साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुई चढ्ने मान्छे

कोही हारेको सुरमा फर्कदा भट्टीमा एक दुई पेग पनि तन्काउँछन् । अर्का थरिका बूढा आफ्नो चाहिं हल्लुड्डोको चमडी पनि नजाए र अर्काको भने दमडी भेट्टाए मामाको घोडी मेरो ही ही गर्न पटक्कै बेर मान्दैनन् ।

Nepal Telecom ad

हरि वंदी :

महायुद्ध दोस्रो पनि भयो तर महाभारत दोस्रो घटेन । शिखण्डीहरू भने जति जनसङ्ख्यामा बढे, उत्तिकै अनुपातमा फैलिए। अचेल तिनले घरघरमा कुरुक्षेत्र मच्याइरहेका छन् । जतिजति राम्ररी हुर्कायो, उतिउति बाबु-आमा बेस्मारी घुर्कायो। सेरियो किन्यो, रद्दी ठहरियो। अनि भिडियो भित्र्यायो, त्यसले पनि नपुगी अर्को माग तेर्सियो मोटर चाहियो जब जति करकर गरे पनि कार आएन, भएको मोटर साइकलले ओल्ड मोडेलको दर्जा पायो तर पुत्र रत्नले भने एस. एल.सी. मा गोल्ड मेडल पाउन सट्टा थर्ड डिभिजन ल्याउन वर्षोंको म्याराथुन लगायो ।

अनि लड्‌दैपढ्‌दै बल्ल बी.ए., एम.ए. गरायो, त्यति भएपछि मान्छेलाई मान्छे बनाउन भनसुनको भनसुन सुरु भयो। जागिर ख्वाउ सूत्र भिडाउ पहुँचवाला कहाँ दिनहुँ दौड लगाउ। जागिर पाउ, अनि जागिरको फाइदा उठाउ । हाकिमलाई रकमको हिस्सा बुझाउ जसरी हुन्छ रिझाउ । नत्र हिस्स होउ-खिस्स खाउ । अथवा व्यापारमा लगाउ, त्यहाँ पनि जाल बिछाउ, १३ रुपियाँको माललाई ३१ रुपियाँ पारेर ग्राहकचिडिया फँसाउ। औसर गुमे, अफिसर ठुस्के, काला बजारियामा आफूलाई दराउ। भएन के खेतीपातीतिर लगाउ, त्यहाँ पनि कसरी खाँडो जगाउँ ? किनकि भीमसेनपाती सिवाय अरू केही नफुल्ने बारीमा गाँजा लगाउन पाए पो सुन फल्थ्यो, अनि छोरोको हनिमुन पेरिसमा हुन्थ्यो तर कहाँ ? यहाँ त लमी भन्थ्यो घिनाङ्गको विहे जरसापको छोरीसँग हुँदा उसको पुस्ता केलाउँदा वावु वर्षको ११ महिना हङकङको ओहोरदोहोर र बाजे वर्षको वाह महिनामा ६ महिना कहिले आवास र ६ महिना कहिले प्रवास, वराजु चाहिँ वाहैकाल-वाहै महिना स्वर्गवास गरेको भेटियो रे ।

आफ्नो त छ अहिलेसम्म सुकुमबास । यस्तो अनुभव केही छैन। अर्काको आडको जुम्रा केलाउँ भने चाहिं जति भने पनि छ। तिनका हुटिट्याउँले आकाश थामेको घमण्ड गर्ने मेरा एउटा परम मित्र छन्- ती विचरा एक खुट्टेअपा‌ङ्ग हुन्। उनी मलाई भन्छन् बन्धु । तपाईं मलाई तेईस घण्टा खटियामा तेर्सिएको यो देदीत्यमान जिउलाई उभ्याइदिनुस् मात्रै, म आकाशको तारा पनि तपाईंका लागि उफ्रौला जसरी खसाली दिउँला तर विचरालाई ताराको के कुरा, छोराले दराजमाथि नै देखिने गरी बाबुले खाइदेला भनी लुकाएर राखेको मालपुवा केरा हात लगाउन सके मात्र पनि कति हुन्थ्यो – कठैबरी । मङ्गल ग्रहको त्यो केरा उनी दिव्य दृष्टि दिएर भोको पेट छट्‌पटिइछटपटिई टुलुटुलु हेरिहन्छन् मात्र ।

