साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरहरूको आमसभा

अनेकौं देशको हाड चाखेको अनेकौं कुकुर्नीलाई पत्नी बनाएको भुक्नमा सिपालु चलाख कुकुरको उसले माइक समात्यो र भुक्न थाल्यो महाशय म सबैको पुच्छर काटिदिनेछु, सबैको पेट चिथोर्ने छु, सबैले खाएको निकाल्ने छु, सबैलाई बाधेर राख्नेछु ।

Nepal Telecom ad

शम्भु गजुरेल  :

मध्य निद्राको अवचेतनावस्थामा मेरो मस्तिष्क सपना लोकको यात्रामा निस्केको रहेछ । अनेकौं विरान बस्ती, अनकण्टार पहाड, निर्जन जङ्गल, आकाशीय अठ्खेली, सामुद्रिक गोताखोरी गर्दै स्मृतिको तरङ्ग नेपाल देश भ्रमणमा अवतरण भयो । पशुपतिको शिव बन्दना, बौद्धको बुद्ध सम्झना स्वयम्भूको दृढताको छायाँमा जुङ्ग्रुङ्ग उभिएको कङ्क्रीटको जङ्गल, मलले जल शोषेर ढल बनेकी बागमती, थिचिएको पोखरी, मिचिएको गौचरन अनि पुरिएको मनोहरा देखि खुइलिएको चन्द्रागिरि देखेर मन हाँस्यो वा रोयो बुझ्न सकिएन । सुन्दरीजलको जललाई ढ्वाङमा हालेर पानीपोखरी र रानीको टोकरीमा लगेर अलप पारिएको रहेछ। हराएको सोह्रखुट्टे अनि लुछिएको कमलपोखरीको अवशेष नियाल्न आतुर थिए नेत्र तर देखिएन । नारायण धारा आलयमा चमेराहरू घटेछन् सायद रुख बेचिए होलान् ।

तुवाँलोले बेरेको वायुमण्डल र कोलाहलमय वातावरणमा भौतारिँदा भौतारिँदै सुकेको आँतले पानी पानी भनेर चिच्याएको सुन्ने कोही थिएन । त्यसैले छायाँमा सियाल बस्न भनेर भद्रकालीको पेटीमा टुसुक्क बसेर पसिना पुछ्दै थिएँ पूर्व तर्फको हल्लाले उत्साहित बनायो । अलि तल पर्खालले घेरेको शेर घरको पटाङ्गिनीमा कुकुरहरू कल्याङमल्याङ गर्दै रहेछन् । लाग्यो शेरदरबारमा कुकुरहरूको यो उपस्थिति के शेर पराजित भएछ ? कौतुहल मनलाई घिसारेँ शरीर उतैतिर । हरियो चौरको एउटा कुनामा भव्य मञ्च तयार थियो, मञ्चलाई रङ्गीन ध्वजा पताकाले सजाइएको थियो । ध्वजामा अनेक चिन्ह अङ्कित थिए, अनेकौं जनावर, हसियाँ, बन्चरो, वाण, तारा, सूर्य अनेकौं अनेकौं । चौर भरी भुस्याहा जातिका सागिने कुकुरहरूको बगाल थियो, आँखामा चिप्रा भरिएका, पुच्छर खुइलिएका, कान कटुवा, थाप्लो खुइलिएका, पेट दाम्रीएका अनेक प्रकार र हविगतका थिए कुकुरहरू तर सबैको मुद्रा एउटै थियो ! सबैले पुच्छर लुकाएर शरणागत मुद्रामा अग्र पाद जोडेर बसेका थिए भने सबैको जिब्रो र्‍याल तप्काउदै ह्याह्याह्या गर्दै थियो अनि सबैका नजर आशालु भाव उकेलिरहेका थिए ।

केही पलमै आफ्नो लघु शङ्काले पीडित भएर खम्बा र भित्तो चिस्याउने बानी परेका श्वान प्रजाति अत्यन्त शान्त मुद्रामा आफ्ना जातीय स्वामीको प्रतीक्षामा बसेको दृश्यले मनलाई मुग्ध बनायो । नजिकै गएर बुझ्दा पत्ता लाग्यो आज समग्र कुत्ता जातिको राष्ट्रिय सम्मेलन हुँदै रहेछ । निर्धारित समय भन्दा निकै विलम्ब हुँदा पनि कार्यक्रम सुरु हुन नसक्नुको कारण भने भौगोलिक प्रभाव हो भन्ने जानकारी पाएपछि म पनि प्रतीक्षाको प्रतीक्षा गर्न थालेँ । गर्मीको समयमा छायाँ भेटाएर होला मेरो आखाले घुम ओढ्न थालेका थिए अचानक उर्लेको जिन्दावादको नाराले झस्कायो मलाई । मञ्च तर्फ नजर गयो मेरो त्यहाँ अनेकौं जातका हाइब्रीड कुकुरहरू जम्मा भएका रहेछन् । सबै कुकुर नेपाल भूमिमा जन्मिएका थिए तर प्रायः सबैमा शुक्रकीट वा डिम्ब बाहिरी नश्लको थियो । जर्मनी, बेलायती, रसियन, चिनियाँ, अमेरिकन, भारतीय, तिब्बती अनेक जातका कुकुरहरूसँग वणर् शङ्कर भएर जन्मेका कुकुरहरू खाइलाग्दा भुँडे, जुँगामुठ्ठे, तिघ्रे, घनटाउके, झ्यापुल्ले, लम्तडी, विविध प्रकारका ।

