पिँडालु पण्डितभाषाशास्त्रीसँगको जम्काभेट
इतिहासका कुरा पत्याउनु कि भाषाशास्त्रीका । भाषाशास्त्रीका कुरा नपत्याऊँ पनि कसरी ! सोधिसकेँ । त्यसमाथि सबैले मानेका भाषाशास्त्री । पत्याऊँ भने कसरी पत्याउने, इतिहास कै कुरा बाङ्गिने ।

पिँडालु पण्डित :
जमलको जङ्गल (मान्छेको) मा एकदिन एक्कासि उनीसँग भेट भयो । उनको नाम त जागिरको जाँच दिन नपरेको हुँदा अहिले मैले बिर्सेँ । तर पनि उनलाई सबैजना भाषाशास्त्रीका रूपमा चिन्थे, जम्लाहात बिसाएँ । उनी स्वयं पनि आफूलाई भाषाशास्त्रीका नाताले भाषाको भकारी नै सम्झन्थे । आफ्नो भकारी ठाउँ-ठाउँमा प्वाल परिसकेको कुरा भने उनको जानकारीमा थिएन । कति भाषामा – उनको दखल थियो, जाँच गर्ने जमर्को पनि आजसम्म कसैले गरेन ।
भाषाका कुरा आउँदा आफूले लेखेका अक्षर अरुले तीस प्रतिशत र आफैँले तेत्तीस प्रतिशत, अनि बोलेका कुरा अरूले नै त्रिसट्ठी प्रतिशत बुझ्ने भएकाले सूत्रगत हिसाब नगरी प्रतीकात्मक हिसाबले सरदरमा मलाई पनि दसांश पण्डित भन्नेहरू थुप्रै थिए । यस नाताले भाषाशास्त्रीज्यूको भाषिक दखलताका विषयमा परीक्षण गर्न पछाडिबाट मलाई भऱ्याङ चढाउनेहरूको ताँती पनि कम विएन । ‘पण्डित भनेर के गर्नु !’- म जस्ता दसांश पण्डितले पूर्ण पण्डितको पगरी पाएका भाषाशास्त्रीज्यूको पुर्पुरो पर्गेल्नु परम्पराको परिहास हो भन्ने मेरो आफ्नै ठहर थियो । त्यसैले परघोषित वा स्वघोषित जे भएपनि उनलाई सबैले भाषाशास्त्री भन्थेँ, औँलामा गन्थेँ । आफू आफ्नै ठाउँमा गच्छेअनुसार, छुच्चो भएर के नै पाइन्छ र !
भोलिका दिनमा कसैले चुनौती दियो भने कुरा बेग्लै हो, तर आजका दिनसम्म उनी भाषाका पर्याय नै कहलिएका छन् । उनलाई भेटेपछि भाषाका विषयमा नभट्याउने मान्छे भेट्टाउन गाह्रै पर्थ्यो । भाषाका मात्र के कुरा ‘भ’ को उच्चारण हुनेबित्तिकै अरुले भो । भो भने पनि भटाभट भट्टयाइरहनु उनको भाषा भकारीको विशेषता नै थियो ।
आज-भोलिका सेवाप्रति समर्पित डाक्टरलाई जस्तो ‘बोल्यो कि बगली खोल्यो’ गर्नु पर्ने भइदिएको भए नमस्ते पनि नखर्चीकन म उनलाई देखेको नदेख्यै गरेर भाग्थेँ । तर भाषाशास्त्री, त्यो पनि नेपालीका । म फुरुक्क परेँ, अगाडि सरेँ । तपाईंका लागि खुर्पाको बिँड भए पनि मेरा लागि उनी श्रीखण्ड नै हुन् । त्यसैले सधैँझै मैले मौका छोपिहालेँ, उनका अगाडि ।
‘हजुरलाई देखेपछि भवाट्ट एउटा ककुराको याद आयो’- मैले मुख फोरेँ । ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भनेको सायद यस्तै होला । होइन त भाषाशास्त्रीज्यू मैले चाकडीकै भाषामा आफ्नो जिज्ञासा राखेँ ।
भाषाशास्त्रीज्यू मुसुक्क के मुस्काएका थिए, एउटा कुरा खुस्काइहाले ‘तपाईं धेरै पछि पर्नु भएछ ।’ उनको मप्रतिको मूल्याङ्कन थियो त्यो ।
यसैपछि उसैपछि भनेपछि- अझै पछि पर्न केको डर । मैले मनमनै सोचेँ । ‘नजानेका कुरा सोध्यो भने एकचोटि मूर्ख होइन्छ, सोधेन भने सधैँ मूर्ख होइन्छ भन्ने भनाइ मभन्दा पहिलाका केटाकेटीले म सानै छँदा सुनाएका थिए । त्यसै सूत्रलाई सम्झेर मैले सोधेँ, किन र, भाषाशास्त्रीज्यू ?