तर यस्ता अपवाद बाहेक मेरा अरू सबै भित्रभित्र अपाङ्ग र वाहिर सर्वाङ्ग सद्दे छन्। ती अपाङ्ग किन भए भने ती अर्काको बुई मात्र चढ्छन् । जुन स्थानमा ती हुन्, हिमाली भू-भागदेखि पहाड मधेशमा चाहिने हुन् वा जुन मुहूर्त जुन कालमा किन नहुन्-सपना कल्पनामा समेत पाए-भेट्टाएसम्म ती अर्काकै सकेसम्म लगाम खिचेर ना‌ङ्गी आडमाथि हौदा कसी छाडतोस दीड छोड्छन् । तिनमा कोही बडेबडे ओहदावाल छन्- ती भारेभुरेले लेखेको भाषण ठूलाठूला सभामा गर्जन्छन्, तिनका कोही महाविद्वान् छन्, जसका अनुसन्धान चिन्तनशील अमर कृति सिर्जन चिसो छिंडीमा बसी थाङनेमाङनेका हातबाट लेखिन्छन् । यस्ता दिग्गज हाकिम छन्, जो कार्यालयमा दिनभर चाकर र चापलुसको घेराउमा हुन्छन् र गोरु जोताइमा परेको सिकिस्त कारिन्दाको कामबाट आफूले नाम आर्जन गर्छन् । अङ्गप्रत्यङ्ग तन्दुरुस्त मएका मेरा यस्ता पक्षपात ग्रस्त पङ्गु आफन्त पनि छन् – जो अर्काको अघिल्तिर ज्ञानको सगरमाथा तेस्र्याइदिन पनि बेर मान्दैनन् र आफू चाहिँ दुई कौडीको काम पनि खोपडी खियाएर गर्दैनन् ।

अचेल बालक मात्र बाबुको बुई चढ्‌दैनन्, बाबु पनि सकेसम्म आफ्ना वाउको बुई चढ्छन्, कोही बूढाहरू त झन् बूढाकै बुई चढ्छन् । बूढा मरेर गएपछि पनि गाउँ घरतिर बूढा सुत्ने सिरानमुनिको जमिनमा बूढाले धन सम्पत्ति लुकाएको पो छ कि भनी पुरातात्त्विक उत्खनन् गर्छन् भने सहर बजारतिर छोराहरू बूढाले हिरिक्क हिरिक्क गर्दै खुट्टा नतान्दै वैङ्कको खाता र सेयरको हिस्सा खान निस्सा खोज्दै हिँड्छन् ।

बूढाहरू बूढाकै पनि वुई किन चढ्छन् भने गाउँ घरमा दिनमा ती जसरीतसरी आफ्नो घर आँगनमा मूढा झै लडिरहेका हुन्छन् तर विहानबेलुकी सकी नसकी अर्काको गोठभित्र घस्रीपसी घुसी छोराहरूको खोइरो खनी एउटा बूढाले अर्को बूढा रिझाउँछन् र यो चुक्ली लगाए वापत सित्तैमा लाम्पाते सूर्तीको सुल्फा सुइँसुई तन्काउँछन् । सहर बजारका बूढा अर्को बूढाको अखडा सुराक लगाई सके गाँजा लगाउँछन्, त्यति नभए तातो न छारोका गफ लडाई समय कटाउँछन् र कसैकसैले त आफ्नी बूढीसँग रडाको मच्याई ढुङ्‌ग्रीमुन्द्री जे भेटिन्छ लगी पासा-धर्की, तास-कौडी आदिमा हुर्रे जडाउँछन् । कोही हारेको सुरमा फर्कदा भट्टीमा एक दुई पेग पनि तन्काउँछन् । अर्का थरिका बूढा आफ्नो चाहिं हल्लुड्डोको चमडी पनि नजाए र अर्काको भने दमडी भेट्टाए मामाको घोडी मेरो ही ही गर्न पटक्कै बेर मान्दैनन् ।

०००
२०४२, भदौ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x