बुढ्यौली काव्यशृङ्खला (४३)
गाली साथ कुनै ताली दिनुपर्छ घरि घरि । ऊर्जा बालकमा मिल्छ घामपानी मिलेसरि ॥ साथमा झुम्मिने गर्छन् सम्झिएर निरञ्जन । दयाका कण बर्सिन्छन् देव तुल्य सजीवन॥
देवीप्रसाद मिश्र :
मन शान्त भए हाम्रो घरमा शान्ति छाउँछ ।
घर शान्त हुँदा त्यस्तै गाउँ प्रफुल्ल बन्दछ ॥२५०॥
गाउँ हाँस्न सके मात्र राष्ट्र हाँस्छ निरन्तर ।
प्रसन्न लोक बन्ने छ भ्रान्ति भाग्छ सबै पर ॥२५१॥
युवाको साथ चाहिन्छ वृद्धका अभियानमा ।
सचेतना जगाएर हर्ष साटौँ तमाममा ॥२५२॥
नानी बाबुहरू हाम्रा अनुशासनमा हिँडी ।
अनुगृहीतका साथ चढ्न सक्छन् उँचो सिँढी ॥२५३॥
फलका बोटमा काँडा हुनसक्छन् कतै तर ।
दोष मात्र लिए सारा मिठो व्यञ्जन मिल्छ र? ॥२५४॥
दुधालु धेनुको केही लात्ती सहनु पर्दछ ।
झर्किँदा रसिलो वस्तु कसरी हात लाग्दछ? ॥२५५॥
मित्रझैँ ठान्नुपर्ने छ बाल्य आसनका भुरा ।
ज्ञान साझा गराएर मिल्दछन् प्रविधि कुरा ॥२५६॥
गाली मात्र गरे हाम्रा बालबच्चाहरू पर ।
तर्किएर सदा भाग्छन् साथमा हुन्न आदर॥२५७॥
गाली साथ कुनै ताली दिनुपर्छ घरि घरि ।
ऊर्जा बालकमा मिल्छ घामपानी मिलेसरि ॥२५८॥
साथमा झुम्मिने गर्छन् सम्झिएर निरञ्जन ।
दयाका कण बर्सिन्छन् देव तुल्य सजीवन॥२५९॥
क्रमशः
०००
काठमाडौं