चूडामणि रेग्मीविषयले खानुहुन्न हार
आज थालनीमा केबाट यो आयो भने उहिल्यै तपस्वीको तपस्याभङ्ग गर्ने अप्सराहरू थिए रे । अचेल त्यस्तो तपस्या को-को भङ्ग गर्छन् त ? गफडीको टाउकामा नाच्न थाल्यो ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
तपस्या र तपस्वी
हाम्रो यहाँ तपस्या भन्ने चलन छ । व्यस्त कारमा कुध्ने र जहाजमा उडेर बोतलमा उड्नेहरूलाई कता-कता यो शब्द प्रमाणपत्र बटुल्दा सुनेझैँ लाग्ला । कानमा कहिलेकाहीँ यो परेजस्तो शब्द नशाले छोडेपछि माइकको पाइक पर्दा कता कताबाट फुत्त आउला पनि । जे होस्, यो दुहुरिएको शब्द छ- आफ्नो लामो परम्परादेखि । कुरो कताबाट आयो भन्नुहोला भने त म भन्छु- यो सिरिफ गफ हो । अलिक गफडीका गफ यस्तै घिउ नलाग्ने हुन्छन्, फाल्तू हुन्छन्, वेकामे हुन्छन् । जे भए पनि नानीदेखि गफ गर्ने बानी लाग्यो र नेपालमा जे-जस्तो परिस्थितिमा गुग्रँदा पनि यस रोगले यस विचरालाई नछोडेकाले आज थालनीमा केबाट यो आयो भने उहिल्यै तपस्वीको तपस्याभङ्ग गर्ने अप्सराहरू थिए रे । अचेल त्यस्तो तपस्या को-को भङ्ग गर्छन् त ? गफडीको टाउकामा नाच्न थाल्यो ।
जी
तपस्याभङ्ग गर्ने अप्सरा हो ‘जी’ । चुपचाप बसेर काम गरेका श्रमिकसँग गएर ठगहरू भन्छन् ‘जी’ । मान्छेको जात कन्याउँदा आनन्द लाग्छ रे ! ऋषि-मुनिको पनि न जिउ हाडमासुकै थियो नि ! त्यसैले अप्सराको जवान सौन्दर्यमा डुबुल्की मार्न तपस्या समस्या ठानी रसमग्न हुन पुग्थे । कत्रो तपस्या तातो खपेको ! कत्रो तपस्या आँधिवेरी खपेको ! अचेलका सुटपेन्टधारीले पनि यस भौतिक जगतमा कति कति श्रम गरेका हुन्छन् । जब छट्टूहरूका ‘जी’ कानमा पर्छन्, सब अङ्ग मुग्ध भएर फुर्छन् ! आनन्दीभूत तपस्वी केही हेर्दैनन् । यसमा गफडी सुझाउ दिन चाहन्छ- कमसेकम ‘जी’ मा अल्मलिनेले ‘जिउ भन’ सम्म भनून्, यसबाट अरु बिग्रिए पनि राष्ट्रभाषाको सम्मान त बढ्छ !
पद
उहिल्यैका तपस्वीलाई स्वर्गका नाना लोभ देखाइन्थ्यो- अचेल पद देखाइन्छ । म ‘मेची-देउनियाँ’ मा मात्र नजाकिएर यो जगतीकै कुरा गर्दैछ- पद पाउने आशामा कति तपस्वी वर्वाद भएका छन्- ती जम्मै तपसिल लाउन थाले गफडीलाई दिएको पातो थोरै हुन्छ । पदलोभ, शक्तिलोभ, धनलोभले तपस्याको महाकाण्ड पुर्याउँछ ! एक दिन मर्ने यस जुनीमा पद-अप्सराले मुहुनी लगाएर दिग्गज दिग्गजका तपस्याभङ्ग गराउँदो रहेछ ! गफडी त्यसै छक्क पर्छ !
लोभको लाभ ! लाभको विलाप !
भन्छन् उखानियाँहरू, मज-मजका उखान हालेर गएका छन् पुर्खाहरू । तपस्या भङ्ग हुन्छ लोभबाट । लोभी हुन जान्छन् तपस्वी लाभका वश परी । ‘पर्मिट लोभ’, ‘सस्तो लकडी लोभ’, ‘समिति सदस्य लोभ’, ‘अतिरिक्त आमदानी लोभ’, ‘नाता उठाउने लोभ’ आदि नाना खाले लोभ छन् । यी लोभ त सह्य होलान् तर अरू पनि लोभमा परी राष्ट्रलाई नै खतरामा हाल्ने लोभको वखान गफडीको जस्तो मामुली कलमजीवीले लेख्न सक्तैन । गफडी भन्छ- भाँड अप्सराको चन्डाल वारिस लोभ हो- जसले तपस्वीका तपस्या मात्र नष्ट गर्दैन, राष्ट्रको राष्ट्रियता पनि खतरामा पुर्याउँछ अनि गफडी यो गीत सम्झन्छ र सम्झाउन मन गर्छ-
मर्यो ज्यूँदै त्यो
जसले बिर्स्याे देशको माटो !
पातमा पात ! बातमा बात !
पिँधेका कुरा नै गफडी फेरि भन्छ, गफडी हो मामुली मान्छे । गफडी खालि पातमा पात भए झैँ बातमा बात मात्र गर्छ- यहाँ अप्सरा तत्ववाट तपस्वीले सावधान रहनुपर्छ । गायकहरू ! तपस्याभङ्ग गर्नेलाई बिउँझाऊ ! जीमा अल्मलिनेहलाई जगाऊ ! पदमा पुग्न मरिहत्ते गर्नेलाई काममा लगाऊ । लोभका वशमा भुइँछाडेर हिँड्नेलाई सम्झाऊँ ! हे गायकहरू ! गीत गाएर तपस्या बचाऊ ! गफडीलाई अहिले कुनै गाँजा भाङ वा नसाले रन्थन्याएको छैन, तसर्थ नै कलमजीवीका कलमलाई पनि तपस्याभङ्गवाट सावधान गर भन्छ गफडी ! बातैमा सही, भन्छ- हे तपस्वी ! पक्षपात भए भन्दैमा आफ्ना पाइला नडग्मगाऊ । हे तपस्वी ! कर्मक्षेत्र वास्तवमा आदर्श हो- आफ्नो आदर्शवाट कदापि विचलित नहोऊ ! गफडी भन्छ- नाम पुरानै सही तपस्या कायम रहनै पर्छ, तपस्वीको परम्परा रहनु नै पर्छ । हे भाड हो ! हे गाँजा हो ! हे बोतल हो । सावधान ! हे तपस्वी ! कदापि हार खानुहुन्न है । लौ त जिउ ! आज यस्तै गफ फुरे । नमरी बाँचे कालले साँचे आगे फेरि !
०००
युगज्ञान वर्ष १०, अङ्क २३, २०३५
गफडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest






