तिनै मध्ये एउटा सुरिलो आवाज भएको भर्खर पहिलो कार्तिक पर्खिँदै गरेको कुकुर उठेर सभाको शुरूवात गर्‍यो, आदरणीय कुकुर महासयहरू आज हाम्रो सामु हाम्रा समस्याको निदान गरेर हाम्रो उज्वल भविष्य निर्माण गर्ने सङ्कल्प गर्ने दिन आएको छ, तपाईंहरू समृद्धिको महान यात्राको गोरेटो बनाउन यहाँ आदरणीय नेतागण आउनु भएको छ । अब उहाँहरूको कुरा सुनौँ ! सबैभन्दा पहिले अमेरिका र भारतमा पढेर त्यहाँका अनेकौं टपरी चाटेका महान बुलडगको कुरा सुनौँ स्वागत छ बुलडगजीलाई !

आदरणीय मेरा प्यारा कुकुरहरू मैले महान् प्रजातान्त्रिक देशको जुठो पुरो खाएको छु म तपाईंलाई कसरी जर्मन शेफर्डहरूसँग हड्डी खोस्ने भन्ने सिकाउने छु र मेरो मालिकको आशीर्वादले हाम्रो समृद्धि प्राप्त हुन्छ भन्ने कुरा बताउँछु । हामीले बाकी कुकुर जातिलाई बन्देज गर्नुपर्छ तिनीहरू विदेशी हुन् तसर्थ तपाईंहरू मेरो पछि लाग्नुहोला धन्यवाद ! ताली स्वरूप कुकुरहरूको भौँ भौँ गुञ्जियो ।

अब पालो आयो जर्मन शेफर्डको उसले शुरुमै अभिवादन गर्‍यो र भन्यो हामी जर्मन, रसियन र चिनियाँ नश्लका अनुयायीहरू अमेरिकन र भारतीय कुकुरहरूको दादागिरीबाट दमित छौँ अब हामीले हाम्रो दाँत नङ्ग्रा उदाउनुपर्छ जबसम्म आततायी वंशका विदेशी र वंशाणुगत साँडा बनेका नेपाली कुकुर समाप्त गरिन्न तब सम्म हाम्रो पेट भरिन्न । अब जुट्नुपर्छ अनि मुक्ति क्रान्ति गर्नुपर्छ हामी मात्रै तपाईंका उन्नतिका संवाहक हौँ, धन्यवाद ! फेरि कुकुरहरूको भौँ भौँ आवाज आयो ।

अब पालो थियो अनेकौं देशको हाड चाखेको अनेकौं कुकुर्नीलाई पत्नी बनाएको भुक्नमा सिपालु चलाख कुकुरको उसले माइक समात्यो र भुक्न थाल्यो महाशय म सबैको पुच्छर काटिदिनेछु, सबैको पेट चिथोर्ने छु, सबैले खाएको निकाल्ने छु, सबैलाई बाधेर राख्नेछु तपाईंहरूको लागि सुन्दर वातावरण बनाउने छु अब म आएँ अब चिन्ता नलिनोस्, मेरो साथ दिनोस् धन्यवाद ! यो पटक झन् हौसिए कुकुरहरू चौरमा । सभा विसर्जन भयो, लुते कुकुरहरू अँध्यारोमा काइँकाइँ कुइँकुइँ गर्दै भोकै घरतर्फ लागे घरमा केही थिएन, खुला दिशामुक्त गाउँ भएकोले भोकै सुते ।

बिहान उठ्दा हिजोका सबै झगडिया जस्ता बनेका नेता रातभर एउटै सिनोमा दारा धसेर ढ्याउ गर्दै साझा ओछ्यानमा साझा श्रीमतीसँग कार्तिक मनाएर एक अर्काको कपडा आपसमा साटेर लगाएछन् अनि एक अर्काको गुणगानमा नयाँ भजन गाउन थालेका रहेछन्, भौँ भौँ को आवाजले म खाटबाट लडेछु अनि टाउको ठोकिएर होला ऐया भन्दै उठेर उठेको टुटिल्को सुम्सुम्याउन थालेँ ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x