शम्भु गजुरेललाजको चरो र पहिरनको साम्यवाद
हुन त बेछन्द र बेढङ्गका कपडा पुरुषले पनि नलगाउने होइन तर पुरुष देखाउन भन्दा छोप्न प्रयत्नशील देखिन्छन्, गर्मीमा समेत कोट लगाउने घुँडासम्म आउने बुट लगाउने सभ्रान्त पुरुषको लवाई पनि जोकरिय स्वरूप देखाउन समर्थ छ ।

शम्भु गजुरेल :
जङ्गलबाट ओढार पस्न मान्छेलाई युगौँ लाग्यो होला ! त्यो बेला पुसलाई आफ्नो ज्यानबाट टाढा राख्न रुखको छाला र जनावरको छालाले आफ्नो छाला छोप्न सिक्यो होला । कठाङ्ग्रिँदो हिउँदलाई कन्दमुल र शिकारको चारो र चर्म र बोक्राको खोल बनाउँदै जीवनको गतिलाई घिसारेका मानव स्वरूपका जनावरलाई समयको कालखण्डले अनेकौं सीप सिकायो । लोभ लाँलच र आक्रोश अनि विलासको थोपा थोपा मगजमा थुपार्दै जादा एकदिन आकाङ्क्षाको चुचुरो बन्यो होला । आफ्ना अङ्गलाई आफ्नै अङ्ग मात्रै देख्ने आँखा कालान्तरमा यौनिक उन्मादमा चुलियो होला सायद ! तब सामाजिक तानाबानामा उमारिएको लाजको निहुरिमुन्टी सबैका आँखामा हालियो । जब लाजको जन्म भयो त्यो लाजले अङ्गको विभाजन गरायो अङ्ग र गुप्ताङ्ग । अब जाडो छेक्न प्रयोग हुने वस्त्र गुप्ताङ्ग ढाकेर लज्जा बचाउन अनिवार्य भयो ।
छाला र बोक्रामा सिमित वस्त्र कालान्तरमा जनावरको भुत्ला देखि रेसादेखि फूल पात र पाट द्वारा नवीन पोसाक निर्माणसम्म उचालियो । बख्खु र खादीका कपडाको दौरा, कछाड, धोती, चोलो, फरिया सबैखाले आवश्यकताका पुरक बनेर युगौँ मानव शरीरको गहना बने । गहना अर्थात शोभा बढाउने चिज जब आवश्यकता गहनामा रुपान्तरण हुन्छ तब उसले आफ्नो मूल्य बढाउँछ ! त्यस्तै भएर नै होला वस्त्रको मूल्य वर्तमान युगमा आइपुग्दा अत्यधिक उचाई पार गर्न समर्थ भएको छ ।
कुरा लुगाफाटोको स्वरूपमा केन्द्रित गर्ने मेरो लाँलच रहेको छ । उरोज देखि योनी अनि लिङ्ग जस्ता नेत्रको लागि लज्जा लाग्ने अङ्गलाई पर्दामा लुकाउनका लागि अति आवश्यक लुगा अर्थात् लङ्गौटी र फरिया जनना उरोज लुकाउने चोलीको स्वरूपमा समयले धेरै परिमार्जन गरेको छ ।विशेष गरेर स्त्री अन्तर वस्त्रको कुरा गर्नुपर्दा पुरुष लङ्गौटीले जनना कच्छामा आफूलाई परिवर्तन गर्दा फरिया फ्रक बनेको छ ! ब्लाउज बोटिस वा ब्रा बनेर छोप्न खोजिएको अङ्गलाई उचालेर चुचुरो पार्न तल्लीन देखिन्छ । कुर्कुचा ढाक्ने सारी सर्किँदै गएर सलको रूपमा केवल उरोजको खादा बनेर मख्ख पर्दै रौकाएको छ । चोलीको चौबन्दी अग्रभागबाट विस्थापित भएर पछाडतर्फ धकेलिएको छ सायद अग्रभागको गर्मीमा टिक्न नसकेर प्रायः खुला रहने पस्चभागमा तुन्द्रुङ्ग झुन्डिएर हल्लिदा आनन्द मिल्दो हो । पछ्यौरा पन्छिदै गएर लोप भएका छन् ।
उप्सेको उदर छोप्न लगाइने म्याक्सीका अनेकौं फाइदा होलान्, सहजता होलान् किफायतका कुरा पनि होलान् तर झप्री केराको थाम जस्ता तिघ्रालाई जबर्जस्ती कोचेर भरिएको जिन्सको पाइन्ट र बोटीसलाई प्रस्ट्याउन लगाइएको जालीदार मिनि टिसर्टको बिचमा जलगैँडाको थल्थले देहझैँ थल्थलाउने बोसे लुँदा झुलाउँदै चाउरिएको ओठमा निलो लाली दलेर योगा गर्न निस्केका तिलचौँडे मनका यौवनाको वस्त्र मोहले त्रेतायुगको लङ्काद्वार सम्झाउँछ । जाडो छल्न लगाइने कपडा बजारबाट ल्याउँदा नै मुसाले काटेर छियाछिया पारेको जस्तो लाग्छ । असजिलो यात्रामा पैताला सुरक्षाका निमित्त लगाइने पादुकाले आफूलाई चिन्दैन होला हिजोआज, उचाई उचाल्न पिडौँला जत्तिकै अग्लो चुच्चो जोडिएको जुत्ताले सुरक्षा भन्दा जोखिम बढाएको देखिन्छ ।
ठिहिराउने जाडोमा छातीमा लगाउने एक पट्टि जस्तो धजो र लङ्गौटी जस्तै नितम्ब नढाकिने कट्टु लगाएर आँखामा कालो चस्मा ढल्काउने यौवनाको चाहना विपरीत लिङ्गीलाई आकर्षित गर्नुको विकल्प अरु पक्कै हुन सक्दैन तर अधिकारको नाममा पुङ्माङ बजाउनेहरू सत्यतालाई सति पठाउन तल्लीन रहन्छन् र वैयक्तिक स्वतन्त्रताको नवीन जमानामा अर्धनग्न स्वरूपलाई अधिकारको प्रतीक बनाउछन् । हुन त बेछन्द र बेढङ्गका कपडा पुरुषले पनि नलगाउने होइन तर पुरुष देखाउन भन्दा छोप्न प्रयत्नशील देखिन्छन्, गर्मीमा समेत कोट लगाउने घुँडासम्म आउने बुट लगाउने सभ्रान्त पुरुषको लवाई पनि जोकरिय स्वरूप देखाउन समर्थ छ ।
छोटिँदै गएका वस्त्र र कोचिँदै गएका मासुका थुप्राको जुलुसलाई नियाल्दा जङ्गलबाट समाजमा आएर आँखामा बसेको लाज नामको चरो उडेर एकदिन मानव जातको जनावर पहिरनको दृष्टिकोणबाट पूर्ण नग्न साम्यवादी युगमा प्रवेश गर्न कुनै ठूलो क्रान्तिको आवश्यकता पर्ने छैन । अस्तु ।
०००
नुवाकोट, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