उहिले उहिले हो भने तपाईंले भनेको कुरो ठीकै हो- ‘ढुङ्गा खोज्दा देउता मिल्थ्यो ।’ तर अहिलेको परिस्थिति त्यस्तो छैन । तपाईंले जति खोजे पनि देउता पाउनु हुन्न । केही गरी पाइहाल्नु भो भने पनि उहिल्यैदेखि नबोल्ने देउता, अहिले त झन् सातोपुत्लै उडेको छ । ठूलाबडा देउता कोही जेट चढिसके, कोही चढ्ने तरखरमा होलान् । सानाबडा देउता कोही सालीकहाँ खुसुक्क कोही नालीभित्र टुसुक्क बसेका बस्यै छन्, बाहिर आउँदै आउँदैनन् । रह्यो ढुङ्गा । ढुङ्गा खोज्नै पर्दैन। कतिखेर आएर तपाईंका टाउकामा बज्रिन्छ, तपाईंले बोल्नै पाउनु हुन्न । त्यसैले यस्ता बेलामा त्यस्ता कुरा नगर्नुस् । भाषा परिवर्तनशील छ अहिले तपाईंले भनेको उखानै खारेज भइसक्यो । तपाईंको केही लाग्दैन, तपाईं पछि परिसक्नु भो, उनले कारणसहित मलाई कुरा बुझाए ।
‘ल्हासा जाने कुतीको बाटो’ भनेझै (हुन त अहिलेसम्म पनि ल्हासा जाने बाटो मलाई थाहा छैन) मैले भाषाशास्त्रीज्यूसँग सोध्न खोजेको कुरा अर्कै थियो, फसियो अर्कैतिर । कहिलेकाहीँ यस्तै हुन्छ, आफ्नो चित्त आफै बुझाएँ ।
एकदिनको कुरा हो- ‘सेक्रेटरी’ हो कि ‘सखन्डरी’, ‘सेकेन्डरी’ के हो मलाई त्यति थाहा भएन, बोर्डिङ स्कुलमा पढ्ने आफ्नै छोराले कुन्नि कतातिर ‘कपाल-सपाल’ भनेको सुनेछ । अनि घरमा आएर कपाल भनेको त कपाल भइगो सपाल भनेको के हो बुबा ? भनेर सोध्यो । मैले पनि बोर्डिङ स्कुलकै तालले मिले मिलोस् नमिले नमिलोस् वास्तै नगरी फटाफट उत्तर दिए, ‘सुन छोरा, टाउकामा दुईथरि रौँ हुन्छन् । कालो रौँलाई कपाल भन्छन्, सेतो रौँलाई सपाल भन्छन् ।’ छोराले मुन्टो हल्लायो । उसले कुरो बुझेर मुन्टो हल्लायो कि नबुझेर हल्लायो, म जस्तो ठूलो मान्छेले सोधिरहने कुरै भएन ।
तत्काल प्रतिप्रश्न नआएकोमा म दडिन खोज्दै थिएँ, आफ्नो बाउले कति न जानेको र’छ भनेर हो कि, अथवा बाउको भाषिक दखलता परीक्षण गर्नका लागि हो छोराले फेरि सोध्यो- ‘त्यसो भए नेपाल भनेको के हो त ?’
