साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तन्द्रामा दरबार यात्रा

सडकमा नारा उर्लिएका थिए वर्तमानका युवराजको रक्सी भन्दा इतिहासको युवराजको रक्सी चोखो हो तसर्थ निर्वाचित राजा भन्दा जन्मसिद्ध राजा उत्तम भन्नेहरूको बथान मडारिँदै थियो ।

Nepal Telecom ad

शम्भु गजुरेल :

मोटो ठेली, बाक्लो गाता, घुर्माइलो उज्यालो, मधुरो दृष्टि यस्तै थियो परिदृश्य मेरो बसाइ मुद्राको ! इतिहासको समयचक्रमा अल्झेको मानसपटल अनि वर्तमानको चाकाचुलीमा तलमाथि गर्दै थियो मस्तिष्कको एक पाटो । बिस्कुनमाथि उफ्रिँदै बेलाबेलामा बिस्कुनमै तुरुक्क पार्ने पाठोको जस्तै अवस्थामा थिएँ म जुरुङ्ग र फुरुङ्ग । दायित्व र उत्तरदायित्वको लेस मात्रले पनि छुस्स नछुने मलाइ इतिहासको “इत्तर” वा वर्तमानको पर्फ्यूमले आफूतर्फ तान्ने प्रयत्न नगरेको पनि होइन तर कर्तव्यको कर्मपथमा काँडेतारको बार लगाएर राजाको रासलिला र रानीको ’सुहानी’ रातको असिना बर्षामा आफ्नो समृद्धि नियाल्नेको जमातमा जुम्ला हात गरेर लामबद्व थिएँ म पनि ।

पाना पल्टिए, कथा दोहोरिए ताजा भए दिमागमा पुराना चर्तिकलाहरू, टोलाएँ अनि लोलाएँ म । जब तन्द्राको घोर अवस्थामा पुगेँ तत्क्षण सुक्ष्म जीवमा रूपान्तरित भएर घुम्न थालेँ खोपी खोपी । गद्दी र श्रीपेच सधैँ नशामा भए झैँ लाग्ने,“सेङ्गोल” समात्ने हात र चमर झुलाउने हातमा लिङ्गिय भिन्नता त थियो तर भक्तिमा रत्तिभर तलमाथि थिएन । मध्ययुगीन अर्थात् सत्य र कलिको दोसाँधको समयमा पुष्पक नाँसिएको र ओर्भिल र विल्भर नजन्मेको बेला तस्तरीमा मृग र कालिजका साँप्रा अनि समुद्रपारबाट आफ्नै मादले मातेका स्कच हल्लिरहेका थिए । गद्दीको पाउदानमा शिवबुटी सुल्गाउने पुरो कुरुवा, जी हजुरीमा धनुषाकार बन्ने ढोके भित्ताभरी मारेर टाँसेका जन्तु मानौँ जिवित र मृत जन्तुको अनौठो सङ्गम । विर्यले डिम्बमा अङ्कमाल गरेपछि गद्दीको हकदार बन्ने पक्का हुने सामर्थ्यवान विर्य धारक श्रीपेचधारकलाई ठेङ्गा देखाउँदै गगन खोज्ने र दर्जनौँ नानीलाई छानीछानी भोग्नेको चर्तिकलालाई कला मान्ने जमात ठुलै थियो ।

प्रायः मातेर रैतीलाई कैदी ठान्नेको चरित्र वर्णनमा देवांश नियाल्ने पुरेतिया मानसिकतामा छ्वालीको फिरफिरे जस्तै घुमेका थिए बाहिरिया, उचल्मारा भैँसी जस्तै अथुल्लाएका थिए बैठके र भित्रियाहरू । गारत र चुगलखोरदेखि चटके र पटकेसम्मले रक्षित आलयमा उत्पादन हुने वस्तु केवल र केवल उन्माद मात्र थियो तर अथाह दौलत र विलास आस्थाको गेरुमा बेरिएर डस्ने गरेको चाल पाएर पनि मालश्री गाउनेको बोलवाला थियो दलान र फलैँचामा । शुक्रकीटबाट जीवमा फेरिँदै गरेका उत्तराधिकारी नशामा लर्बरिनु शौकतको चिनारी थियो । रानिवास र विलास केन्द्रको सेरोफेरोमा पखेटा फट्फटाउँदा थाकेर झालरमा ट्यास्स खुट्टा टेकाएको मात्र थिएँ बाहिरको कोलाहलले तन्द्रा टुट्यो ।

सडकमा नारा उर्लिएका थिए वर्तमानका युवराजको रक्सी भन्दा इतिहासको युवराजको रक्सी चोखो हो तसर्थ निर्वाचित राजा भन्दा जन्मसिद्ध राजा उत्तम भन्नेहरूको बथान मडारिँदै थियो । ओछ्यानबाट उठेर टुक्रुक्क बस्दै दाँज्न लागे लाग्यो अक्षता खोज्ने शासक भन्दा गाली पनि सहने शासक अलि उम्दा लागेपनि युवराजलाई गद्दी सुम्पिने प्रवृति उस्तै छ । सत्ताको लागि मृत्युको आलापसम्म अलाप्ने र इमोसनमा शक्ति आर्जन गर्ने परिपाटीमा ताली ठोक्ने दाम्रे उदरको कुकुर भौँ भौँ र लमतन्नासनमा पदारिएका मानवाकृतिको निरिहतामा रुमल्लिँदै ओझेलग्रस्त सामाजिक तानाबानाले जेलेझैँ भएर टुक्रुक्क बसेर घुटुक्क पानी पिएँ अनि लत्रिएँ सुकुलमा दैलोमा चुकुल ठोकेर ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x