शम्भु गजुरेलचिर्केश्वर, चिम्टेश्वर र अलपत्र दृश्यावलोकन स्तम्भ
पुराना भान्छेले आफ्नो जिब्रोको स्वादले उत्तम ठानेर तयार भएको परिकार भएपनि भण्डार रित्त्याएर तयार भएको हो भन्ने पनि बुझ्न नसक्ने वर्तमानका भान्छेको चाला अत्यन्त चाख लाग्दो लाग्यो ।

शम्भु गजुरेल :
उहिले म सानै हुँदा मेला लाग्थ्यो मेरो गाउँको टाकुरामा, वर्षको गोडा चारेक पल्ट । आस्थाको शिवलिङ्गमा चाकडीको बुकी फूल अनि कोसेलीको बेलपत्र चढाएर कामधेनुको दुधद्वारा निर्मित पञ्चामृतले स्नान गराइन्थ्यो शिवको पाषाण शरीरमा । क्षीर सागरबाट अक्कासिँदै आएर पारीपट्टीको लाङटाङसँग मुखामुख गर्ने जमर्कोमा उभिएझैँ लाग्ने मनोरम कैलाशमा वास बस्थे शिवजी सतीदेवीको कुनै अङ्ग कुरेर । २१०० मिटरको अग्लो जिउडाल बोकेको मेरो कैलासमा पौने ३०० बर्ष अघि तिर बनेका दुई सुन्दर गढी थिए । हामी उचालिएर उकालो पार गरेपछि पदारिएर आराम गर्दै महादेवसँग वरदान माग्ने सिलित्त परेका ढुङ्गा थिए । वरिपरि चुत्रो, ऐसेलु, गुराँस अनि बाँझ टनक्क देखिन्थ्यो, टिपिन्थ्यो खाइन्थ्यो । हरियो चौरमा बदेल निर्मित खोपिल्टा तथा मृग विचरित पदचिन्ह देख्दा साच्चै अलौकिक थियो त्यो बखतको कैलाश । कैलाशको तल्लो भेग अनेक भनिन्थे तर कैलाशलाई चिर्केश्वर मादेउथान भन्थे सबैले । पूर्वमा साँगा, पश्चिम् मनकामना, उत्तर गणेश र लाङटाङ अनि दक्षिण सिमभञ्ज्याङ हेर्दै काठमाडौका सडकमा मान्छे हिँडेको निर्क्यौल गर्थे नाङ्गा आँखाले । बाल्यकालको स्मृतिमा किशोरावस्थाको कसी दलेर प्रौढावस्थाको बलेसी कुल्चिँदै लागेँ म चिर्केश्वरको चुलीमा ।
कान्तिपुरको चौघेरोलाई नाघेर भन्ज्याङ पुग्दा निमेशभरमै पुगे जस्तै भयो । मोटर बाटोले तीन तर्फबाट चुलीमा भेट गरेका रहेछन् हिजोआज । चिर्केश्वरलाई पहिला तिर्केश्वर बनाइएछ र त्यसपछि अग्निपुराणको एउटा पानालाई योगी नरहरीनाथको मुखबाट उच्चारित गराउदै महादेवले चिम्टा बिर्सिएको कथामा समायोजन गराएपश्चात चिर्केश्वरको पुनः नामाकरण भएर चिम्टेश्वर भएछन् । भोलेबाबाका सहस्र नाममा एउटा नयाँ नाम खासै नौलो भएन भन्दै पुराना गढी खोज्दै गर्दा बाजेको कोट बाजेसँगै जलाए जस्तो लाग्यो । न पर्खाल थियो न गढीको मौलो मन चसक्क भएपनि वर्तमानको विकासले महादेवलाइ पक्का मन्दिर अनि तलबाट पम्पले तानेर ल्याएको धारो अनि साततले धरहरा आहा मनोरम रहेछ । ४० को दशकमा वृक्षरोपण ठेक्कामा रोपिएका सल्लाले आफ्नो स्वरूप विशाल बनाउँदा सर्वहारा वर्गका चुत्रो, काफल, ऐसेलु , बाँझ , दार आदिको उन्मुलन भएर सल्लाको साम्राज्य बढेछ । अब चिराइतोहरूको अवस्था प्यालेस्टाइनीको जस्तै रहेछ भने सल्लो नेतान्याहु बनेको जस्तो लाग्यो ।