उसले कुन सुरमा किन सोध्यो, मैले बुझिनँ । तर प्रश्न सुनेँबित्तिकै म झस्किएँ । ‘नेपाल भनेको के हो म निसास्सिएँ । के भन्ने के भन्ने । एक मन त रौँ कै प्रसङ्गमा प्रश्न आएको हुनाले ‘नाइटाको रौँलाई नेपाल भन्छन्’ भन्दिऊँ कि जस्तो लागेको थियो । फेरि यो त हाइअर सेकेन्डरीको ताल हुन्छ कि भनेर चुप लागेँ । मेरो कमजोरी थाहा पाउने बित्तिकै छोरो खेल्न दौड्यो । उसको फर्मुलाले पनि काम गर्यो, मेरो पनि टाउको हलुङ्गो भो ।
‘हो’, – त्यही कुरा भाषाशास्त्रीज्यूलाई सोध्ने मेरो विचार थियो । हतपतमा के भो के ! ढिलै भएपनि आफ्ना कुरा उनलाई राखेँ ।
भाषाशास्त्रीज्यू अलमलिने कुरै थिएन । तैपनि उनले मलाई बबुरै सम्झेछन् क्या र । टीठलाग्दो तरिकाले एकछिन् हेरे ।
अनि उनको भट्टयाइ सुरु भो । भाषा परिवर्तनशील छ भनेर मैले तपाईंलाई अघि नै बताइसकेँ । यसमा पनि यही कुरा लागू हुन्छ । ‘नेपाल’,- तपाईं- हाम्रो देश भन्ने त सबैलाई थाहा छ । तर नेपाल भनेको के भनेर इतिहासलाई सोध्ने हो भने ‘ने’ मुनिले तपस्या र पालन गरेको हुनाले नेपाल भएको भन्ने जवाफ आउँछ । भाषाशास्त्रीले इतिहास संशोधन गर्न मिलेन, तर अहिले नेपालको अर्थ अर्कै भइसकेको छ । पहिलाको अर्थ होइन । ‘नेताहरूलाई पालन गर्नुपर्ने भएकाले नेपाल भएको’ भन्ने अहिलेको हाम्रो (भाषाशास्त्रीहरूको) संशोधित निष्कर्ष छ- उनले न अड्किइकन मलाई आफ्नै सम्झेर अर्थ्याए ।
उनीसँग मैले सोध्नु पर्ने कुरा थुप्रै थिए। तर नेपालको नयाँ अर्थ नै मलाई चित्त बुझेन । उनको अर्थ सुनेपछि मलाई एक मन त- ’तपाई भाषाशास्त्री कि अर्थशास्त्री ? जे मन लाग्यो त्यही अर्थ लाउने । अर्थशास्त्रीहरूले अर्थको अनर्थ गरेर देश सिद्धघाउन लागिसके, तपाई पनि त्यसै गरेर भाषा सिध्याउनतिर लाग्नु भएको छ कि क्या हो ।’ भनेर भन्न मन लाग्या’थ्यो । तर भोलिपर्सि यस्तै मान्छे उँभो लाग्छन् भनेर ठाडो मुख गर्ने आँटै गरिनँ ।
तर जे होस् यतिखेर भने म राम्रै रनभुल्लमा परेको छु । इतिहासका कुरा पत्याउनु कि भाषाशास्त्रीका । भाषाशास्त्रीका कुरा नपत्याऊँ पनि कसरी ! सोधिसकेँ । त्यसमाथि सबैले मानेका भाषाशास्त्री । पत्याऊँ भने कसरी पत्याउने, इतिहास कै कुरा बाङ्गिने । यस्तो सङ्कट त मलाई जन्मनुभन्दा अगाडि पनि परेको थिएन । जन्मेपछि त कुरै छाडौँ । लौ न ! कसैले थाहा पाएको छ भने मलाई बताइदिनु पर्यो । म यतै कतै कुरी बस्छु ।
०००
‘अभिव्यक्ति’ २०६१ फागुन
Subscribe
Login
0 Comments
Oldest







































