अलि अप्ठ्यारो छ, किनभने उहाँ आफूलाई कुनै सीमा- भित्रको पेसामा सीमित गर्न चाहनुहुन्न र कुनै जातिविशेषको दाम्लो पनि आफ्नो गर्धनमा भिर्न चाहनुहुन्न ।
तर एउटा कुरामा भने उहाँले ग्रिन सिग्नल दिइसक्नुभएको छ- त्यो हो नेपालको हावापानी सुहाउँदो कट्टर राष्ट्रवादको उहाँ हो- सर्वश्रेष्ठ समर्थक । अर्थात् विश्ववन्धुत्वको अन्तर्राष्ट्रिय नारालाई उहाँ खोक्रो र हात्तीको देखाउने दाँत सम्झनुहुन्छ । यसैले सालाखाला नेपालीको तुलनामा अपेक्षाकृत लामो दौरा उहाँको भेषभूषा छ र बोलीमा उहाँ तराई र पहाडको दुवै भाषा घोली बोल्ने गर्नुहुन्छ । उहाँलाई सजिलै खुट्टयाउन काँधमा उहाँ झोली पनि भिर्नुहुन्छ र गाडीभित्र हुँदा ब्रिफकेस पनि साथमा लिनुहुन्छ । झुलुक्क हेर्दा उहाँको सक्कल यस्तै देखा पर्छ ।
सार्वजनिक स्थलहरूमा गीताको शपथ पनि उहाँ ठेक्कापट्टाको गोलमाल रकमजस्तै सहजै खाइदिनुहुन्छ र आफ्नो इमानदारीको सच्चा स्वरूपलाई उहाँले आजकल ‘डोरक्स मेसिन’ को संज्ञा दिनुभएको छ जसको अर्थ हो त्यस कपिकर्ता आत्माका अनेक शरीर बेलाबेलामा सृजना हुन्छन् ।
अर्थात् उहाँको प्रतिरूप कहिले कृषिकाण्डको सचिव, कहिले कर भन्सारको खरदार, कहिले उद्योगपति र कहिले कार्पेटकाण्डी मन्त्री र कहिले सभापतिको योनीसम्म पनि जुनी फेर्छन् । तर उहाँको विशेषता यी सबै घरी जुनीमा सम्भव हुन्छन् र तिनले जेजे गरी भ्याउने हो सकभर एउटै मन्त्रिमण्डलको आयु नसकिँदै आकाशपाताल गरिसक्छन् ।
अब लागूँ महास्वार्थानन्दको राष्ट्रवादतर्फ । उहिले सत्तासीन हुँदा उहाँले देशमा जुन दरिद्रताको अर्को सगरमाथा उभ्याउनुभयो, अहिले सत्ताहीन हुँदा आफूले देशव्यापी रूपमा अघि चर्काएको महंगी, अभाव र अगतिमा लगभग डुबिसकेका जनताको टुपी तानेर निकाल्ने नाटकको रङ्गमञ्च तयार पार्दै हुनुहुन्छ उहाँ । उहाँको नाटकको शीर्षक हुनेछ- ‘खुर्सानी प्रजातन्त्र’ । जसको विषयवस्तु प्रजातन्त्र ज्यानमारा खुर्सानीजस्तो पिरो हुन्छ र जसले पचाउन सक्छ त्यो मात्र सफल हुन्छ भन्ने छ ।
नाटकको कथानक यस्तो छ- अनुत्पादक हरियो वन मासी खुर्सानीको खेती धूमाधामले गरिनु, खुर्सानीका लागि जङ्गल फँडानीदेखि खुर्सानी निकासीसम्मका आफ्ना भाइभतिजालाई सक्रिय रूपमा संलग्न गराउनु र अन्ततोगत्वा आफ्ना साहनबाहनसहित धनवान् कुवेर बन्नु ।
यो नाटकका चरित्र भने विचित्र हुनेछन् र ती जे हुनेछन् सत्पात्र र भित्र एकछत्र आफ्नै दुनो सोझ्याउने मात्र हुनेछन् । तर वास्तवमा ती जे होइनन्, आफूलाई त्यही नै सिद्ध गर्न खोज्नेछन् । उदाहरणार्थ महाभ्रष्ट शिरोमणिले नैतिकताको प्रामाणिक शास्त्र तयार पार्नेछ, घोर दमननीति डन्डाधारी कुलपतिले उदारवादको झन्डा फहराउनेछ । राष्ट्रलाई रसातलमा पुऱ्याउन भरमग्दुर भगीरथ प्रयत्न गर्ने सारथिले विकासको खसोखास दाबी गरी जहाँ मञ्च भेट्टायो कि त्यहाँ उर्लने र कुर्लने गर्नेछ ।
यो नाटक डनक्विकसट् र साञ्चोपाञ्चाका बथानहरूबाट प्रेरित हुनेछ र जबजब कुर्सी खाली भएको सुइँको लाग्नेछ अनि पुन विकास संस्थापनाय संभवामि युगे युगे भनी त्यहाँ बुर्कुसी मार्ने तँछाडमछाड हुनेछ ।
नाटकको अन्तिम दृश्यसम्ममा बिचरा अर्धनग्न दर्शक एक हातमा मिसावट भरिएको आधा सिसी तेल, अर्को हातमा दुई मुठा रायोको साग बोकेर लुरुलुरु डेराको छिँडीतिर हिँडिरहेको देखा पर्नेछ र उसको पछिपछि ऊजस्तै कोही हातमा डाडु, पन्यूँ बोकेका, कोही रित्ता फुटेका हाँडी बोकेका शिवजीका गणजस्ता दरिद्रहरूको सिङ्गै जुलुस हुनेछ । दायाँबायाँ मजस्ता ट्वाँ परेर हेरिरहेका दर्शकका पनि दर्शकसमेत त्यहाँ देखिनेछन् ।
थाहा छैन, महास्वार्थानन्दको पर्दा खस्नुअघि त्यो डुब्न लागेको दर्शकको टुपीको त्यान्द्रो तानिने हो कि चुँडिने पो हो ।
०००
उल्टाेपट्टि (२०४५)
Subscribe
Login
0 Comments
Oldest







