त्यहाँबाट देखिने दृश्यमा थपघट भएको छैन स्थानहरूको तर त्यहाँ बनेको साततले धरहराको माथिल्लो तलाबाट हेर्दा काठमाडौमा थुप्रो भएको ढुङ्गा र चुसिएकी बागमती चाहिँ झन् प्रष्ट हुने भएछ । पानी परेपछिको खुला समयमा सगरमाथा र माछापुच्छ्रे देख्न सकिने अत्यन्त मनोहर उच्च शिखरमा दृश्यावलोकन स्तम्भको आवश्यकता देख्ने विकाससिल मस्तिष्कलाई मनमनै सलाम नगरी रहन सकिन । भू-बनोटका आधारमा र धार्मिक पवित्रताका आधारमा बागमती प्रदेशको उच्चस्तरीय पर्यटनलाई आफूतिर आकर्षित गर्न सक्ने सौन्दर्य साँचेर हराभरा भएर उभिएको चिम्टेश्वरमा वातावरण मैत्री पथ निर्माण को विकल्पमा दृश्यावलोकन स्तम्भले पहिलो स्थान प्राप्त गरेको देखेर हेडसरको छोरो प्रथम गराइने चलन याद आयो ।
पुराना भान्छेले आफ्नो जिब्रोको स्वादले उत्तम ठानेर तयार भएको परिकार भएपनि भण्डार रित्त्याएर तयार भएको हो भन्ने पनि बुझ्न नसक्ने वर्तमानका भान्छेको चाला अत्यन्त चाख लाग्दो लाग्यो । मन्दिरमा चँदुवा टाँग्ने देखि देशको झण्डा फहराउने काम गरेको खतिवडा समाजलाइ साधुवाद दिएर दृश्यावलोकन स्तम्भतर्फ जान लाग्दा यत्रतत्र फुटाइएका सिसा, चोरिएका बिजुली, फोहोरको थुप्रो तर ढोकामा ताल्चा देख्दा के सत्तामा जानुअघि गरिने प्रतिस्पर्धामा पुरानो निर्माण पनि स्वीकार नगरिने चलन आएको हो त ?
एकादशी, शिवरात्री, पूर्णिमा तथा वालाचतुर्दशीमा विशाल मेला लाग्ने चिम्टेश्वरबाट १४ जिल्लाको दृश्य अवलोकन गर्दै पुण्य कमाउन सकिन्छ । पर्यटनको माध्यमबाट स्थानीय सबैले अर्थ कमाउन सक्छ तर प्रतिस्पर्धाको अर्थलाइ समेत लोप्पा खुवाउदै करोडौँ लगानी भएर तयार भएको स्तम्भको उचित व्यवस्थापन गर्न नचाहने मेरो प्यारो सरकार देखेर चिम्टेश्वरको चिम्टा तताएर डाम्न मन लाग्यो तर मनमनले मात्रै । हिजोको जारसँग एकाकार भएर एकहारमा भान्छा गर्दै हिँड्ने राजनैतिक उल्लुहरू ज्याँन घुमाउन भन्दा पुरै टाउको घुमाउन खोज्छन् । स्वार्थ मिल्दा एउटै ओछ्यान साझा बनाउने दलहरू ईर्ष्याको दलदलमा धसिएर राज्यका जनताको पसिनाको पोखरीमा विलासको पौडी मात्र खेल्न थाल्छन्, त्यो निर्माण सम्पन्न भएको संरचना संरक्षण गर्ने दायित्व चिम्टेश्वर बाबाको नै हो त ?
०००
नुवाकोट, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































