शम्भु गजुरेलतन्द्रामा दरबार यात्रा
सडकमा नारा उर्लिएका थिए वर्तमानका युवराजको रक्सी भन्दा इतिहासको युवराजको रक्सी चोखो हो तसर्थ निर्वाचित राजा भन्दा जन्मसिद्ध राजा उत्तम भन्नेहरूको बथान मडारिँदै थियो ।

शम्भु गजुरेल :
मोटो ठेली, बाक्लो गाता, घुर्माइलो उज्यालो, मधुरो दृष्टि यस्तै थियो परिदृश्य मेरो बसाइ मुद्राको ! इतिहासको समयचक्रमा अल्झेको मानसपटल अनि वर्तमानको चाकाचुलीमा तलमाथि गर्दै थियो मस्तिष्कको एक पाटो । बिस्कुनमाथि उफ्रिँदै बेलाबेलामा बिस्कुनमै तुरुक्क पार्ने पाठोको जस्तै अवस्थामा थिएँ म जुरुङ्ग र फुरुङ्ग । दायित्व र उत्तरदायित्वको लेस मात्रले पनि छुस्स नछुने मलाइ इतिहासको “इत्तर” वा वर्तमानको पर्फ्यूमले आफूतर्फ तान्ने प्रयत्न नगरेको पनि होइन तर कर्तव्यको कर्मपथमा काँडेतारको बार लगाएर राजाको रासलिला र रानीको ’सुहानी’ रातको असिना बर्षामा आफ्नो समृद्धि नियाल्नेको जमातमा जुम्ला हात गरेर लामबद्व थिएँ म पनि ।
पाना पल्टिए, कथा दोहोरिए ताजा भए दिमागमा पुराना चर्तिकलाहरू, टोलाएँ अनि लोलाएँ म । जब तन्द्राको घोर अवस्थामा पुगेँ तत्क्षण सुक्ष्म जीवमा रूपान्तरित भएर घुम्न थालेँ खोपी खोपी । गद्दी र श्रीपेच सधैँ नशामा भए झैँ लाग्ने,“सेङ्गोल” समात्ने हात र चमर झुलाउने हातमा लिङ्गिय भिन्नता त थियो तर भक्तिमा रत्तिभर तलमाथि थिएन । मध्ययुगीन अर्थात् सत्य र कलिको दोसाँधको समयमा पुष्पक नाँसिएको र ओर्भिल र विल्भर नजन्मेको बेला तस्तरीमा मृग र कालिजका साँप्रा अनि समुद्रपारबाट आफ्नै मादले मातेका स्कच हल्लिरहेका थिए । गद्दीको पाउदानमा शिवबुटी सुल्गाउने पुरो कुरुवा, जी हजुरीमा धनुषाकार बन्ने ढोके भित्ताभरी मारेर टाँसेका जन्तु मानौँ जिवित र मृत जन्तुको अनौठो सङ्गम । विर्यले डिम्बमा अङ्कमाल गरेपछि गद्दीको हकदार बन्ने पक्का हुने सामर्थ्यवान विर्य धारक श्रीपेचधारकलाई ठेङ्गा देखाउँदै गगन खोज्ने र दर्जनौँ नानीलाई छानीछानी भोग्नेको चर्तिकलालाई कला मान्ने जमात ठुलै थियो ।
प्रायः मातेर रैतीलाई कैदी ठान्नेको चरित्र वर्णनमा देवांश नियाल्ने पुरेतिया मानसिकतामा छ्वालीको फिरफिरे जस्तै घुमेका थिए बाहिरिया, उचल्मारा भैँसी जस्तै अथुल्लाएका थिए बैठके र भित्रियाहरू । गारत र चुगलखोरदेखि चटके र पटकेसम्मले रक्षित आलयमा उत्पादन हुने वस्तु केवल र केवल उन्माद मात्र थियो तर अथाह दौलत र विलास आस्थाको गेरुमा बेरिएर डस्ने गरेको चाल पाएर पनि मालश्री गाउनेको बोलवाला थियो दलान र फलैँचामा । शुक्रकीटबाट जीवमा फेरिँदै गरेका उत्तराधिकारी नशामा लर्बरिनु शौकतको चिनारी थियो । रानिवास र विलास केन्द्रको सेरोफेरोमा पखेटा फट्फटाउँदा थाकेर झालरमा ट्यास्स खुट्टा टेकाएको मात्र थिएँ बाहिरको कोलाहलले तन्द्रा टुट्यो ।
सडकमा नारा उर्लिएका थिए वर्तमानका युवराजको रक्सी भन्दा इतिहासको युवराजको रक्सी चोखो हो तसर्थ निर्वाचित राजा भन्दा जन्मसिद्ध राजा उत्तम भन्नेहरूको बथान मडारिँदै थियो । ओछ्यानबाट उठेर टुक्रुक्क बस्दै दाँज्न लागे लाग्यो अक्षता खोज्ने शासक भन्दा गाली पनि सहने शासक अलि उम्दा लागेपनि युवराजलाई गद्दी सुम्पिने प्रवृति उस्तै छ । सत्ताको लागि मृत्युको आलापसम्म अलाप्ने र इमोसनमा शक्ति आर्जन गर्ने परिपाटीमा ताली ठोक्ने दाम्रे उदरको कुकुर भौँ भौँ र लमतन्नासनमा पदारिएका मानवाकृतिको निरिहतामा रुमल्लिँदै ओझेलग्रस्त सामाजिक तानाबानाले जेलेझैँ भएर टुक्रुक्क बसेर घुटुक्क पानी पिएँ अनि लत्रिएँ सुकुलमा दैलोमा चुकुल ठोकेर ।
०००
नुवाकोट, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































