कृष्ण शर्मा सुमुअफसाइड
हेर माइली साहित्य पनि आजकल गुटबन्दी बनाएर सखाप पारेको छ । जसले अफसाइडमा बसेर लेख्छ उसले पुरस्कार थाप्छ । हाम्रोतिर च्याँखे दाउ भन्दैन त्यसलाई नै गेममा अफसाइड भनिन्छ ।

कृष्ण शर्मा सुमु :
गेमको नाममा पाङ्ग न पुङ्ग भएको मान्छे म । मलाई कुनै गेम राम्ररी खेल्न आउँदैन । गेम नआए पनि ढुक्कले बसेको छु । तर मलाई गेम नआए पनि प्रायः नै गेमको नियम थाहा छ ।
भनिन्छ नि, कसैलाई परेर थाहा हुन्छ कसैलाई पढेर थाहा हुन्छ । जसरी होस् कुनै गेम हेर्नु बसे म छुटाउनु सक्छु को सही छ र को गलत छ भनेर ।
लेखक भई टोपल्दा कति कुराको ज्ञान राख्नुपर्छ । ज्ञान बिनाको विज्ञान त अधुरो छ भने समाजलाई सही मार्गदर्शक गराउने लेखक नै टुप्पो न फेदको भए समाज कुन दिशातर्फ जान्छ भनेर सोच्नु बाध्य गराउँछ । यदि कसैको आर्टिकल मागेर नाम कमाउने फेरामा बसेर नाम कमाउँछु भनेर च्याखे दाउ थाप्ने रचनाकार भए उनलाई परबाट नै सलाम… !
रचनामा राजनीतिक परिवेश आउनुपर्छ यदि राजनीतिक परिवेश नआइ लेखेको रचना छ भने त्यसलाई रचना भन्नु मिल्दैन भनेर कतै मैले भर्खरै पढेँ । शायद हुनु पनि सक्छ । साहित्य अनि राजनीति एक अर्काका समपूरक हुन् । राजनीति नभए साहित्य चल्छ तर साहित्यमा राजनीति पसे पखाला लाग्न सक्छ । साहित्यले भविष्यको इतिहास अनि वर्तमानको कुरा बोक्छ भने राजनीतिले बोक्छ त केवल वर्तमानको कुरा ।
राजनीति एउटा विचारमा चल्छ । सायद विचार समयसित परिवर्तन हुनु पनि सक्छ नहुनु पनि सक्छ । साहित्य भनेको कुनै भौगोलिक परिवेश वा कुनै सिमानामा नै समाप्त हुँदैन । साहित्यले सिमाना नाँघेर लेख्छ । साहित्य कुनै कुनामा बसेर लेख्न सकिन्छ । राजनीति एउटा सिमानाभित्र बसेर गर्नु सकिन्छ । यदि साहित्यमा राजनीति खोज्न थाले साहित्यकारले कुनै राजनेताको पक्ष वा विपक्षमा बोलेको हुनुपर्छ । तब साहित्य कुनै झण्डाको नेतृत्व गर्नेको गुण दोष देखाउनु थाले साहित्य साहित्य रहँदैन ।
राजनीतिक विचारधारा एउटै परिवारमा पनि मिल्दैन । दाजुलाई मन परेको पार्टी मलाई मन नपर्नु सक्छ । मतलब राजनीतिक विचारधारा हो भने त्यही विचारधारालाई निष्पक्ष भएर यदि कुनै रचनाकारको कलमले समाज परिवर्तनको क्रान्ति ल्याउन सक्छ भने त्यो समाजको ठुलो परिवर्तन मान्नुपर्छ । भुइँफुट्टा भएर पेट पाल्नुको लागि कसैको गुणगान गरेर लेखिएको वा कसैलाई खुसी बनाउनु लेखिएको कुरालाई साहित्य भनिहाल्नु मिल्दैन ।
ए कता गेमको कुरा भन्नु बसेको मान्छेले कता राजनीतिक, साहित्यिक, साहित्यकार, नेता जस्तो कुरा गरेर के नै पो सन्देश दिन खोजेको होला भनेर सोच्न सक्नु हुन्छ । खासमा राजनीति पनि एउटा गेम नै… नेताले खेल्छन् जनताले खाई न पाई… तल बसेर ताली मार्छन् । ताली पाउनु पनि त एउटा गेम नै हो । नेताको पेन्सन पाक्छ, जनता त उही त हो सत्रको सात गालामा हात… ।
यो चुनाव पनि एक प्रकारको दशैँ तिहार जस्तो पो लाग्छ । हामी स-साना हुँदा दशैँमा मासु खानु पाउथ्यौँ आजकल चुनाव छेउमा आउँदा मासु भात खान पाइन्छ । यस्तो चाडपर्वलाई त्यसै पाँच साल किन खेर फाल्नु र ? पाएको खाने हो नि माग्नु कहाँ गएका छौँ त ?मौका पाए हाम्रोतिर पुल, रोड, अलकत्र सब खान्छन् हामीले एक थाल भात खाँदा कुन चैँ खरेडी लाग्छ होला र ?यसो सोच्छु माइलीको आमा दूधले धुएको त को पो छ होला र ? मौका पाए सबले चौका हान्छन् । सबले खाँदा हुन्छ तर हल्ला चैँ गर्नु भएन मिलेर खानु पर्छ ।
कस्तो खानुमा मरेको यो माइलीको बाउ… कमसेकम अलिकति इज्जत छैन है । कुकुरलाई त चोइचोइ भन्नुपर्छ..मान्छेको दाम पाँच सय… एउटा कुकुर किन्दा त दस हजार तिर्नु पर्छ । तिम्रो भन्दा त नि कुकुरको इज्जत होला समाजमा… ।
माइली तिमी राजनीतिक, साहित्यिक कुरा बुझ्दैन के… खासै तिमी गेम पनि बुझ्दैन । हेर माइली साहित्य पनि आजकल गुटबन्दी बनाएर सखाप पारेको छ । जसले अफसाइडमा बसेर लेख्छ उसले पुरस्कार थाप्छ । हाम्रोतिर च्याँखे दाउ भन्दैन त्यसलाई नै गेममा अफसाइड भनिन्छ ।
अफसाइड भनेको खतरनाक गेम हो । अलिकति रेफ्रीको आँखा छल्नु पायो कि गोल हालिहाल्छ । आजकल यो अफ साइड खेल्नेको धेरै चान्स नपाएर राजनीतिमा निर्दलीय वा दलमा बसेर चुनावी टिकट नपाएपछि धेरै खेल्न आउँछन् । कतिले त अफसाइड खेलेर पनि राम्रो दाम र नाम कमाएका छन् । कति चैँ गोल हाल्नु नसकेर खुट्टा भाँच्ने काम गरेका छन् । अफसाइड भनेको आए आँप गए झटारो जस्तै हो ।
०००
सिलगढी
Subscribe
Login
0 Comments
Oldest






































