डा. बमबहादुर जितालीबिजुली मैयाँसँगकाे विछाेडमा
बालदेखि बुढासम्म तिम्रै खोजी गर्छन् तिमीबिना सबैजना अँध्यारोमा पर्छन् । तिमीसँग भेट नभै लाली जोवन गयो सँगै बाँच्ने रहरमा जीवन ढल्ने भयो ।

डा. बमबहादुर जिताली :
बीस वर्षे जवानीमा ज्योति मैले पाएँ
पाएदेखि तिमीसँग प्रीति मैले लाएँ ।
सधैं तिमी घरै हुन्थ्यौ पार्थ्यै झलमल
एकै छिन लुक्यौ भने पर्थे अलमल ।
हावाहुरी, चट्याङमा जान्थ्यौ परपर
अलि शान्त भएपछि आउँथ्यौ वरवर ।
ऐले तिमी कता गयौ खाँदा सँगै हुन्नौ
कविता र गीत, कथा लेख्ता तिमी हुन्नौ ।
सुत्दा सधैं एक्लै हुन्छु सम्झिएर रुन्छु
उठ्दा पनि नदेखेर विछोडमा हुन्छु ।
तिम्रो मुख उज्यालोमा कैल्ये देख्ने होला
सम्झनामा पिल्सिएर बित्ने भयो चोला ।
बालदेखि बुढासम्म तिम्रै खोजी गर्छन्
तिमीबिना सबैजना अँध्यारोमा पर्छन् ।
तिमीसँग भेट नभै लाली जोवन गयो
सँगै बाँच्ने रहरमा जीवन ढल्ने भयो ।
अग्रगामी आयोजना सुस्ताउन थाले
झोलाभित्र खोला राख्ने मुस्काउन थाले
सदाबहार बिजुलीको तिर्खा मेटिएन
बिजुलीको खडेरीमा बर्खा भेटिएन ।
०००
रानीबन, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































