साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समृद्धिको धरहरा र कारिन्दाको बसयात्रा

उहिलेका धरहरा निर्माता वा अहिलेका धरहरा निर्माता सबै गरिबीको छातीमा तावा बसालेर रोटी सेक्छन् अनि मान्छे बेच्छन्, शक्तिले गगनसिंह भण्डारी बलि चढ्छ, जङ्गबहादुर गद्दी चढ्छ ।

Nepal Telecom ad

शम्भु गजुरेल :

माघे सक्रान्तीले छोडेर गएको हप्ता दिन मात्रै भएकोले होला टुँडिखेलमा गाडिएका तम्बु फार्र फुर्र गर्दै थिए, सुनसान थियो तर कोलाहलमय, मेला सकिएको थियो तर जात्रा लगातार चलिरहेको थियो । चपाइएको सञ्चयकोष र उकेलिएको काठमाडौं मलको बलेंसीबाट लुरुलुरु लस्किँदै थिएँ म सुनको धाराको चिहान तर्फ, सुनको भोजन कहिले भयो राम जानुन् तर धाराको अन्तेष्टी भएको भने यो लखन्ट्यास लेखकले आफ्नै आँखाले अनगिन्ती पटक देखेको हो किस्ता-किस्तामा, खाल्टो छ ढुङ्गे डुँड छ तर पानी र सुनको टुटी अँह छैन छँदै छैन ।

मद्यान्हको १२ बजेको हुँदो भिमसेन थापाले कुपोषणले ग्रस्त नेपाली र विलासले बगालिएका दरबारियालाइ ट्यार्लिङको बर्को ओढाएर उभ्याएको सामन्ती लिङ्गोको यादले होला सायद भाग्दै गरेको कुकुरले मुन्टो फर्काए झैँ पश्चिम आकाश तर्फ मोडेँ मैले मेरो झुसिल्ले टाउकोलाई अनि सोच्न थाल्यो अज्ञानी मस्तिष्कले ! के त्यो बेला राजाले अनगिन्ती सारीमा आफ्नो नारी बटार्दा वा रानीले छानीछानी जम्दार सुबेदार मुसार्दा रैतीले खेतमात्रै भएको कान्तिपुर हेर्न धरहरे लिङ्गो खोजेका थिए होलान् त ? के त्यो लिङ्गोको फेदमा फाटेका कछाड बेरिएका गुन्द्रुके रैती आहा मेरो गौरव भन्थे होलान् त ? काँधमा खर्पन बोकेर फुटेको कुर्कुचाले भुइ ठोस्स्याउँदै मैचा र बाउचाको आन्द्रोमा तरान हाल्न दौडधुप गर्ने हिराकाजी होस् या भेडुङ्गा वा नागढुङ्गा, साँगा वा फर्पिङ चारैतिरबाट ढाकर बोकेर काठमाडौं पाल्न अनि आफ्नो गौँडो टाल्न आएका रैतीलाई धरहराको उचाईले केवल ठण्डीको पार छेकेर ओझेल मात्र पार्दो हो । सुत्केरीको दाल गालियो होला मजदुरको मुख टालियो होला एउटा सन्की शासकको सनकले हजारौँ जनताको जीवन चलाउने दौलत थुपारेर जोर लिङ्गो बनाएको त होला त्यो बेलामा ।

अनि अहिले ? हो अनि अहिले पनि त एउटा लहड लहडियो कसैले गीत गाए, कसैले चुट्किला सुनाए, मानौँ त्यो धरहरा गरीबी निवारणको सूचक हो अझ भनौँ हामी नेपाली हुने हो भने पहिला त्यो धरहरा ठड्याउन पर्छ अन्यथा हामी मनुष्य हुने छैनौँ ! झुप्रा घर माटोमा थिए लालाबाला अनि वृद्धहरू बाटोमा थिए न त माल थियो न त राम्रो हालचाल थियो, थियो त केवल मगन्ते जमात मालामाल थियो ! करोड उठाएर दुई दर्जन त्रिपाल बाडेको फोटोले समाजसेवी बन्ने एन आर एन होस् वा सञ्जालमा लिङ्गो ठड्याउने कामको लागि भट्टयाएर माग्नेहरूले आफ्नो चाउरिएको छाला चमक्क पारे लतारे पक्कु र सेकुवा ! सत्ताको चुचुरोमा बसेको सताधीसको सनकमा दम्भको दमकन्ने पिट्पिट गरेको बाहेक केही सुनिएन । समृद्धिको पिपिरी सुन्दासुन्दै अनिकालले बेर्नु खुस्केका रैतीलाई रछ्यानको टपरी बनाउन र आफ्ना चाटुकारलाई चट्नी चटाउन टोल पिछे लिङ्गो ठड्याउने महायज्ञ थालियो, ठडिए धेरै । मूल लिङ्गोमा सहस्र कोटि द्रव्य खर्चिनु थियो भयो त्यस्तै ऋण गरेको पैसाले मलमलको धोती लगाए झैँ धरहरा त ठडियो तर टुप्पोमा रैती जान सक्लान् त? मेरा मनमा प्रश्नको चकाचुली चलिरह्यो ।

बुढ्यौली लागेको माघे दिन कङ्क्रीटको जंगलको सेप, बग्रेल्ती मोटरको चिच्याहटले धर्मराएको ज्यानलाइ जेनतेन सम्हाल्दै कलंकीतर्फ घस्रिने बस नामको उठ गाडीमा ठेलिँदै उक्लिएँ म । अलि तल त्रिपुरेश्वर पुगेपछि ट्यास्स “तसरिफ” टास्ने कुर्सी पाएँ अनि मख्ख परेँ तर मेरो मख्याइ तत्काल मक्काइमा परिणत भयो, कुरो के भने मेरो कण्डो पछाडिको मेचमा बसेको मानिसले कलंकी पुग्ने बेला सम्म १४ जनालाई १४ स्थानमा उपस्थित गरायो स्वयंलाई तब यो कुथुर्के लेखक स्वभावतः उक्त महामानवको मुहारको दर्शन विना आफूलाई शान्त राख्न सकेन । मेसो मिलाएर सो महाशयको दर्शन गरेपश्चात् कुराको र स्थानको गणना गर्दा ज्ञात भयो हल्लने युवालाइ टल्किने र झल्लिने सपना बेचेर विदेश निर्यात गर्ने कम्पनीका साधारण सदस्य रहेछन् तिनी र उठाएको दाम र कामको थर ठेगाना नहुदा दिनभर बसमा यात्रा गरेर साँझ मधुशालामा बाङ्गिने र नाङ्गिने काम रहेछ उनको ।

कुरा सुन्दा र मनमा गुन्दा आफ्नो डेरा तर्फ लाग्ने स्टेसन आएकोले म झरेँ अनि अड्कल गरेँ उहिलेका धरहरा निर्माता वा अहिलेका धरहरा निर्माता सबै गरिबीको छातीमा तावा बसालेर रोटी सेक्छन् अनि मान्छे बेच्छन्, शक्तिले गगनसिंह भण्डारी बलि चढ्छ, जङ्गबहादुर गद्दी चढ्छ । आखिर बेचिने लुछिने रैती नै हुन् तैपनि त्यो भुकमरीले युवा निर्यात गरेर पनि ठड्याएर गर्व गरिने त्यो लिङ्गोको टुप्पोमा पुगेर नियाल्ने छु एकदिन कान्तिपुरका कलमको निष्पक्षता, गरिबको सम्पन्नता र निशान मात्र भएकी बागमतीको दारुण्यता ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x